लोकसंगीत अवार्ड तथा स्रष्टा राहत सम्मान हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.ले आफ्नो नियमित कार्यक्रम ‘दोस्रो नेपाली लोक संगीत अवार्ड तथा स्रष्टा राहत सम्मान कार्यक्रम- २०७७’ आयोजना गर्ने भएको छ ।

कार्यक्रममा बि.सं. २०७४ साल बि.सं. २०७६ भित्रमा बजारमा आएका आ–आफ्ना कला सिर्जना मार्फत सातै वटा प्रदेशबाट सहभागी हुन पाउनेछन् ।

आगामी जेष्ठ १ गतेबाट असार ७ गतेसम्म ईच्छुक कलाकारहरुलाई कार्यक्रममा सहभागी हुन दर्खास्त खुल्ला गरिने भएको छ, संस्थाका अध्यक्ष सबिन घिसिङले जानकारी दिए । उमेरको हदबन्दी तोकिएको छैन, उनले भने ।

नेपाली राष्ट्रभाव गीत, लोक तथा दोहोरी गीत, लोक पप गीत, सम्पूर्ण नेपाली मातृभाषाका गीतहरु, चलचित्रका गीत, चलचित्रका सम्पूर्ण बिधाका कलाकारहरु, दोहोरी साँझ, डान्सबार, गजल रेस्टुरेन्टमा कार्यरत सम्पूर्ण कलाकारहरु, पप गीत, आधुनिक गीत, म्युजिक भिडियो कलाकार, निर्देशक, छायांकार, कोरियोग्राफर, सम्पादक, मेकअप म्यान, संगीत संयोजक, गीत मिक्सिङ, गीत रेकर्डिस्ट, साथै नेपाली गीत संगीत संग सम्बन्धित सम्पूर्ण प्राविधिक बिधाहरु लगायत कुल ५१ बिधाबाट मनोनयन दर्ता आह्वान गरिने भएको छ ।


नोमिनेसन पश्चात बिजेता सम्पूर्ण कलाकारहरु मध्ये प्रथम चरणमा नेपालको सातै वटा प्रदेशको गरी कुल ५०० जना कलाकारहरुलाई जनही ५० हजार भाद्र १ गते भित्रमा राहत अवार्डद्वारा सम्मान गरिने उनले जानकारी दिए ।

यसैगरी क्रमिक रुपमा सम्पूर्ण बिजेताहरुलाई एकबर्ष भित्रमा राहत अवार्डद्वारा सम्मान गरिने भएको छ ।

अध्यक्ष तामाङले भने, विश्व महामारीले ग्रसित अवस्थामा नेपाली संगीत तथा नाटयकलासँग सम्बन्धित कलाकारहरुलाई स्रष्टा बचे, सृजना फुल्छ, र ‘कला संस्कृति राष्ट्रको पहिचान, श्रष्टा बचाउ हाम्रो अभियान’ सहित यो कार्यक्रम गरेको हो ।

आफ्नो स्थापना समयदेखि नै नेपाली संगीत नाट्यकला र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गरी वास्तविक कलाकारको निरन्तर सम्मान गर्दै आइरहेको जानकारी गराउँदछौं, आयोजक संस्थाले बिज्ञप्ति जारी गरी भनिएको छ ।

संस्थाले हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१८ मलेसिया, दोस्रो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ कतार, तेस्रो हिमालयन अन्तर्रा्ष्ट्रिय नेपाली म्युजिक अवार्ड २०२० नेपाल, नेपाली लोक सङ्गीत अवार्ड २०१९ नेपाल, टिका बोम्जन एकल सांगीतिक साँझ २०७५ नेपाल, हिमालयन नेपाली म्युजिकल जोर्नी थाइल्यान्ड लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया