व्यावसायिक बाख्रापालनमा युवा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक
तस्वीर :रत्न ठनतसेष्ठ/रासस

चरिचरनको राम्रो ठाउँ भएको सिन्धुपाल्चोकको पहाडी भेग बरुवामा युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हँुदै गएका छन् । पछिल्लो समय युवा विदेश जान छोडेर व्यावसायिक बाख्रापालनतर्फ लागेका छन् ।

सिन्धुपाल्चोकको विभिन्न ठाउँका युवाले आधुनिक तरिकाले व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । बाख्रापालन व्यवसायका लागि चरिचरनदेखि बजारको समेत राम्रो व्यवस्था भएकाले बाख्रापालनमा युवा आकर्षित भएका हुन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका सत्यमान स्याङवा कामको सिलसिलामा ११ वर्षसम्म खाडी मुलुकमा बस्यो । अहिले बाख्रापालन थालेपछि उनको आम्दानी राम्रो भएको छ । उनले शुरुमा ढवल एग्रोभेट प्रालिमार्फत ५५ स्थानीय जातका बाख्रा किनेर व्यवसाय शुरुआत गरेको हो । हाल उनको बाख्राफार्ममा झण्डै १०० बाख्रा छन् । बाख्रापालनबाट खर्च कटाएर वार्षिक रु चारदेखि पाँच लाखसम्म कमाइ हुने गरेको बताउँछन् ।

सिन्धुपाल्चोकमा १०० भन्दा बढी युवाले व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । जिल्लाभित्र र बाहिर मासुका लागि खसी, बोकाको माग बढ्दै गएपछि किसान बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । व्यावसायिकरूपमा बाख्रापालन गर्न चाहने युवालाई सिन्धुपाल्चोकका स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । बाख्रापालनका लागि आवश्यक औषधि, समयअनुसारका घाँसको बीउ, प्राविधिक सहयोग, आवश्यक सीप र अनुदान पाए अझै सजिलो हुने किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया