कफीको बिरुवा मर्न थालेपछि …

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेलम्बु, सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिका–६ इचोक गाउँका कफी कृषकका रूपमा चिनिएका रोमबहादुर पण्डित एकाएक कफीको बिरुवा मर्न थालेपछि पिरोलिनुभएको छ । डढुवा र किराले अधिकांश बिरुवा फलसँगै सुकाएर मरेपछि व्यावसायिक कफी उद्यमी पण्डित भावुक देयिो । ‘वार्षिक कफी बेचेर नै रु तीन लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर यो वर्ष हिउँदसँगै प्रायः बोट मरेको छ, फल खेर गएको छ’, उनले खेतबारी वरिपरि टोलाउँदै गुनासो गरे ।

लाखाँै लगानी र दिनरातको मेहनतको पसिना एकै झट्काले गुम्ने अवस्थामा पुगेपछि अन्योलमा परेको उहाँले सुनाउनुभयो । तेह्र रोपनी आफ्नै जग्गामा व्यावसायिकरूपमा पण्डितले एक हजार ३०० बोट कफीको बिरुवा लगाएको थियो । ‘हिउँदसँगै बिरुवा डढेका छन् । किरा लागेर झरिरहेका छन् । सबैलाई गुहारेका छौँ’, उनले भने ।

तीन वर्षको मेहनत हिउँदसँगै फल टिप्ने बेलामा बोटै मर्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका–१० का यमबहादुर महत भक्कानियो । आठ रोपनी खेतबारीमा उनले ७०० बिरुवा लगाएर कफी खेतीलाई जमाउँदै आएको थियो । ‘आम्दानी हुने बेला दशा लाग्यो, सबै बोट मरेको देखेर रुन मन लागेको छ हजुर’, उनले भने । तीन वर्षबाट लगातार कफीखेतीमा जमिरहेका उहाँले रु डेढ लाख बराबरको कफी बिक्री गर्दै आएको छ ।
कफी खेतीले हराभरा देखिने जमीनमा लाखौँ पैसा र पसिना सुकेका बोटसँगै क्रमशः हराइरहेको उनको अनुभव छ । ‘हाम्रो सातो गएको छ, यस्तो कहिले हुँदैनथ्यो, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन’, उनले भने ।

पण्डित र महत जस्तै इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका श्यामबहादुर कटुवाल सबैजस्तो बोट फलले भरिएलगत्तै एकाएक मरेपछि भौँतारिरहेको छ । ‘सात रोपनी जग्गामा वार्षिक लाखाँै मूल्य बराबरको कफी लगाइरहेको थिएँ, सबै डुबेजस्तो भएको छ, दिक्क भएर बस्नुबाहेक विकल्प छैन, के गर्ने ?’, उनले प्रश्न गरे ।

यी त केही उदाहरण मात्रै हुन् । डढुवा र किराले कफीको अधिकाशं बिरुवा मरेपछि जिल्लाको तीन नगरदेखि पाँच गाउँपालिकाका गरी दुई हजार १५० कृषक परिवारको व्यथा एउटै छ । डढुवा र किराले कफीको बोट मर्ने क्रम नरोकिएपछि व्यावसायिक कफी खेतीमा एकजुट भएर कस्सिरहेका कृषक निरुत्साहित बनेका छन् । जिल्लाभर १२४ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेकामा फल लाग्न शुरु भएलगत्तै मरेको जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष मञ्जु थापाले जानकारी दिइन् ।

जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषकले फल बोटसँगै मरेको खबर पाएलगत्तै स्थलगत पुगेर रिपोर्टिङसहित सम्बद्ध सबै निकायलाई गुहारिरहेको उनले उदाहरण दिइन् । ‘हिउँदे चिसोको रोगका कारण ८० प्रतिशतभन्दा बढी बिरुवा मरेपछि कृषक विचल्लीमा छन्, लगानी डुबेको छ, रोग पहिचान र रोकथामका लागि नमूना परीक्षण गर्न सूचना दिइसकेका छौँ’, उनले भनिन् ।

जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रिक टनभन्दा बढी कफीबाट मात्रै वार्षिक अनुमानित २ करोड रुपैयाँ आम्दानी हुने गरेको छ । उनका अनुसार अहिले जिल्लाभर १ करोड रुपैयाँ बराबरको बोट र फल मरेर सकिएको छ ।

कृषकको समस्याबारे नेपाल बाली विज्ञान महाशाखा, कफी सङ्घलगायतका सम्बन्धित सम्पूर्ण संस्थालाई सूचना र निवेदन दिइसकेको उनले प्रष्ट्याइन् । असारमा शुरु गरिने कफी खेतीलाई शुरुमा पूरा फल लाग्न तीन वर्षको समय लाग्ने गर्छ । एउटा बोटमा १० किलोसम्म फल्ने गर्छ । कफी बजारमा प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने गर्छ ।

‘आगामी जेठ अन्तिमसम्म कफी बिक्रीका लागि पठाइसक्ने गर्छौं’, उनले भनिन् । विसं २०६४ देखि एउटा सामाजिक संस्थाबाट शुरु गरिएको कफी खेतीलाई सहकारी सङ्घबाट व्यवस्थित बनाएर जिल्लामा शुरु गरिएको हो । जिल्ला कफी सहकारी सङ्घबाट ‘अर्गा्निक सटिफिकेसन’ सकेर पैठारी गर्न थालेको आठ वर्ष पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया