विदेशबाट फर्किएको घरमै पुगेर गरे हलेसी तुवाचुङले स्वास्थ्य परीक्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हलेसी तुवाचुङ, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको घरमै गएर स्वास्थ्य परीक्षण गरेको छ । बुधबार नगरपालिका-८ मा स्वास्थ्यकर्मीको टोलीसहित घरमै पुुुुगेर स्वास्थ्य परीक्षण गरिएको उपमेयर विमला राईले बताइन् ।

एक हप्तामा खाडी लगायतका देशबाट फर्किएका ६ जनाको स्वास्थ्य परीक्षण गरिएका छन् । अरुको स्वास्थ्य अवस्था समान्य भेटिए पनि एक जनामा खोकीको समस्या देखिएको छ । उनी फर्किएपछि होम क्वारेन्टिनमा नबसेको पाएको र उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको  उपमेेेयर राईले जानकारी दिइन् ।

‘नगरपालिकाले विदेशबाट फर्किएकालाई स्वास्थ्य परीक्षण गराउन र होम क्वारेन्टिनमा बस्न सूचना निकालेर आग्रह गरिरहेको’ उपमेयर राईले भनिन् ।

नगरपालिकाले हलेसीमा २० बेडको क्वारेन्टाइन तयार गरेको छ, भने हलेसी स्वास्थ्य चौकीमा ५, दुर्छिम स्वास्थ्यचौकीमा ४ र हलेसीकै जाम्बाला होटलमा ११ बेडको क्वारेन्टिन तयार गरेको उपमेयर राईले बताइन् ।

चेकजाँच गरिएकामा २ जना कतार, २ जना साउदी र एक जना माल्दिभ्सबाट फर्किएका हुन् । कतारबाट फर्किएका एक जनामा भने खोकीको समस्या देखिएको उपमेयर राईले जनाइन् । उनका अनुसार नगरपालिकाले जयरामघाट, रेग्मीटार र हलेसी मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाइरस (कोभिड–१९) को चेकजाँच गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया