विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरसबाट साउदी अरेबियामा मंगलबार ११० जना थपिएका छन् । यो थपिएसँगै साउदीभरी १ हजार ५ सय ६३ जना संक्रमित भएका छन् ।
साउदी स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार आइतबारसम्म देशभर संक्रमित १ हजार ५ सय ६३ पुगेका छन् । यसअघि दैनिक सय जनाभन्दा धेरै संक्रमित भेटिएका बेला शनिबार ९९ जना र आइतबार ९६ जना भेटिएका थिए ।
हालसम्म १६५ जना कोरोना संक्रमितहरुको सफल उपचार गरेको र ३१ जनाको स्थिति गम्भीर रहेको साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए । मंगलबार २ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको प्रवक्ता अब्दुलालीले बताए । ‘ संक्रमित संख्या खाडी क्षेत्रमा सबैभन्दा बढी साउदीमा देखिएको छ,’प्रवक्ता अब्दुलालीले भने, ‘झण्डै २२ हजार जना क्वारेन्टाइन थिए, त्यसमध्ये आधाको नतिजा नकारात्मक आएपछि घर फर्के, भने ११ हजार जना रिपोर्ट पर्खिरहेका छन् ।’ उनका अनुसार कोरोनाको संकेत देखिएमा मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा तुरुन्त फोन गर्नसक्ने छन् ।
मंगलबार रियादबाट ३३, मक्का २०, जेद्दा २९, दमाम ३, मदिना ३, खोबर ४, दहरान २, कतिफ ७, हफुफ २, जिजान २, रास्त नूरा, अल खफ्जी, अभा, अल बदा र खमिस मुशैत १-१ गरि ११० संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका डा. अलीले जानकारी दिए ।
साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म भाइरसबाट नेपाली कामदार संक्रमित नभएको बताए । राजदूत राजपुतले साउदी सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्न नेपालीहरुलाई आग्रह गरेका छन् । राजदूतका अनुसार कर्फ्यु उल्लंघन गरेमा १० हजार रियाल जरिवना र २० दिन जेल सजायसमेत हुनेछन् । साउदी श्रम कानुनको अवज्ञा गरी कामदारको इच्छाविपरीत बिनापारिश्रमिक बिदा बस्न बाध्य बनाइएमा उजुरी दिन सकिने राजदूत राजपुतले बताए ।
‘कामदारले सिधै साउदीको श्रम कार्यालय वा साउदीको हटलाइन १९९११ नम्बरमा फोन गरी गुनासो टिपाउन सकिनेछ । नेपाली दूतावासको हटलाइन (०५५९३८९६००) मा उजुरी दिन सकिनेछ’, राजदूत राजपुतले भने, ‘दूतावासले यहाँका सम्बन्धित कार्यालयसँग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।’ साउदी सरकारले अकामा (परिचयपत्र)को अवधि सकिएमा कामदारले तिर्दै आएको शुल्क लेबी ३ महिनासम्मका लागि माफ गर्ने र नि:शुल्क नवीकरण गर्ने राजदूत राजपुतले जानकारी दिए ।
सम्बन्धि समाचार
साउदीमा कोरोनाबाट ८ जनाको मृत्यु, १३ सय संक्रमित
साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना
साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु
कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा
साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक