कोरियामा नेपालीको जनजीवन : सहर सुनसान, कोठामैै बित्छ दिन

नयाँ संक्रमण घट्यो

अमिर योञ्जन
अमिर योञ्जन संवाददाता
कोरिया
FILE - AP Photo/Rahmat Gul, File

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको डेढ महिना बढी भएको छ । यो अवधिमा ७५ जनाको मृत्यु र ८ हजार २ सय ३६ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

कोरियाको चौथो ठुलो सहर थेगुबाट फैलिएको भाइरस उत्तर ग्याङ्साङ र सउल क्षेत्रमा पनि भेटिए । यो साता विगत तीन साता अघिको भन्दा नयाँ संक्रमणको संख्या निकै कम देखिएका छन् । सोमबार तीन सातायताकै कम एक सय भन्दा कम संक्रमित तथ्य बाहिर आएको छ । कोरिया सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेशन (केसीडीसी) का अनुसार ८ सयभन्दा बढी मानिस उपचार गरी घर फर्केको जनाएको छ ।

सरकारले थेगु लगायतका सहरहरुमा बाहिर निस्किन प्रतिबन्ध लगाएको धेरै भएको छ । थेगुमै पार्वती वाइबाको काम गर्ने कम्पनी छ । अघिल्लो हप्ता उनकै कम्पनीको छेउमै रहेका कम्पनीका कामदारलाई कोरोना लागेको पुष्टि भएको वाइबाले जानकारी दिइन् । ‘छिमेकी कम्पनीको मानिसलाई कोरोना लागेको भन्ने थाहा भएपछि हामी पनि डराएका छौं’, उनले भनिन्, ‘नजिकै भाइरस संक्रमित देखिएपछि हामीलाई पनि लाग्ने हो कि भन्ने डर लागेको छ । सावधानी दैनिक रुपमा अपनाइरहेका छौं । बजार नगाएको पनि हप्तौं भएको छ ।’

थेगुमा झन्डै २५ लाख मानिस बसोबास गर्छन् । थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत् आएर काम गरिरहेका छन्  । अहिलेसम्म नेपालीहरुलाई कोरोना लागेको पुष्टि भएको छैन । विगतको तुलनामा बजारहरुमा मानिसहरुको चहलपहल निकै कम छ । थेगु सहर त, झन सुनसान नै छ ।

शुभराज बोम्जन विद्यार्थी हुन् । उनी कलेज छुट्टीको समयमा आनसान क्षेत्रमा काम गर्छन् । सउल दोङ्देमुनमा उनको कोठा छ । काम गर्ने समयमा कम्पनी परिसरकै ‘खिसुक्सा’मा बस्छन् । उनी आइतबार लगभग ढेड महिनापछि कलेजले उपस्थितिका लागि बोलाएपछि कोठा फर्किए । ‘रेलमा आउँदै गर्दा धेरै कोरियन नागरिकले भाइरसको संक्रमणलाई बेवास्त गरे जस्तै मास्क नलगाइ हिडिरकेको देखेँ’, बोम्जनले भने, ‘सुरक्षाको लागि प्राथामिक विधि पनि अपनाइएको देखिएन ।’ उनले भने, ‘बजार, बस स्टपतिर प्रयाजसो खुलमखुल्ला हिडिरहेको देखेँ ।’

त्यस्तै कुन्साङ घिसिङ पनि विद्यार्थी नै हुन् । उनी गाडीको पार्टस् बनाउने ‘हुन्डाइ’ कम्पनीमा प्याकिङको काम गर्छिन् । घिसिङले भनिन्, ‘देशभर कोरोनाको संक्रमण बढेपछि कम्पनीले बाहिरा निस्कन निषेध गरेको छ । उनलाई खाना, खाजा कम्पनीले नै दिन्छन् । ‘कम्पनीमा काम शुरु हुनुभन्दा केही समय आगाडि अनिवार्य रुपमा सबैलाई शरीरको तापक्र जाँच गर्ने, माक्स् वितरण गर्ने गर्छन्’, उनले भनिन्, ‘कम्पनीले बाहिरा निस्किन निषेध गरेपछि बजार नपुगेको धेरै भएको छ ।’ कलेज मार्च ३० गतेसम्म छुट्टी छ । उनले अनलाइन अध्ययनले गर्दा पढाईमा बाधा नभएको बताइन् ।

दुधबहादुर लामासँगै ५ जना नेपाली इन्छन क्षेत्रमा फर्निचर कम्पनीमा काम गर्छन् । ‘कम्पनीको सूचना अनुसार आफ्नो स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बाहिरा निस्किएका छैनन्’, लामाले भने, ‘हप्ताको छुट्टीको बेला टेलिभिजन हेर्ने, अनलाइनमा साथी, घरपरिवारसँग कुराकानी गरेर समय वितिरहेको छ ।’ उनले विगतको भन्दा अहिले कम्पनीमा काम निकै घटेको बताए । ‘पहिला कम्पनीले अतिरिक्त सयममा पनि काम दिन्थ्यो, अहिले ‘बेसिक’ समय मात्र काम दिँदै आएको छ । यसले गर्दा कामदारको पारिश्रमिक पनि घटेको छ’, उनले थपे ।

सरकारले गतहप्तादेखि सबै क्षेत्रमा माक्स नयाँ नियमबाट किन्न पाउने व्यवस्था गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म प्रत्येकले आफ्नो जन्ममितिको अन्तिम अंकलाई हेरेर जोरविजोर प्रणाली वितरण गरिरहेको छ । बजारमा माक्सको हाहाकार भएपछि सरकारले नयाँ नियम ल्याएको हो । यसअघि माक्स किन्न मानिसहरु घण्टौ लाइन बस्न परेको थियो ।

चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर तीब्र रुपमा फैलिएपछि कोरियन सरकारले १ सय ५० भन्दा बढी देशहरुबाट कोरिया प्रवेशलाई रोकेको छ । बिहीबार (मार्च १९) देखि अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष परिक्षण गर्ने भएको छ । विदेशबाट आएका मानिसहरुलाई कोरोना भाइरसको संक्रमण देखिए विशेष जाँच गरी स्थानीय स्वास्थ्य संस्थाको निगरानीमा उपचार गर्ने व्यवस्था गरिएको छ भने नदेखिएकाहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया