तामाङ भाषाको चलचित्र बज्रको शनिबार विशेष प्रदर्शन गरिएको छ। नेपाल चलचित्र विकास बोर्ड चाबहिलको सभा हलमा शनिबार दिउँसो विशेष कार्यक्रमका बीच चलचित्रको प्रदर्शन गरिएको हो। तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको प्रमुख अतिथ्यतामा चलचित्रको पहिलो शो सम्पन्न गरेका हुन्।
जिम्बा फिल्मस प्रोडक्शन तथा सर्लाही समुहको सातौं प्रस्तुतिमा निर्माण गरिएको चलचित्र आउँदो साउन १ गते बौद्धको सिद्धार्थ हलमा तीन शो र चाबहिलमा रहेको के एल टावरमा पनि सोही दिन उक्त चलचित्रको प्रदर्शन गरिने तयारी रहेको चलचित्रका निर्देशक निमा लामा तामाङले जानकारी दिए।
चलचित्रको मुख्य भूमिकामा कृष्ण लामा, कृति स्याङ्तान, विनोद स्याङबो र भुमि मोक्तान रहेका छन्। अन्य कलाकारहरुमा सुवास घिसिङ (मुन्द्रे), सुनलाल वाईबा, तिर्थ लामा, दिनेश थोकर र पुसन लामा आदिको सशक्त अभिनय रहेका छन्। चार वटा गीत समावेश रहेको शब्द/संगीत निमा लामा तामाङकै रहेका छन् भने गायक विशाल काल्तान, शुभ तामाङ र निर्मला घिसिङको स्वर रहेका छन्। द्वन्द निर्देशक सुरज श्रेष्ठको रहेको चलचित्रमा छायांकन/सम्पादन भने विश्वास भण्डारीको रहेको छ।
चलचित्रको निर्मातामा दिलकुमार घलान झाक्री, मंगलीमाया स्याङतान र विनोद स्याङ्बोको संयुक्त लगानी रहेको छ। चलचित्रको कथा भने कलाकार कृष्ण लामाले लेखेका हुन्। चलचित्रले सामाजिक विसंगतिलाई इंकित गरी समाजमा सु-व्यवस्था निर्माण गर्न सन्देश दिन खोजिएको निर्माण पक्षले बताएका छन्।
कार्यक्रम मार्फत तामाङ चलचित्रको क्षेत्रमा योगदान पय्राएका कलाकारहरुलाई प्रशंसा-पत्रबाट सम्मान पनि गरिएको थियो। गैर तामाङ भएर पनि आफ्नो आवाजहरुले थुप्रै तामाङ चलचित्रको गीतहरुमा स्वर दिएका सुवास नेपाली लगायतका कलाकारहरुलाई आयोजकले सम्मान गरिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले ‘हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तामाङ चलचित्र संघले विशेष कामहरु गरिरहेको बेला तामाङ चलचित्रको माध्यमबाट विश्वभरि छरिएर रहेका तामाङ समुदायमा पुय्राउने काम गरेको बताए। ‘चलचित्रको माध्यमबाट अतुलनीय भुमिका खेलेको भन्दै निर्माण पक्षलाई धन्यबाद दिन चहान्छु’, उनले भने, ‘तामाङ चलचित्र संघको भावि योजना भनेको तामाङ चलचित्रकर्मी र चलचित्र संघ सम्बन्धित रहेर काम गर्नेहरुको हकहितका लागि कटिबद्ध भएर काम गर्ने हो ।’ अध्यक्ष थोकरले त्यसको सुरुवात भनेको आफ्नो भाषा संस्कृतिलाई संरक्षण गर्दै दिनरात मिहिनेत गरि बनाइएका चलचित्रलाई प्रत्येक शनिबार टिभी मार्फत प्रसारण सुरु भएको जानकारी गराए।
त्यस्तै अध्यक्ष थोकरले अब छिट्टै नै हलहलमा प्रदर्शनको तयारीमा रहेको र सबै काम अन्तिम चरणमा पुगेको बताए। चलचित्रको प्रदर्शन भने सर्लाहीको बिणा चलचित्र मन्दिर, मकवानपुर, काभ्रे, काठमाडौं लगायतका तामाङ जातिको बाहुल्यता रहेका ठाउँको हलहरुमा प्रदर्शन गरिने समेत उनले जानकारी गराए। अध्यक्ष थोकरले तामाङ चलचित्रको भविष्य भनेको दर्शकको हातमा रहेको हुँदा यसरी नै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे। एकतर्फी तामाङ चलचित्रकर्मीहरु खुट्टा तान्ने प्रवृत्तिमा लागेकोले यस्तो समस्यालाई हटाउन एकजुट हुन जरुरी छ, उनले थपे ।