ढिलो चाँडो छुट्नै पर्ने मिलाप रहेछ जीवन
पानाहरु थपिइ रहने किताब रहेछ जीवन ।
गायिका जीना रसाइलीले यही गीत गाउदै गर्दा सहभागी दर्शकहरु उत्साहित देखिन्थे ।
बुधबार बालुवाटारस्थित टाइम स्क्वायर रेष्टुरेण्ट सांगीतिकमय बनेको थियो । बरिष्ठ गीतकार टेकबहादुर तामाङले लेखिएको माथिको गीतबाट प्रारम्भ भएको थियो, सांगीतिक सुमधुर साँझ–२०७६ ।
करिब दुई घण्टा अवधिमा आधुनिक, राष्ट्र भावको गीत र प्यारोडी गरेर डेढ दर्जन गुञ्जिएका थिए ।
साँझमा जीना रसाइलीले यी आँखामा तिमी छौ…, यो जूनीको जीवनसाथी.. गाएकी थिइन् ।
यसैगरी गायक एवं संगीतकार कन्काइष्ट राईले जन्मी खेली हुर्के आमा…, नजिक यति भएर पनि…, स्वर्ग सुख मिले पनि…. र बिन्ती छ…… प्रस्तुत गरेका थिए ।
गायिका दिपा लामाले धर्ती टेकायौ संसार देखायौ…., हारेँ हारेँ म त हारेँ…, च्याङ्बा तलाई…, तिम्रो मिठो बोली…. र चियर्स चियर्स चियर्स….. गाएकी थिइन् ।
न त आँखा थाक्छन, कहिले हेरेर तिमीलाई
न त मन नै थाक्छ, सम्झेर तिमीलाई ।
सिडीई देवकुमार तामाङले पनि यी माथिका गीतका बोल गाएका थिए । गायक दिपक श्रेष्ठले पूर्व राजादेखि सबै राजनीतिक दलका शिर्ष नेताहरुको क्यारिकेचरसहित गीत गाएका थिए ।
पञ्चपुञ्ज एण्ड होल्डिङ प्रा.लिद्धारा आयोजित साँझमा अधिकांश गीतहरु गीतकार तामाङकै प्रस्तुत भएको थियो ।
जब साँझ छिप्पिदै थियो, गायिकाद्धय जीना र दिपाको प्रस्तुतिले सबैजना नाचेका थिए । यसरी बेलाबखत हुने सुमधुर साँझले गीतकारदेखि कलाकार हुदै संगीतप्रेमीहरुलाई नजिकै जोड्ने गरेका छन् ।