शब्दरहरमा सुमी

काठमाडाैं

शब्दरहर साहित्य अभियानले आफ्नो ५० औं अंक सम्पन्न गरेको छ । महिनाको चौंथो शनिबारको यस अंकमा नुवाकोटकी सक्रिय गजलकार एवं कवि सुमित्रा सुमीलाई अतिथि कविका रूपमा आफ्नो मञ्चमा उभ्याएको थियो ।
हरेक श्रृंखलामा मोफसलमा रही सिर्जना कर्ममा अविराम समर्पित व्यक्तित्वलाई मात्र बनाउने वैशिष्ट्य कायम गरेको संस्थाका अध्यक्ष जीत अधिकारीले बताए । ५० औं श्रृंखलाको दैलो उघार्दै आमाको सम्झनामा सुमी यसरी गुञ्जिइन्–

आमा हुन् प्रेमकी खानी, आमा हुन् सत्य सुन्दरी
आमाकै ममताबाट चुलिन्छ अमरापुरी ।
**
देऊ आशिष ए ! आमा देशकै निम्ति मर्दछु
नझार आँसु ती तिम्रा मुटुमा स्नेह भर्दछु ।

यही कवितासहित सुमीले एक दर्जन कविता, गजल र मुक्तक सुनाइन् ।

सो कार्यक्रममा शम्भु गजुरेल, वासुदेव ठकुरी, विनोद खत्री, नरेश खड्का, घनश्याम मुडभरी, एलिसा एकलास,यात्री प्रकाश पाण्डे, गीता पुडासैनी, ऋृषिराम पाण्डेय,डेभिड ढकाल, कृष्णदेव रिमाल, उत्तम विचार, गङ्गा आचार्य, धरणीधर गुरागाईं, लव खड्का, उदास कार्की, भैरवी भूगोल, जीत अधिकारीलगायत २ दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।

कार्यक्रममा बोल्दै अतिथि एवं मूर्धन्य साहित्यकार श्रीहरि फुयाँलले सुमित्रा सुमीको व्यक्तित्व बारे प्रकाश पारे । उक्त कार्यक्रममा सुमी सम्पूर्ण स्रष्टालाई अभियन्ता माधव घिमिरे ‘अटल’ ले स्वागत गरे भने उत्तम विचारले कार्यक्रमको सहजीकरण गरे ।

सुमीका ‘एक्लो कुसुम’, ‘नदेखिएका स्वप्नहरू’ एकल कृतिहरू तथा गजल यात्रा, नुवाकोटको गजलमाला, कविता यात्रामा नुवाकोट, वागमतीका नारी लहरहरू, हाँस्छु भन्थेँ जिन्दगीमा रूवाउने प्यार भयो लगायत संयुक्त कृतिहरू प्रकाशित भइसकेका छन् ।

साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमी राष्ट्रिय गौरव, काव्यघर, हाम्रो मझेरी जस्ता साहित्य सम्मान लगायत पल्लव साहित्य सम्मान, क्रान्तिधरा मेरठ साहित्य सम्मान गरी आधा दर्जन बढी साहित्य सम्मानबाट विभूषित भइसकेकी छिन् ।
अभियानकी उपाध्यक्ष भैरवी भूगोलले आगामी कार्यक्रम हास्यव्यग्यात्मक रचना सहित आयोजना हुने जानकारी दिइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका