खोटाङको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाखमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
खोटाङ

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेल मैदानमा आगामी वैशाख-६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

जिल्ला खेलकूद महासंघ खोटाङको आयोजनामा पहिलोपटक आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन गरिने भएको हो ।

जिल्लाका १० स्थानीय तहका खेलाडी मात्र सहभागी गराइने फुटबल प्रतियोगिताका प्रथम, दोस्रो र सेमी फाइनलमा पर्ने दुई टोलीलाई क्रमशः नगद एक लाख ५५ हजार, ८५ हजार रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने महासंंघका संयोजक माइतीराज राईले जानकारी दिए ।

प्रतियोगिताका म्यान अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई जनही पाँच हजार ५५५ रुपैयाका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाए ।

जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा अन्यत्रका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा खेलकूद महासंंघले स्थानीयस्तरका खेलाडीलाई मात्र अवसर दिने गरी प्रतियोगिता गर्न लागिएको सहसंयोजक मिलनचन्द्र राईले बताए । ‘जिल्लामा हुने फुटबल प्रतियोगितामा जिल्लाका भन्दा बाहिरका खेलाडीले मात्र अवसर पाउने गरेका छन्’, उनले भने, ‘ बाहिरबाट ल्याइएका खेलाडीलाई अवसर दिएपछि ओझेलमा परेका स्थानीय खेलाडीलाई अवसर दिएर खेल क्षेत्रको विकास गर्न अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको हो ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हरेक गाउँपालिकाबाट एक-एक टोली तथा नगरपालिकाबाट बढीमा दुई टोलीलाई सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई हार नभएसम्मका दिनसम्म दैनिक नगद ६हजारका दरले सेवा सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

वैशाख ६ गतेबाट सञ्चालन हुने भनिएको प्रतियोगिता यसअघि पुस २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भनिएका थिए । पुस दोस्रो सातादेखि लगातारको वर्षा र वर्षाका कारण बढेको अत्यधिक चिसोमा प्रतियोगिता सञ्चालन गर्न नसकिने भन्दै आयोजकले विज्ञप्तिमार्फत प्रतियोगिता स्थगित गरेका थिए ।

तपाईको प्रतिक्रिया