तिमी किन सधै कानमा इयरफोन राख्छौ?

काठमाडौं

हरेक दिन घाम उदाउँछ ,अस्ताउँछ
घाम जस्तै मन छ, उदाउँछ, अस्ताउँछ

घाम उज्यालो छ,तिमी जस्तै
घाम मायालु छ, तिमी जस्तै
रापिलो छ , तिमी जस्तै
घाम दुर छ, तिमी जस्तै
फरक यत्ती हो
घाम आकाशमा देखिन्छ
तिमी अन्लाइनमा देखिन्छौ

आज म समयको कठघरामा उभिएर
घामलाई हेरेर सोध्छु
तिमी सधै किन”कानमा इयरफोन”राख्छौं?

साँच्चै तिम्रो इयरफोनमा
रहरहरु गुन्जिन्छ कि गुन्जिदैन ?
समयको सुन्दर लय सुनिन्छ कि सुनिदैन ?
सपनाहरु स्पन्दित हुन्छ कि हुदैंन ?
तिमीले सम्पूर्ण यथार्थ कुरा भन्नुपर्छ
आज म समयको कठघरामा उभिएर
घामलाई साक्षी राखेर सोध्छु
तिमी सधै किन”कानमा इयरफोन”राख्छौं?

पालुवा जस्तो जीवन असिनाले चुट्दा
हुर्कनै नपाई चुडियो कि?
लहलहाउंदो आशाको बिरुवा
घामको रापले ओइलायो कि ?
अथवा घाम जस्तै समय पो छिप्पियो कि?
कि फेरिदै गयो जीवनको लय?
भन न त्यो इयरफोनमा शुभ समाचार बज्छ कि बज्दैन?
नत्र तिमी सधैं किन कानमा इयरफोन राख्छौ ?

हरेक बिहान घामले पृथ्वी टेक्दा
उत्ताउलो घामले शरीरमा स्पर्श गर्दा
तिम्रो इयरफोनमा कुनै ध्वनी छरिन्छ कि छरिदैन?
आज म समयको कठघरामा उभिएर
घामलाई साक्षी राखेर सोध्छु
तिमी सधै किन”कानमा इयरफोन”राख्छौं?

जीवन भोग्ने क्रममा
समयको कम्पासले वृत्ताकार कोरिदाँ
त्यहाँ तिम्रो , मेरो, हाम्रो स्केच कोरिन्छ कि कोरिदैंन ?
आज म समयको कठघरामा उभिएर
घामलाई साक्षी राखेर सोध्छु
तिमी सधै किन”कानमा इयरफोन”राख्छौं?

तपाईको प्रतिक्रिया

पत्रपत्रिका