विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरसबाट साउदी अरेबियामा आइतबार ९६ जना संक्रमित भेटिएका छन् ।
साउदी स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार आइतबारसम्म देशभर संक्रमित १ हजार २ सय ९९ पुगेका छन् । यसअघि दैनिक सय जनाभन्दा बढी संक्रमित भेटिदै आएका थिए, भने आइतबार कम भेटिएका हुन् ।
साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीका अनुसार भाइरसबाट संक्रमित ६६ जनाको सफल उपचार गरेका छन् , भने ८ जनाको मृत्यु भएका छन् । उनका अनुसार संक्रमित संख्या खाडी क्षेत्रमा सबैभन्दा बढी साउदीमा देखिएका हुन् ।
आइतबार रियादबाट २७, मक्का ७, जेद्दा १२, दमाम २३, मदिना १४, खोबर ४, दहरान २, कतिफ, हफुफ, ताबुक, रास्त नूरा, तैफ, शैहत र खमिस मुशैतमा १-१ गरि ९६ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका डा. अलीले जानकारी दिए ।
साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म भाइरसबाट नेपाली कामदार संक्रमित नभएको बताए । राजदूत राजपुतले साउदी सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्न नेपालीहरुलाई आग्रह गरेका छन् । राजदूतका अनुसार कर्फ्यु उल्लंघन गरेमा १० हजार रियाल जरिवना र २० दिन जेल सजायसमेत हुनेछन् । साउदी श्रम कानुनको अवज्ञा गरी कामदारको इच्छाविपरीत बिनापारिश्रमिक बिदा बस्न बाध्य बनाइएमा उजुरी दिन सकिने राजदूत राजपुतले बताए ।
‘कामदारले सिधै साउदीको श्रम कार्यालय वा साउदीको हटलाइन १९९११ नम्बरमा फोन गरी गुनासो टिपाउन सकिनेछ । नेपाली दूतावासको हटलाइन (०५५९३८९६००) मा उजुरी दिन सकिनेछ’, राजदूत राजपुतले भने, ‘दूतावासले यहाँका सम्बन्धित कार्यालयसँग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।’ साउदी सरकारले अकामा (परिचयपत्र)को अवधि सकिएमा कामदारले तिर्दै आएको शुल्क लेबी ३ महिनासम्मका लागि माफ गर्ने र नि:शुल्क नवीकरण गर्ने राजदूत राजपुतले जानकारी दिए ।
दूतावासले साउदी सरकारले मार्च २३ तारीखबाट २१ दिनका लागि जारी गरेका कर्फ्युको पालन गर्न नेपालीहरुलाई अपिल गरेको छ । कर्फ्युका समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउन र निरन्तर सम्पर्कमा रहन समेत नेपालीहरुलाई आग्रह गरेको छ ।
झन्डै ३ लाख ५० हजारको आसपासमा रहेका नेपालीहरुमा भने संक्रमण नभेटिएको साउदीका लागी नेपाली राजदूत प्राडा. महेन्द्रसिंह प्रसाद राजपुतले बताए । उनले नेपालीहरुलाई संक्रमणबाट बच्न साउदी सरकारलाई सहयोग गर्न र निरन्तर दूतावासको सम्पर्क रहन आग्रह गरे ।
सम्बन्धित समाचार
साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना
साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु
कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा
साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक
साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल