लालबन्दीमा प्रदेश दुई स्तरीय बृहत् वाङ्मय सङ्गोठी

सैलुङअनलाइन संम्वाददाता
28 Shares
सर्लाही

प्रदेश नं. २, सर्लाहीको लालबन्दी नगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठीको आयोजना गरिएको छ । लालबन्दी नगरपालिका र नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीद्वारा शनिबार आयोजित वाङ्मय सङ्गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लालबन्दीमा यसप्रकारको सङ्गोष्ठी आयोजना हुनु उल्लेखनीय कार्य भएको बताए ।

कुलपति उप्रेतीले यसभन्दा अगाडि पनि विभिन्न सङ्घसंस्थासँग प्रज्ञा-प्रतिष्ठानको सहकार्य भएको जानकारी दिए । ‘आगामी दिनमा पनि लालबन्दी नगरपालिका र प्रज्ञा–प्रतिष्ठानबिच यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्छ’ उप्रेतीले थपे, ‘नगरको भाषा, साहित्य, कला तथा संस्कतिको विकासका लागि नगरपालिकाले नगर साहित्य परिषद् गठन गर्नु आवश्यक छ ।’

त्यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले प्रदेश नं. २ मा साहित्यको समृृद्धि र विकासमा लालबन्दी अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमका सभापतिा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगर साहित्य परिषद् गठनका लागि नीतिगत तथा कानुनी कुराहरू बुझेर तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले नगरपालिकाले साहित्यको प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्दै नगरभित्र साहित्यको विकासका लागि आवश्यक कार्य गर्न नगरपालिका तयार रहेको विश्वास दिलाए ।

कार्यक्रममा उपप्राध्यापक नवराज रिजालले ‘प्रदेश नं. २ का १० मातृभाषा र तिनको साहित्यिक अवस्था’ विषयक र उप-प्राध्यापक सुमन घिमिरेले ‘प्रदेश नं. २ मा अनुवाद साहित्यः एक सिंहावलोकन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि साहित्यकार गोपाल अश्क र कविराज सुवेदीले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रदेश नं. २ का ८ वटा जिल्लाका स्रष्टाहरूको प्रतिनिधित्व रहेको थियो ।

सोही अवसरमा सर्लाही साहित्य समाजले साहित्यकार गोपाल अश्कलाई विशेष सेवा सम्मान, साहित्यिक पत्रिका गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि तथा समालोचक सुमन घिमिरेलाई साहित्य सेवा सम्मान र पत्रकार रोहित पौडेललाई पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा कथाकार देवराज पौडेलको ‘मोडहरू’ कथा सङ्ग्रह र सर्लाही साहित्य समाजद्वारा प्रकाशित ‘सर्लाहीका महिला हस्ताक्षर’ कविता सङ्ग्रहको विमोचनसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका