विदेशको कमाइले स्वदेशमा खेती

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दाङ

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेको छ ।

रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेको हो ।

वार्षिक ५० हजार रुपैयाँका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गरेको खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् । दुई वर्ष अघि लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी १२० रुपैयाँका दरले बिक्री गरेको खड्काले जानकारी दिए ।

चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई १० रुपैयाँ र ठूलोलाई १५ रुपैयाँ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउँछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार-पाँच कामदार लगाउनुपरेको उनले बताए ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट २५० रुपैयामा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो, भन्ने नै थाहा नभएको बताए । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उनको भनाइ छ । रोजगारीका लागि दुईपटक मलेसिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेको हो । ६ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गरेको खड्काले व्यवसायमा ७५ लाख रुपैयाँ लगानी गरेको बताए ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । ‘नेपाली बजारमा सधैं प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ’, खड्काले भने । बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका-५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गरेको छ । कागतीसँगै माछा, कुखुरा, केरा खेतीसँगै भैंसी र बाख्रा पनि पालेको छ ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । ‘बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ’, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया