प्रथाजनित संस्था : माइन्जन प्रणाली

काठमाडाैं

थारु, दनुवार, सन्थाललगायतका आदिवासी जनजाति समूदायमा प्रचलित प्रथाजनति संस्था माइन्जन प्रणाली पूर्वी तराईमा लोप हुने अवस्थामा पुगेको छ । सामाजिक सुव्यवस्थाका लागि कुनै समयमा शक्तिशाली मानिएको यो प्रणाली राज्यको असहयोग र सम्बन्धीत समूदायको बेवास्थाका कारण लोप हुने अवस्थामा पुगेको हो ।

सिरहास्थित थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरीका अनुसार बर्दिया, कैलालीतिर बडघर वा भलमन्सा र दाङ देउखुरीतिर महतवा, बडघर भनिएझै पूर्वी तराईको सिरहा, सप्तरी, महोत्तरीलगायत जिल्लाहरुमा माइन्जन प्रणाली भन्ने गरिन्छ । कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो प्रथाजनित संस्था आधुनिक रहनसहनका कारण सम्वन्धीत जातीय समूदायले नै बेवास्ता गर्ने गरेका छन् । तथापि, यसको अस्तित्व भने अझै बाँकी छ ।

दनुवार जागरण समिति सिरहाका अध्यक्ष धिरेन्द्रदेव सिंह दनुवार पनि माइन्जन प्रणालीले समाजलाई सुरक्षा, नेतृत्व र समाजलाई न्याय पु¥याँदै आएको धारणा राख्छन् । ‘माइन्जन प्रणाली दनुवार समूदायको सबैभन्दा पुरानो प्रथाजनित संस्था र कानुन हो । यसको सक्रियता रहेसम्म दनुवार समाजमा शान्ति सुव्यवस्था र मेलमिलाप रहेको थियो ।’ अध्यक्ष दनुवारको तर्क थियो ।

माइन्जनको काम, कर्तव्य र अधिकार

माइन्जन प्रथाले स्थानीय गाउँको विकास योजनामा श्रमदान गराउने, कुलो र खानेपानीको निर्माण, ग्रामदेवताको पूजा तथा समान्य बादबिबाद मिलाउने काम गर्दछ । थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरी थप्छन्- ‘थारु समाजमा देखिएको बालविवाह जस्तो कुरीति हटाउने श्रेय माइन्जनलाई दिनु पर्छ । समाजमा बालविवाह समाप्त पार्ने काम माइन्जनले नै गरेका हुन् ।’

जबसम्म माइन्जन प्रथा सक्रिय थियो, तबसम्म सबै खाले मुद्दाको गाउँमै मेलमिलाप गराउन सफल हुन्थ्यो । थाना, प्रहरी वा अदालतमा यस्ता सामाजिक बिबादहरु कमै पुग्ने गर्दथ्यो । राणाकालमा माइन्जनलाई कानुनी मान्यता समेत थियो । तर, अहिले माइन्जनहरु केवल भोज भतेरका बेला देखाइने शोभाका विषय मात्र भएका छन् ।

कुनै समयमा माइन्जनलाई असीमित अधिकार रहेको लहानका थारु, दनुवारलगायतका अगुवाहरु बताउँछन् । तर, यस्तो अधिकार लिखित भने थिएन । न्यायप्रणालीमा माइन्जन न्यायधिश जस्तै हुन्थे । माइन्जनले न्याय दिँदा एकपक्षिय नभएर सामुहिक रायका आधारमा न्याय दिने गर्दथे । प्रगन्ना, देशबन्धा, महतवा र घरधु¥या जस्ता चारतहमा गाउँको शासन र न्यायप्रणाली चलेको आफूले थाहा पाएको बताउँदै थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्दले पुरानो कुरा सम्झे- ‘जबसम्म माइन्जन प्रथा सक्रिय थियो, तबसम्म सबै खाले मुद्दाको गाउँमै मेलमिलाप गराउन सफल हुन्थ्यो । थाना, प्रहरी वा अदालतमा यस्ता सामाजिक बिबादहरु कमै पुग्ने गर्दथ्यो । राणाकालमा माइन्जनलाई कानुनी मान्यता समेत थियो । तर, अहिले माइन्जनहरु केवल भोज भतेरका बेला देखाइने शोभाका विषय मात्र भएका छन् ।’

अन्तर्राष्ट्रिय कानुनको मान्यता

अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नम्बर १६९ ले आदिवासी जनजातिका प्रथाजनित संस्था र कानुनलाई मान्यता दिएको छ । यो महासन्धी आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन हो । २०६४ साल भाद्र ५ गते नेपालको संसदले अनुमोदन गरेको यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ । नेपाल सन्धी ऐन २०४७ को दफा ९ अनुसार यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ ।

यसैगरी आदिवासी जनजातिसम्वन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रमा पनि आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक संस्थाहरु, तिनका अभ्यास, प्रथा तथा कानुनी प्रणालीलाई संरक्षण गनु पर्ने उल्लेख छ ।

स्थानीय सरकार सुधारको पक्षमा
माइन्जन प्रणाली सकारात्मक हुँदाहुँदै पनि स्थानीय सरकार भने यो प्रणालीलाई सुधार तथा परिमार्जन गर्नू पर्ने पक्षमा उभिएको छ । सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी माइन्जन प्रणाली हाम्रो परम्परा भए पनि यसको निरन्तरतामा भने अरु बहस गर्न आवश्यक रहेको बताउँछन् । ‘कुनै बेला माइन्जन प्रणालीका आधारमा थारुलगायतका समूदाय चल्ने गरेको थियो । तर, अहिलेको प्रविधिमा आधारित समाजमा त्यही प्रणालीलाई निरन्तरता दिनु पर्ने कुरा सान्दर्भिक हुन्न ।’

नगरप्रमुख चौधरीको भनाई छ- ‘माइन्जन प्रथा हाम्रो समूदायको अतीत हो । तर, यस प्रथाका कारण समूदायमा अनावश्यक आर्थिक व्यय बढेको, भोजभत्तेर तर्फ समाज आकर्षित भएका लगायतका अन्य बिसंगती र विकृतिलाई पनि बढावा दिएको सन्दर्भलाई सम्झनु पर्दछ ।

हिन्दूपरम्परा प्रभावित

पूर्वी थारुलगायत आदिवासी जनजाति समूदायमा रहेको माइन्जन प्रणाली हाल विकृत अवस्थामा रहेको समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनको पनि छ । समाजको अन्तरघुलन, बसाईसराई तथा हिन्दूपरम्पराको प्रभावमा परेर माइन्जन प्रणालीमा मिश्रित स्वरुपमा आएको हुन सक्छ भन्दै डा. भट्टचनले भने- ‘प्रथाजनित संस्था तथा कानुनको प्रयोग बाँके, बर्दिया तथा कैलालीका थारुहरुको बडघर, भलमन्सा र मुस्ताङतिर प्रचलित ध्यम्प परम्परालाई मान्न सकिन्छ । अन्य आदिवासी जनजाति समूदायमा पनि प्रथाजनति संस्थाहरु रहेका छन् तर ती संस्था, परम्परा र रीतिहरु हिन्दूकरणको चपेटामा परेका छन् । जसलाई पुनर्जिवन दिन आवश्यक छ ।’

आखिर जे भए पनि माइन्जन प्रणाली पूर्वी तराईको आदिवासी जनजाति र स्थानीय समूदायको साझा प्रथाजनित संस्था हो । यो प्रणाली तराईमा उच्च जाति र दलितमा देखिन्न । तथापि अहिले पनि माइन्जनको सम्मान गर्ने परिपाटी भने कायम रहेको छ । मूलतः आदिवासी जनजातिमा सूचिकृत थारु, दनुवार, सन्थाल तथा मण्डलहरुमा रहेको यो परम्परालाई राज्यतहबाट मान्यता दिएर हाम्रो परम्परा तथा गौरवलाई निरन्तरता दिनु नै उचित मार्ग हुने देखिन्छ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका