ताम्सालिङ र तामाङ स्वायत्त राजनीतिक इकाईहरु

डा. मुक्तसिंह लामा मानवशास्त्री
काठमाडाैं

ताम्सालिङको भूगोल

पूर्व दूधकोशी, पश्चिम बुढिगण्डकी, उत्तर हिमाल र दक्षिण चुरेको तल्लो किनारासम्मको भू-भागमा तामाङ जातिको घना बसोवास रहेको छ । प्राचीनकालमा यो चारकिल्लाभित्रको भू-भाग ‘माङ ह्युल’ वा ‘तामाङ ह्युल’ वा ‘तामाङ ह्युल्सा’ नामले चिनिन्थ्यो । यही भू-क्षेत्र पछिल्लो समयमा आएर ताम्सालिङ हुन गएको हो ।

ताम्सालिङको भूगोल जुन आज हामी कुरा गरिरहेका छौं, त्यो भारत र तिब्बत जोड्ने हिमाली नाकाहरु मध्ये रसुवाको केरुङ, सिन्धुपाल्चोको तातोपानी हुँदै जाने कुती र लामाबगरको लाप्ची नाका यसै ताम्सालिङ भूगोलसँग जोडिएको छ ।

शाब्दिक अर्थ र भ्रमहरु

ताम्सालिङको भूगोलको कुरा गरिसकेपछि तामाङ को हुन् ? भन्ने कुरा आउँछ । नामाकरणको आधारमा प्राचीन ‘माङ ह्युल’ भनेको ‘माङ’हरुको देश वा ‘माङ’ जातिको जमिन भन्न सक्छौं । ‘तामाङ’ शब्दको अर्थ खोज्ने हो भने ‘ता’ भनेको ‘महान’ र ‘माङ’ जाति हो । ‘तामिङ’ भनेर चीनको ‘मिङ’ डाइनेष्टीले आफ्नो नाम अगाडि ‘महान’ जोडेको पाउँछौं । तामाङ पुर्खाहरुले पनि आफूलाई गौरव गर्नका निम्ति नाम अगाडि ‘ता’ राखेर महान भन्न खोजेको हुन सक्छ । मेरो अध्ययनबाट प्राप्त ऐतिहासिक तथ्यहरुले तामाङले पनि आफूलाई महान वंशका सन्तानहरु भन्ने अर्थमा तामाङ भनेको देखाउँछ ।

यससँग सम्बन्धित केही तथ्यहरुलाई हेरौं । कैलाश मानशरोवरबाट चारवटा नदीहरु शुरु भएको देखिन्छ । पहिलो सतलज, दोस्रो इन्दुस, तेस्रो कर्णली र चौथो चाँहि ब्रम्हपुत्र (चाङ्बो) नदि हो । यी चार नदीहरु चारओटै जीवका मुखबाट निस्केका तथ्यहरु छन् । त्यी मध्ये चाङ्बो (ब्रम्हपुत्र) घोडाको मुखबाट निस्किएको भन्ने छ । तामाङहरुको इतिहास स्याङस्युङको इतिहाससँग जोडिएको हुन सक्ने तर्क छ । यसले के देखाउँछ भने तामाङको घोडासँग महत्वपूर्ण साइने र सम्बन्ध छ । यस हिसाबले तामाङहरु प्राचीनकालमा पशुपालक थिए । उनीहरु घोडाको प्रयोग बढी गर्दथे ।

अर्को कुरा घोडासँग सम्बन्धित विभिन्न तामाङ मिथक, किंवदन्ती र ऐतिहासिक कथाहरु छन् । प्राचीनकालमा तामाङ घोडचढी योद्धा थिए भन्ने सुन्छौं । तर, यसले कतिपय अवस्थामा तामाङको उत्पति बारे चर्चा नभएर केही भ्रमहरु सिर्जना गरेको पनि पाउँछौं । ‘तामाङ’ शब्द ‘तामग’बाट आएको भन्ने गरिएको छ । तिब्बती शब्द ‘तामाग’को अर्थ घोडसवार सैनिक हुन्छ । स्राङचङ गम्पोका घोडसवार सैनिक नेपाल आउँदा केही सैनिकहरु यतै बसे भन्ने कुरा छ । त्यसलाई पुष्टि गर्ने कुनै ऐतिहासिक सामग्रीहरु भने भेटिएको छैन । ‘तामाग’ शब्दसँग भने तामाङको कुनै साइनो सम्बन्ध देखिदैन । त्यसैले यो एउटा भ्रम हो ।

अर्काे भ्रम भनेको तामाङहरुको भोटसँग संस्कृति, धर्म र संस्कार मिल्छ त्यसैले यिनीहरु भोटबाट नै आएका हुन् । तर, संस्कृति, धर्म र यवात सम्बन्धकै आधारमा तामाङहरु भोटबाट नै आएका हुन् भन्न मिल्दैन किनभने भोट र तामाङ बीच धेरै भिन्नताहरु छन् । भोट (तिब्बती) समुदायले तामाङलाई बोइ वा बोइपा अथवा तिब्बती हुन् भन्दैनन् । यसैगरी तामाङले तिब्बतीलाई छुट्टै समुदायको रुपमा मान्छन् ।
नेपालका गैरतामाङ इतिहासकारहरुले तामाङलाई भोटबाट आएको भन्दै आएका हुन् । हामीले सुन्दै र भोग्दै आएको पनि हो तामाङ गाउँहरुलाई भोटेगाउँ र तामाङलाई अहिले पनि भोटे भनेर बोलाउने गर्दछन् । भोटे र तामाङ छुट्टयाउन नसक्ने कुरो नेपालमा एकदमै ब्याप्त छ ।

तेस्रो भ्रम भनेको तामाङहरु मंगोलीयबाट आएको भन्ने हो । मंगोलीया यति टाढा पर्छ कि यहाँबाट तिब्बत, तिब्बतबाट चीन र चीनपछि मात्र मंगोलिय आउँछ । मलाई लाग्छ पैदल यात्रा तय गर्ने हो भने मंगोलीया र नेपाली बीचको दुरी पार गर्न दुई तीन महिना लाग्न सक्छ । त्यसैले मंगोलीयसँग तामाङको कुनै साइनो-सम्बन्ध नै हुन सक्दैन । मंगोलीयसँग के मात्र साइनो गाँसिएको छ भने त्यहाँ पनि तिब्बतबाटै बौद्धधर्म गएको हो र तामाङ भूमि र समाजमा पनि तिब्बतबाटै बौद्धधर्म आएको हो । त्यसैले तिब्बत दुबैका लागि बौद्धधर्मका स्रोतकेन्द्र हुन् । तर, तामाङ समुदाय मंगोलीयाबाट र भोट (तिब्बत)बाट आएको चाँहि होइन ।

साताैंदेखि सोह्राैं शताब्दीसम्म तिब्बतमा धार्मिक द्वन्द्वले अथवा विभिन्न कारणले विस्थापित भएको समूहहरु यहाँका बृहत्तर तामाङ समुदायसँग विलाय भएको उदाहरणहरु भने प्रसस्तै छन् । त्यसैले तामाङको हिमाली धर्म, संस्कृतिसँग गहिरो सम्बन्ध छ । यसको मतलब तिब्बतसँग मात्र होइन लाहोर, सिक्किम र भुटानसँग पनि तामाङको सम्बन्ध छ ।

ऐतिहासिक तथ्यहरु

इतिहासकार बाबुराम आचार्यका अनुसार तामाङ याम्बु (काठमाडौं) उपत्यकाको सबैभन्दा पहिलो आदिवासी हुन् । उनी लेख्छन्- ‘आजभन्दा आठ दश हजार वर्ष अगाडिदेखि हिमालय पर्वत श्रृंखलाको दक्षिणी पाखामा रहेको पहाडी उपत्यकाको समथल मैदानहरुमा विशिष्ट जनसमुदायको अवाध थियो । जुन समुदाय वा मूल निवासीलाई नवआगन्तुक आर्यहरुले किरात नाम दियो ।’ यही किरात वर्तमान समयका मगर, गुरुङ, नेवार आदि हुन् भनिएको छ ।

तामाङको इतिहासलाई कालक्रममा छुट्टयाएर हेर्ने हो भने इसापूर्व प्राचीन समुदायका रुपमा प्राचीन सभ्यता याम्बु उपत्यकामा तामाङ अवाध थियो । त्यसपछि पहिलोदेखि पाँचौ शताब्दीभित्र याम्बु उपत्यकाबाट तामाङहरु बिस्तारै विस्थापित भएको पाइन्छ । याम्बु उपत्यकामा बैष्णवीबाट लिच्छबी आउन थालेपछि संस्कृत र हिन्दू मूल्य, मन्यता र दर्शनका कुराहरु धेरै आउन थाले । त्यसपछि यहाँका नेवार समुदाय त्यसबाट धेरै प्रभावित भए । तर, त्यही कालखण्डमा तामाङ समुदाय भने हिमाली सभ्यतासँग निरन्तर रहिरहे ।

छैटौंदेखि बाह्रौं शताब्दीसम्ममा काठमाडौं उपत्यकामा मल्ल राजाहरु स्थापित हुँदै थिए । मल्ल राजाहरु पनि भारतवर्षबाट नै आएका हुन् । मल्लहरुले काठमाडौंमा शासनसत्ता चलाउन थालेपछि तामाङ र मल्लहरुबीच राजनीतिक शक्तिको निम्ति संघर्ष चल्यो । बाह्रौंदेखि तेह्रौ शताब्दीसम्म आइपुग्दा मल्लहरुले काठमाडौं उपत्यकामा राजनीतिक प्रभुत्व जमायो । यो काठमाडौं, भक्तपुर र ललितपुरको गोपाल राजवंशीको इतिहासले प्रष्ट्याउँदछ ।

तामाङ समाजमा प्रख्यात ‘जिक्तेन तामछ्योइ’मा अंशुवर्माको बारेमा लेखिएको छ- ‘बोइला ग्याल्पो स्रोङचेन गम्पो, याम्बुला ग्याल्बो होइसेर गोछा’ (तिब्बतका राजा स्रोङचेन गम्पो, काठमान्डौंको राजा अंशुवर्मा) भनि लेखिएको छ । स्रोङचेन गम्पोले अंशुवर्मकी छोरी भृकुटीसँग विवाह गरेका थिए ।

अर्काे चाखलाग्दो कुरा ज्योहोपाल्देन (अतिश) बुद्धधर्मका ठूला गुरु थिए । उनी भारतबाट धर्म प्रचारका निम्ति तिब्बतमा पुगेका थिए । उनी वि.सं. १०४५ मा तेस्रो पटक मुगे पुगेका थिए । मुगे कैलशदेखि वर समथलक्षेत्र जो स्याङसुङमा पर्दछ । मुगेबाट फर्कने क्रममा उनले काठमाडौं स्थित बौद्धनाथको पनि दर्शन गर्ने सोच बनाए । केरुङ आइपुग्दा उनले थाहा पाए कि केरुङदेखि यता मुरीकोसामुति तीन थरी समुदायहरु अथवा त्यहाँका राजनीतिक समूहहरु र बल्बोको राजाहरु बीच ठुलो लडाई चलिरहेको छ । लडाइँका कारण उनी काठमाडौं आउन नसकेपछि केरुङबाट सिधै ल्हासा पुगे । यसले पनि थोरै वा अंशमा भएपनि तामाङ र बाल्बो वा याम्बु उपत्यकाको संरचनाका बारे दर्शाउँछ । यो ‘स्याम्पा फुन्छोककी नाम्थक’ भन्ने पुस्तकमा लेखिएको छ । यो अतिश बारे लेखिएको पुस्तक हो ।

गोपाल राजवंशीमा उल्लेख गरिए अनुसार जितारी मल्लले वि.सं. १२८९ मा नुवाकोट अक्रमण गरे । जितारी मल्लले आक्रमण गर्नु अगाडि त्यस क्षेत्रमा तामाङहरुले आफ्नो राजनीतिक व्यवस्था सञ्चालन गरेका थिए । तीन पटक आक्रमणपछि मात्रै मल्लहरुले नुवाकोट जितेका थिए- वि.सं. १२८९, १३०८ र १३६५ मा । त्यस समयसम्म मल्ल र तामाङ बीच राजनीतिक शक्ति संघर्ष निरन्तर थियो ।

जयतुङ मल्लले वि.सं. १३०६ मा फर्पिङ माथि अर्काे आक्रमण गर्यो । त्यसैगरी वि.सं. १०६० मा काठमाडौंका राजा बलदेवले बनेपामाथि आक्रमण गरिएका थिए । त्यस बेला त्यहाँ तामाङहरु बाहेक अरु कोही थिएन । त्यो वि.सं. १०४८ देखि वि.सं. १०६० को अन्तरालमा भएको संघर्ष थियो । तामाङहहरुको राजनीतिक इकाईहरु मल्लहरुको बेलामा नै स्थापित थियो जुन गोरखा सम्राज्य विस्तार पश्चात अन्त्य भएको थियो ।

अर्काे भारतबाट तिब्बतमा धर्म प्रचारका निम्ति आएका सबैभन्दा कान्छो बुद्धिष्ट पण्डित महापण्डित धनरत्न थिए । धनरत्न वि.सं. १४५४ मा बंगालबाट तिब्बत पुगे । उनी तिब्बतबाट फर्केपछि उनका शिष्य लोछेन सोनाम ग्याल्छोले उनको जीवनी लेखे । उनको जीवनीमा लेखिए अनुसार उनलाई तिब्बत लैजाने र ल्याउने दुवै काम तेमालका कोन्छोक लामाले गरेका थिए । यसले तिब्बत र तामाङ बुद्धिजमसँग गहिरो सम्बन्ध छ भन्ने देखाउँछ ।

सत्रौं शताब्दीमा रिन्छेनह्योइमोबा टुल्कु तेन्जिनको शिष्य छैटौं श्यमार्पा लामा काठमाडौंबाट केरुङ हुँदै तिब्बत पुगेका थिए । उनले आफ्नो यात्रा संस्मरणमा काठमाडौंबाट तिब्बत यात्रा गर्ने क्रममा केरुङ वरिपरि तामाङहरु भेटेँ भनि लेखेका छन् । त्यतिबेला त्रिशुलीको नाम रोकस्योङ भनिदो रहेछ । पछि रोकस्योङ अपभ्रंश भै रसुवा भएको रहेछ । पछि महादेवको कथा र हिन्दूकृत आएपछि त्रिशुली हुन गयो । यी क्षेत्र आफैमा स्वायत क्षेत्र थियो ।

बाह्र तामाङ राज्यहरु

तेह्रौंदेखि सत्रौं शताब्दीको अवधिमा काठमाडौं वरिपरिका क्षेत्रमा राजनीतिक रुपले स्वायत्त तामाङ इलाकाहरु रहेको र त्यहाँ आफ्नै किसिमको शासन व्यवस्था थियो । अहिलेसम्म प्राप्त सूचनाको आधारमा के भन्न सकिन्छ भने यी क्षेत्रहरुमा यस्ता १२ वटा राजनीतिक स्वायत्त इकाइहरु थिए । यसलाई तामाङ भाषामा ग्याल्बो च्युङि भन्ने गरिन्थ्यो । यो गोरखालीहरुको आक्रामण पूर्वको इतिहास हो । अहिलेको लागि ग्याल्बो च्युङि शतप्रतिशत किटानी गर्न नसके पनि खोजीको विषय भने पक्कै हो ।

विभिन्न तामाङ कथाहरु तथा पुराना सामग्रीहरुमा १२ तामाङ र १८ थर भनिएको छ । ‘तामाङ म्हारमेन छान ह्रुइ सल च्योगे’मा अठार तामाङ महान थर भनि उल्लेख गरिएको छ । जसअनुसार १२ वटा ग्याल्बोहरु थिए । ती ग्याल्बोहरुको तिब्बत र उपत्यकका नेवार राजहरुसँग सम्बन्ध थियो ।

१२ वटा तामाङ ग्याल्बो (राजा) हरु कुन कुन ठाउँमा थिए ? कुन ह्रुइ (थरी) का तामाङ ग्याल्बोहरुले प्रभुत्व जमाएका थिए ? पछिल्ला ग्याल्बोहरुका नाम के के थिए ? र, ती ग्याल्बोहरु कहिले गोरखाली आक्रमणमा परे ?

गोरखको बारपाकमा घले राजा थिए । घले तामाङ शब्द ग्लेबाट आएको हो । अन्तिम राजा ग्याल्बो स्यार्तङ थियो । वि.सं. १६६९ देखि १७१६ मा त्यहाँ आक्रमण भएको थियो । बसेरीमा पनि घले राजा नै थियो । त्यहाँ नैइगी छ्योइ भन्ने राजा थिए । अर्काे धादिङमा पनि घले राजाले शासन गरेका थिए । त्यहाँ वि.सं. १७६६ मा आक्रमण भएको थियो । धादिङको सेर्तुङमा लोप्चन थरी राजा थिए । रसुवाको गोल्जोङमा पनि घलेहरुले नै राज गरेका थिए । अन्तिम राजाचाँहि डुब्चन गे ग्याल्बो थियो । सेम्जोङमा वाइबा राजा थियो । दागुर ग्याल्बो त्यहाँका अन्तिम शासक थिए । वि.सं. १७३९ मा त्यहाँ आक्रमण भएको थियो । ककनीमा रुम्बा राजा थियो । ककनीकै रुम्बा राजाले बौद्धको सम्पूर्ण संरक्षण गरेको भन्ने इतिहास पाउँछौं । बौद्धको प्रमुख लामा पहिला ककनीकै थियो । नाल्दुम (नगरकोट) ङ्यासुरको भन्ने गरिएको छ । त्यो चाहि प्रमाणित भइसकेको छैन । सिन्धुपाल्चोक साँगाचोकमा मोक्तानको, रामेछापको ताल्च्योमा घिसिङ र तेमालमा दोङ (बल) राजा थियो । अन्तिम राजा रिन्जेनदोर्जे थियो ।

तामाङ राज्यहरुको स्वरुप र सम्बन्ध

तामाङहरुको एउटै एकीकृत राज्य थिएन । ठकुरीहरुको बाइसे, चौबिसे राज्य थिए भने मल्लहरुको ३/४ वटा राज्य थियो । तामाङको १२ वटा राज्य थियो भन्ने छ । एकीकृत राज्य नभए पनि सो अन्र्तगत स्वायत्त राजनीतिक इकाईहरु चाँहि थिए । ती राजनीतिक इकाईहरु बीच एक आपसमा सम्बन्धित भएर बसेका थिए । १२ वटा राजनीतिक इकाईहरु एक-आपसमा सम्बन्धित यस कारणले पनि थियो कि उनीहरु एउटै भाषा तामाङ भाषा बोल्दथे । धर्मको रुपमा बौद्ध र बोन्बोवाद मान्दथे भने ताम्बा संस्कृति उनीहरुको साझा संस्कृति थियो । ह्रुइ (थर) प्रथा सबै तामाङहरुको एउटै थियो । चोहो प्रथा सबै गाउँमा प्रचलनमा रहेको थियो जो गाउँको अगुवा हुन्छन् । ‘चोहो’ तिब्बती शब्द ‘ज्योहो’बाट आएको हो त्यसको अर्थ संरक्षक भन्ने हुन्छ । यसैबाट तामाङ समुदायमा ग्ले वा ग्याल्बो (=राजा ?) को मन्यता प्रचलनमा आएको देखिन्छ । तामाङमा ग्ले वा ग्याल्बोलाई संरक्षकको मन्यता दिइयो । राजा वंशाणुगत हुने गर्दछ त्यो तामाङमा देखिदैन ।

तिब्बतमा छोग्याल (धर्मराज) को मन्यता थियो । नेपालमा पनि तामाङहरु लामा पढ्ने र आफ्नो क्षेत्रको संरक्षण गर्ने हुनाले छोग्यालसँग मिल्दोजुल्दो देख्छौं । सामन्ती व्यवस्थामा उत्पादन तथा सबै स्रोत साधानमाथि सामन्तीहरुको हातमा हुने र जनसाधारणहरु कृषि मजदुर र दास हुने गर्दछ त्यो भने तामाङ समाजमा भेटिएको छैन । तामाङहरुमा जग्गा जमिन व्यक्तिगत स्वामित्वमा राख्ने प्रचलन थिएन । गोरखा साम्रज्य विस्तार पूर्व सामुहिक अर्थात् किपटको रुपमा निरन्तर थियो ।

तामाङ राज्यहरुमाथि गोरखाली आक्रामण

गोरखा साम्रज्यको विस्तार क्रममा दुई किसिमका प्रक्रियाहरु अगाडि बढाइएको थियो । एउटा, सन्धी सम्झौता मार्फत् आफ्नो मातहातमा लिने त्यसको उदाहरण गोल्जोङ र सेमजोङ हो । अर्काे प्रक्रिया चाहि सैनिक दमनबाट लिने थियो । तेमाल र नाल्दुममाथि सैनिक दमनबाट कब्जा जमाएका थिए ।

गोल्जोङको घले राजाको ‘काल्सा साल्वाइमेलोङ ज्योहो दोङराप’ गोल्जोङबाट प्राप्त डकुमेन्टमा गोरखाको धार्बुङदेखि (नरभुपालको पालासम्म) हाम्रा बाजे डुप्सालधे भन्ने राजा थियो भनि लेखिएको छ । नरभुपालका छोरा पृथ्वी नारायणको समयमा गोरखा बाहिराका क्षेत्र नियन्त्रणमा लियो । रिन्छेन तेन्तोले त्यससम्बन्धी एउटा पत्र प्रस्तुत गरिएको छ । पत्रमा गोल्जोङ क्षेत्रको सम्पूर्ण अधिकार यही नै रहन्छ भनि लेखिएको छ । त्यो भनेको पृथ्वीनारायण शाहले गोल्जोङमाथि आक्रमण गरी आफ्नो अधिनस्थ लिएपछिको कुरा हो । तर, गोल्जोङको स्थानिय अधिकार चाँहि निरन्तर रुपमा त्यही नै रहन्छ भन्ने सम्झौतामा लेखिएको पाउछौं ।

तेमाल माथि वि.सं. १७६२ अन्तिम आक्रमण भएको हो । आक्रमण वि.सं. १७६२ को सेप्टेम्बर २ र ३ मा भएको थियो । बाबुराम आचार्यका अनुसार त्यसबेला ३ सय जना मारिएको उल्लेख छ । आक्रमणमा मारिएका ३ सय जना गोरखाली सैनिक थिए कि तेमालकै तामाङ सेनाहरु थिए ? किटान छैन । वि.सं. १७६२ मा गोरखा साम्रज्य तामाङ क्षेत्रमा छिरिसकेको इतिहासले देखाउँछ । पृथ्वी नारायण शाहले वि.सं. १७६७ मा मात्र काठमाडौंलाई जिते । यसले तामाङ क्षेत्रमा पृथ्वीनारायण शाहलाई लडाइँ गर्न पाँच वर्ष लागेको देखाउँछ ।

वि.सं. १७७१ देखि १७९३ सम्म गोरखाली विरुद्ध तामाङहरुले ठुलो विद्रोह गरे । गोरखालीको क्रुर दमन, शोसन र किपट जग्गा-जमिन खोस्नु नै विद्रोहका मूल कारणहरु थिए । विद्रोहको केन्द्रविन्दु नुवाकोटको लाच्याङ र गोरखाको खविलास थियो । विद्रोह पछि विस्तारै वि.सं. १७९२ सम्ममा धादिङ र रसुवा पुगिसकेको थियो भने पूर्वमा सिन्धुपाल्चोक र काभ्रेसम्म फैलिसकेको थियो ।

विद्रोहबाट तामाङहरुले आफ्ना खोसिएका जमिन फिर्ता लिएका रहेछन् । वि.सं. १७९२ को हिउँदमा विद्रोह काठमाडौं उपत्यकामा प्रवेश गरेको रहेछ । ‘नेपाल देशको इतिहास’ लेख (प्राचीन नेपाल,अङ्क २४) मा यसको वृत्तान्त लेखिएको छ । त्यसमा भनिएको छ- ‘मालानाला, भोटेहरुले नेपाल मण्डल घेरिसकिएको छ ।’ आफ्नो स्वायत्तका लागि लडिरहेका तामाङहरुले त्यही वर्ष जून महिना ताका गोल्फु क्षेत्रतिरबाट साँखुमा आक्रमण गर्दाखेरि १७ लालसाही र अमरसिंह थापाको टोलिसँग लडेका थिए । यो भिडन्तमा धेरै दमन भएपछि केही सम्झौता माझ विद्रोह टुङिग्याएको थियो । विं.सं. १८५० मा लाच्याङका तामाङहरुलाई लेखिएको चिठीमा लेखिएको छ- ‘आगे लाच्याङका मुर्मि, तिमीहरुका गाउँका जो हुलमुलमा सहिद हुँदा,काटिएका हुन्, उनका कविलालाई आ-आफ्नै जग्गामा बस्न भनि फिराइ बक्सेको छ ।’ चिठी रञ्जित पाण्डेमार्फत् लेखिएर पठाएको रहेछ । यसको मतलब के हो भने विद्रोहमा धेरै दमन भएको पाइयो र दमनमा डाँडापाखा लागिएकाहरुलाई पुनः गाउँमा आएर बस्नका लागि चिठी लेखिएको पाइयो ।

रणबहादुर शाहले वि.सं. १९९४ मा धर्मे मुर्मिलाई एउटा चिठी लेखिएको छ । त्यसमा रामेछापको माकथुम गाउँको छापको जग्गा-जमिन जुन खत्रीलाई विर्ता दिएको थियो त्यो विर्ता दिएको जग्गा धर्मे मुर्मिलाई फिर्ता दिनु भनि लेखिएको रहेछ । प्रजाको जग्गा राजाले लिनु हुँदैन भन्ने मन्यता रहेकोले रणबहादुर शाहले धर्मे मुर्मिको किपट जग्गा फिर्ता गरिएको देखिएको छ । यसबाट के स्पष्ट देखिन्छ भने तामाङको राज्य (इकाई) गोरखालीहरुले दमन र सन्धि सम्झौतामार्फत् लिएको पाइयो ।

तपाईको प्रतिक्रिया