हिंसा न्यूनिकरणबारे छलफल

सात महिनामा ८ सय घटना

काठमाडाैं

‘लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा संचारमाध्यमको भूमिका’ विषयक कार्यक्रम सम्पन्न भएको छ । संचारिका समूह र ओरेक नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ७ महिनामा ८ सय ७१ वटा लैंगिक हिंसाका घटना घटेको जानकारी दिए ।

ओरेकको रेकर्डअनुसार ७ महिनामा ६ सय १७ घटना दर्ता भएको र संचार माध्यममा २ सय ५४ समाचार प्रकाशित भएको ओरेक नेपालका कार्यक्रम संयोजक संजिता तिमिल्सिनाले जानकारी दिइन् ।

ओरेकका अनुसार सबैभन्दा धेरै ४ सय ३३ घरेलु हिंसाका, १ सय २ सामाजिक हिंसा, १ सय ४९ बलात्कार, २८ बलात्कारको प्रयास, ५२ हत्या, ४२ यौन दुव्र्यवहार, ५ हत्या प्रयास, १३ मानव बेचबिखन, ३ बेचबिखनको प्रयास, १८ आत्महत्या, २६ अन्य घटना घटेका छन् ।

यसैगरी शारीरिक हिंसाका १ सय ७४, गाली गलौचका ६६, चारित्रिक आरोपका २७, स्रोत साधनबाट वञ्चितमा १ सय ६६ जना महिलाहरु रहेका छन् ।

बोक्सी आरोपका १८ घटना र ४९ वटा बालविवाहका घटना दर्ता भएको ओरेकका कार्यक्रम संयोजक तिमिल्सिनाले जानकारी दिइन् ।

घटनामा १७ देखि २५ वर्ष समूहका बढी पीडित रहेको बताए । १६ वर्षभन्दा कम १ सय ७८ जना, २६ देखि ३५ वर्ष उमेर समुहका २ सय २४, ३६ देखि ४५ वर्षका १ सय १, ४६ देखि ५५ उमेर समुहका २४ र ५५ देखि माथि १६ जना र थाहा नभएको २४ जना रहेको छन् ।

कार्यक्रममा संचारिका समूहकी अध्यक्ष नितु पण्डितले पछिल्लो समयमा नेपाली संचारमाध्यमले लैंगिक संवेदनशीलताको अभावमा कतिपय समाचारले पीडितलाई थप पीडा थपिरहेको बताइन् ।

तपाईको प्रतिक्रिया