सर्दुको फूल…


उसले आत्महत्या गरेछ ।
हिजो राती ।
निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा पासो ।
जीवनका तीसवटा शिशिरहरु मात्रै काटी भ्याएको थियो बल्ल तल्ल । किन होला उसले आफ्ना दुईवटा केटाकेटीलाई सम्झिएन । खै ! किन हो अरबमा पसिना बगाउदै गरेकी दुलहीको मायाले पनि उसलाई अडाएन ।

सर्दु खोलाले बर्षेनी बगाई ल्याउने सेता ढुङ्गाहरु बटुल्दै हुर्किएको ऊ । प्रत्येक दिन मार्तोलले फुटाएका गिट्टीका सेतो धुलोले ढाकिदै उक्लिएको उनको उमेर । अर्काको घरको गारो लगाउँदा लगाउँदै पलाएका उनका सपनाहरु ।

के तिमी साँच्चै थाकेका थियौ गिट्टी कुट्दा कुट्दै ?
प्रत्येक ढ्वाङ गिट्टी को पैसाका लागि ठेकेदारसँग किचकिच गर्दा गर्दै ।
अथवा
ठुलाबडाका ठुला ठुला महल ठड्याउन ईटा र मसला जोड्दा जोड्दै ।

सर्दु किनारको सुकुम्बासी बस्तीमा धेरै परिवर्तन आइसक्दा पनि, धेरै आइएनजिओले बिकासे चल्लाहरु कोरल्दै गर्दा पनि किन कुनै परिवर्तन र आशाको सुवास फैलिन सकेन हँ तिमी भित्र ?

प्रत्येक बर्षात्मा बहुलाउने सर्दुले बगाई लैजाला कि भन्ने त्रासबीच पनि बेल्चा हानेर साँझपख घरमा खुसी हुदै पुग्ने तिमीलाई आखिर एकाएक के ले यति लाचार बनाइदियो ?
कहिल्यै दुःखी हुन नजान्ने तिमी उर्लिएको सर्दु आनन्दसँग तरेर पारीको देवीथानमा पुग्थ्यौ ? अनि असारेका दानाहरु टिपेर खल्तीभरि भर्न पाउँदा तिम्रो अनुहार नै खुसीले बलेको हुन्थ्यो । तिमी नै होईनौ र त्यो जो संसारी पुजाको लागि उल्टिएको गाउँलेको अगुवा गर्दै सारा पुजाको सर्दम एक्लैले टिपेर पारी डाँडामा पुग्ने तन्नेरी । अनि तिमी नै होईनौ र त्यै आँटी ठिटो जसले सर्पले डसेर मरेकी तरुनी मनकुमारीको लासलाई रातभरि रुँघेर बस्न सक्ने ।
आज कसरी तिमी यति कमजोर भयौ ?

कसरी भयौ यति फरक एक दशक मै तिमी ?
के तिमीलाई पनि अरबको तातोमा पसिना बगाउन जाने भिसा नपाएको पीरले छोप्यो ? कि तिमीलाई स्वास्नीले कमाई पठाएको पैसाले प्रत्येक साँझ भट्टीमा रक्सी निल्दाको ग्लानीले बेस्सरी कोतर्याे ? कि आफूले नै गारो लगाएका घरहरु धरान बजारभरि शानले ठडिदा आफ्नो भने फुसको छानो फेर्न नसकी प्रत्येक बर्खामा ओभानो कुनो खोज्नु पर्ने विवशताले साह्रै निरास बनायो ?

तिमी त गयौ तर तिमीसँगै बिलाए मेरा यी यावत् प्रश्नका उत्तरहरु पनि । तर पनि सयौं प्रश्नहरु अझै पनि सुलझैं बिझाइरहेकै छ मेरो मुटुमा ।

अझै पनि उत्तिकै तिखो सम्झना छ, तिम्रा ती बाल्यकालको । तिम्रो केही बर्षे स्कुल यात्रा खासमा भोको पेट भर्नुसँग मात्रै सरोकार राख्थ्यो न कि त्यहाँ रटाइने क ख ग घ सँग । कारण तिमीले स्कुल गएबापत खाजामा हलुवा र दुध खान पाउथ्यौ । त्यही खाजाको लोभ थियो सायद तिम्रो स्कुले जीवन तर जसै खाजा बन्द भयो तिम्रो स्कुल यात्रा पनि टुंगियो, अनायासै । त्यसपछि केवल मजदुरी पर्यो तिम्रो भागमा । सायद यसरी नै शुरु भएथ्यो, तिम्रो बाल मजदुरी । त्यही दिनबाटै शुरु भएको हुनुपर्छ बिक्री हुन तिम्रो कलिलो निधारबाट चुहिएको पसिना । तिमीले खोलाबाट सकिनसकी एक डोको ढुङगा बोकेर ल्याउदै गर्दा सायद शहरको ठुलो होटलको भरिभराऊ सभाकक्षमा बाल अधिकारको लागि निकै ठुलो भाषण दिइदै थियो । हो तिमीले आठ आनाको एक कप पातलो चिया र आठ आनाकै पाउरोटी भोकले सुक्न लागेको आन्द्रामा ठेल्दै गर्दा त्यही कार्यक्रमको लन्च ब्रेकमा थरिथरिका परिकारहरु सर्भ हुदै थिए होलान् । तिम्रा मसिना हातहरुले गह्रौं मार्तोल उचालेर ढुङ्गा फुटाउदै गर्दा त्यही बालअधिकार सम्बन्धी कार्यक्रममा तस्वीर र समाचारहरु ले भरिएका थिए होलान्, अखबारका फ्रन्ट पेजहरु ।

ढुङ्गा फोर्दा फोर्दैको सानो केटो तिमी त एकाएक तन्नेरी भएछौ । सायद तिमीलाई समय भन्दा अघि नै जवान हुन कर लाग्यो । दिनभरि बेल्चा हानेको पातोको रन्को दुई कप पातलो चियाले कहाँ कम हुनु र, त्यसैले नै थाल्यौ भट्टी धाउन प्रत्येक साँझ । एक गिलासकै रन्को ले पनि दिनभरको थकानबाट छुट्कारा दिएर आनन्दको निन्द्रा दिएपछि किन छाड्थ्यौ र भट्टी धाउन । त्यसपछि त तिमी फुच्चे केटो रक्सीको रन्कोमा ठुल ठुलो स्वरमा धमास दिदै हिड्ने तन्नेरी पो भइगएछौ ।

जुङ्गाको रेखी राम्ररी नबस्दै अनि हातगोडा पनि रामरी नसप्रिदै तिमी त रक्सीको झोकमा सबैलाई थर्काउन सक्ने भइगएछौ । तिम्रो रक्स्याहापनालाई खै कस–कसले के के देखे तर तिमीले चाहि एउटा गरीव तन्नेरी केटोको बिलासिताको आधार मान्यौ क्यार । बिभिन्न बहानामा रक्सी पिउन र उसैगरी प्रत्येक साँझ थप्दै गयौ असंख्य ट्वाकहरु । उपेन्द्र सुब्बालाई त तिमीले पढेका थिएनौ तर उनकै कविता जस्तै हुदै गए सायद तिम्रा साँझहरु ।

कसो बाटो भुलेर म फेरि
यहाँ भट्टीछेउ आइपुगेँ ।
अब
सिधा वा बाङ्गो गरी
जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि
नआउनुथ्यो आइसकेर
भित्रै आइसकेपछि
साँल्दीज्यु ।.
एक ट्वाक चढाऊँ कि ?
(“साँल्दीज्यु ।. एक ट्वाक चढाऊँ, कि ?”, उपेन्द्र सुब्बा)

तिमीले माइलीलाई अर्काले छाडेकी आइमाई मानेनौ । माया बसेपछि सँगै जीवनमा अघि बढाउने यात्रामा लाग्यौ । मायाले नै त दिएको होला त्यो साहस । निकै पछिसम्म पनि तिम्रो चर्चा गाउँघरमा चल्ने गथ्र्यो ।
सायद यही कवितामा जस्तै बहानमा पियौ । सायद खुसी हुन पियौ । सायद दुःख भुलाउन पियौ । सायद आफैलाई भुल्न पियौ । तर बस् पियौ ।दिनभरको ढुङ्गा कुटाई, बेल्चा हनाई अनि भोको पेटमा प्रत्येक साँझको ठर्रा पियाई कति दिन पो धान्न सक्नु र तिम्रो कलिलो शरीरले पनि । त्यसैले होला बेस्सरी थलियौ, रगत छाद्यौ, क्षयरोगी भयौै, ओखती गर्यौ र ठीक पनि भयौ । कसो तिम्रो ज्यान जोगियो । तर तिम्रो जस्तै नियति भोगेकाहरु सबै बाँच्दैनन् । अस्ति भर्खर न हो एक छिमिकीको ज्यान गएको । कारण थियो क्षयरोग । त्यो भन्दा नि परको कारण थियो उसको रक्सीको लत । अनि रक्सिनुको कारण थियो दिभरको शारीरिक परिश्रम । शरीरको थकाईको निदान थियो, केवल रक्सी । युरिया हालेको, चिनी हालेको अनि अरु पनि के–के घातक केमिकलहरु हालेको रक्सी छ, छ्याप्छयाप्ती भट्टीहरुमा । एउटा गरीब श्रमिकले खान सक्ने भनेकै यस्तै सस्ता झोलहरु न हुन् । एकछिन मात्नुसँग मात्र सरोकार राख्छ, उनीहरुको रक्सी पियाई । बस् एकैछिनको मन र ज्यान भुलाउने बाटो । ज्यानभित्र के के हुन्छ के थाहा र तिमीलाई ? र तिमी जस्ता धेरै धेरैलाई । अनि यसैगरी निहत्था एक श्रमिक ज्यान माटोमा मिल्छ ।

तिम्रो भट्टी चहार्ने लत नछुटे पनि बिरामी हुनुले केही त राम्रै भयो, तिमीलाई । कम्तिमा तिम्रो घरबार त भयो । उमेर बढ्दै जाँदा आफ्ना आमाबाको भन्दा अरुको माया मीठो लाग्छ । बिरामी पर्दा माइलीले गरेको ख्याल र स्याहारसुसारले तिम्रो मन पगाल्यो होला । त्यसैले त तोडिदियौ समाजको नियम कायदा र स्वीकारिदियौ एउटी छोरी स्याहारेर बसेकी माइलीलाई । समाज परिवर्तनका खोक्रा आदर्श फुक्नेहरुभन्दा निकै अगाडि बढ्यौ, तिमी । पहिलो घरबार बिग्रेको महिलालाई कसले पो साथ दिन खोज्छ र । समाज त यही हो । समाज धेरै परिवर्तित भइसके जस्तो त देखिन्छ तर फेरि बाँकी नै छन्, प्रत्येकको मन मस्तिष्कमा टाँसिबसेका जड मान्यताहरु । त्यो त लरतर भत्किदैन । बिधुवा या लोग्ने छाडी बसेकाहरुले कहाँ सहजै नयाँ जीवन सुरु गर्न सक्छन् र ?

तिमीले माइलीलाई अर्काले छाडेकी आइमाई मानेनौ । माया बसेपछि सँगै जीवनमा अघि बढाउने यात्रामा लाग्यौ । मायाले नै त दिएको होला त्यो साहस । निकै पछिसम्म पनि तिम्रो चर्चा गाउँघरमा चल्ने गथ्र्यो । कुरा राम्रै काटेका हुन् धेरैले । “थुइक्क कोही नपाएर अर्काको जहान स्याहार्याै कन्ने केटाले ।” यस्तै यस्तै फुस्फुसाहट चलिरह्यो निकै समय । तर तिमी हलचल भएनौ । आफ्नो बाटोमा अघि बढिरह्यौ । कति राम्ररी अघि बढ्दै थियो तिम्रो प्रेमयात्रा । कति खुसी भएका थियौ, तिमी माइलीले एउटी भुक्कुली छोरी जन्माइदिँदा । सायद तिमी बाबु हुनुको खुसीले पुलकित भएका थियौ । बिस्तारै जिम्मेवारीबोध पनि त पलाएको थियो, तिमीमा । त्यसैले भट्टीको समय छोट्टिन थालेको थियो । तिमी आफैले नै उतारेको हो सुत्केरी । बिहान साँझ आफैले पकाई ख्वाएका थियौ छोरीकी आमालाई । कति खुसी देखिन्थ्यौ तिमी दुबै ।

तर एकाएक के भयो यो सब ?
तिमीले आत्महत्या नै गरे पनि म यसलाई कायरताको संज्ञा भने दिन सक्दिन । तिमी कहाँ काँथर थियौ र ? यतिका बर्ष त्यसरी संघर्ष गर्न सक्ने तिमी कसरी कायर हुन सक्छौ र । फेरि आफैलाई सिध्याउन त निकै ठुलो साहस चाहिन्छ ।

तर
एउटा कुरा भने खट्केको छ मनमा ।
तिमीले पासोमा घाँटी बेर्दै गर्दा एकपटक सम्झेको भए हुन्थ्यो हाड छाला मात्रै भइसकेका तिम्रा बृद्ध आबलाई जो आजसम्म पनि बिना कुनै गुनासो अरुको घरको गारो लगाइरहेका छन् ।

एकपटक मात्रै सम्झेको भए तिम्री आमाको चाउरिएको अनुहार जो बारम्बार मानसिक सन्तुलन गुमाउदै फेरि ठीक हुदै घरकै सिकुवा कुरेरै बसिरहेकी छिन् ।

तिमीले एकपटक मात्रै पनि सम्झेको भए ती तिम्रा नानीहरुको आँखाको उज्यालो र आशा जो प्रत्येक साँझ तिमी हातखुट्टा लडखडाउदै रित्तै घर पस्दा पनि बाबाले केही ल्याई दिए होलान् भन्ने आशाले तिम्रो खल्ती छाम्न आइपुग्छन् ।

अनि

तिमीले एकपटक, केवल एकपटक सम्झिदिएको भए तिम्री दुलही जो तिमी र केटाकेटीको भविष्यको लागि मालिकको अनेक खटनपटन सहेर पनि काममा दलिइरहेकी छिन्, अरबमा । महिना गन्दै बसेर प्रत्येक महिना पैसा आउने बित्तिकै तिमीहरुको गर्जो टार्न खर्च पठाइरहेकी छिन् । टाढा बसेर पनि तिमीलाई उतिकै माया दिएकै थिइन् । दिन गनेर बसेकी थिइन्, छुट्टीमा घर आउने ।

तर

तिमीले कसैलाई पनि सम्झेनौ त्यसबखत । त्यस रातको निष्पटतासँगै आफैलाई सिध्याउने धुनले तिमीलाई जो गाँजेको थियो । तिमी सहजै झुन्डिदियौ, त्यो डोरीमा ।.
सायद त्यस निर्णयमा पुगिन्जेलसम्म तिमी मानसिक रुपमा निकै बिक्षिप्त भइसकेका थियौ । कमजोर भइसकेका थियौ, भित्रभित्रै । सायद समाजको टीका टिप्पणीले पनि अलि बढी गलायो । श्रीमतीले पठाएको पैसामा आश्रित हुँदा सबैले हेर्ने छड्के नजर र कुरा कटाई सायद सह्य भएन तिमीलाई । एक्लोपन, निराशा र माया गर्ने माइली पनि टाढा भएकोले तिमी झन् बढी टुक्रियौ । परिवार, समाज, सबैसबैले बेवास्ता गरे जस्तो मान्यौ होला ।
तर
तिम्रो बुझाई गलत भयो । यहाँ समाज भएर पनि कहाँ छ त ? यहाँ देश भएर पनि कहाँ छ त ? समाज र देश भए तिमी जस्ता युवाहरुले रक्सीसँग जीवन साटिरहँदा चासो लिने थिएनन् ? गरीबगुर्बाहरुको देश भएर पनि देश हुन्न । ऊ मात्र एक उपेक्षित बर्ग भएर यसैगरी अकाल मृत्यु मरिरहन्छन् । तिमी जस्तै गरीव आम नागरिक यसरी नै रक्सी खाँदै, क्षयरोगका किटाणु छातीमा बोक्दै, अर्काको घर ठड्याइदिदै, अन्तमा उही समाजको हेला होचो सहदै बाँचिरहेका छन् । कोही रक्स्याहा कोही जड्याहा अनि कोही पागल करार भइरहन्छन् । र बाँच्न साह्रै गाह्रो पर्दा आफ्नै घरको दलान र केही थान डोरी साथ दिन आइपुग्छन् ।

सबैतिरबाट उपेक्षित भएर एक गरीब र निरीह जीवन लतारी हिड्न सायद तिमीलाई मञ्जुर भएन सन्तबहादुर । त्यसैले प्रत्येक पलको मृत्यु भन्दा एकै पटकको मरण रोज्यौ । केटाकेटी निदाएपछिको त्यो चकमन्न रातलाई साक्षी राखेर झुण्डिदियौ, घरकै दलिनमा । तिमी त गयौ तर थाती भए धेरै थोक । तिम्रा छोरीहरुको हाँसोको एक हिस्सा, तिम्री दुलहीको सिउँदोको उज्यालो, तिम्री आमाको प्रेमील नजर, तिम्रा बाको भविष्यको आशा सबै टक्क रोकिएझैँ भएका छन्, यतिखेर ।

तिमी त उही बर्सेनी उर्लिने सर्दु किनारमा फुलेको फुल हौ जो असमयमै ओइली झर्यो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया