माघको बेला थियो । जाडो छल्न आजजस्तो हामीसँग न्यानो लुगा हुँदैनथ्यो त्यसबेला । जसका कारण घाम लागेपछि घरभन्दा मास्लो बारीको सिर्कोमा घाम ताप्न उक्लन्थ्यौं । कुँडुले गाउँ रामपुर खोलाको किनारमा परेका कारण एकातिर डाँडाले छेकेर बिहान नौ बजेपछि मात्र घाम आइपुग्थ्यो भने अर्कोतिर पल्लो घिसिङ खोलाबाट चल्ने चिसो सिरेटोका कारण जाडो खपिनसक्नुको हुन्थ्यो । त्यसदिन पनि सधैंझैं घाम लागेपछि तातिनको लागि हामी माथ्लो बारीको सिर्कोमा उक्ल्यौँ । त्यहाँ गुन्द्री बिछ्याएर अन्तरे बोम्बो, मेरो कान्छा मामा, कान्छी सानीमा र अर्की बेँसीटोलकी ठूलीकान्छी जो मेरो सानीमा नै पर्दथ्यो लस्करै बसे भने म छेवैमा कोदोको नालको मुठो बिछ्याएर बसेँ ।
‘तिरिरि… ।’
अन्तरे बोम्बोले मोरलीको धुन बजाउन थाले । उनी मोरलीको औधी सौखिन थियो । त्यसको सिको गर्दैथ्यो कान्छा मामा पनि । हामी सबैजना यति ध्यानमग्न भएर उनीतर्फ केन्द्रित थियौँ कि मानौं कृष्णको बा“सुरी धुनमा गोपिनीहरु मेहित भइरहेछन् ।
‘नमस्ते बोम्बो ज्यू’, हाम्रो एकाग्र त्यहीबेला अपरिचित कसैले भंग गरिदियो ।
लामो सुरिलो नाक, सेतो कुर्ता सुरुवाल र राडीको इष्टकोट लगाएको तिलचामले कपाल बोकेका बाहुन हाम्रो अगाडि उभिएर दुई हात जोडिरहेको थियो ।
‘लासो लासो’, हात जोड्दै प्रतिउत्तर दिए अन्तरे बोम्बोले । अरुले ‘नमस्ते’ भन्दा ऊ जहिले पनि ‘लासो’ भन्थ्यो किन हो ? यसको उत्तर कसैलाई थाहा छैन वा बुझ्न चाहँदैनथ्यो ।
आजभन्दा २९ वर्षअघि सिन्धुलीको शान्तेश्वरी, नेत्रकाली, काभ्रेको जुकेपानी, केराबारी, भिङखुरी र बन्खुसम्म अन्तरे बोम्बोको एकछत्र रजाइँ थियो । अग्लो कद, हृष्टपुष्ट शरीर, सेतो र लम्चिलो अनुहार बोकेको गला अनि त्यो गलामाथि पहिरिएको मालाले साँच्चै उनको धामी व्यक्तित्वलाई बिराट तुल्याउँथ्यो । बन्दीपुर खोँचको तामाङ भएपनि कसैसँग कुरा गर्नु पर्दा आँखामाथि आँखा जुधाएर कुरा गर्ने उनको प्रवृत्तिले जोकोहीलाई धेरै बेरसम्म उनको अगाडि टिकिरहन दिँदैनथ्यो । भूत, प्रेत र धामीप्रति विश्वास गर्नेहरु भन्थे, ‘जहाँ अन्तरे बोम्बोले टेक्छ त्यहाँ बोक्सी त के जस्तोसुकै शक्तिशाली आत्मले पनि नौडाँडा काट्छ ।’ सायद यही कुराको बयान सुनेको हुनुपर्छ त्यो बाहुनले ।
‘हजुर मेरो नाम रामजी मैनाली । गाउँ काभ्रेको केराबारी । खोज्दै हजुरको घरसम्म पुगेँ र यहाँ हुनुहुन्छ भन्ने थाहा पाएर… ।’
‘आँ आँ… । के काम पार्यो ता ?’ उनको विनम्रतालाई खासै वास्त नगरी बिचैमा बोल्यो अन्तरे बोम्बो ।
‘सानी छोरी चार वर्षकी भइन् । पेट फुलेर अचम्मै भो । खानामा रुचि राख्दैन । जिउ सुकेर सिट्ठा भइसकिन् । गाउँका धामी झाँक्रीले सकेनन् हजुर । खै कुन दैवको आँखा पर्यो… ।’
‘फुर्साद छाइन । भ्याउछा जास्तो लाग्दाइन ।’ तामाङ लवजमा अन्तरे बोम्बोले कुरा राख्यो, ‘पान छा दिन पाछि हेरौला ता हाइ ?’
‘हैन महाराज विन्ति छ ।’ रामजी बाहुनले अन्तरेको खुट्टै समातेर ढोक्यो, ‘त्यसो नभनी बक्स्योस्… बरु हजुरलाई जे ट्क्र्याउनु पर्छ टक्र्याउ“ला ।’
अन्तरे बोम्बोले अप्ठेरो मानेर हत्तपत्त बाहुनको हातबाट खुट्टा फुस्कायो । आश्चर्यचकित हुँदै बाहुनको अनुहारमा आँखा गडेर हेर्यो । बाहुनले उनको गोडा छोएको यो पहिलोपटक थियो ।
‘यसको छोरी साँच्चैको बिरामी छे जस्तो छ कान्छा । आपतमा परेकालाई मद्दत गर्नु हाम्रो कर्तव्य हो ।’ मेरो कान्छा मामातिर हेर्दै तामाङ भाषामा भन्यो, ‘बरु यहाँको हाम्रो बिरामी त्यति चिन्ताजनक छ जस्तो लाग्दैन । झारफुक गरिहाल्यौँ । भोली पर्सितिर खट्कु काटे भइहाल्छ । त्यो बेलासम्ममा त निको पनि त हुन्छ होला ।’
ऊ यहाँ पनि बिरामी उपचारको लागि आएको थियो । मेरो काइला मामाको सानी छोरी बिरामी थिइन् । एकहप्ता भयो, तिनको मुन्टो धनुष्टंंकारजस्तो पछाडि पट्टि फर्किन्थ्यो । समय समयमा फेरि सामन्य हुन्थ्यो र केही खाने कुरा माग्थिन् । अन्तरे बोम्बोको अनुसार मानेखोलाको ‘जागित्रा’ले भेटेको थियो । त्यो ‘जागित्रा’ हिजो राती पन्छाइएको थियो । आज विहानदेखि बिरामी सामन्य अवस्थाको लाग्थ्यो । रामजी बाहुनको कुरा टार्न नसकी अन्ततः अन्तरे बोम्बो केराबारी हिड्यो । म एघार वर्षको थिए । बोम्बोलाई साथी भनेर ङ्हा बोकाएर पठाए मलाई पनि ।
‘त्यहाँको बिरामी हेरिसकेपछि अन्तकतै नगई यही आउनुपर्छ है ।’ हामी हिँडेको देखेर घाँस काट्न पारीपाखा पुगेका मेरा बाजेले तामाङ भाषामा आदेशशैलीमा उतैबाट कराए ।
‘हुन्छ मितबा, हुन्छ ।’ उनले पनि वचनबद्धता गरे ।
कुँडुलेबाट कामीटार, गोपेफेदी हुँदै रामभेँडी डाँडाको उकालो चढ्यौँ । झण्डै दुईघन्टाको उकालो चढाईपछि बल्ल बल्ल जुकेपानीको काकलिङ पुगियो । काकलिङबाट दाहिनी मोडिएर तेर्सियौँ महाभारतको उत्तरीभेगतर्फ । पौनेघन्टाम पुगियो बिरामीको घर ।
‘लौ लौ गुन्द्रि बिछ्या धामीहरुलाई ।’ बाहिरैबाट उर्दि गर्यो मैनालीले ।
‘तैयार भइसक्यो ।’ भित्रबाट आएको महिला आवाजसँगै हामी छिर्यौं ।
मेरो गाउँ र मावल वरपर क्षेत्री बाहुन थिएन । क्षेत्रीबाहुनको घरप्रवेश अनुभव यो मेरो पहिलो थियो । पछि थाहा पाएँ अन्तरे बोम्बोको पनि पहिलो नै रहेछ । पूर्वपश्चिम मोहडामा बनाएको त्यो घरको चुल्हो पूर्वतर्फ थियो । त्यसको छेवैमा पानीगाग्री राख्ने आँटी थियो । चुल्हो रहेको खण्ड अग्लो थियो र हामीलाई ओछ्यान लगाइएको अगेना खण्ड त्योभन्दा होचो थियो । हामी बसेको खण्डमा पनि पानीगाग्री राख्ने आँटी बनाएको थियो । त्यहाँ पनि चुल्हो देखेँ । सायद कुँडो पकाउनको लागि थियो कि ? त्यहाँ आगो बालेको थिएन ।
‘खाना तैयार भइसकेको छ । लौ खाऊँ ।’ हात धुन हाम्रो छेऊमा पितलको आम्खोरा राखि दियो ।
‘घर चोख्याउन पनि त पर्छ’, मैनालीको कुरा सुनेर अन्तरे बोम्बो तामाङ लवजमा बोल्यो, ‘पर्दैन माछा मासु नपकाएको घरलाई जुठो मानिदैन ।’
हामी सबै खाना खान बस्यौँ । हामीलाई त्यही अगेनामा राख्यो भने मैनाली चाहिँ चुल्हो छेऊमा धोती फेरेर बसे ।
‘हेर त यस्तो जाडोमा हामीलाई चाहिँ तल राखेर ऊ चाहिँ चुल्होमा बसेर खाएको ।’ अन्तरे बोम्बोले तामाङमा मलाई साउती गर्दै भन्यो, ‘कस्तो स्वार्थी ? पानी पनि हामीलाई यहाँको आँटीको दिदोँ रहेछ । उनीहरु चाहिँ माथिको आँटीको खाँदो रहेछ ।’
‘किन यसो गरेको होला ?’ मैले बोम्बोलाई सोधेँ ।
‘त्यही त ।’ उनले पनि अनभिज्ञता जाहेर गर्यो ।
मैले नाइलनको सर्ट र पोलिस्टरको कट्टु लगाएको थिएँ । माघको त्यो जाडोमा यो लुगाले थाम्ने कुरै भएन । म थरथर काम्दै खाना खान भ्याएँ । बोम्बोले पनि खाइ सिध्याए । हामीभन्दा अघि नै घरमुली मैनाली त्यही थालमा हात चुठेर उठिसकेको थियो । बोम्बो र म चाहिँ त्यही थालमा हात चुट्न अप्ठेरो मानेर बाहिरै हात चुट्ने सल्लाह गर्दै आम्खोरा समातेर उठेँ ।
‘अहो धामी ज्यू ! थाल त माझ्नु पर्यो नि ।’ हामीले थाल नटिपेको देखेर आँतिदै मैनाली बोल्यो, ‘मतवलीको जुठो हाम्रो परम्पराअनुसार हामीले माझ्न मिल्दैन । तपाईंहरु आफैले सफा गर्ने हो ।’
अघि खुट्टै समातेर ढोक्न तैयार त्यो मैनालीको व्यवहार देखेर बोम्बो र म तिनछक पर्यौँ । यो भोगाइ हामी दुईको पहिलो थियो । अन्तरे बोम्बोले अहिलेसम्म यस्तो व्यवहार भोग्न परेको रहेनछ । उ जहाँ जान्थ्यो सम्मान हुन्थ्यो । कति ठाउँमा त त्यही हात धुने भाडा ल्याएर जबरजस्त हातै धोइ दिन्थे । यहाँ त थालै माझ्नु पर्ने भो ।
‘ठिकै छ त ।’ अन्तरे बोम्बो अमिलो बोलीमा बोल्यो, ‘भतिज यो भाँडो तिमीले माझ है ।’
मैले भाडाँ माझेँ । नचोख्याएसम्म भित्र लान नपाउने रहेछ । बाहिर घोप्ट्याएर राख्न लगायो ।
‘बाबु उ त्याँ लोहोटो छ । लिएर आऊ ।’ मैनालीले मलाई अह्रायो । लोहोटोको अर्थ मैले बुझिन ।
‘यिनले के भनेको हो काका ।’ तामाङमै मैले बोम्बोस“ग अनभिज्ञ जारी गरेँ ।
‘कुरा बुझेन भतिजले ।’ बोम्बोले मैनालीलाई सुनायो ।
‘ल यहाँ आऊ ।’ मलाई मैनालीले अलिपर आँगनको भाडा माझ्ने डिलमा पुर्यायो, ‘यो लगेर अघि खाएको ठाउ“मा पोत्नु पर्छ । जुठो नपोती हुँदैन ।’
हामीलाई भाडा माझ्न त लगायो लगायो त्यो माथि खाएको ठाउ“मा पोत्न पनि लगाएपछि बोम्बोको कन्सेरीमा नराम्ररी पारो चढेको दृष्य देखेँ मैले । तर, यस कुराप्रति मैनालीमा कुनै हिनभाव थिएन ।
‘आउ भतिज ।’ बोम्बोले मलाई बोलाउदै मैनालीलाई भन्यो, ‘हामी एकछिन बाहिर गएर आउँछौँ है ।’
‘त्यता होइन, यता पट्टि जानोस् है ।’ मैनालीले घर परतिरको झाडीतिर चोर औंलो तेस्र्याएर देखाइ पठाए । त्यो बेला आजजस्तो ट्वाइलेटको चलन नभएकोले बाहिर जाने भन्ने बित्तिकै ट्वाइलेटको जनाउ हुन्थ्यो ।
उनले देखाएकैतिर अघि बढ्दा अलिपर खुल्ला ठाउँ भेटायौँ । त्यहाँ पुगेपछि बोम्बोले वरपर कोही छ कि भनेर नियालेर हेर्यो । कुरा सुन्ने कोही छैन भन्नेमा ढुक्क भएपछि कानेखुशी शैलीमा मेरो छेवैमा आएर फुसफुसाए ।
‘तिमी मेरो कुरा त बुझ्छौ ।’
‘भन्नुस् न सायद बुझ्ने कोसिस गरुला ।’ उमेर अनुसार बढ्न नसकेको मेरो बन्ठे शरीरको शीर अन्तरे बोम्बोतिर आकाशमा हेरेझैँ पूरै उतानिए ।
‘बिर्सने त होइनौ नि ?’ बोम्बोले मेरो क्षमतामाथि आशंका जनायो ।
‘नाइ त्यसो हुन दिन्न । भगवान कसम ।’ आत्म विश्वाससाथ मैले टाउकोमा हात राखेँ ।
‘हेर भतिज ! यसले हाम्रो बेइज्जत गर्यो । अघि खुट्टै ढोक्ने जाबोले हामीलाई भाडा माझ्न र लोट्न लगाउने ?’ बोम्बोको आँखा राराता भए, ‘अहिले भूत लखेट्ने बेला म यसलाई, यसको स्वास्नी छोरा छोरीलाई कुचै कुच्चोले झाँट्दै लात हान्छु । यिनीहरुको शीर नाग्छु । तिमी चाहिँ ढ्याङ्ग्रो बजाउँदै यिनीहरुको जिउमा थु थु गरी थुक बुझ्यौ । अनि यसको अघि आगो पनि ताप्न नदिने चुल्होमा थुकि दे । कोठा चोटा देविकोठा जताततै सेलयुङबा हान्दै त्यसो गर है ।’
‘मैले के भने रे ?’ फेरि बोम्बोले मलाई शिक्षकले पढाइसकेपछि प्रश्न सोधेझैँ सोध्यो ।
‘हुन्छ हुन्छ । म त्यसै गर्छु ।’ यो कुरा कसै गरी बिर्सन्न भनि विश्वस्त तुल्याउन फेरि टाउकोमा हात राखेर कसम खाएँ ।
हामी मैनालीको आँगन पुग्यौँ । पुग्ने बित्तिकै आन्तरे बोम्बोले अघि माछा मासु नपकाएको घर लिप्नु पर्दैन भन्ने वचन फेरेर पुरै घर पोत्न लगाए । घर चोखि सकेपछि धामी बस्ने थलो बनायो । आवश्यक सरसामान तैयार पारियो । बिरामीलाई बोम्बोले आफ्नो अघि बोलाएर बसाउन लगायो । मैनालीको परिवार नानीलाई च्यापेर अगाडिपट्टि टुसुक्क बसिन् । धत्तेरीका बिरामी देख्दा म आफू झण्डै तर्सिएँ । कति दिन देखि नकोरेर लठ्ठा परेको कपाल । धेरै दिनसम्म थला परेर होला सायद कपाल ठाउँ ठाउँबाट झरेर खुइलिदै गरेको चिण्डो टाउको । सुकेर मुठीभरीको भइसकेको घाँटी त्यसमाथि मयलले झ्यापक्क पाप्रा हालेको । सिठ्ठो जिउमा भकुण्डो झैं पिल्टिक्क झुण्डिएको भुँडी ।
‘खै खै बिरामीको नाडी ?’ बोम्बोले नानीको हात तान्दै भन्यो, ‘आँ गरेर जिब्रो निकाल त नानी ।’ बिरामीले डराउँदै त्यसै गरिन् ।
बोम्बोले चरेशको थाललाई ततातो खरानीले सफा गर्यो । वल्टई पल्टाई हेर्यो । चोखो भइसकेको जस्तो उनलाई लागेपछि त्यस थालमा एकमुठी चामल राख्यो । सग्लो चामल छानेर कनिका परेको जतिलाई निकाल्यो र जोखाना हेर्न सुरु गर्यो । बोम्बोले चरेशको थालले बिरामीको शीर छुवायो । चामललाई विभिन्न भाग लगायो । केस्रा केस्रा मिलाएर जोर विजोर छुटायो । केही बेरसम्म यसो गरेपछि एकछिन गमेर बोम्बो बोल्यो ।
‘मैनाली भाइ नानीलाई… भूतले भेटेको रहेछ । धन्न समयमा उपचार पाउने भो ।’ बोम्बोले मैनालीलाई अह्रायो, ‘बिमिराको बोट यहाँ कहाँ छ हँ ? त्यो पनि चाहियो । त्यसको जरा निकालेर सफा धोएर तीन चम्चा कुटेर ल्याउनुस् ।’
साङ सेरग्याम सुरु भयो । डेङ्गो डेङ्गो डेङ्गो म ढ्याङग्रो ठोक्न थाले । बोम्बोले जे जे अह्राउथ्यो बिरामीका परिवारहरु आज्ञाकारी बालककझैँ खुरुखुरु त्यसैत्यसै गथ्र्यो । बोम्बोलाई देउता चढ्यो । जोडजोडले काम्न थाल्यो । बोम्बोको गलाको घाङह्राङ कमाइको बेगसँगै छिन्द्रिङ र छुन्द्रिङ गरेर वातावरण नै कोलाहलमय बनायो । ढ्याङ्गोको आवाज पनि बढ्दै झन् झन् छिछिटो बज्न थाल्यो । केही समयपछि घाङ्ह्राङ र ढ्याङ्ग्रो आवाज विस्तारै कम हुँदै गयो ।
‘हेर हेर बाला हो ।’ बोम्बोले काइसल राख्यो, ‘तिम्रो भूतको छाया“ परेको छ । त्यसलाई… ।’
त्यसपछि भूतलाई लखेट्न सेलयुङबा हान्दै चोटा कोठा, बुइगल, चुल्होचौको, कुना काप्चा कुद्ने र कुचोले हान्ने, थुक्ने र नाग्ने क्रम चल्यो ।
‘भगवान कसम म त्यो कुरा बिर्सन्न ।’ मैले अघि बोम्बोसँग टाउकोमा हात राखेर खाएको कसम झण्डै बिर्सिएको । झट्ट सम्झनासाथ हतार हतार मैले थु थु गर्दै ढ्याङ्ग्रो बजाउँदै बोम्बोको पछिपछि छिछिटो कुद्न थालेँ । भूत लखेट्दै घरको परिवार भेला भएको ठाउ“मा आइपुग्यौँ । बोम्बोले ‘छोड् छोड्’ भन्दै विरामी र परिवारजनलाई कुचोले हिर्काउदै उनीहरुको शीर फुत्तफुत्त नाग्न थाल्यो । म थु थु गर्दै उनीहरुलाई थुक्दै र मन्छाउँदै भूत पन्छाउन हामी दुई बाहिर कुद्यौँ ।
जब चौडीमा भूतलाई बिसर्जन गर्यौं । मेरो सातो उड्यो ।
‘बोम्बो काका ! थुके वापत मलाई बाहुनको देवताले…’ कामेको स्वरमा मैले आशंका व्यक्त गर्न नपाउँदै बोम्बो बोल्यो, ‘केही हुँदैन । ढुक्कले बस ।’
धामीको काम सकिसकेपछि फेरि अघि थुकेर उफ्रेको चुल्होमा जान पाइएन । हामी दुईको लागि अगेनामा ओछ्यान लगाइयो । उज्यालोको संकेतमा भाले बासेपछि हामी घरतिर फर्कियौँ । थाहा छैन यसपछि त्यो मैनालीको कुलदेवता हामी दुई भोटेको थुक र लात खाएर बौरियो कि बौरिएन ।