हल्लामै बजार अनियन्त्रित

पत्रपत्रिका
पत्रपत्रिका संवाददाता
काठमाडाैं

हल्लाका भरमा अत्यधिक सङ्ख्यामा सञ्चित गर्दा बजारमा ग्याँस अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो।

उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो। उपभोक्ताको भीड मङ्गलबार साँझसम्म यथावतै देखियो। यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्।

भारतले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ। भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाएका भरमा उपत्यकावासिसकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए।

यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपर्थ्यो। निगमले शनिबार डिपो बन्द राख्यो।

थानकोट डिपोले शुक्रबार पेट्रोल ९ लाख ३३ हजार र डिजेल १२ लाख ७ हजार लिटर वितरण गरेको थियो। उसले आइतबार दिउँसो २ बजेदेखि पेट्रोल ८ लाख २८ हजार र डिजेल ९ लाख ८३ हजार लिटर उपत्यकाको बजारमा पठाएको थियो। निगमले आफ्नो योजनाअनुरूप आइतबार बिहान ७ बजेदेखि इन्धन उपलब्ध पनि गराएन।

मागको तुलनामा निगमले अपर्याप्त परिमाणमा इन्धन बजारमा पठाउनु र शनिबार नदिनुले बजारलाई झनै अनियन्त्रित बनाएको अध्यक्ष प्रधान बताउँछन्। उनका अनुसार पेट्रोलका लागि लामो लाइन लाग्नुमा व्यवसायीको पनि भूमिका छ।

मूल्य घट्ने सवालमा व्यवसायीले कम परिमाणमा इन्धन उठाएको, त्यही पनि बिक्री नगरेकाले बजारमा कृत्रिम अभाव गराउन भूमिका खेलेको प्रधान स्वीकार गर्छन्।

निगमले अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा इन्धनको मूल्य समायोजन गर्छ। अन्तर्राष्ट्रिय बजारमा घट्दो मूल्यअनुसार निगमले सोमबार मूल्य समायोजन गर्दै छ भन्ने जानकारी पाएका व्यवसायीले कम परिमाणमा थानकोट डिपोबाट इन्धन उठाए। उनीहरूले आइतबार र सोमबार त्यसको एकचौथाइ पनि बिक्री नगरी पम्प बन्द गरे। अाजको अन्नपूर्णपोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया