अहङ्कारी मान्छे !

कविता

तिमी विश्व विजेता बन्न खोज्छौ
हरितग्रह कब्जा गर्न ललायित छौ
चन्द्रमामा बस्ती बसाल्न
प्राकृतिको मियो बिगार्छौ
सर्वेसर्वा भनि हुङ्कार छेड्छौ
ए अहङ्कारी मान्छे !

तिमी साम्राज्य विस्तार गर्न
होचालाई दबाउन
ध्वंसात्मक अस्त्रशस्त्रहरु–
मिसायल, क्षेप्याश्त्र
निशानाभेदी गोलीबाट
मानवतालाई कैदी बनाउन खोज्छौ
अस्थी कङ्गालमाथि
उपलब्धि खोज्छौ ।

असम्भव छ जित प्रकृतिका नियममाथि
आफ्नै लयमा चल्न देऊ
आफ्नै नियममा बग्न देऊ
विफल प्रयास गरे-
बिपत्तिले घेर्छ
दुःखले बेर्छ
पृथ्वी शवगृह बन्छ… शवगृह ।

खालि गर अस्त्रभण्डारहरु
त्याग घमण्डहरु
छोड तिम्रा कृत्रिम उपलब्धीहरु
छोड आडम्बर
छोड गिद्दे स्वभाव
छोड साम्रज्य विस्तार
प्रकृतिलाई पूज
मानवतालाई पूज
महलम लगाऊ पिडाका घाउहरुमा ।

अस्त्रभण्डारहरु हैन
बनाऊ अस्पतालहरु ।

ए अहङ्कारी मान्छे !
जित तिम्रो हुनेछ उही बेला
जहिले ध्वंस हैन निर्माणमा जुट्नेछौ
विश्वसँग हातेमालो गर्नेछौ
जहिले सकिन्छ तिम्रो अहङ्कार
तिमीले विजयको ध्वजा फहराउनेछौ ।
त्यग्दैनौ भने अहङ्कारी
तिम्रो विजयको ताज गिर्नेछ
नपत्याए हेर !
परिदृश्य तिमी सामु छ
तिम्रा अहङ्कारी नतिजा तिमी सामु छन्
महासंकटले घेरिएको छ
तिम्रा घरआँगन-
काँडेबारले घेरिएको छ
जताततै मडारिएको छ बिपत्ति बादल
मान्छे पिँजडामा थुनिएका छन्
निस्फल छन् तिम्रा प्रयासहरु
पातल गिरीरहेछ तिम्रा अभिमानहरु ।

ए अहङ्कारी मान्छे !
चेत खुलाऊ
पूजा गर प्रकृतिको
रोक बिनास प्रकृतिको
रोप बीउ विश्वबन्धुत्वको ।

ब्युर्चेत, धादिङ

तपाईको प्रतिक्रिया

पत्रपत्रिका