कोभिड-१९ संक्रमितका परिवार अलमलमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
धनगढी, कैलाली

कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उनको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।

ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र संक्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उनमा संक्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

‘त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बसिरहेकी उनलाई लगेर जाँदा रोग कसरी सर्‍यो होला भनेर अलमलमा पर्यौँ’, संक्रमित महिलाकी जेठानीले भनिन, ‘विदेशवाट आइपुगेका देवर (संक्रमित युवक)लाई भान्सामा उनले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।’

(कोभिड-१९)कोरोना संक्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । संक्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको संक्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो  । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ । संक्रमित युवक उनकी भाउजूसहित थप दुई पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । संक्रमितका उपचारमा संलग्न अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको संक्रमण नहुन पनि सक्ने बताए ।’ संक्रमित युवकलाई संक्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढंगले भाइरसको संक्रमण भएको हुनसक्छ’, उनले भने ।

संक्रमित चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले संक्रमितहरुलाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । ‘आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उनीहरुको स्वास्थ्य जाँच गरिरहेका छौंं’, डा. कमरले भने ‘चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।’ संक्रमित व्यक्तिबाट स्थानीयवासीमा संक्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यतिबेला संक्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ ।

काठमाडौंबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । र्यापिड डाइग्नोटिस्क टेस्ट(आरडिटी)का लागि काठमाडौंबाट खटिएको ६ सदस्यीय टोली सोमबार धनगढी पुगका थिए । लकडाउन शुरु हुनुअघि र पछि भारतबाट झण्डै १ लाख ४० हजारको संख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ । तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टाइनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्नसक्ने भन्दै स्थानीयवासी त्रसित छन् । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्यांकमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ ।  यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टाइनमा बसेको र उनीहरुको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ ।

कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज बिष्टले होम क्वारेन्टाइनमा बसेका झण्डै १५० व्यक्तिको घरपरिवारलाई निरन्तर निगरानी गरिएको बताए । लकडाउन शुरु भएपछि यी व्यक्ति गौरीफन्टा नाका हुँदै स्वदेश फर्किएका थिए । फर्किएकाहरुको निगरानी गरी शंकास्पद बिरामीको खोजपड्ताल गर्ने काम प्रभावकारी बनाउन नसकिए रोगको संक्रमण दर निकै बढ्नसक्ने कतिपयको भनाइ छ । निर्देशनालयको तथ्यांकमा हाल प्रदेशका विभिन्न अस्पतालमा गरी १० जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा शंंकास्प  ४६ जना उपचारपछि घर फर्किएको उल्लेख छ ।

यता कोभिड-१९ का बिरामीको उपचार गर्ने सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबारसम्म शंकास्पद ६५ जनाको प्रयोगशाला परीक्षण गरिएका छन् । तीमध्ये चार जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेका छन् । पचासको नतिजा नेगेटिभ आएको छ । एघारको नतिजा आउन बाँकी छ । पाँच शंकास्पद बिरामीको सो अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेका छन्  ।

उपभोग्य सामग्री पाउन सकस

कोरोनाको रोकथामको प्रयासस्वरूप जारी गरिएको लकडाउनको समय लम्बिँदै जाँदा स्थानीय उपभोक्तालाई साग, तरकारी, दूध, फलफूल, चामल, पिठोलगायतका दैनिक उपभोग्य समाग्री पाउन सकस भएको छ । खासगरी ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका उपभोक्ता उपभोग्य सामग्री नपाउँदा मारमा परेका हुन् ।

यस क्षेत्रमा गएको शनिबार एकै दिन तीनसहित चार जना कोरोनाका संक्रमित फेलापरेसँगै जारी लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउनमा गरिएको कडाइले प्रदेशका धनगढी, भीमदत्तनगर, अत्तरिया, लम्की, टीकापुर जस्ता ठूला शहर सुनसान बनेका मात्र छैनन्, नयाँ खालको सन्नाटा पनि छाएको छ ।

स्थानीय बजारको एक भित्री सडकमा लुकिछिपी हिँड्दै गरेको भेटिएका स्थानीयवासी सागर रानाले भने, ‘घरमा सबै खाद्यवस्तु सकियो, बजार जाँदा प्रहरीले हैरान पार्छ के खाएर बस्ने होला ।’ दैनिक उपभोग्य वस्तु पाउन असहज भए पनि जारी लकडाउनलाई सर्वसाधारणले साथ दिइरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया