भूपू जनयुद्धका वर्तमान साथी

कविता

अचेल,
मेरो एक जना साथी
जनयुद्धमा गुमाएर बाँकी एउटा खुट्टा बोकेर
सगरमाथा चढ्छु भन्छ
हजारौं अप्ठ्याराहरु औँल्याई दिएकै हो मैले
बेपर्वाहा चढ्न खोजिरहेछ उ
त्यो अग्लो सगरमाथा ।
किन किन नयाँ रहर जागेको छ उसलाई
चिसो हिउँ कुल्चनलाई
बिना बैशाखी ठमठम हिड्छ उ
समथरमा जमिनमा
जब भञ्ज्याङ अग्लिन्छ
बेसि लर्किन्छ
अनि सहारा खोज्छ
बाँकी खुट्टाले
तर, उ खोज्दैन
कुनै पनि सहारा
एउटा अदम्य दम्भका साथ ।

बाराम्बार कोट्याई रहेँ मैले
सगरमाथा चढ्न खोज्नुको रहस्य
पहिले त फिटिक्कै बताउन चाहेन
उसले मलाई पनि
बल्ल तल्ल मुख खोलेको छ
हिजो आज उसले
एउटा अनौठो रहस्यका साथ
सगरमाथा आरोहणको
एउटै लक्ष्य दर्शाउँछ उ
हिजो युद्ध कालिन सहयोद्धाहरुको
हालको गगनचुम्बी घरहरु
जाबो यो डेढ फुटे पर्खालबाट
अनि छाराम्या जमिनबाट
ऐंचेन रे आँखाको डिकले
चढ्छु र गन्छु भन्छ उ
कस कसका रहेछन्
ती गगनचुम्बी घरहरु
त्यो माथि सगरमाथाको टुप्पोबाट
यहाँबाट फिटिक्कै
चित्त बुझेन रे भन्दै ।

पनौती, काभ्रे

तपाईको प्रतिक्रिया