श्यामकुमार म्हेमेको मीठो सम्झना

काठमाण्डौं

पारिवारिक परिचय

श्यामकुमार तामाङ(बोम्जन) को जन्म दार्जिलिङको सिमरिङ चियाबगानमा वि.स.१९८७ फाल्गुण, ९ गते भएको थियो । बाजे लालवीर वोम्जन, पिता किताबसिंह वोम्जन र माता रत्नशोभा गोलेकोे कोखमा जन्म लिएको सात भाई र तीनबहिनी मध्ये जेठा सन्तान तामाङको जीवनसाथी छिरिङ डोल्मा गोले र छोराछोरीहरु तीन भाई र दुई छोरी छन् । उहाँको मृत्यु वैशाख ७ गते, नेपालगन्जमा भएको थियो ।

दार्जिलिङ आप्रवासन

उहाँले बताए अनुसार उहाँहरुको पुर्खौली थलो दोलखाको मकैबारी हो । उहाँको बाजेलाई जिजुबाजेले शिशु नै काखमा बोकेर दार्जिलिङमा लगेको बताउनु हुन्थ्यो । उहाँको बाजे ५४ र पिता ७० वर्ष बाँच्नु भयो । उहाँका पुर्खाहरु उहाँभन्दा तीन पुस्ता अगाडि देखि त्यहाँ बस्न थालेको देखिन्छ । उहाँ करिब ९० वर्ष बाँच्नु भयो । त्यस हिसाबले उहाँका पुर्खा त्यहाँ दुई अढाइ सय वर्षको आसपासमा पुगेको हुनु पर्छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यतिबेला नेपाल भारतको आधुनिक राजनीतिकि भूगोल र सीमाना प्रष्ट कोरिएको थिएन ।

उहाँको पुर्खाहरुको दोलखाबाट दार्जिलिङ बसाँईको समकालिन बेला नेपालमा पृथ्वीनारायण शाहको जगजगी थियो । तामाङहरु त्यतिबेला सुरक्षित नरहेको सजिलै अनुमान लगाउन सकिन्छ । एकातिर, असुरक्षा र अर्कोतिर खाना लाउन पर्याप्त नपुग्ने भएपछि नेपालबाट महाभारतको डाँडै–डाँडा हुलका हुल तामाङहरु उता लागेका पाइन्छ । नेपालमा त्यो समय भनेको शाही राज्य र तामाङहरुबीच युद्ध र द्धन्द्धको उत्कर्षको अवस्था थियो । शाही राज्यले गरेका विभेदका कारणले यहाँ जनजीवन र गुजारा समेत चुनौतिपूर्ण रहनु उता दार्जिलिङमा भर्खरै आवादी हुन शुरु हुनुले पनि यहाँका तामाङहरु शाही सरकारबाट पनि सुरक्षित रहने र जीवन निर्वाह पनि सरल हुने भएकोले त्यत्रो टाढासम्म आप्रवासनमा गए । त्यहाँका चिया बगानहरु यहि तामाङहरुले रोपेका थिए । अंग्रेजी शासन भारतमा हुने बेलामा उनीहरुलाई कलकत्ताको गर्मी छल्न पनि हुने र माथि तिब्बत जाने मार्ग बनाउनु पर्ने भएकोले दार्जिलिङमा अंग्रेजहरुको आकर्षण थियो । त्यहि भएर होला, नेपालमा जीवनको महत्वपूर्ण समय बिताएको बि.एच.हज्सनले सेवा निवृत जीवनको लागि दार्जिलिङ रोजेका थिए । उनले आफु बस्न एउटा घरसमेत किनेका थिए ।

दार्जिलिङमा चिया उत्पादन गरेर विश्व बजारमा बेच्ने नीति अन्तर्गत अग्रेंजहरुले त्यहाँ चिया बगान शुरु गरेको थियो, त्यसमा खपत हुने सबै मजदूरहरु नेपालबाट गएका तामाङहरु बनाएका देखिन्छ । त्यहाँ तामाङ जाति अग्रेंजभन्दा अगाडि नै पुगेका थिए । तर विश्व साम्राज्य चलाउने तिनीहरुसित पूँजी, प्रविधि र बजारमा पहुँच सबै दृष्टिले यस जातिले प्रतिस्पर्धा गर्न सक्ने कुरै थिएन । त्यसैले केवल चिया मजदूर भएर जीवन गुजारा चलाए ।

विद्यालय शिक्षा र राजनीतिक चेतना

उहाँको पिता जजमानी लामा हुनु हुन्थ्यो । गाँउका सारा विभिन्न संस्कारजन्य कार्यहरु गर्नु पर्दथ्यो । तैपनि आमावुवाको जोड चाँहि केटीकेटीलाई पढाउनु पर्दछ भन्नेमा निकै जोड भएकोले विद्यालय भर्ना हुनु भयो । खर्साङको सुकेपोखरी छेउमा सेन्ट अल्फोन्सस विद्यालयमा पढुनु भयो । त्यहाँ उनको चर्चित सर्वहारा नेता का.निर्मल लामासित भेट भयो । उनलाई त्यहाँ पाराङ भनेर चिनिन्छ र श्याम कुमार आफैले जहिले पनि उहि नामले उनलाई पुकार्थे । उहाँभन्दा एक कक्षा जेठो पाराङसित सगंत भयो, उनी सानैदेखि नेतृत्व गर्ने स्वभावको थियो र हाम्रो नेता उनै थिए, श्याम कुमारले बताउनु हुन्थ्यो ।

त्यहि विद्यालयमा पढ्ने क्रममा नेपालमा राणा शासनको विरुद्धमा लाग्ने तत्कालिन नेताहरु गणेशमान सिंह, पुष्पलाल श्रेष्ठहरु लगायत अरु नेताहरु त्यहाँ लुक्न जान्थे र त्यहिबेला विद्यार्थीहरुलाई सगंठित गरेर नेपालमा राणा शासनको अन्त्य गर्नु पर्छ र प्रजातन्त्र स्थापना गर्नु पर्छ भन्ने राजनीतिक वातावरणमा उहाँहरु प्रशिक्षित हुनु भयो । त्यसमाथि उहाँको प्राध्यापक फादर वेइरीले उनीहरुलाई प्रेरित गर्ने गरिन्थ्यो । वेइरीले आफनो देशको राजधानी लण्डन कहिल्यै जान नपाएकोमा पछुतो गर्थे र जाउ तिमीहरु आफनो देशको राजधानी काठमाण्डौँ र आफनो देशलाई राणा शासनबाट अन्त्य गराएर प्रजातन्त्र बहाली गर भन्नु हुन्थ्यो भनेर तामाङले विद्यार्थी जीवन स्मरण गर्नु हुन्थ्यो । त्यसरी नै उहाँ मुक्ति सेनासित जोडिन पुगे र अन्ततः तत्कालिन नेपाली काग्रेंस दलसित एकाकार भई राजनीतिक क्रान्तिमा होमिनु भयो ।

बाल्यकालको स्मृतिहरु

उहाँको बाल्यकालको स्मृतिहरु त्यहि सिमरिङ, चियाबगान, नदी, खल्साखोल्सी र लेकबेसीसितै जोडिएको छ । तामाङ भाषा र संस्कृति पनि त्यहाँ बोल्ने र मनाउने गर्ने कुरा उहाँले सम्झनु हुन्छ । विशेषगरी दशैं अर्थात म्हेनिङको बेला हुने चाडवाडको निकै सम्झना गर्नु हुन्छ । सानामा घरमा खेप्पासुङ गरेको र त्यसको लागि वर्षदिन अगाडि देखि नै भाले पालेर राख्ने र त्यो भाले कुलकै नाममा राखिने चलन थियो । खेप्पासुङको दिन तोर्मा बनाउने, त्यसको लागि थुप्रै संस्कारजन्य विधिविधान गर्ने गरिने, घरका सबै, कुलका सबै र सबै दाजुभाईहरु भेला हुने र त्यसमा के–के मन्त्र फलाक्ने कामहरु(वशांवली) सानै भएकोले धेरै नबुझ्ने पक्तिंकारलाई बताउनु हुन्थ्यो । अहिले पो त्यो वशांवली भन्ने थाहा पायो भन्नु भएको थियो । आफनो कुलको इतिहास बताउने कार्य रहेछ, खेप्पासुङको महत्व बल्ल बुझेको बताउनु हुन्थ्यो । जान्ने बुझ्नेले घरका जेठा छोरालाई त्यो मन्त्र सिकाइन्थ्यो, ताकि पछिसम्म त्यो परम्पराले निरन्तरता पाइयोस् भन्ने त्यसको उद्धेश्य रहेछ ।

विद्यार्थीकालमा शेर्लक होम्सका जासुसी उपन्यास, कथाहरु पढेको सम्झनु हुन्छ । त्यस्ता किताबहरु त्यहाँ फालम्फाल पाइन्थ्यो । निशुल्क पढ्न पाइने भएकोले खुब पढियो भन्नु हुन्थ्यो । उहाँले फर्केर हेर्दा एउटा परिपक्व अनुभवीको नाताले पक्तिंकारलाई बताउनु हुन्थ्यो, ‘अंग्रेजीहरुको शासन दुई आधारमा एउटा शिक्षा र अर्को, बाइबलमा आधारित थियो । यी दुवैको प्रभावमा त्यहाँ उनीहरुले आफनो प्रभाव विस्तार गरेको हुन्, भन्नु हुन्छ ।’ जुनकुरा विश्वभरिको बेलायती साम्राज्यवादलाई अध्ययन गर्दा प्रष्टै हुन्छ ।

उहाँसित चिनजान

उहाँसितको पक्तिंकारको परिचय त्यति पुरानो होइन । गतवर्ष २०७५ सालको दशैं र तिहारको बीचमा एकदिन भाषाविद अमृत योन्जनले फोन गरेर, ‘एकजना विशेष मान्छेसित भेटाउनु छ’ भन्दै बागबजारको एउटा होटलमा बोलाउनु भयो । नभन्दै म वीर अस्पतालमा वुवाको उपचारपछि आउने भनेँ, केही घण्टापछि त्यहाँ पुगेँ । कोठामा प्रवेश गरेँ, सामान्य शिष्टाचारपछि उहाँसित चिनजान भयो । योन्जनले हामी दुवैलाई चिनाउनु भयो र एकअर्काको सम्पर्क नम्बर साटासाट गर्ने काम भयो । उहाँसित लामो समयसम्म छलफल भयो, त्यसक्रममा इतिहासका बारेमा, सात सालको सशस्त्र क्रान्तिको विषयमा र नेपालका समकालिन राजनीतिक लगायत अरु धेरै कुरामा छलफल भएपछि साँझमा हामी छुट्टियौँ ।

बिहान मर्निङ वाकमा भृकुटीमण्डप, टुँडिखेलतिर नियमित जान्थेँ, फर्कने बेलामा उहाँले होटलमा आउन फोन गरिरहनु हुन्थ्यो । म गइरहन्थेँ । उहाँसित लामा–लामा गहन गफहरु हुन थाले नियमित । एकअर्कासित निकै समीपबाट सवांद गर्ने मौका मिल्यो । उहाँ मेरो हजुरबाको उमेरको हुनु भएकोले मैले बाजे सम्बोधन गर्न थालेँ, उहाँलाई पनि नाति भन्न सजिलो हुने लाग्यो क्यारे ! त्यसै भन्न थाल्नु भयो । त्यसरी नियमित सामिप्यबाट एकाअर्कालाई बुझेपछि दुवैलाई महसुस भयो, हाम्रो भेट हुन निकै विलम्व भएछ । विशेषगरेर मेरो के पक्षले उहाँलाई प्रभावित ग¥यो कुन्नि ! उहाँ निकै खुशी हुनु भयो र ढिलो भेट भएकोमा चुकचुक गर्दै सँगै केही काम गर्न आग्रह पनि गर्नु भयो । उहाँका काठमाण्डौँ आउनुको निश्चित उद्धेश्य र कार्यक्रम रहेछ । त्यसको लागि सहयोगको अनुरोध गरेकोले मैले नकार्न सकिनँ । सहकार्यको लागि उहाँले प्रस्ताव गरेपछि सहजै स्वीकारेँ ।

उहाँलाई एउटा छटपटी रहेछ, सात सालमा प्रत्यक्ष आन्दोलनमा लागेर ज्यान गुमाउनेहरुलाई राज्यले उचित सम्मान र शहिद घोषणा नगरेकोमा । त्यतिबेला धेरैजनाको ज्यान गयो, उनीहरुकै बलिदानीमा आन्दोलन सफल भयो र नेपाली कांग्रेसले लामो समय पटक–पटक कहिले एकल कहिले संयुक्त सरकारको नेतृत्व गरेर पनि ती योद्धाहरुको राज्यले सम्मान नगरेकोमा दुखी र नेपाली कांग्रेसप्रति निकै आक्राेिशत रहेछ । निश्चय नै त्यो खेद स्वभाविकै हो । वि.स.२०५६ सालमा जनमुक्ति सेना कल्याण सघं उहाँको नेतृत्वमा काठमाण्डौ जिल्ला प्रशासनमा दर्ता गरेको रहेछ । त्यसलाई पुनः ब्युँताउने उहाँको सोचसहित यहाँ नेपालगन्जबाट आउनु भएकोले त्यसमा मलाई कुनै जिम्मेवारी लिएर सहयोग गर्न गरेको आग्रहलाई पालन गर्दै केही प्राविधिक र प्रशासनिक कागजपत्रहरु, छाप बनाउने र लेटर हेड तयार पार्ने जिम्मेवारी दिनु भयो । मैले सहर्ष केही दिन भित्रै फत्ते गरि दिएँ । संस्था नविकरणको छलफल भयो, करिब बीस वर्ष पुरानो संस्था नविकरण गर्नु भन्दा नयाँ दर्ता गरेको फाइदा हुने तर्क राखेँ, जरिवाना तिर्नुभन्दा । सात सालको आन्दोलनका शहिदहरुको सम्मान र शहिद घोषणाको निम्ति वर्तमान प्रम ओलीसित भेट्ने योजना र पहल भएको थियो तर केही कारणले सम्भव भएन । त्यसपछि केही सरसल्लाहपश्चात् रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्ने निधो भयो । गतवर्ष त्यो सम्मेलन भयो, त्यसको मुख्य माग नै त्यहि थियो र त्यसको प्रमुख वक्ता उहाँ नै हुनु हुन्थ्यो । त्यो पत्रकार सम्मेलनमा उहाँको रोष नेपाली कांग्रेससित थियो । जसले सात सालको शहिदहरुलाई कुनै सम्मान आजसम्म गरेनन् र सरकारको नेतृत्व गर्ने बेला वास्ता गरेन ।

केही योजनाहरु

उहाँसित त्यसपछि पनि कैयन् पटक छलफछ र वैठकहरु भए । जनमुक्ति सेना कल्याण सघं–२००७ लाई कसरी अगाडि लैजाने र त्यसलाई सञ्चालन गर्ने विषयमा छलफलहरु हुने गर्दथ्यो । बेला–बेलामा काठमाण्डौँ आउनु हुदा मलाई एयरपोर्टबाटै सम्झि हाल्नु हुन्थ्यो, उता नेपालगन्जबाट पनि फोन गरिरहनु हुन्थ्यो । सम्बन्ध निकै व्यक्तिगत आत्मीय हुदै गयो । छोटो समयमा नै उहाँसित मेरो आत्मीय सम्बन्ध रहन गयो । उहाँले स्वर्गीय पहल सिंह लामाको नाममा धेरै वर्षदेखि छात्रवृत्ति कोष निर्माण गरेर गरिब, मेधावी विद्यार्थीहरुलाई पढाउदै आउनु भएको रहेछ । जो नेपाल प्रहरीको प्रमुख सम्मको जिम्मेवारी सम्हाल्नु भएको र लोक सेवा आयोग धनकुटाको प्रमुख समेत बन्नु भएको थियो । तर त्यसलाई व्यापक बनाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उहाँमा चिन्ता देखिन्थ्यो र त्यो लामाकै छोरा सन्तानले जिम्मा लिइयोस् भन्ने उहाँको चाहना थियो । एक दुई पटक छोराहरुसित कुराकानी पनि भएछ तर कोही तयार नभएको देखेर दुखी हुनु हुन्थ्यो । तामाङका पछिल्लो पुस्ताको त्यस्तो व्यवहारसित उहाँ वेखुशी हुनु हुन्थ्यो । पुर्खाहरुले योग्य बनाए, ठाँउमा पनि पु¥याए र आफना सारा सम्पति सुम्पेर गए तर तिनैले आफना वुवाआमाका नाममा केही गर्न चाहदैनन् । यो पनि हाम्रो समाजको नराम्रो पक्ष हो भन्नु हुन्थ्यो ।

केही निजी संस्मरण

मलाई मायाले नाति भन्नु हुन्थ्यो । मैले सानैमा हजुरबा गुमाएकोले घरको हजुरबाको त्यति राम्रो सम्झना त छैन । तर श्याम कुमार तामाङले नाति भन्दा खुशी लाग्थ्यो । उहाँले मलाई अब बिहे गर्नु पर्छ नाति भनिरहनु हुन्थ्यो । झकझकाई रहनु हुन्थ्यो । अब बिहे गर्नलाई ढिलो नगर नाति तिम्रो बिहेमा म पनि जन्ती जान्छु भनेर ठट्टा गर्नु हुन्थ्यो । केही केटीहरुको फोटो पनि देखाउनु भएको थियो । जसको फोटो देखाउनु भएको थियो, उनी नेपाल आएको बेला भेटघाट गराउँछु नातिलाई भनिरहनु हन्थ्यो । मैले बिहेको योजना बनाउदै छु म्हेमे, घरतिर पनि साह्रै दवाव भइरहेको छ, भन्थेँ । जे होस् काठमाण्डौ आउने बित्तिकै मेरो खोजीनीति गर्न हुन्थ्यो । भेटमा आपाआमालाई खुशी राख्नु है नाति भनिरहनु हुन्थ्यो ।

चौथो तामाङ ज्ञान महोत्सव

नेपालमा ज्ञान महोत्सव शुरु गरेको तामाङहरुले हो । जसको अवधारणा र अगुवाई अमृत योन्जन-तामाङले गर्दै आउनु भएको छ । त्यो चाँहि विशेषगरी वि.स.१९८९ सालको भाद्र महिनामा भीम शमशेरले जगंवीर तामाङ लगायतका टोलीले पहिचानको लागि दिएको विन्तीपत्रको आधारमा जारी गरेको सनद पत्रलाई आधार मानी तामाङ पहिचान दिवसको उपलक्ष्यमा ज्ञान महोत्सवको आयोजना गरिदै आएको छ । तर यसपालि अमृत योन्जन-तामाङ अमेरिकामा भएको हुनाले सम्पूर्ण जिम्मेवारी वहन गर्नु प¥यो । त्यहि गत भाद्र ६ र ७ गतेको ज्ञान महोत्सवमा ज्येष्ठ नागरिक संवाद सत्रमा स्वर्गीय श्याम कुमार तामाङ र सुकन्या वाइवा दुईजनालाई आमन्त्रण गरिएको थियो । मैले उहाँलाई एउटा अनुरोध गर्ने बितिकै उहाँ नेपालगन्जबाट आउनु भयो । त्यहाँ आफना अनुभवहरु, नेपाल र भारतका तामाङका बारेमा गहन विचार राख्नु भयो । आफु सात सालको आन्दोलनमा सरिक हुदाको केही अनुभवहरु सुनाउनु भयो । उहाँको उपस्थितिले महोत्सवको शोभा बढेको सबैलाई लाग्यो ।

दोस्रो तामाङ अध्ययन गोष्ठी

तामाङ न्हाङखोरले आफनो वार्षिकीमा यो गोष्ठी आयोजना गर्दै आइरहेको छ । यसपालि फाल्गुण २७ र २८ गते गोष्ठीको व्यापक तयारी हुदै गर्दा अध्यक्ष अमृत योन्जनसित उहाँको संवाद हुने बेलामा उहाँले निम्तो गर्नु भएछ । २६ गते साँझसम्म आइ पुग्नु निम्तो गरिएको उहाँले माघमै जस्तो लागेछ । माघ २५ गते नै टुलुप्क काठमाण्डौ आउनु भयो । मलाई पनि फोन गर्नु भयो । साँझमा नक्सालमा गएँ । गफगाफ भयो । मैले फाल्गुण २७ र २८ चाँहि हो भनेँ, तपाई झुक्किनु भयो । उहाँले, ‘ए ल ल ठीकै छ । आइहालेँ, अब चिकित्सकसित भेटघाट र उपचार गरेर फर्किन्छु भन्नु भयो ।’ उक्त भेटमा उहाँसित पुनः महत्वपूर्ण संवादहरु भयो । नेपालगन्ज फर्के पछि पनि नाति के छ भनेर फोन गर्नु भएको थियो ।  त्यहि भेट नै जीवनको अन्तिम भएछ ।

उहाँका अधुरा चाहनाहरु

उहाँको अधुरा चाहनाहरुमा मलाई तीनवटा जति लाग्छ । प्रथम, सात सालको योद्धाहरुको नेपाल सरकारले शहिद घोषणा र उचित सम्मान । दोस्रो, उहाँको जीवनीमा आधारित पुस्तक आफनै हातले विमोचन गर्ने जुन पक्तिंकारद्धारा लेख्नेक्रममा छ । तेस्रो, प्राध्यापक महेन्द्र पी लामासित भेट्ने उत्कट चाहना । गत वर्षको मिरिकमा भएको तामाङ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने र त्यहाँ देशदुनियाँका आफना जातिका त्यहाँ सहभागी हुने सबैसित दर्शनभेट गर्ने । त्यहि मौकामा महेन्द्र पी लामासित भेट्ने । त्यहाँ बिरामीको कारणले जान सक्नु भएन । दोस्रो मौका थियो, कान्तिपुर कन्क्लेभमा आउने बेलामा भेट्ने । तर एकदिन अगाडि भएको साना हृदयघातले गर्दा भेट्न हामीले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित हुन सक्नु भएन । मलाई लाग्छ, उहाँले महेन्द्रलाई भेट्न चाहनु तमाम कारण भएपनि दार्जिलिङका एक होनहार व्यक्तित्व भएर होला । एउटै माटोका सन्तान हुनाले हुन सक्छ । माटो र जन्मस्थलको माया जसलाई पनि हुने गर्दछ । झन जब त्यो माटोबाट टाढा पुग्छन् मान्छेले झनै बढी सम्झन्छन् त्यस थलोलाई । मेरो नजरमा यी तीनवटा सपनाहरु उहाँको अधुरो भयो ।

तामाङ समाजप्रति केही टिप्पणी

उहाँले नेपालका नेपाली काग्रेंस र कम्युनिष्ट दुवैतिरका शीर्षस्थ व्यक्तिहरुसित सगंत गर्नु भयो । मुक्तिसेनाको कमाण्डर हुदै रक्षा दल क्रमश..नेपाल प्रहरीमा उहाँहरुको समायोजन भयो । उहाँले बताए अनुसार वि.स.२००९ सालमा तामाङ सेवा समिति कालोपुलमा गोप्यरुपमा गठन हुदाका संस्थापक सदस्यमध्ये आफु पनि हुनु हुन्थ्यो । पछि जब २०१२–१३ सालतिर टकं प्रसाद आचार्यको नेतृत्वमा सरकार बन्ने बेलामा राजा महेन्द्रले उक्त तामाङ सेवा समितिबाट एकजना सिफारिस गर्न भने पछि समितिका सबै सदस्यहरु एक्लाएकलै दरवारमा राजालाई भेट्न जाने र आफु नै मन्त्री हुनु पर्ने सिफारिस गर्न थालेपछि अन्तमा राजाले कसैलाई पनि मन्त्रीपरिषदमा लगिएन, भन्नु हुन्छ ।

अर्को, तामाङ समाजप्रति उहाँको सटिक विश्लेषण के थियो भने जो तामाङ माथि पुगे । उनले सिढी निकाली राख्दिने प्रवृत्ति छ हाम्रोमा । माथि गएका तामाङले सहयोग गरेर तान्नु कता कता अर्को चढ्छ भनेर सिढी नै निकालेर राख्ने प्रवृत्तिले गर्दा पनि हामी कोही उभो लाग्न नसकेको बताउनु हुन्थ्यो । उदाहरणको लागि पहलसिंह लामा नेपाल प्रहरीको प्रमुख भयो तर कोही एकजना आफना जातिका युवाहरुलाई सहयोग गरेन, भर्ती गराइएन । धरान धनकुटा बाटोको नेपाल सरकारको सम्पर्क अधिकृतको हैसियतमा कार्यरत हुदा धनकुटामा पहलसिंह लामा लोक सेवा आयोगको प्रमुख हुनु हुन्थ्यो । ठ्याक्कै त्यहि बेलामा डि.बी.लामा प्रहरी प्रमुख हुदै थियो रे । त्यहि बेलामा दुवैजनाले लामालाई भेट्न गएर, अब तिमी प्रमुख हुदैछ । तामाङ युवाहरुलाई सहयोग गर है भाई भनेका थिए रे । तर खोइ एकजना पनि भर्ती भएको थाहा पाइएन भन्नु हुन्थ्यो । जबकि राजाले सोधनी हुदा डि.बी.लामालाई प्रहरी प्रमुख बनाउन आफुले सिफारिस गरेको श्याम कुमार तामाङले बताउनु भएको थियो ।

उहाँले अर्को घटना पनि सुनाउनु भयो, ‘मेरै छोराहरुलाई भाईले सहयोग गरेन । उनी मूल्याकंन समितिमा थियो । तर भतिजाहरुलाई बढुवाको लागि सहयोग गरेन । आफुभन्दा पछिल्लो पुस्तालाई सहयोग नगर्ने चलन छ हाम्रोमा । उनलाई आफुलाई जित्छ भन्ने पीर पर्छ । त्यसैले आफुले चढेपछि त्यो सिढी निकाली दिने प्रवृित्तले गर्दा हरेक पुस्ताले शुन्यबाट सघंर्ष गर्नु परेको सुनाउनु हुन्थ्यो । हाम्रो जातिमा यस्तो छ नाति हामी कसरी उभो लाग्नु भन्नु हुन्थ्यो । त्यसैले हाम्रो स्थिति जहिले पनि दासको, कमाराकमारीको जस्तो भईरह्यो । पिपाभन्दा माथि उठ्न सकेनौँ हामी भन्नु हुन्थ्यो र त्यसमाथि राज्यले हामीलाई उहिलेदेखि नै दवाई राखेको छ ।’ उहाँको यो भनाईलाई आजको तामाङ समाजमा तुलना गर्दा एक्लाएकलै दौडिने र आफैलाई सिफारिस गर्ने र सामूहिकताको अभाव अहिलेपनि विद्यमान देखिन्छ । दोस्रो अगिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सहयोग नगर्ने त्यो प्रवृत्ति अहिले पनि विद्यमान छ । यसबाट हाम्रो समाजले कहिले पाठ सिक्ने हुन् ?

दुई करोड रुपैयाँको प्रसगं

उहाँले बताए अनुसार, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुने बेलामा उनलाई भुटानका राजासित शरणार्थी समस्याबारे वार्ता गर्न गोप्य तरिकाले पठाएका थिए । त्यहि वार्तामा मध्यावधि चुनावको लागि केही खर्चको लागि सहयोग गरिदिन प्रमको सन्देश पनि थियो । उहाँले त्यो सन्देश पनि सुनाए । शरणार्थी समस्याको विषयमा वार्ता गर्न तयार भएपनि प्रमसित कसरी भेट्ने तय भएन । भुटानका राजा र नेपालका प्रधानमन्त्रीको भेटबारे भारतले थाहा पायो समस्या पर्ने भएकोले त्यो भेटलाई व्यवस्थित गर्न गाह्रो भयो । चुनावको मुखमा भएकोले गिरिजाले जुन सूत्रमार्फत भेट्न सल्लाह भएको थियो त्यसरी भेट्न चाहनु भएन । उहाँ नेपाल फर्किनु भयो । पछि नेपालमा भुटानका अर्थमन्त्री आउने बेलामा दुई करोड भारु लिएर आएको र त्यो पैसा उनले बुझेर गिरिजालाई खबर गरे । गिरिजाले तत्काल आफैसित राख्न भने पछि उनले निकै सुरक्षाकासाथ त्यो पैसा नेपालगन्ज आफनो निवासमा लगेर राखे । पछि दुई वर्ष पछि सुशील प्रसाद कोइराला नेपालगन्ज आउने बेलामा त्यो पैसा लिएर गएको र त्यत्रो पैसा सम्हालेर राखे, इमान्दारीपूर्वक एक पैसा पनि तलमाथि गरेन तर लैजाने बेलामा धन्यवाद समेत दिएनन् । त्यसो भनेर उनले एकदिन पक्तिंकारसित गुनासो व्यक्त गर्नु भएको थियो ।

उहाँको जीवनको पाठ

उहाँको जीवनबाट धेरै पाठहरु सिक्न सकिन्छ । जीवनको थुप्रै क्षेत्रमा उहाँको जीवनको पाठहरुलाई लागु सकिन्छ । तैपनि मुख्य पाठ चाँहि नेपालमा जुनसुकै प्रकारको चाहे त्यो काग्रेंस या कम्युनिष्ट कित्ताबाट होस् । राजनीतिक परिवर्तनको आन्दोलनमा यहाँका आदिवासी जनजाति वा सीमान्कृत समुदायबाट प्रशस्त वीरगति प्राप्त गर्ने देखि लिएर हरेक प्रकारका योगदानहरु भएका छन् । सात सालकै कुरा गर्दा २३ जना कमाण्डरमा ८ जना त तामाङहरु नै थिए । मुख्य कमाण्डर पूरनसिंह खवास र सहायक जी.बि.याक्थुबां हुनु हुन्थ्यो । दुवैजना एकजना भूजेल र अर्को लिम्बु हुनु हुन्थ्यो । त्यहाँ सहभागी आठजना तामाङहरुको हिसाब गर्ने हो भने करिब मुक्ति सेनाको अग्रमोर्चामा लड्ने सीमान्कृत समुदायकाहरु नै हुन्छन् । त्यहि कुरा माले विद्रोह, खोकु छिन्ताङ काण्डमा र प्रजातन्त्र पुनर्बहाली आन्दोलन २०४६ साल र माओवादी विद्रोहमा धेरै संख्यामा नेपालका खसआर्य बाहेकका तामाङ, लिम्बु, मगर, गुरुङ लगायतका उत्पीडित जातजातिका मान्छेहरुको रगत पसिनाको समुन्द्र बगेको देखिन्छ । मुक्ति सेनाका कमाण्डरहरुले राजनीतिक भूमिका र जिम्मेवारी खोजेका थिए । तर उनीहरुलाई राज्यको कुनै सानोतिनो अगंमा समायोजनको नाममा राख्ने र त्यहि अल्झाउने काम भयो । त्यसैको परिणतिमा श्याम कुमार, पूरन सिंह खवास, जि.बी.याक्थुबांहरु कोही नेपाल प्रहरी र कोही सेनामा समायोजन भयो । तर राजनीतिक जिम्मेवारी दिइएन ।

नेपालको राजनीतिक बाली लगाउने बेलामा यिनीहरुलाई चारकोशे झाडी फडानी गर्ने, आवादी गर्ने, खेती योग्य जमिन बनाउने, त्यसमा जोत्ने र बाली लगाउने, गोडमेल गर्ने, झार उखेल्ने र स्याहार्नेसम्म निकै ठूलो भूमिका दिइन्छ र अन्तमा बाली भित्र्याउने बेलामा यिनीहरु सबैलाई किनाराकृत गर्दै त्यो बालीमा खसआर्य तप्काले एकलौटी दावी गर्ने र सबै आफैले आफनै घरमा थन्क्याउने काम हुदै गरेको प्रष्ट देखिन्छ । किसानले दुखले बाली लगाउने बाँदरले खाइदिने जस्तो काम नेपालको राजनीतिक इतिहासमा पाइन्छ । त्यो बाली लगाउने किसानहरुले पनि बराबरी राजनीतिक लाभको हिस्सा र साझेदारी पाउनु पर्ने कुरा चाँहि नयाँ पुस्तालाई उहाँको जीवनबाट पाउन सकिन्छ । अब नयाँ पुस्ताले बाली लगाउने खेत र फसलको हिस्सामा उत्तिकै दावी गर्न आवश्यक छ । नत्रभने सामन्तको खेतमा बिनाज्याला बाली लाउने र फसल स्याहार्ने जसमा आफनो कुनै स्वामित्व नहुने किसिमको कामकारवाहीमा गहिरो समीक्षा गर्न पनि उहाँको जीवनले हामीलाई मार्ग र प्रेरणा दिन्छ ।

 

निष्कर्षमाः

महेन्द्र पी लामाले,

“म्हेमे बिते एउटा जीवित पुस्तकालय गए

माम् बिते अर्को जीवित पुस्तकालय गए,

यसरी दुईवटा सुन्दर ज्ञानका स्रोत पनि सँगै लगे ।”

उपर्युक्त कथनमा ध्यान दिन आवश्यक छ । हाम्रा हरेक बाजेबज्यैहरु आफैमा जीवित पुस्तकालय हुन् । उहाँहरुको त्यो पुस्तकालयबाट हामीले कति ज्ञान सिक्न सक्यौँ, निकाल्न सक्यौँ, अभिलिखित गर्न सक्यौँ ? श्यामकुमार तामाङ पनि एउटा जीवित पुस्तकालय हुनु हुन्थ्यो । सात सालको आन्दोलनको प्रत्यक्ष कमाण्डर भएको नाताले त्यो आन्दोलनको ज्ञान, तामाङ समाजको इतिहासको ज्ञान र विश्व राजनीतिदेखि लिएर अरु थुप्रै विशाल ज्ञानको भण्डार हुनु हुन्थ्यो । त्यो भण्डारबाट हामीले कतिले कति गाग्रो निकाल्न पो सक्यौँ होला र ! त्यसैले आफना घरघरमा र समाजमा भएका बाजेबज्यै, आमावुवा पनि ज्ञानको भरपर्दो स्रोत हुन् । तिनीहरु दुईजोडी जीवित पुस्तकालय भएकोले त्यसको सम्मान गर्दै त्यहाँबाट आफुलाई र समाजलाई पनि आलोकित गर्न आजैदेखि प्रयास गरौँ । दुवैजना ज्येष्ठ पुरुष र महिला दृष्टिकोणबाट सन्तुलित ज्ञान प्रवाह हुने भएकोले अहिलेको जस्तो आधुनिक शिक्षाको नाममा प्राप्त हुने एकपाखे, एकाङ्गी ज्ञान नहुने हुदा सो ज्ञानको सरंक्षण, सवंद्धन र अभिलेखनमा हामी सबै जुट्न आवश्यक छ ।

अन्तमा श्यामकुमार तामाङको मृत्युमा नेपाली कागें्रसको झण्डा त ओडाउने कामचाँहि  भएछ तर केन्द्रिय कार्यालयबाट एउटा शोक या समवेदना विज्ञप्ति पे्रषित गरिएको पाइएन । जसको रगत,पसिना र योगदानले त्यो पार्टीले पटक–पटक सरकारको नेतृत्व गरे । अहिलेका पुस्ताले त्यसैको ब्याज खाइरहेको छ, तिनै पार्टी र नेताहरुमा आफना हिजोका पुस्तालाई अलिकति पनि श्रद्धा र सम्मान गर्ने संस्कार पनि देखिएन । यो भन्दा दुखको कुरा नेपाली राजनीतिमा के होला र ?

तपाईको प्रतिक्रिया