कोरोना कहर र नागरिकको दायित्व

प्रतीक ङेसुर तामाङ लेखक/संचारकर्मी
0 Shares
ललितपुर

अहिले विश्व एउटा नसोचेको विषम परिस्थितिको सामना गर्दैछ । चीनको हुवेई प्रान्तको राजधानी वुहानमा देखापरेको कोरोना भाइरस (कोविद-१९) ले संसारभर आतङ्क मच्चाइरहेको छ । संसारका सबै देशमा फैलिसकेको यो भाइरसले महामारीको रूप लिइसकेको छ । गत जनवरी तेस्रो सातादेखि प्रकोपका रूपमा देखापरेको कोरोना भाइरसका कारण अहिले दैनिक हजारौं मानिसको मृत्यु भइरहेको छ ।

कोरोना भाइरसबाट विश्वभरमा अहिलेसम्म (मार्च २६ तारिख) मा २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । मार्च १९ मा १० हजारमा सीमित मृत्युदर एकहप्तामै ११ हजारको सङ्ख्यामा थपिएको छ । यही गतिमा मृत्युदर कायम रहने हो भने लाखौं मानिसको मृत्यु निश्चित देखिएको छ । सुरुमा १ लाख मानिसमा यो भाइरस सङ्क्रमण हुन ६७ दिन लागेको थियो । त्यसपछि ११ दिनमै २ लाख मानिसमा सङ्क्रमण भयो भने अरू चार दिनमै ३ लाखमा सङ्क्रमित भएको तथ्याङ्क देखिन्छ । फेरि अर्को चारदिनमै डेढलाखभन्दा बढी मानिसलाई यसको सङ्क्रमणले भेटिएपछि अहिले पौने ५ लाख मानिस कोरोनाको प्रकोपमा आइसकेको छ । दैनिक झन्डै ५० हजार मानिसमा यो भाइरस सङ्क्रमण भइरहेको छ । यो तथ्याङ्कबाट यसको सङ्क्रमण हुने तीव्रता बुझ्न सकिन्छ । ठूलो सङ्ख्यामा फैलिँदै गएको यसबाट पनि हामी बुझ्न सक्छौं ।

कोरोनाको प्रभावबाट संसारका कुनै पनि मुलुक बच्न सकेको छैन । कम बढी सबैजसो मुलुकमा कोरोनाको असर परिसकेको छ । दिन दुई गुना रात चौगुनाको बेगमा कोरोनाले आक्रमण गरिरहेको छ । यो महामारीको चपेटाबाट अहिले युरोप र अमेरिका नराम्ररी प्रभावित भइरहेका छन् । दैनिक ७/८ सयका दरले मानिसको मृत्यु भइरहेको इटालीमा अहिलेसम्ममा साढे ७ हजार मानिसले प्राण त्यागिसकेका छन् । अमेरिकामा अहिलेसम्म मृत्यु सङ्ख्या एक हजारको छेउछाउ देखिएपनि एकै दिनमा १३ हजारभन्दा बढीमा सङ्क्रमण भएबाट अमेरिकामा पनि स्थिति काबु बाहिर गएको अनुमान लगाउन सकिन्छ । जर्मनी, बेलायत, स्पेन, फ्रान्सजस्ता विकसित मुलुकहरूको हविगत पनि उस्तै छ ।

कोरोनाको प्रभावबाट संसारका कुनै पनि मुलुक बच्न सकेको छैन । कम बढी सबैजसो मुलुकमा कोरोनाको असर परिसकेको छ । दिन दुई गुना रात चौगुनाको बेगमा कोरोनाले आक्रमण गरिरहेको छ ।

मार्च ६ देखि २५ भित्रसम्ममा चीनमा जम्मा २ सय १७ जनाको थप मृत्यु भएको छ भने यही अवधिमा इटालीमा ७ हजार ४ सय ६ जनाको मृत्यु भएको छ । यो सङ्ख्यासँगै इटालीमा मार्च २५ सम्ममा मृत्यु हुनेको सङ्ख्या ७ हजार ५ सय ३ पुगेको छ । यसैगरी मार्च १५ देखि २५ सम्मको आँकडा हेर्दा चीनमा जम्मा ४ सय २५ मात्रै नयाँ सङ्क्रमित देखिएका छन् । जब कि यही अवधिमा अमेरिकामा सबैभन्दा बढी ६४ हजार ८ सय ८ नयाँ सङ्क्रमित भएका छन् । यसैगरी इटालीमा नयाँ सङ्क्रमितको सङ्ख्या पछिल्लो १० दिनमा करिब ५० हजार र स्पेनमा साढे ४१ हजार देखिएका छन् । यो तथ्याङ्कले कोरोनाको महामारी अमेरिका युरोपतिर डडेलोझैँ विस्तार हुँदै गएको प्रस्ट देखिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन समेत अहिले हेरेको हेर्यैको स्थितिबाट गुज्रिरहेको छ । यसको प्रकोपलाई तत्काल नियन्त्रण गर्न यो संस्थाका विज्ञहरू २४ घण्टा खटिरहेका छन् । तर, यसका लागि के कस्तो प्रभावकारी उपाय अपनाउने भन्ने विषयमा उनीहरूले कुनै भेउ पाउन सकिरहेका छैनन् । कुनै सूत्र पत्ता लगाउन नसक्दा बिलखबन्दमै परिरहेका छन् । यसले पनि सारा विश्व कोरोना भाइरसको त्रासमा छ । यो महामारीबाट आतङ्कित छ । सायद यस खालको महामारी र विपदको अवस्था आजसम्मको मानव इतिहासमा कहिल्यै देखापरेको थिएन ।

कोरोना सङ्क्रमणको जोखिम तीव्र भएपछि नेपालमा पनि सरकारले यतिखेर लकडाउन लागू गरेको छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना रोकथामका लागि ‘लकडाउन’ कै उपाय अपनाएका छन् र उनले तीन हप्तासम्म लकडाउनको घोषणा गरिसकेका छन् । कोरोना सङ्क्रमणको चरम पीडा भोगिरहेका विभिन्न मुलुकहरूले पनि अहिले लकडाउन लागू गरिरहेका छन् ।

लकडाउनको मुख्य उद्देश्य मानिसको सामाजिक सम्बन्ध र भौतिक दुरीलाई घटाउनु हो । किनभने कोरोना भाइरस मानिस-मानिस बीचको भौतिक सम्पर्कबाटै तीव्ररूपमा फैलिरहेको विज्ञहरूले बताइरहेका छन् । जति धेरै मानिसको भीडभाड, जमघट र सम्पर्क भयो, उति धेरै कोरोना भाइरस सङ्क्रमण हुने गरेको उनीहरूको निष्कर्ष छ ।

लकडाउनको मुख्य उद्देश्य मानिसको सामाजिक सम्बन्ध र भौतिक दुरीलाई घटाउनु हो । किनभने कोरोना भाइरस मानिस-मानिस बीचको भौतिक सम्पर्कबाटै तीव्ररूपमा फैलिरहेको विज्ञहरूले बताइरहेका छन् । जति धेरै मानिसको भीडभाड, जमघट र सम्पर्क भयो, उति धेरै कोरोना भाइरस सङ्क्रमण हुने गरेको उनीहरूको निष्कर्ष छ । यो रोगको कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा सामाजिक सम्बन्ध र भौतिक दुरीलाई विच्छेद गर्न सकेको खण्डमा यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने देखिन्छ । कोरोनाको सङ्क्रमण र आक्रमणबाट बच्न लकडाउन अहिलेको सन्दर्भमा एउटै मात्रै अचुक उपाय देखिएको विभिन्न देशको अनुभवले पनि बताउँछ । यसलाई सर्वोत्तम उपायका रूपमा लिएर पालना गर्दा मात्र यसबाट हुने जोखिम र क्षतिलाई बचाउन सक्ने देखिन्छ ।

स्थिति नियन्त्रणबाहिर गएपछि वुहानमा पनि लाखौं मानिसलाई लकडाउनमा राखिएको थियो । चीनले अति कठोर शैली अपनाउँदै लकडाउनलाई लागू गर्यो । आखिर यसले महामारी रोक्न चीनलाई सफलता पनि प्राप्त भयो । चीनमा लकडाउनपछि मात्रै कोरोनालाई फैलनबाट रोक्न सकिएको विभिन्न सञ्चारमाध्यमहरूले बताइरहेका छन् । आफ्नै हालत बिग्रिएर आच्छु आच्छु भएको चीन अहिले बिस्तारै यो स्थितिबाट तङ्रिएर अन्य देशका लागि स्वास्थ्य सामग्री र टोली पठाउन सक्ने हैसियतमा आइपुगेको छ । अप्रिलदेखि त्यहाँको जनजीवन सामान्य अवस्थामा फर्कने भनिएको छ । उसले आफ्नो स्वास्थ्यकर्मीहरूलाई क्रमशः कोरोनाको प्रकोप बढी भएको मुलुकमा पठाइरहेको छ । लकडाउनबाटै यसलाई फैलनबाट रोक्न सकिन्छ भन्ने यो ताजा उदाहरण हो ।

लकडाउनलाई छुट्टीको रूपमा मनाउने, साथीभाइ, ईष्टमित्र भेला हुने, रमाइलो गर्ने, जबर्जस्ती सडकमा निस्किएर रमिता हेर्ने, विभिन्न वहानामा सवारीसाधन चलाउने कामलाई पूर्णरूपमा बन्द गर्नैपर्छ । एकजना सङ्क्रमित व्यक्ति हजारौंलाई सङ्क्रमण गराउने माध्यम बन्न सक्ने विज्ञहरूले बताइरहेका छन् ।

पक्कै पनि घरभित्र हप्तौसम्म थुनिएर बस्नु, सबै सामाजिक सम्बन्धबाट टाढिनु, आफ्ना दैनिक गतिविधिमा पूर्णविराम लगाउनु सहज हुँदैन नै । तर, यो सङ्कटलाई टार्ने र रोक्ने प्रभावकारी उपाय भनेको अहिलेको सन्दर्भमा आफूलाई घरमा बन्दी बनाउनु नै हो । यसकारण हरेक नागरिकले आफू, आफ्नो परिवार, समाज अनि देशलाई बर्बाद हुनबाट बचाउन अहिले लकडाउनको नियमलाई पूर्णरूपमा पालना गरेर सहयोग पुर्याउनु आवश्यक छ । लकडाउनलाई छुट्टीको रूपमा मनाउने, साथीभाइ, ईष्टमित्र भेला हुने, रमाइलो गर्ने, जबर्जस्ती सडकमा निस्किएर रमिता हेर्ने, विभिन्न वहानामा सवारीसाधन चलाउने कामलाई पूर्णरूपमा बन्द गर्नैपर्छ । एकजना सङ्क्रमित व्यक्ति हजारौंलाई सङ्क्रमण गराउने माध्यम बन्न सक्ने विज्ञहरूले बताइरहेका छन् । सङ्क्रमित व्यक्तिको सानो लापरवाहीले सिङ्गो परिवार र देशमै कोरोना भाइरस सल्काउने सम्भावना रहन्छ । यसकारण पनि बढी सतर्कता अपनाउनु आवश्यक छ ।

विज्ञानले अति नसोचेको क्षेत्रमा पनि चमत्कार देखाइसकेको, कल्पनीय उपलब्धिहरू आजको मानवजातिले प्राप्त गरिसकेको भनिए पनि अहिले कोरोना भाइरसले भने यस्ता सबै उपलब्धि चमत्कारहरूलाई चुनौती दिइरहेको छ । अहिलेसम्मको विज्ञानले प्राप्त गरेको सफलताहरू यसको अगाडि फिका सावित भइरहेको छ । ‘मै हुँ’ भन्ने जीव वैज्ञानिकहरू निरीह बनिरहेका छन् । कोरोनाले निरन्तर आफ्नो पकड फिँजाउँदै लगिरहेको छ । यसले त्रास सिर्जना गर्ने क्रम तीव्र छ । विश्व यत्तिखेर त्राही त्राही बनिरहेको छ । कोरोनाले विश्वभर बबण्डर मच्चाइरहेको छ ।
सबैभन्दा डरलाग्दो कुरा त यो छ कि यसको उपचार पद्धति पत्ता लागउन अझै समय लाग्ने विज्ञहरूले बताइरहेका छन् । अमेरिका र बेलायतजस्ता मुलुकको प्रयोगशालाहरूमा कोरोनाविरुद्धको खोप परीक्षणको चरणमै छ । यसले सफलता प्राप्त गरी विश्व बजारमा आइपुग्न कम्तिमा १२ देखि १८ महिना लाग्ने अनुमान गरिएको छ । दैनिक हजारौंको सङ्ख्यामा नागरिकहरू भटाघट मृत्युको मुखमा पुगिरहेको बेला १८ महिना छोटो समय होइन । कुनै पनि प्रभावकारी उपचारको अभावमा अहिलेकै रफ्तारमा कोरोना नियन्त्रणबाहिर गयो भने स्थिति के होला ? यसबाट अहिलेको भन्दा कति भयावह स्थितिको सिर्जना गर्न सक्छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौं । यसकारण पनि अहिलेलाई व्यक्तिगत सरसफाईमा ध्यान दिने, बारम्बार हात धोइरहने, आफ्नो अनुहारमा पुग्नबाट हातलाई रोक्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने, सामाजिक दुरी घटाइने र आफूलाई लकडाउन राख्ने गर्नुको अरू विकल्प देखिँदैन ।

नागरिकले आफ्नो तहबाट सामान्य जिम्मेवारी पालना नगर्ने हो भने सरकारले मात्रै यो महामारीलाई पूर्णरूपमा रोक्न असम्भव रहेको निश्चित छ ।

नागरिकले आफ्नो तहबाट सामान्य जिम्मेवारी पालना नगर्ने हो भने सरकारले मात्रै यो महामारीलाई पूर्णरूपमा रोक्न असम्भव रहेको निश्चित छ । सानातिना लापरवाही र हेलचेक्र्याइँले गर्दा कति विशाल रूप लिन सक्छ र कुन रूपमा मानवीय क्षति हुनसक्छ भन्ने कुरा हामी इटाली, अमेरिका र स्पेनजस्ता स्रोतसाधनका हिसाबले सम्पन्न भनिएका मुलुकले अहिले बेहोरिरहेको मानवीय क्षतिको दृष्यबाट बुझ्न सक्छौं । ‘चीन त टाढाको मुलुक हो, त्यहाँबाट यहाँ कसरी आउन सम्भव छ र’ भनेर बेवास्ता गर्दा अहिले ती मुलुकका नागरिकले अनाहकमा जीवन गुमाइरहेका छन् । यसबाट हामीले पाठ सिक्नु आवश्यक छ ।

सरकारले यो संवेदशील घडीमा गर्नुपर्ने धेरै छ । किनभने राज्य आमनागरिकको अभिभावक नै हो । सँगसँगै नागरिकले पनि सरकारलाई साथ समर्थन दिनुपर्छ । कोरोनाविरुद्धको यो महाअभियानमा नागरिकको सहयोगबिना राज्यले मात्रै सबै गर्न सम्भव छैन । नागरिकका लागि यो क्षण सचेतता, अनुशासन, विवेक प्रदर्शन गर्ने सुअवसर पनि हो । जिम्मेवार नागरिकको परिचय दिने घडी पनि हो यो । यस्तो विशेष परिस्थितिमा पनि अनेक आग्रह पूर्वाग्रह राखी राज्यलाई एकोहोरो प्रहार गर्ने, आलोचना मात्रै गर्ने, नकारात्मक टिकाटिप्पणी गर्नाले सचेत नागरिकको परिचय प्रदर्शन हुन सक्दैन ।

कोरोना कहरलाई सकेसम्म रोक्न सरकारले आफ्नो तहमा तयारी गरेको देखिन्छ । विभिन्न संयन्त्र निर्माण गरी परिचालन गरेको, सङ्क्रमण अघि र सङ्क्रमित भइसकेपछिको अवस्थालाई समेत ध्यानमा राखेर विभिन्न रणनीति बनाएर पूर्वाधारहरू खडा गरिरहेको, देशभर आपतकालीन उपचारका लागि अस्थायी अस्पताल खडा गरेको, आइसोलेसन वार्डहरू निर्माण गरेको, कोरोना भाइरस सङ्क्रमण रोक्न हवाईमार्ग र स्थलमार्ग बन्द गर्दै लकडाउन घोषणा गरेको दृष्य सबैको सामु छर्लङ्गै छ । यति गर्दा पनि पर्याप्त मात्रामा सरकारको सक्रियता, चासो र तयारी नपुगेको, छुटेको हुन सक्छ । अझ कतिपय सवालमा त्यसलाई प्रभावकारी बनाउनुपर्ने पनि होला । यस्तो अवस्थामा जिम्मेवारी हिसाबले नै सल्लाह, सुझाव दिन सकिन्छ । राज्यलाई थप जिम्मेवारी बनाउन सकिन्छ । कोरोना नियन्त्रणका लागि राज्य गम्भीर नभएको, छारो हाल्ने काम गरेको, नागरिकको जीवनप्रति संवेदनशील नभएकोजस्ता अति नै नकारात्मक ढङ्गले बुझ्ने र प्रचार गर्नेहरू देखिएका छन् । कम्तिमा यो विशेष परिस्थितिमा यस्ता नकारात्मक सोचबाट मुक्त हुन सक्नुपर्छ ।

कोरोनाको बितण्डा रोक्न जति राज्यको दायित्व हुन्छ, त्यत्ति नै नागरिकले आफ्नो तहबाट जिम्मेवारी वहन गर्नैपर्छ । मानवजाति माथि अप्रत्याशित देखा परेको यो हमलालाई सबैले धैर्य, संयम, सचेतताबाट मात्रै परास्त गर्न सकिन्छ । फेरि पनि लापरवाही र हेलचेक्र्याई भइरहेमा यसले सिङ्गो मानव जातिको अस्तित्वलाई समेत ध्वस्त पार्न सक्नेछ ।

सबैभन्दा बढी आक्रान्त मुलुक इटालीमा सङ्क्रमित सबै नागरिकले उपचारसमेत पाउन सकिरहेका छैनन् । ७० वर्ष उमेर कटेकाहरू त उपचारको प्राथमिकतामै परेका छैनन् । आफन्तहरू घरमै सङ्क्रमितहरूको मृत्यु कुरेर बस्न विवश छन् ।

सबैभन्दा बढी आक्रान्त मुलुक इटालीमा सङ्क्रमित सबै नागरिकले उपचारसमेत पाउन सकिरहेका छैनन् । ७० वर्ष उमेर कटेकाहरू त उपचारको प्राथमिकतामै परेका छैनन् । आफन्तहरू घरमै सङ्क्रमितहरूको मृत्यु कुरेर बस्न विवश छन् । एकजना प्रसिद्ध कलाकारले आफ्नो बहिनीलाई समयमा अस्पताल पुर्याउन सहयोगी पाएनन् । यति मात्र नभएर आफ्नै आँखा अगाडि मृत्यु भएकी बहिनीको शव उठाउनसमेत कसैले सहयोग नगरेपछि तीनचार दिनसम्म त्यही शव कुरी बस्नुपर्यो । योभन्दा दर्दनाक अवस्था के होला ? विश्वभरि फैलिरहेको महामारीको गाम्भीर्यलाई बुझेर इटालीले बेलैमा सतर्क भएर लकडाउनको उपाय अपनाएको भए आज इटालीका नागरिकले सायद यो पीडाको सामना गर्नैपर्दैन थियो ।

हाम्रो सन्दर्भमा त अहिलेसम्म एकाध व्यक्ति मात्र सङ्क्रमित देखिएकाले हामी सुरक्षित नै छौं र भयावह भित्रिन पाएको छैन । यसको अर्थ हामी अब ढुक्क हुने स्थिति पनि होइन । जसरी पनि कोरोनाको कहर रोक्न हामीलाई अहिले पर्याप्त समय मिलेको छ । कोरोनाको महामारी रोक्ने सकेको सबै उपायको खोजीमा जुट्नुपर्छ । यो अति महत्वपूर्ण अवसर हो हाम्रा लागि । यो सुवर्ण अवसरलाई राज्य र नागरिक एकाकार भएर सदुपयोग गरौं । कोरोनाको महाविपत्तिबाट जोगौं र जोगाऔं ।

तपाईको प्रतिक्रिया