ट्रान्जिटमा उँघिरहेको देश

कुमारी लामा निबन्धकार / समीक्षक
0 Shares
काठमाडाैं

समय

एकदमै रापिलो समय छ । सतहमा आउँदैछन् अनगिन्ति छोपिएका विषयहरु । अनेकन स्वरहरु गुन्जिरहेका छन्, बायुमण्डलमा । सीमान्तकृत, महिला, जनजाती, मधेश, दलित, तेस्रो लिङ्गी… आवाज यही समयको जुन प्रत्येक दिन झन्झन् तिख्खर भइरहेछ । यसै समय देखिदै छ, बिमानस्थलमा देश छाड्नेको लामो लस्कर । अर्कोतिर पोतिदै छ सहरका गल्ली सडका भित्ताहरु देश बनाउन जुर्मुराएकाहरुको नारा । यही भीडमा कतै उभिएका छन्, कलमजीविहरु पनि । उनीहरुका कलमका नीवहरु क्रमशः पोखिदै बन्दैछन् कथाजस्ता, कविताजस्ता या निबन्धजस्ता केही जसमा प्रष्ट कोरिएको छ यही समयको चित्र ।

म पनि यही समयको साक्षी एक कलमकर्मी । आफैले लेख्दै गरेको विषयलाई नियाल्दा घरी दुःखी, घरी खुसी र घरी भावहीन पनि हुँदै जान्छु । हुन त देश छाडी जानेहरुको हुल आजको मात्रै हैन । धेरै अघि बाट नै कोही लाहुरका लागि, कोही पढ्नका लागि या कोही अन्य कामका लागि गएकै थिए, विदेश । तर, यो संगीन समयमा देश छाड्नेहरु झनै बाक्लिएका छन् । आजकल युवाहरु मात्र हैन, वृद्धवृद्धाहरु पनि प्रशस्तै भेटिन्छन् ट्रान्जिटका पट्यार लाग्दा पर्खाइहरुमा उँघिरहेका या कुनै विकसित देशका पार्कहरुमा एक्ला एक्लै दिन गनिरहेका । उनीहरुको पहेँलो अनुहारलाई देख्दा एकपटक झुल्किन्छ आफ्नो देशको निचोरिएको मुहार ।

साठी पैसठ्ठी पार गरिसकेकाहरुलाई यहाँको रहनसहनमा घुलमिल हुन निकै गाह्रो हुन्छ सायद । प्राय नेपाली पहिरनमै देखिन्छन् । उनीहरुले आफ्नो उमेरमा ब्रिटेनलाई दिएको पसिना स्वरुप यो वृद्धा अवस्थामा त्यहाँको सरकारले दिएको छ सुविधा ।

एकातिर छ देशको रुन्चे अनुहार अनि अर्कोतिर दिनानुदिन उज्यालिदै गरेको बजारको मुहार । हामी लखेटिइरहेकै छौँ सायद सपनामा पनि यही बजार, यही महंगाई र हामीलाई निल्न सक्ने गरी मुख बाइरहेका अन्तराष्ट्रिय कम्पनीहरुबाट । हुनसक्छ यही बजारसँगकै मुठभेटको परिणाम हो, बिमानस्थलको कहिल्यै नटुङ्गिने लर्को । उहिले लाहुर जानेहरु फर्कन्थे देश तर आजकल पढ्न या कामका लागि विदेशिनेहरु त धेरैजसो उतै हराइजान्छन् । एउटा शब्द निकै प्रिय छ उनीहरुमाझ, ‘सेटल’ । उनीहरु उतै सेटल हुन चाहन्छन् । सम्झनामा राख्छन् देश, चाडपर्वमा सम्झन्छन्, थोरबहुत पैसा पठाउँछन् तर आफू भने उतै सेटल हुन्छन् ।

उलिच

कफि लाउन्ज । शिशाको ठुलो झ्याल । नजर बाहिरतिर हुत्याएकी मात्र के छु नजरमा पर्छ उलिच टाउन सेन्टरको पार्क । रातो डबल डेकर गाडी र त्यसमा भएका चिप्सदेखि सिनेमासम्मको विज्ञापन, बाक्र्लेज ब्याङ्को भव्य भवन, एटिएम मसिनहरु । छेवैको तरकारी र फलफुल बजारको चहलपचल अनि नेपाली टोपी पहिरिएका वृद्ध र लुङ्गी र पछ्यौरीमा सजिएकी वृद्धा । मन चसक्क हुन्छ । लन्डनको दक्षिण पूर्वमा रहेको उलिच र प्लमस्टिड क्षेत्रमा प्रशस्त छन्, नेपालीहरु । पढ्न गएका युवादेखि यही सेटल भएका परिवार । ब्यवसायीहरुदेखि भुतपूर्व सैनिक र उनीहरुका परिवार पनि । घरी घरी जम्काभेटमा परिन्छ भर्खरे मैले देखेका जस्ता वृद्धवृद्धाहरुसँग पनि ।

साठी पैसठ्ठी पार गरिसकेकाहरुलाई यहाँको रहनसहनमा घुलमिल हुन निकै गाह्रो हुन्छ सायद । प्राय नेपाली पहिरनमै देखिन्छन् । उनीहरुले आफ्नो उमेरमा ब्रिटेनलाई दिएको पसिना स्वरुप यो वृद्धा अवस्थामा त्यहाँको सरकारले दिएको छ सुविधा । बस्न घर दिएका छन्, खान पुग्ने भत्ता दिएको छ, औषधी उपचार हेरेको छ । सबै थोक छ तर उनीहरु एक्ला छन् । बुढेसकालमा नातानातीनिबाट घेरिएर बस्ने हाम्रो संस्कार भन्दा टाढा पुगेर एक्लिएका छन् । उनीहरु यहाँको चिसो र रहनसहनसँग मिल्न नसकेका कम्प्लिट आउटकास्ट लाग्छन् ।

म अझै कफि लाउन्जको आरामदायी सोफामा छु । बाहिरको चलहपहल झन् बढ्दो छ । टेबलमा छ ब्लयाक अमेरिकानो र एक टुक्रा ब्राउनी । यो भर्खरै खुलेको कफिसपका म्यानेजर नेपाली रहेछन् । उनी मीठो मुस्कान दिन्छन् । लाग्छ एउटै देशको हुनाले उमारेको आत्मियता । झ्यालै छेउबाट बिस्तारै अगाडि बढ्दैछिन्, लाइट रेड ज्याकेटमा सजिएकी अफ्रिकन महिला । उलिचमा बग्रेल्ति भेटिन्छन् कालाहरु पनि । केही समयसँगै काम गरेकी नाइजेरियन युवती लोलालाई सम्झन्छु । निकै अग्लो कदकी हट्टाकट्टा लोला पढ्नका लागि आएकी हुन् तर अब यतै सेटल हुने चाजोपाजो मिलाउदैछिन् । यो देशमा धेरै देशका नागरिकहरु सेटल हुने दाउमा हुँदा रैछन् नेपाली जस्तै । मलाई त्यति मिठो लाग्दैन यो सेटल भन्ने शब्द । तर आफ्नो देश फर्कन नचाहनुका पछाडि धेरै कारणहरु होलान् । हुनसक्छ देशको बिग्रदो राजनैतिक, आर्थिक कारण या सुरक्षित भविष्यको अभिलाषा । उही हालमा हेलिएका छन् नेपालीहरु पनि । त्यसैले सुरक्षित भविष्यको लालसमा दौडिरहेका छन्, पश्चिमा मुलुकहरु ।

नेपाल लगायतका अल्पविकसित र राजनैतिक अस्थिरता भएको देशले जनतालाई स्वास्थ्य, शिक्षा लगायतका आधारभुत सुविधाहरु पनि पुर्याउन सकेका छैनन् । जनतामा भने आफ्नो भविष्य या भनौ बुढेसकालको चिन्ता ब्याप्त छ । त्यसैले सुरक्षित भविष्यका लागि दौडिरहेका छन् । तर, मलाई भने पार्कमा घाम तापिरहेका नेपाली वृद्धहरु दयनीय लाग्छन् । सुरक्षित भविष्यका खातिर यो देशमा हानिएका उनीहरुको भविष्य कति सुरक्षित होला ? कतिन्जेल पो बाँच्दा हुन् ? एक्लाएक्लै यसरी लन्डनको चिसोमा कठ्याङ्रिएर बस्नुमा के मज्जा र ? घाम खोज्दै पार्कहरुमा भौतारी दिन बिताउन र चिसो मन लिएर कोठामा फर्किनु । यस्तैयस्तै छ उनीहरुको दिनचर्या ।

कफि लाउन्ज

म देश फर्कने ठिक एक दिनअघि कोरियन मित्र मुनले दिएको कफि ट्रिटको लक्जरीसँगै हराइरहेकी हुँ, उलिच टाउन सेन्टरको समयमा । थोरै नियास्रो जस्तो केही सलबलाइरहेछ । यही सानो टाउन वरपर नै त हो तीन हिउँद बसन्त काटेको । सायद यो छुट्टिनुको अव्यक्त पीडा मभित्र कोहोलो मच्चाउँदैछ ।

यसै समय नजरमा ठोक्किन आइपुग्छन् घाँटीभरि ट्याटु खोपेका युरोपियन युवा । उनी एक हातले बेबी बग्गी गुडाउँदैछन् र अर्को हातले मोबाइल कानमा च्यापेर गफिदै । हुन सक्छ ऊ हाउस हस्बेन्ड । श्रीमती काम गर्दी हुन् र ऊ चाहि बच्चाको टहल । हाम्रो देशमा छोराछोरी हेरेर बसिदिने पुरुषलाई नामर्द भनिदिन्छन् । त्यसैले बल दिएको होला पुरुष मनसिकतामा अनि ल्याइदिएको होला दुरी बाबु र छोराछोरीबीच । त्यसैले पनि होला हाम्रा आमाहरु घरमै थन्किनु परेको । बास्तवमा हाम्रा कतिपय मान्यताहरुले समाजलाई निकै ठुलो असर पार्दोरहेछ । बच्चा भएपछि एउटी कामकाजी महिला पनि केही बर्षको लागि बच्चा स्याहार्नमै व्यस्त हुनुपर्छ । एक सक्षम महिलाको करिअरमा ब्रेक लाग्छ । ती महिलाले बच्चा हुर्काउन घर बसेको केही बर्षमा उनका पुरुष सहकर्मीहरु निकै अघि बढी सक्छन् । गाह्रो कुरा छ सोची ल्याँउदा । तर विकसित देशहरुमा भने पुरुषहरु अब उदार भइसकेका छन् । आफुलाई हाउस हस्बेन्ड भन्न हिच्किचाउदैनन् । एउटा अधबैँसे ब्रिटिश मित्र सम्झन्छु । उनी पार्टटाइम मात्र काम गर्थे । किन थोरै मात्र काम गरेको भनी सोध्दा उनले सहजै भने, ‘म हाउस हस्बेन्ड हुँ । म छोराको ख्याल गर्छु ।’ उनको कुरो मन पर्यो ।

कफि सपको उत्तर भित्ताभरि घडिहरु छन् । त्यहाँ विभिन्न देशको समय ढुक्ढुकाइरहेछ । नेपालको पनि । यहाँ बिहानको ९ः४० मात्रै हुदैछ तर नेपालमा भने अपरान्हको २ः२५ । घडी समयले व्यङ्ग्य छेडे जस्तो लाग्छ । यो देशभन्दा शताब्दी नै पछि छ, नेपाल बिकास र चेतनामा । त्यसैले त बेहोरिरहेका छौ लाखौँको संख्यामा बिदेश पलायनका बाटो कुरिरहेका युवाहरु ।

उलिच पार्कमा उभ्याइएको बिशाल टेलिभिजनमा निरन्तर छ स्काई न्युज । छेवैको कङ्क्रिट स्ल्याबमा घाम तापिरहेका छन् बिभिन्न रुप रंगका मानिसहरु । नेपालीहरु पनि छन् त्यही हुलमा । मिसिएका छन् धेरै देशका मानिसहरु । पार्कको ढुङ्गा छापिएको केही भागमा पानी बग्छ । खोला जस्तै झल्को दिने यो पानीमा बच्चाहरुको छ्याप्लाङ्छुप्लुङ चल्दैछ । जीवन्त लाग्छ यो समय । अब त छुट्टिनुे समय नजिकिइसकेको छ मित्र मुनसँग । अन्ततः बिदाइको न्यानो अंकमाल र हात हल्लाई अनि हाम्रो छुट्याई ।

ट्रान्जिट

स्मोक हाउस बार एण्ड क्याफे, डेल्ली एयरपोर्ट । यो पट्यार लाग्दो लामो ट्रान्जिटलाई कालो कफिले साथ दिनुछ । युरोपियन लुक्सका बुढाबुढी कफि पिउँदै पुस्तक पढ्दैछन् । अर्को टेबलमा चार जना भारतीय युवाहरु कोरोना  बियरसँग मस्त । म तीन डलर तिरेर कफि लिन्छु । बिहानको चार बज्दैछ । तर, मेरो घडीले भने लन्डनकै समय देखाँउदोछ अझै । यति टाढाको दुरी तय भइसक्यो तर समय उही । अब केही घण्टामा नेपालै पुगिन्छ । मेरो घडीलाई पत्तो छैन । समय मात्र फरक परिसकेको हैन अब त मेरो शारीरिक र मानसिक अवस्था पनि हिजोको भन्दा निकै भिन्न भइसकेको छ ।

यो मेचमा थचारिएर कफि पिउनुभन्दा वरपर घुम्न नै बेस । टेकअवे कपमा कफि खन्याउन लाएर त्यही वरपर घुम्दै गर्दा भेटिन्छन् उनीहरु । दशैं मनाउन नेपाल जाँदै गरेका पाका उमेरका भुतपुर्व सैनिक दम्पत्ति । उनीहरु लन्डनको फेल्थाम भन्ने ठाउँमा बस्ने रहेछन् । लाहुरेहरु बहुत रसिक हुन्छन् । बाफ रे । मसँग जिस्किन खोज्दै एकैचोटी भान्जीको साइनो पो लाउँछन् बुढा त । म प्रतिकार गर्छु यो ब्यर्थमा जोड्न खोजेको साइनोमा । उनी हाँस्दै ड्युटिफ्रि तिर लाग्छन् र पचास डलर तिरेर रक्सी किन्छन् । लाहुरेनी आमै देख्दा भने दया पलाउँछ । पुरानो भइसकेको नीलो रंगको उनीको कुर्था र नीलै स्वीटर लगाएकी छिन् । पुरानो डिजाइनको सुनको टप र त्यसैसँग जोडिएको सिक्री उनेकीछिन्, कानमा । आँखामा गोलो पावरदार चस्मा । लाग्छ यिनलाई लन्डनको रहनसहनले पटक्कै छोएको छैन । कुराकानीको क्रममा अलिकति दुखेसो जस्तो पोख्छिन् ।

त्यसै बस्यो खायो । भाषा आउदैन कतै केही काम गर्न पनि । हुन त हामीले काम गर्न पनि पाइन्न । थाहा पाए भने सुविधा काटिदिन्छन् । सबै परिवार धरानमै छन् । हामी बुढा बुढी मात्रै यता । न्यास्रो लाग्छ ।

उनको कुराले निकै गह्रौ पारिजान्छ मन । नातानातीनि काखभरि खेलाएर बस्नुपर्ने समयमा यसरी एक्लैएक्लै बिरानो देशमा बस्नुपरेको पीडा प्रष्ट देखिन्छ, उनको अनुहारमा । बुढेसकालको लागि आफ्नो देशले केही नगर्दिने भएपछि सुबिधा पाएकाहरु त मन खुम्चाउदै पनि जाने नै भए नि ।

अनुहारभरि उमेरका किरिङमिरिङ् धर्साहरु बोकेकी यी आमै, बारमा रमाइरहेका युवाहरु र कफि हातमै बोकी बेपर्वाह डुल्दै गरेकी युवती खै कसरी पो भेट भयौँ एकै ठाउँ, सायद संयोग । तर यात्रामा भेटिएका अजनविहरुसँग पनि आँखैले सही आत्मीयता साट्न पाउँदा मीठो लाग्छ जीवन । अब त मात्र केही घण्टा बाँकी छ फ्लाइटको । निद्राले आँखा पिरो भएपनि मन चाहि गुलिएको छ । अबको केही घण्टामा त आफ्नो देश । आफ्नो भन्ने शब्द नै कति प्यारो । आहा । आफ्नो परिवार, समाज, देश । मन उसैउसै उडिसकेको छ । तर, सम्झनाभरि रहिरहनेछन्, उलिच, कफि लाउन्ज र ट्रान्जिटहरुमा उँघिरहेको देश… ।

तपाईको प्रतिक्रिया