कोभिड-१९ : संक्रमित भेटिएपछि सरकार थप रणनीतिमा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड-१९ पोजिटिभ देखिएपछि त्यस विरुद्ध लड्ने रणनीति मजबुत बनाउँदै लाने भएको छ । नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा कोभिड-१९ को नतिजा पोजिटिभ देखिएपछि मन्त्रालयले रणनीतिमा थप मजुबत गर्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताए । आज खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

यसअघि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोभिड-१९ पोजिटिभ देखिएको थियो । उनीहरु दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका एक जनामा संक्रमण देखिए पनि उपचारपछि निको भएर घर फर्किसकेको छ ।

‘हिजोसम्म एउटा मात्र केस थियो । उहाँलाई हामीले निको बनाएर पठाएका थियौँ तर अहिले लगातार थप दुईवटा केस देखिन थालेपछि अब हामीले केही रणनीति बनाउनुपर्ने हुन्छ’, डा. देवकोटाले भने ।

डा. देवकोटाका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्छ ।

‘विदेशबाट आएका सबै न संक्रमित हुनुहुन्छ न त नमूना परीक्षण जरुरी रहेको छ । उनीहरु आफ्नै घरमा एक्लै बसून् भनेर लकडाउन गरिएको हो ।’, उनले भने, ‘विदेशबाट आएकामा लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो ।’

‘कोभिड-१९ पाजिटिभ देखिन सक्छ भनेर नै तयारी अवस्थामा बस्नका लागि लकडाउन गरिएको हो । देखिएकोलाई सरकारले उपचार गर्ने र बाँकी घरघरमा बस्ने हो ।’ डा. देवकोटाले भने ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

डा. देवकोटाका अनुसार अहिलेको शुक्रराज अस्पतालमा एक हप्तामा चार हजार जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता छ । सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदैछ । निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उहाँको भनाइ थियो ।

कतिपय अस्पतालले बिरामीको नमूना नै परीक्षण नगरी फर्काउने (रिफर) गर्ने गरेकाले केही चुनौती थपिएको डा. देवकोटाको धारणा थियो । ‘यदि सम्भावित संक्रमित हो भने आइसोलेशनमा राख्नुपर्छ’, उनले भने, ‘तर अस्पतालले आइसोलेशनमा नराखेर रिफर गर्ने गरेका छन् । त्यस्तो गर्न मिल्दैन । अस्पतालको आफ्नै आइसोलेशन वार्डमा त्यस्ता संक्रमितलाई राख्नुपर्छ ।’

विश्वव्यापी सामग्रीको संकट भएका बेला व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) केही अस्पतालले आफँै बनाइरहेको समेत जानकारी दिँदै लुकाइएका सामग्री आफूहरुले खोजी गरिहेको डा. देवकोटाले बताए । ‘जे जति छ, त्यो हामीलाई दिनुहोस् । लुकाउन पाइँदैन’, उनले भने, ‘लुकाएको थाहा पाए हामी खोज्छाैं ।’

तथ्याङ्क अनुसार नेपालमा ६८७ जनाको कोभिड-१९ को नमूना परीक्षण भएकोमा ६८४ मा नेगेटिभ तथा तीन जनामा पोजिटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया