हिमालसँग चुलिएको तामाङ पहिचान

काठमाडाैं

जातीय पहिचान भन्नाले सम्बन्धित जातिको थातथलो, संस्कृति, इतिहास, सामाजिक मूल्यमान्यता र परम्परागत संस्था आदि हुन् । सम्बन्धित जातिभन्दा बाहिरका समाज, देश तथा अन्तर्राष्ट्रिय जगतमा पु¥याउन वा परिचित गराउन पहिचानको उपरोक्त आयामहरुले नै भूमिका खेल्ने गर्दछ । तामाङ जातिको पहिचानको कुरा गर्नु पर्दा पनि तामाङ संस्कृति, इतिहास, भाषा, भेषभुषाजस्ता आयमहरुलाई नै चिन्नु, बुझ्नु र सम्झनु पर्ने हुन्छ । यस अतिरिक्त कुनै जाति, समुदायलाई वृहत रुपमा परिचित गराउन सम्बन्धित जाति समुदायका सदस्यले पुर्याएको अतुलनीय कार्यले पनि भूमिका खेल्ने गर्दछ ।

विश्वको सर्वोच्च शिखर आरोहण गर्ने क्रममा तामाङ जातिका एक सपुतले पनि विश्व रेकर्ड कायम गरी आफ्ना जाति तथा नेपाली समुदायलाई नै गर्वित तुल्याएको इतिहास हामी सामु छ । त्यस्ता सहासिक कार्य गर्ने व्यक्ति हुन्– पहिलो कान्छो सगरमाथा आरोही शम्भु तामाङ । विभिन्न प्रमाणले उनी सम्भवतः विश्व रेकर्ड राख्ने पहिलो नेपाली नागरिक हुन् भन्ने तथ्य तर्फ इङ्गित गर्दछ । यस लेखमा तामाङ पहिचानसँग उनको नामका साथै सर्वोच्च शिखर चुम्ने तामाङ समुदायका अन्य साहसिक हिमाल आरोहीहरुको नाम जोड्ने जमर्को गरिएको छ ।

निरंकुश पञ्चायती व्यवस्थाको अन्तसम्म पनि तामाङहरु शासक जातिबाट हदैसम्म पीडित थिए । परिणामतः त्यो समयमा आफ्नो नामको अन्तमा तामाङ लेखिएका व्यक्तिहरु कुनै सार्वजनिक पद, प्रतिष्ठानहरुमा, सेवा वा जिम्मेवारीमा हुँदैन थिए वा अत्यन्त नगन्य रुपमा हुने गर्दथे । सोही कालमा प्रकाशित सामान्य ज्ञानको पुस्तकमा भने सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्ति शम्भु तामाङ उल्लेख थिए । आफ्नो मातृभूमिमै झण्डै पराय झै बनाइएका समुदायको कुनै एक व्यक्तिले विश्व रेकर्ड राख्नेसम्मको अद्भूत काम गरिएको कुरा पढ्न पाउँदा तामाङ समुदायलाई गर्व महशुस हुनु स्वाभाविक नै हो ।

शम्भु तामाङले सन् १९७३ को मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरी विश्वकै कान्छो आरोहीको रेकर्ड बनाएका थिए । गिनिज बुकमा रेकर्ड गरिए अनुसार सो मितिमा उनी १७ वर्ष ७ महिना पन्ध्र दिनको थियो । उनी विश्वका कान्छो आरोही मात्र थिएनन्, विदेशी र शेर्पा जाितका आरोहीभन्दा बाहिरी समुदायका पहिलो व्यक्ति पनि थिए ।

प्रसिद्ध भुगोलविद स्व. डा. हर्क गुरुङका अनुसार नेपालमा पर्वतारोहण गतिविधि गर्नेबारे तत्कालीन राणा शासकसँग ब्रिटिशहरुले सन् १९०८ तिर प्रस्ताव गरेको भएता पनि नेपालभित्र साच्चिकै हिमाल आरोहण तथा त्यस सम्बन्धि गतिविधि सन् १९४९ देखि शुरु भएको हो (गुरुङ, पिक्स एण्ड पिनाकल्स २००४ः४) । यसको ठिक ५ वर्षपछि विश्वको सर्वोच्च शिखरमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ का दिन सर्वप्रथम मानव पाइला टेकेका थिए ।

हिमाल आरोहणमा तामाङहरुको संलग्नताको कुरालाई केलाउँदा हामीले यही सगरमाथाको पहिलो सफल आरोहणमै तामाङ सहयोगीहरुको ठूलो योगदान रहेको तथ्यसम्म पुग्दछौं । ब्रिटिश सरकारको प्रत्यक्ष निगारानी र प्रायोजनमा सञ्चालन गरिएको सन् १९५३ को सगरमाथा अभियानका जीवित सदस्य कान्छा शेर्पाले उक्त सगरमाथा अभियान सफल पार्न तामाङ समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

सन् १९५३ को सगरमाथा अभियानको लागि चाहिने सम्पूर्ण वन्दोवस्तीका सामान आधार शिविरमा पु¥याउनका लागि १२ सय तामाङलाई भरियाको काम गर्न तयार गरिएको थियो । ती तामाङ कामदारले सम्पूर्ण सामान काठमाडौंको टुँडिखेलदेखि नाम्चेबजारसम्म बोकेर पु¥याएका थिए (हर्क गुरुङ, अन्तर्वार्ता, नयाँ पत्रिका राष्ट्रिय दैनिक, श्रावण ३२, २०७२) । यसबाट के प्रमाणित हुन्छ भने तामाङहरु भरियाको रुपमा ऐतिहासिक सगरमाथा आरोहण अभियानको अभिन्न पाटो बनेका थिए । यस पक्षलाई सफलताका कथा लेख्नेहरुले उल्लेख गरेको पाइँदैन ।
यसरी सगरमाथामा मानव पाइला पुगेको दुई दशकपछि शम्भु तामाङले विश्वकै कान्छो सगरमाथा आरोहीको रेकर्ड बनाउन सफल भएका थिए । सिन्धुपाल्चोक रिस्याङगुका तामाङको मावाली काठमाडौं भएकोले उनी अध्ययनका लागि काठमाडौ आएका थिए । स्थानीय शान्ति विद्यागृह लैनचौरमा कक्षा ८ मा पढ्दै गर्दा उनलाई इटालियन भाषा अध्ययन गर्ने छात्रावृत्ति मिलेकोले चौध वर्षको कलिलो उमेरमै इटली जाने अवसर पाए । इटलीमा आफूलाई छात्रावृत्ति मिलाउने मुख्य व्यक्ति केही वर्षभित्र सगरमाथा चढ्न नेपाल आउने योजना थाहा पाएपछि शम्भु तामाङ पनि उनीहरुसँगै इटली र युरोपका अन्य क्षेत्रमा हिमाल आरोहणको तालिममा सहभागी भए । त्यसपछि तिनै इटालियनहरुको सम्पर्कका कारण उनी सन् १९७१ (१६ वर्ष उमेरमा) मा मकालु हिमाल (७,५३० मिटर हाराहारी) आरोहणमा पुगेका थिए । त्यसको अर्को वर्ष सन् १९७२ को अर्जेन्टिनी सगरमाथा आरोहण टोलीमा पनि सहभागी भई ८,००० मिटरसम्म पुगे । यस पटक आफ्नो टोलीका कोही पनि शिखर पुग्न सफल नभएकोले उनलाई पनि सफलता हात परेन । त्यसको एक वर्षपछि भने उनले विश्वको सर्वोच्च शिखरमा पाइला राख्ने कान्छो आरोहीको रेकर्ड हात पर्यो ।

फोटो : everesthistory.com

शम्भु तामाङ लगायतको आरोहणको खबर सबैभन्दा पहिले भारतको अल इण्डिया रेडियोबाट प्रशारित भएको थियो र त्यस समाचारमा आरोहण गरिएको मिति, आरोहीको नाम र उमेर भनिएको थियो । त्यसैगरी इटालीमा पनि समाचार प्रकाशित भएका थिए । उनी विश्वको कान्छो आरोही हुन् भन्ने चाहीँ स्वयम् शम्भु तामाङले पनि करिब दुई वर्षपछि मात्र थाहा पाएका थिए । उनी सँगैका आरोही इटालियनहरुले पनि उहाँको उमेरको कारण विश्व रेकर्ड कायम भएको कुरा निक्कैपछि मात्र महशुस गरेका थिए । त्यसपछि उनको नाम विश्व रेकर्डधारी आरोहीको रुपमा विभिन्न श्रोत र सामान्य ज्ञानका पुस्तकहरुमा छापिन पुग्यो ।

शम्भु तामाङभन्दा पहिले कुनै पनि नेपालीले विश्व रेकर्ड राख्ने कार्य गरेको पाइएको छैन । यस अर्थमा पनि उहाँ सहासिक कार्य गर्ने स्मरणीय नेपाली व्यक्तित्व हुन् भन्नेमा दुईमत हँुदैन । उहाँभन्दा पहिला नै तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेर विश्व रेकर्ड राखेको भएता पनि उनी आधिकारिक रुपमा नेपाली हुन् भन्ने कुरा निर्विवाद छैन । इनसाइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणअनुसार तेन्जिङ नोर्गेको वाल्यकालको नाम नाम्ग्याल वाङ्दी र जन्म स्थान छेचु, तिब्बत उल्लेख गरिएको छ । (https://www.britannica.com/biography/Tenzin-Norgay)

नाम्ग्याल वाङ्दीबाट तेन्जिङ बनेका उनी त्यति बेलाका अन्य तिब्बती खाम्पा किशोरहरु जस्तै राम्रो अवसरको खोजीमा नेपालको खुम्बुक्षेत्रमा पुगेका र त्यहीबाट दार्जिलिङ पुगेका थिए । दार्जिलिङ पुगेपछि अङ्ग्रेजहरुको सङ्गतबाट पर्वतारोहण क्षेत्रमा लागेका उनको जीवनी तथा अन्य श्रोतबाट ज्ञात हुन्छ । तेन्जिङको किशोरकालको गाँउ भनिएको सोलुखुम्बुको थामे, खुम्जुङलगायतका गाँउहरुमा उनको तथा उनका परिवारका सदस्यहरु समेतको घरजम र स्थायी बसोवासको भरपर्दो प्रमाण भेटिएको छैन । उनले सन् १९५३ को सगरमाथा आरोहण अभियान अघि तथा पछि पनि आफ्ना जीवन भारतमै बिताए र भारत सरकारले औपचारिक रुपमै उनलाई भारतीय नागरिक दावी गरिएको छ । त्यस आधारमा पनि भावनामा बगेर उनलाई नेपाली भनिनु वा ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ भन्ने जस्ता नेपाली स्वदेशगान गाइनु पनि सान्दर्भिक देखिदैन । थप स्मरणीय कुरा के छ भने नेपालले पछिल्लो समयमा तेञ्जिङ नोर्गे शेर्पा नेपाली भनेको पाइएता पनि सन् ९० को दशकमा नेपाल पर्यटन मन्त्रालयले प्रकाशित सगरमाथा आरोहीको सूचीमा पहिलो नेपाली सगरमाथा आरोहीको रुपमा तेञ्जिङ नभै फु दोर्जी शेर्पाको नाम उल्लेखित छ ।

शम्भु तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि तोडिएको थियो । रेकर्ड तोडिनु सामन्य नियम हुन् । यद्यपि शम्भु तामाङ विश्व रेकर्ड राख्ने पहिलो नेपाली नागरिक हुन् भन्ने तथ्य भने कहिल्यै तोड्न सकिन्न । यो तथ्य नेपालको राज्य वा सम्बन्धित क्षेत्रका धेरैले महशुस नगरिएको यथार्थ हो । साथै आफ्नो सहासिक कार्य मार्फत् तामाङ समुदायको पहिचानलाई उचो गराउने उनको योगदान तामाङ समुदायले कदापि भुल्न हुँदैन ।

नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विश्व रेकर्ड धारीको अलावा एक वरिष्ठ व्यवसायी, दक्ष आरोही, आरोहण प्रशिक्षक तथा पे्ररणाादायी व्यक्तित्वका रुपमा शम्भु पर्यटन क्षेत्रमा परिचित छन् । पर्वतारोहण सम्बन्धित (Alpine Activities) नेपालको आधिकारिक संस्था वा अलपाइन क्लबका जन्मदाता मध्येका शम्भु तामाङ पनि एक हुन् । सगरमाथाको सफल आरोहण पश्चात् उनको समेत अगुवाइमा तत्कालीन परराष्ट्र मन्त्रालयका एक हाकिम यादवकान्त सिलवाल (पछि सार्क महासचिव) कहाँ नेपालमा पनि अलपाइन एसोसिएसन वा हिमाल आरोहण गतिविधि सम्बन्धी एक संस्था हुनु पर्ने कुरा उठाइएको थियो । त्यो कुरा शाही परिवारसम्म पुग्यो । तत्कालीन शाही परिवार सदस्य कुमार खड्ग विक्रम शाह सामु यो कुरा शम्भु तामाङ स्वयंले ब्रिफिङ गरेपछि कुमार खड्ग विक्रमकै नेतृत्वमा सन् १९७५ मा पर्वतारोहण संघ स्थापना भएको थियो ।

शम्भु तामाङसमेतको सक्रियतामा स्थापना भएको पर्वतारोहण संघ अहिले पनि नेपालको पर्वतीय क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको छ र सो संस्थाको नेतृत्व हत्याउन ठूलै चालबाजीहरु अहिले पनि हुने गर्दछ । तर, उनलाई कसैले पनि उक्त संस्थाको प्रमुख पदहरुमा पुग्न दिएनन् ।

कलिलो उमेरमा स्कुल छोडेर इटली पुगेका शम्भु तामाङले पुनः औपचारिक शिक्षा लिएनन् । उनले आफ्नो बाँकी जीवन आरोहण पेशा र पर्यटन क्षेत्रलाई समर्पित गरे । आरोहण कै क्रममा उनी सन् १९८५ मा पुनः सगरमाथा तिब्बत तर्फबाट आरोहण गर्न सफल भए । त्यसबखत उनले अगष्ट महिनामा आरोहण गरेका थिए जुन सामान्य आरोहण यामभन्दा अलग अर्थात् प्रतिकुल समय हो । यो समयमा सोही रुटबाट अहिलेसम्म पनि सगरमाथाको आरोहण भएको छैन । सगरमाथा आरोहणद्वारा देशको पहिचान झल्काउने तथा आरोहण गतिविधि मार्फत् अन्तर्राष्ट्रिय मित्रता एवं सहकार्य बढाउने अभियानको रुपमा सन् १९८८ मा नेपाल-चीन-जापान त्रिदेशीय सगरमाथा अभियान भएको थियो जस्मा शम्भु तामाङ उपनेता थिए । यद्यपी यसपटक उनी शिखरसम्म नगई टोलीलाई मार्ग निर्देशन मात्र दिए ।

आरोहण क्षेत्रमा नेपालीहरुको ठूलो योगदान भएता पनि अन्तर्राष्ट्रिय आरोहण अभियानमा यसरी उपनेता तहको जिम्मेवारी निभाउने पनि उनी सायद पहिलो नेपाली आरोही हुन् । त्यसपछि भने उनी उच्चशिखर आरोहणबाट निवृत्त भै पर्यटन व्यवसायमै समर्पित रहे ।

विश्व रेकर्डधारी शम्भु तामाङको पद्चिन्ह पछ्याउदै विश्वको सर्वोच्च शिखरबाट संसार चिह्याउने सपना बोकी विश्वभरिबाट सगरमाथा आरोहण गर्न आउने आरोहीको पथप्रदर्शक एवं सहयोगीको रुपमा अरु थुप्रै तामाङ आरोहीहरु सगरमाथाको शिखरमा पुगेका छन् । नेपालको पर्यटन मन्त्रालयले प्रकाशित सगरमाथा आरोहीहरुको सूचीमा हालसम्म २० जना तामाङहरुको नाम उल्लेख गरेका छन् । यो सूची सरकारी तवरमा आधिकारिक हो तर कतिपयले कागजी प्रक्रियाको व्यवधान र तिब्बत तर्फबाट गरिएको आरोहणको अद्यावधिक लगत नपाइने हुदाँ केही नाम छुटेको हुनसक्दछ ।

मे २०, २०१३ का दिन सोलुखुम्बु टाप्टिङ ७ का कर्णबहादुर तामाङले तामाङ टोपी शीरमा लगाई सगरमाथाको शिखरमा पाइला टेकेर सर्वोच्च शिखरमा तामाङपन झल्काए भने पहिलो पटक सिक्किम भारतकी तामाङ चेली फुलमाया तामाङले पनि सन् २००८ मे २२ का दिन विश्वको सर्वोच्च शिखरमा पाइला टेकी सगरमाथा आरोहण गर्ने प्रथम तामाङ चेलीमा नाम लेखाउन सफल भईन । यसैगरी गत सन् २०१६ को वसन्त ऋतुमा भएको सगरमाथा आरोहणको क्रममा सोलुखुम्बु टाक्सिन्धुका पेम्बा तामाङ (अन्तरे)ले वसन्त ऋतु सगरमाथा अभियानमा तामाङ ड्रेस तथा डम्फुको साथमा सगरमाथा शिखरमा पुगी अर्को साहसिक कार्य गरे ।

हालसम्म ५२ जना तामाङ युवाहरुले सगरमाथाको शिखर चुमिसकेका छन् र तीमध्ये ५ जना चेली छन् । भारतका २ महिला र १ पुरुषले सगरमाथा चढिसकेका छन् ।

सोलुखुम्बुका साम्दुक दोर्जे तामाङले हालसम्म १२ औं पटक सगरमाथा चढेका छन् । साम्दुक दोर्जेलाई ६ पटक सगरमाथा चढेर खोटाङका निमादोर्जे तामाङले पछ्याईरहेका छन् । यसरी नै सोलुखुम्बुका मानबहादुर तामाङ र चतुर तामाङ अनि दोलखाका सिद्धिबहादुर तामाङले पनि ५/५ पटक सगरमाथा चुमेर साम्दुकलाई पछ्याईरहेका छन् ।

यसैगरी ५ जना तामाङ चेलीहरु– फुलमाया तामाङ (२००८), सुलक्षणा तामाङ (२०१६), कान्छीमाया तामाङ (२०१७), लक्ष्मी तामाङ (२०१८) र शर्मिला स्याङतान तामाङ (२०१९)ले सगरमाथा चुमेकी छिन् । सिन्धुपाल्चोककी कान्छीमाया तामाङले त २०१७ देखि २०१९ सम्ममा तीन पटक सगरमाथाको शिखरमा टेकेकी छन् ।

पर्वतारोहण क्षेत्रमा तामाङहरुको उपस्थिति र योगदान अविस्मरणीय रहेको माथिको दृष्टान्तहरुले देखाएका छन् । तामाङहरु हिमालको आसपासका आदिम बासिन्दा भएको, सांस्कृतिक एवं आध्यात्मिक रुपमा पनि हिमालसँग जोडिएको हुदाँ उनीहरुले आफ्नो पहिचानलाई हिमाल जस्तै उच्च राखिरहेको यथार्थलाई कम्तिमा स्वयम् तामाङ समुदायका अगुवा, संघसंस्था र जानकार आदिले भुल्नु हुँदैन ।

सगरमाथा आरोही तामाङहरुको सूची (सन् १९९३ देखि २०१९ सम्म)

१. शम्भू तामाङ, रिस्याङ्खु, सिन्धुपाल्चोक (सन् १९७३ र १९८५ मा गरी दुई पटक नेपाल र तिब्बतबाट)
२. पदमबहादुर तामाङ, रामेछाप (सन् १९८८ नेपालबाट)
३. मानबहादुर तामाङ (गोपाल), जैदु, सोलुखुम्बु (सन् १९९२ देखि २००७ सम्म पाँच पटक तिब्बतबाट)
४. दुर्गा तामाङ, देउसा, सोलुखुम्बु (१९९३ नेपालबाट)
५. मुसलकाजी तामाङ, गोराखानी, सोलुखुम्बु (सन् १९९५ तिब्बतबाट)
६. आङदावा तामाङ, मुक्ली, सोलुखुम्बु (सन् १९९५ देखि १९९७ सम्म, तीन पटक नेपालबाट)
७. कृष्णबहादुर तामाङ (जेठा), काँकु, सोलुखुम्बु (सन् १९९९ देखि २००७ सम्म, तीन पटक नेपालबाट)
८. तुलबहादुर तामाङ, देउसा, सोलुखुम्बु (सन् २००२ देखि २००७ सम्म, तीन पटक तिब्बतबाट)
९. पासाङ तामाङ, देउसा, सोलुखुम्बु (सन् २००३ देखि २००७ सम्म, तीन पटक तिब्बतबाट)
१०. देवेन्द्रबहादुर तामाङ, नेपाल, (सन् २००३ नेपालबाट)
११. श्रीबहादुर तामाङ, नेपाल, (सन् २००३ नेपालबाट)
१२. लिलाबहादुर तामाङ, खाइम्राङ (सन् २००४ देखि २०१७ सम्म, चार पटक तिब्बतबाट)
१३. निमादोर्जे तामाङ (काला), चित्रे, खोटाङ (सन् २००५ देखि २०१३ सम्म, छ पटक नेपालबाट)
१४. कामीसिङगी तामाङ, स्याम्बा, दोलखा (सन् २००६, तिब्बतबाट)
१५. साम्दुक दोर्जे तामाङ, पाङ्बोचे, सोलुखुम्बु (सन् २००६ देखि २०१९ सम्म, बाह्र पटक नेपाल र तिब्बतबाट)
१६. कैलाश तामाङ, काँकु, सोलुखुम्बु (सन् २००७ र २०१० सम्म, दुई पटक तिब्बतबाट)
१७. माइला तामाङ, नारायणथान, काभ्रे (सन् २००७ नेपालबाट)
१८. टिकाबहादुर तामाङ, रामपुर, नेपाल (सन् २००७ नेपालबाट)
१९. निमा तामाङ, पाङ्बोचे, सोलुखुम्बु (सन् २००७ तिब्बतबाट)
२०. विश्वराज तामाङ, कानपुर, काभ्रे (सन् २००८ नेपालबाट)
२१. फूलमाया तामाङ, गान्तोक, सिक्किम, भारत (सन् २००८ नेपालबाट)
२२. कर्णबहादुर तामाङ, टाप्टिङ, सोलुखुम्बु (सन् २००९ देखि २०१३ सम्म, तीन पटक नेपालबाट)
२३. फि लामा तामाङ, हाकु, रसुवा (सन् २०१० नेपालबाट)
२४. बिरकाजी तामाङ, गोराखानी, सोलुखुम्बु (सन् २०१० र २०१३ गरी दुई पटक नेपाल र तिब्बतबाट)
२५. सुक्रबहादुर तामाङ, नेपाल (सन् २०१२ नेपालबाट)
२६. चतुर तामाङ, काँकु, सोलुखुम्बु (सन् २०१२ देखि २०१९ सम्म, पाँच पटक नेपालबाट)
२७. कितापसिं तामाङ, देउसा, सोलुखुम्बु (सन् २०१३ देखि २०१८ सम्म, चार पटक नेपाल÷तिब्बतबाट)
२८. सिद्धिबहादुर तामाङ, सिमिगाउँ, दोलखा (सन् २०१३ देखि २०१९ सम्म, पाँच पटक तिब्बतबाट)
२९. पेम्बा तामाङ, टाक्सिन्दु, सोलुखुम्बु (सन् २०१३ देखि २०१७ सम्म, तीन पटक नेपालबाट)
३०. फूर्वा तामाङ, केरुङ, सोलुखुम्बु (सन् २०१३ तिब्बतबाट)
३१. श्यामबहादुर तामाङ, सिमिगाउँ, दोलखा (सन् २०१३ नेपालबाट)
३२. लालबहादुर तामाङ, राम्चे, रसुवा (सन् २०१४ देखि २०१८ सम्म, तीन पटक नेपाल र तिब्बतबाट)
३३. ङिमादोर्जे तामाङ, गोराखानी, सोलुखुम्बु (सन् २०१६ नेपालबाट)
३४. मीनबहादुर तामाङ, नेपाल (सन् २०१६, नेपालबाट)
३५. सुलक्षणा तामाङ, दार्जिलिङ, भारत (सन् २०१६, नेपालबाट)
३६. नाम्गेल दोर्जे तामाङ, पाङ्बोचे, सोलुखुम्बु (सन् २०१६ र २०१८ गरी दुई पटक नेपालबाट)
३७. गेसमान तामाङ, सोलुखुम्बु (सन् २०१६ देखि २०१८ सम्म, तीन पटक नेपालबाट)
३८. मित्रबहादुर तामाङ, दोलखा (सन् २०१७ देखि २०१९ सम्म, तीन पटक नेपालबाट)
३९. ल्हाक्पा तामाङ, नेपाल (सन् २०१७ नेपालबाट)
४०. वीरबहादुर तामाङ, नेपाल (सन् २०१७ नेपालबाट)
४१. कान्छीमाया तामाङ, सिन्धुपाल्चोक (सन् २०१७ देखि २०१९ सम्म, तीन पटक नेपालबाट)
४२. रामकाजी तामाङ, काँकु, सोलुखुम्बु (सन् २०१७ नेपालबाट)
४३. मिङमार तामाङ, सल्लेरी, सोलुखुम्बु (सन् २०१८ नेपालबाट)
४४. निङमा दोर्जी तामाङ, गौरीशंकर, दोलखा (सन् २०१८ नेपालबाट)
४५. राजकुमार तामाङ, केरुङ, सोलुखुम्बु (सन् २०१८ नेपालबाट)
४६. ज्ञानबहादुर तामाङ, रामपुर, नेपाल (सन् २०१८ नेपालबाट)
४७. लक्मी तामाङ, देवीटार, काभ्रेपलाञ्चोक (सन् २०१८ नेपालबाट)
४८. दर्शन तामाङ, भारत (सन् २०१८ नेपालबाट)
४९. ग्याल्बो तामाङ, बोथाङ, सिन्धुपाल्चोक (सन् २०१८ र २०१९ मा गरी दुई पटक नेपालबाट)
५०. मानबहादुर तामाङ, नेपाल (सन् २०१९ तिब्बतबाट)
५१. बुद्धसिं तामाङ, काकु, सोलुखुम्बु (सन् २०१९ नेपालबाट)
५२. शर्मिला स्याङदन तामाङ, काभ्रेपलाञ्चोक (सन् २०१९ नेपालबाट)

(द्रष्टव्य : सन् २०१९ वसन्त ऋतुको सगरमाथा आरोहीको डेटा प्रोसिङमा रहेको र चीनतर्फबाट चढेकाको तथ्याङ्क सजिलै नपाईने हुँदा उल्लेखित सङ्ख्यामा फरक पर्न सक्नेछ । सूचना स्रोत : १. Mountaineering in Nepal: Facts and Figures, Department of Tourism 2015, Kathmandu, २. http://www.himalayandatabase.com/ seasonlists.html, ३. http://www.everestsummiteersassociation.org)

तपाईको प्रतिक्रिया