कोरोनाविरुद्ध सरकारको तैयारी तिव्र

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
जनकपुरधाम, धनुषा

प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ ।

महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीयतहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार महामारी नियन्त्रणका लागि दोस्रो चरणमा प्रवेश गरेको छ ।

महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा गठित कोरोना महामारी नियन्त्रण निर्देशक समितिको आज सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण गर्ने निर्णय गरेको । त्यस्तै धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिनुका साथै मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

साथै, बैठकले महामारीसँग लडन आठवटै जिल्लामा एक-एक वटा एम्बुलेन्स र शवबाहनको व्यवस्थापन गर्न कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए । बैठकले प्रदेशमा चिकित्सक तथा नर्सको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुट्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षणका लागि पिसिआर मेशिन जडान भई परीक्षण शुरु गरिसकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगञ्ज र सप्तरीको राजविराजमा पनि उक्त मेशिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदेशमा भेन्टिलेटरसहितको आइसियु तयार गर्नसमेत निर्देशन दिएको छ । प्रदेशका लागि ५० वटा भेन्टिलेटर खरिद गरी प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य छ जिल्लामा पाँच÷पाँच भेन्टिलेटर जडान गर्न निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए ।

समितिले अहिलेको विशेष परिस्थितिमा विगतजस्तो खरिद प्रक्रियाले तयारी गर्न नसकिने भएकाले खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थितिबमोजिम दु्रत मार्गबाट आवश्यक सामग्री खरिद गर्न सकिने छ । प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महसुस गर्दै महामारीविरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञ सम्मिलित स्वास्थ्य सल्लाहकार समितिसमेत गठन गरेको छ ।

उक्त समितिलाई थप विशेषज्ञ राय सुझावसहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशनबमोजिम आजबाट आफ्नो काम शुरु गरिसकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माणदेखि नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ ।

तपाईको प्रतिक्रिया