दोलखालीलाई खुशीको खबर: ५ जनामा कोरोना नभएको पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

कोरोना भाइरसको आशंकामा परीक्षणका लागि दोलखाबाट काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका ५ जना बिरामीमा संक्रमण नभएको पुष्टि भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशंकामा ५ जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएको र रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए ।

स्थानीय तहमा एम्बुलेन्स तयारी

कारोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहले विभिन्न ठाउँमा ५९ सैयाका आइसोलेसन निर्माण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ५९ सैयाका आइसोलेसन र २१० क्वारेन्टाइन निर्माण गरिएकोे बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाका लागि लगाउने पिपीइ ४८ थान, थर्मलगन २० थान रहेको र २७ एम्बुलेन्स तयारी अवस्थामा रहेको प्रजिअ शर्माले बताए ।

स्थानीय तहअन्तर्गत गौरीशंकर गाउँपालिकाले ६ सैया, शैलुङले ८, कालिन्चोक र तामाकोशीले पाँच-पाँच, वैत्येश्वरले २, भीमेश्वरले २१, विगुले १० र जिरीले २ सैया आइसोलेसन निर्माण गरेका छन् । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पताल च्छोरोल्पा अस्पतालले ६ सैया, दोलखा सामुदायिक अस्पतालले २ श्यया र धुलिखेल अस्पतलले पाँच श्ययाको आइसोलेसन निर्माण गरेको छ ।

आइसोलेशन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यकताहरुको ठाउँहरुमा समन्वय गरी औषधि उपकरणहरु व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताए ।

तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण र स्वास्थ्यकर्मी उपलब्ध गराउनाका साथै नागरिकलाई सचेतनालगायतका काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया