चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा निःशुल्क मास्क र औषधि वितरण

सैलुङअनलाइन संवाददाता
चौतारा, सिन्धुपाल्चोक

कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले बुधबारदेखि पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा नगरवासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो ।

वडा नं. ८ मा एक हजार, वडा नं. ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण गर्न थालेको हो । ‘देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौं,’ चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने ।

मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताए । नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

बजारमा मास्कको अभाव भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका-५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।

नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया