तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको महोत्सवमा १८ वटा लघु चलचित्रले प्रतिस्पर्धामा भाग लिएका थिए ।
निर्णायक मण्डलको आधारमा स्ह्यामा पिन्बा (गुन्युचोली) ले ग्राण्ड जुरी अवार्ड सेमरी छोरङान पाएका छन् । अवार्डसँगै नगद ५० हजार जितेका हुन् ।
सञ्चु थोकरद्धारा निर्देशित चलचित्र १६ मिनेटको थियो । नुवाकोट आसपासका तामाङ समुदायको छोरीलाई हुर्केपछि स्ह्यामा पिन्बा प्रचलनलाई मिहिन ढंगले चलचित्रमा उतारेका छन् ।
यसैगरी पब्लिक च्वाइस अवार्ड छ्यो पोङले जितेका छन् । कमल योञ्जनद्धारा निर्देशित उक्त चलचित्रमा प्रेम गरी भागी विवाह गरेपछि छ्यो पोङ (चोरी सगुन) लाने चलनलाई उतारेको छ ।
स्पेशल मेन्सन अवार्ड म्हेन्दोमाया डकुमेन्ट्रीले हात पारे । नुवाकोट, रसुवा, धादिङ आसपासमा गाउने म्हेन्दोमायाको ऐतिहासिक पक्षलाई निर्देशक उदय लामाले उतारेको छ ।
इन्करेजमेन्ट अवार्डमा नोर्बु उत्कृष्ट बने । पश्चिमी बाजालाई रुचाउदै गएको पछिल्लो पुस्तामा केही युवा आफ्नो संस्कृति बाजाप्रति आकर्षित भएको देखाइएको छ । नोर्बु पात्रले फिनल्याण्ड पढ्न जाँदा टुङ्ना सँगै बोकेर लैजानु यसको विशेषता हो । छेडुप तामाङद्धारा निर्देशित चलचित्रको कर्मढोन्डुप तामाङ र अमिर योञ्जनले निर्माण गरेको हो । यसले नगद १० हजार पाएको छ ।
वेष्ट डकुमेन्ट्री मधुराजाले जितेको हो । डकुमेन्ट्रीमा ललितपुरको बुरुम्चुली गाउँमा तामाङ समुदायले मनाउने पर्वलाई उतारेको छ । कमल योञ्जनद्धारा निर्देशित डकुमेन्ट्रीले नगद २५ हजारसहित अवार्ड जितेको छ ।
वेष्ट सर्ट फिल्म क्युई (पानी) ले जितेको छ । विद्यलाय पढ्दै गरेकी सानी नानीले पानी ओसारी रहनुपर्ने हैरानीलाई मुक्त पाउन गरेर घरमै पानी आउने वातावरण सिर्जना गरेको कथा छ । कमल योञ्जनद्धारा निर्देशित उक्त चलचिलले नगद २५ हजारसहित अवार्ड जितेको छ ।
तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना र एससीआरसीको सहकार्यमा भएको थियो ।
बुद्धचित्त, स्ह्यामा पिन्बा, मधुराजा, छ्यो पोङ, जर्नी टु सिङ्ला, ह्याङ्ला बोन, पिलग्रिम टु पाँचपोखरी, क्युई, संस्कार, स्वयम्भु तेमाल जात्रा, नोर्बु, सैलुङ यात्रा, धुर्सा, तउसर माने जात्रा, शिशाघासा, गिफ्ट फ्रम मदर, म्हेन्दोमाया र फापारे ह्वाईले सहभागी भएका थिए ।
महोत्सवको समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले राष्ट्र भाषाका चलचित्रलाई प्रोत्साहन दिन यस्ता कार्यक्रमको आवश्यकता रहेको औल्याउदै चलचित्र प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता गरे ।
महोत्सवमा तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला एवं मुर्ति कलाबारे अन्तरक्रिया लगायतका कार्यक्रमहरु भएका थिए ।
नेपाल, अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु महोत्सवमा प्रतिस्पर्धाका लागि गर्न छनोट गरिएको महोत्सव निर्देशक जगतमान तामाङले जानकारी दिए ।
महोत्सवको आकर्षणमा भेषभुषा, पुस्तक, थाङका चित्रकला एवं मुर्तिकला प्रदर्शनमा राखेका छन् ।
महोत्सव संयोजक कुमार मोक्तानका अनुसार सहजता वातावरणमा सम्पन्न भएकोले आगामी दिनमा बाहिरीमुलुकबाट दोस्रो महोत्सव गरिने खुलासा गरे ।
अध्यक्ष विगेन्द्रसिंह वाइबाले प्रविधि युगमा पछिल्लो पुस्तालाई बुझाउन सकिने सांस्कृतिक चलचित्र निर्माणमा सबै लाग्नुपर्ने बताए । हाम्रो सम्पदाहरु बुझाउने माध्यम चलचित्र हुने देखिन्छ । उनले भने, आगामी दिनमा अझ धेरै चलचित्रले प्रतिस्पर्धामा आउनुपर्ने औल्याए ।