अग्निदहन विमोचित

काठमाडाैं

विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन नामक उपन्यासको एक विशेष समारोहकाबीच शनिबार लोकार्पण गरिएको छ । प्रमुख अतिथि सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबाट बत्तीसपुतली स्थित शिल्पी थिएटरमा उक्त उपन्यासको विमोचन भएको थियो ।

उपन्यासका बारेमा आफ्नो धारणा राख्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कृति मनोरञ्जक हुनुसँगै उद्देश्यपूर्ण भएकाले यसलाई स्कूल तथा कलेजले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए ।

उपन्यासका बारेमा बोल्दै वरिष्ठ साहित्यकार, समालोचक तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलले यसले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको हुँदाहुँदै पनि भाषा सरल हुनुसँगै लोकबोलीलाई यथारुपमा पस्कनु उपन्यासको विशेषता रहेको औल्याए ।

पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले यो उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा यो एउटा कोशेढुँगो सावित हुने दावी गरे । उनले थपे, बजारमा देखिएका अन्य उपन्यासभन्दा अलग शैलीको उपन्यास भएकाले यसलाई सबैले रुचाउने छन् ।

लेखक लोकमणि पौडेलले आफूले यो उपन्यास समाजमा घटिरहेका घटनाहरुको नजिकबाट अध्ययन गरेर मात्रै लेखेको बताए । उपन्यास पूरा गर्न पाँच वर्ष लागेको बताउदै उपन्यासमा वर्णन गरिएका घटनाहरु सत्य हुँदाहुँदै पनि पात्रहरुको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपुर्याउने चेष्टा गरिएको छ । उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएकाले यो उपन्यास आरम्भ गरेर सिध्याउन पाँच वर्ष लागेको कुरा लेखक पौडेलले बताए ।

उपन्यास पाण्डुलिपि अवस्थामै हुँदा यसलाई मन पराएर एउटा सामाजिक संस्थाले त्यसैमा चलचित्र बनाएर चलचित्र विकास बोर्डले २०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्रदान गरेको कुराले आफू उत्साहित भएको व्यहोरा लेखकले बताए । तर चलचित्रको समयसीमाका कारणले उपन्यासका सबै प्रसंग समेट्न नसकिएकाले पुस्तकाकार रुपमा पाठकमाझ उपन्यास लिएर आएको लेखक पौडेलको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा.देशराज बहादुर कुँवर, इथियोपियाका महावाणिज्य दूत राजेन्द्र गिरी तथा समाजसेवी भुवनेश्वर शर्मा पनि सभामा उपस्थित रहेका थिए ।

कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले गरेको थियो ।

तपाईको प्रतिक्रिया