निजगढमा ३६ शैय्याको क्वारेन्टाइन, ३० शैय्या थप्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ
तस्वीर: फाइल

कोरोना संक्रमण शंकास्पदहरु राख्नकालागि निजगढमा क्वारेन्टाईन तयार गरिएको छ । निजगढको बकैयामा रहेको बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको सभाहलमा ३६ वटा कोरेन्टाइन बेड तयार गरेको निजगढका मेयर सुरेशकुमार खनालले बताए ।

मेयर खनालको आह्वानमा बिहिबार सम्पन्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले नगरपालिकाले ५० शैयाको क्वारेन्टाइन बनाउने र प्रत्येक वडाले ५÷५ शैयाको क्वारेन्टाईन बनाउन पहल गर्ने निर्णय गरेको थियो । जसअनुसार बिहिबार नै नगरपालिकाले ३६ शैयाको क्वारेन्टाइन बेड तयार गरेको छ ।

यसैगरी ठाडोलाईनमा रहेको गौरीशंकर क्याम्पसको भवनमा थप ३० वटा क्वारेन्टाइन बेड तयार गरिने मेयर खनालले बताए ।

यसैगरी वडा कार्यालयहरुले पनि आआफ्नो वडामा कोरोना संक्रमण संकास्पद व्यक्तिहरुलाई राख्नकालागी क्वारेन्टाइन तयार गर्ने कार्य शुरु गरेका छन् ।

बिहिबार सम्पन्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले नगरको राजमार्ग क्षेत्र तथा भित्रि सडकहरुमा सरसफाई गर्ने र किटनाशक औषधि छर्कन,ज्वरो परिक्षण गर्नकालागी इन्फ्रारेड थर्माेमिटर प्रयोग गरि शंकास्पद व्यक्तिलाई परिक्षण गर्ने व्यवस्था मिलाउने र स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिइ) को व्यवस्थापनकोलागि सम्बन्धित निकायसंग माग गर्ने निर्णय समेत भएकोछ ।

बैठकमा नगरभित्र बाह्य देशबाट आएका आगन्तुकहरुको तथ्यांक वडा मार्फत संकलन गरि नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णय गरेको मेयर खनालले बताए । नगरपालिकाले यसअघि नै कोरोना संक्रमण शंकास्पद बिरामीकोलागी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको आईसोलेसन वार्ड तयार गरिसकेको छ ।

यसैबीच निजगढ नगरपालिका र सुरक्षाकर्मीहरुको टोलीले लक डाउनको पालना गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । बिहिबार नगरको ग्रामिण क्षेत्रमा सुरक्षाकर्मी सहितको टोलि पुगेर लकडाउनको समयमा घर भित्रै रहन आग्रह गरेको हो । मेयर खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनाल सहितको सुरक्षाकर्मीहरुको टोलीले लक डाउन कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया