सपनाको चुम्बन


ग्याँस सकिएको अभाव
पानीको दर्कन
चिसो चुल्होमा
नबलेको आगो
नभएको चामल बसाल्दै
फुटेको लोरीले
फु… फु…. फुक्दैे
मेरै गिदी फुकिरहे झैं
बेस्सरी टाउको दुख्ने गरी फुकिरहें
बाराम्बार फुकिरहें
बढ्दै बढ्दै गएको समस्याहरु
जति फुकेपनि
हट्ला जस्तो छैन समस्या
जति फुक्दा पनि उडेन चिसो खरानी
बलेन नभएको दाउरा
फुकेको सासले हो वा
अभावको बासले हो
गर्लम्मै ढल्यो
मेरो अभावको ओदानु
अनि म
धिकार्न थालें
बिग्रँदो व्यवस्थालाई
उर्लंदो महामारीलाई
थाहा छैन
आज मर्छु कि भोली
थाहा छैन
रोगले मर्छु भोकले
सोच्दासोच्दै निदाएछु
चिसो अगेनो छेउमै
र देखेछु सपना
यतिबिघ्न समस्याको बीचमा पनि
यतिबिघ्न बेसहारा बीचमा पनि
यति बिघ्न बेथिति बीचमा पनि
धिकार्दै थिएँ म
ब्यबहारलाई
व्यवस्थालाई
अवस्थालाई
यस्तो हुन नदिन
लड्नु त लडेकै हो
तर बिडम्बना
दुर्घटना भएपछि
छाड्नेले सुनौलो बिहानीको बाटो
बिराएर गएपछि
सुनौलो बिहानीको बाटो
बिग्रनुु स्वभाविकै हो
विपनामा निदाउनु
सपनामा निदाउनु
सोच्दासोच्दै निदाउनु
निदाउँदा निदाउँदै सोच्नु
यस्तै यस्तै सोच्दै निदाएको म
पुनस् सपनामै सोचिरहें
फेरि सोच्दासोच्दै
मरे भोकले मरोस रोगले नमरोस भनी
नभएको साबुनले
मिचिमिचि हात धोएर
नभएको सेनिटाईजर लगाउँदै गर्दा
एक्कासी एउटी
अपरिचित सुन्दरी आई
अनुमति बेगर छेउमै बसि
र वरवर सरी
म दुरी कायम गर्न खोज्छु
उनी मान्दै मानिन
अहँ
मान्दै मानिन
र आई झ्याप्पै समाती
अंगालो हाली
दिएर गई एक चुम्बन
बदलामा म कराएछु
बेस्सरी बरबराउँछु
नबलेको अगेनो छेवैमा
निन्द्रामा बरबराएको सुनी
छोरा आई ब्युँझाई दियो
ब्यूँझेर म
थर थराईरहेछु
अति डराईरहेछु
भन सरकार !
सपनाको चुम्बनले
काोबिड(१९ सर्छ सर्दैन ?
कोरोना लाग्छ कि लाग्दैन ?
म भोकले मर्छु कि मर्दिन ?
म रोगले मर्छु कि मर्दिन ?

तपाईको प्रतिक्रिया