वामदेव सकस !


विषय उठान

वामदेव सकस यतिबेला ओलीको अध्यक्ष र प्रमबाट राजीनामासम्म आइपुगेको छ । वामदेव गौतम नेपालको राजनीतिमा चीर परिचित नाम हो । उहाँको परिचय दिन आवश्यक छैन । उहाँ नेपालको राजनीतिको मुख्य खेलाडी नभएपनि सहायक पात्र चाँहि हुन् । सहायक अर्थात् कहिलेकहि निर्णायक पात्र हो । उनको संलग्नता जता रहन्छ, त्यता पल्लाभारी हुने र आखिरमा त्यही निर्णायक हुने अवस्था सृजना हुने गरेको छ । त्यसको पछिल्लो उल्लेख गर्न लायक घटना वहालवाला केपी शर्मा ओलीलाई तत्कालिन नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित गरेको हुन् । वामदेव गौतम नेपालको राजनीतिमा केही पनि होइन र केही हो पनि । उनको अस्तित्व छैन र छ पनि । उनी कुनै शक्ति होइन र हो पनि, फेरिपनि उनलाई पूर्णरुपमा नकार्न सकिदैन ।

वामदेव गौतमको सकस नेकपा एमाले र माओवादीबीच भएको गठबन्धनबाट बर्दिया १ मा गत ससंदीय निर्वाचनमा नेपाली काग्रेंसको सञ्जय गौतमसित पराजित भएपछि शुरु भएको हो । गठबन्धनको देशभरि त्यत्रो अभूतपूर्व जनलहर र उभार आएको बेलामा पनि खासै हेभिवेट नभएको गौतमसित पराजयले उनलाई मात्र होइन, त्यतिबेला वाम गठबन्धनको ह्विम देख्ने जो कोही जिल्ल परेको थियो । भेट्रान मोहनविक्रम सिंहले जसरी पनि आफनो कान्छी श्रीमती दुर्गा पौडेललाई माननीय बनाउने अठोट लिएपछि आफनो पुर्खौली सुरक्षित निर्वाचन क्षेत्र प्यूठानबाट लखेटिएका वामदेव बर्दिया पुगेर पराजित हुनु अस्वभाविक पनि होइन । त्यसमाथि उनले विगत सविंधानसभाको दोस्रो निर्वाचनमा अत्यधिक मत ल्याएर प्यूठान र बर्दियाबाट निर्वाचित गौतमले निर्वाचन ऐन बमोजिम एउटा निर्वाचन क्षेत्र छाड्नु पर्दा बर्दिया छाडेबाट त्यहाँका मतदाताहरु उनीप्रति रुष्ठ थिए नै । अर्को कुरा त उनी बहुदल आएदेखि बर्दियाबाट निर्वाचित भई राजनीतिक क्यारियर बनाउन सफल भएपनि आफनो निर्वाचन क्षेत्र बनाउन नसक्दा र पर्याप्त प्राथमिकतामा नराख्ने उनको प्रवृत्ति बर्दियाका जनताले तीस वर्षमा गहिरो गरी अनुभूत गरिसकेका थिए । सर्वेसर्वा जीवनपर्यान्त मसालका महामन्त्री मोहनविक्रम सिंहले वाम गठबन्धनमा पत्नीलाई जसरी पनि निर्वाचित गराउने उद्धेश्यले देशभरिको संगठन र नेता कार्यकर्तामाथि बज्रपात गर्दै गठबन्धनमा जोडिन अनेक याचनाको मान राख्न ओली र प्रचण्डले लाल मोहर लगाएर प्यूठान निर्वाचन क्षेत्र दुर्गा पौडेललाई विर्तास्वरुप दिएपछि विचरा वामदेवको ओरालो यात्रा शुरु भयो ।

यतिबेला आफू जस्तै हरुवा अर्को सचिवालयको प्रवक्ता कामरेड नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा प्रवेश गर्ने भएपश्चात् वामदेवको मुर्झाएको इच्छाले पुनर्जीवन पाउने जमर्को गरिरहेको छ । गौतमले संसदभित्र छिर्न डोल्पा ताकेन कि काठमाण्डौंका रामवीर महर्जनलाई राजीनामा समेत लेख्न लगाए । उनले पछिल्लो दुई वर्षमा गरेको क्रियाकलापहरु हेर्दा, देख्दा जसरी भएपनि संसद भवनमा छिर्ने उनको दाउ प्रष्टिन्छ । आफूलाई प्रधानमन्त्री बन्नको लागि सविंधानको सशोंधन हुनु पर्छ भन्ने जिकिर उनले गर्दै आइरहेको छ । त्यसमाथि नेकपाको सचिवालयले उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि विचरा वामदेवलाई अतृप्त चाहना पूरा हुन्छ कि भन्ने झिनो आशा पलाउनु कुनै अपराध होइन । तर ओली मिर्गौला प्रत्यारोपणको लागि अस्पताल प्रवेश गर्नु अगाडिसम्मको र उनको देब्रे, दाहिने सिपाहीहरुको अभिव्यक्ति सुन्दा वामदेवको संसद प्रवेशमा रोक लाग्ने देखिएको थियो । ओली स्वयम सचिवालयको निर्णयलाई लागु गर्ने पक्षमा नरहेको सार्वजनिक भयो । यस विषयलाई लिएर अहिले नेकपामा भित्रभित्रै भुस र इगोको आगो सल्किरहेको छ । नेकपाका अर्का छाँया अध्यक्ष प्रचण्डले सचिवालयको त्यो निर्णय जसरी पनि लागु गर्नु पर्ने जिकिर गरेको थियो । तर नयाँ मिर्गौलासहित चारवटा मिर्गौला एउटै छातीमा बोकेर अदम्य साहस र आत्मविश्वासका अर्को नाम ओली अस्पतालमा प्राणदान लिएर आराम गरिरहेको कारणले सामसुम भएको जस्तो देखिन्थ्यो । उनले अस्पताल छिर्नु अगाडि दिएको अभिव्यक्ति, स्ट्राइकरले बीचैमा मैदान छाडेर नजाने र आफू फर्केर आउने उद्घोषले वामदेवलाई पर्नु सम्मको पीरचिन्ता परेको थियो । बीचमा गुट र वहुमत जुटाउने खेलमा पुनः वामदेवलाई अचानक प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव पनि फासफुस भयो ।

जङ्गबहादुर राणाले आफ्नै मामाको कोतपर्व गरेर नेपालको प्रधानमन्त्री भएको देशमा वामदेव प्रवृत्तिले प्रोत्साहन पाउनु सामान्य जस्तै भएको छ । महामारीलाई दशैं बनाउने प्रवृत्तिको अन्त्य गरियोस् । घरमा थुनिएका नागरिकका आक्रोशले विस्फोटक रुप धारण गर्नेवाला छ । त्यति त हेक्का राखौ ।

क्यारमको गोटी

पछिल्लो चरणमा माओवादी र एमालेबीच एकता भएपछि वामदेव गौतम एकप्रकारले क्यारमको गोटी जस्तो भएको छ । कहिले प्रचण्डले यताबाट उता हान्ने कहिले ओलीले उताबाट यता हिर्काउने । यो खेलमा माधव कुमार नेपाल र झलनाथ खनालचाँहि एकातिर साक्षी र अर्कातिर ताली पिट्ने दर्शक भएको छ । धेरै नै कचकच, किचकिच जस्तो भएकोले सर्वशक्तिमान ओलीले उनलाई एनजीओमा झैं विधानमा नभएको पद सृजना गरेर उपाध्यक्ष बनाएर थमौति गर्ने प्रयत्न नगरेका होइनन् । तैपनि उनी असन्तोष भएर यताउति चलमलाईरहेकै छ । वामदेव गौतमको यो सकस उनको कारणले पार्टीलाई भएको होकि पार्टीभित्रको डाइनामिक्स्ले गर्दा भएको, यो नबुझी यो सकसलाई अथ्र्याउन सजिलो छैन । पार्टी एकताको प्रमुख सेतु मानिने गौतम अहिले खासमा नेकपाभित्र दुई अध्यक्षको घनचक्करमा परेको हो । अध्यक्षहरुबीचको तनाव, खिचातानी र खुरापातमा गौतम मुछिएका देखिन्छ । लहमीको काम नेपाली समाजमा अपजसे ठानिन्छ । घर गरी खाए जस दिदैनन् घर गरी खान नसके लहमीलाई अपजस मात्रै ! त्यही लहमीको भूमिका निभाउने गौतम अहिले न यताको न उताको हुन सकेको छ । दुवैतिरको माध्यममात्रै भएको छ । गौतममार्फत दुवै अध्यक्षले शक्तिसंघर्ष र आफना तीता पोखिरहेका छन् । वामदेव गौतमको घर भैंसीपाटीमा भएको भेला बाट शुरु भएको समीकरणले यतिबेला ओलीलाई आच्छ्यु आच्छ्यु बनाएको छ । त्यसैले ओली पनि खुरापातीमा के कम ! वैशाख १७ गतेको सचिवालयको वैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि खेलमा नयाँ मोड आएको छ । यतिबेला वामदेव एकलो वृहस्पति जस्तो भएको छ । आफनो गुट नहुदा भोग्नु परेको पीडा र आफु उपहासको पात्र भएको उनले कति महसुस गरेको छ, त्यो बाहिरबाट अरुले अन्दाज लगाउन सजिलो छैन ।

वेथिति र असन्तुष्टिको चाङ्ग

इतिहासमै अत्यधिक लोकप्रिय मत ल्याएर वामपन्थीहरु सत्तामा एकछत्र राज गर्दैछन् । निर्वाचनताका मतदातालाई आकर्षक र महत्वाकाक्षीं सपना देखाएको वामबन्धन दिन प्रति दिन अलोकप्रिय बनिरहेको छ । ओलीको उखान र गोकुलको बदख्वाँई सुनेर वाक्क–दिक्क भएका नेपाली जनता परिणाम चाहन्छन् । नेकपाका महासचिव वालुवाटार जग्गा काण्ड र सरकारको पूर्व प्रवक्ता सञ्चारमन्त्री ७० अर्बमा मुछिएपछि तिनीहरुमाथि न कारवाही हुने न जनताले दैनिक जीवनमा सुशासन पाउने स्थितिले पनि वर्तमान ओली सरकारको सकस बढिरहेको छ । राष्ट्रवादको उच्च पहरेदार सम्झने ओलीले नेपालको कालापानी क्षेत्र भारतले आफनो नक्सामा पारे पछि मिडियामा चर्को बोल्ने तर भित्र म्याँउ गर्ने प्रवृत्तिलाई नेपाली जनता जो राष्ट्रका सार्वभौमसत्ताको लागि त्यत्रो भूकम्पमा थिलोथिलो भएको बेला नाकाबन्दीमा एकढिक्का भएर समर्थन गर्नेहरु पनि यतिबेला गहिरो निराशामा छ । पछिल्लो दलविभाजन र सवैंधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि त त्यो निराशा आक्रोशमा परिणत भएको छ । भारतबाट आयातित विषालु तरकारी खान बाध्य नेपाली जनता र उपभोक्ताले मूल्य तिरेर पनि विषादीमुक्त सागसब्जी, तरकारीको व्यवस्था गर्न नसक्ने सरकार देखेर वाक्क भएका छन् । ओलीले मिडिया खपतका लागि बोलेका चर्को महावाणीहरु सुन्नुभन्दा कानमा एयरफोन लगाउने जमात वृद्धि भइरहेको छ । नाकाबन्दी ताका ओलीले विराटनगरमा भारतबाट आउने माछामा माछा नकुहिने फर्मालिन हाल्ने गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यो केमिकलले निसन्तान हुने खतरा रहेको समेत ओलीले औंल्याएका थिए । अहिले उनी सर्वशक्तिमान प्रधानमन्त्री भएको छ, यत्रो जान्ने, सूचना र ज्ञान राख्ने प्रमले खोई त्यो फर्मालिन हालेको माछालाई नियन्त्रण र नियमन गरेको ? उपभोक्ताको जनस्वास्थ्यको चिन्ता राज्यको कार्यकारी प्रमुखलाई पटक्कै छैन । के गरी हुन्छ, आम मानिसलाई उत्तेजित बनाउन मात्रै बोलिने बोलीको कुनै तुक छैन । यता उखु किसानहरुलाई माघ पहिलो हप्तासम्म भुक्तानी दिन सरकार, उद्योगपति र किसानबीच भएको त्रिपक्षीय सम्भौता अलपत्रमा परेको छ । किसानले अझै भुक्तानी पाउन सकेका छैनन् । क्रान्तिकारी युवा कृषिमन्त्री घनश्याम भुसालले के गर्दैछन् कुन्नि ! जनता सरकारले दिने अनुदान र मिलमालिकबाट आफनो सुपथ मूल्य चाहन्छन्, तर फगत प्रतीक्षा गरिरहनु परेको छ । कोरोना पनि उद्योगपति र सरकारको लागि राहत भएको छ, उखु कृषकहरुले आन्दोलन नै स्थगित गर्नु परेको अवस्था छ ।

वामदेव सकस !

वामदेव गौतमले महाकाली सम्झौताको चर्को विरोध गरेर तत्कालिन नेकपा एमालेबाट अलग हुदै मालेको गठन गरेको नेपाली जनतालाई ताजा स्मृति छ । मालेबाट चुनावमा पराजित भएपछि फनक्क एमालेमा फर्केर पुनः राज्यका ठूला-ठूला पद, प्रतिष्ठा र स्रोत साधनको दोहन गर्न पल्केको गौतम अहिले कतैपनि नहुदा सकस र उकुसमुकुस नहुने त कुरै भएन । लकडाउनको बेला नियमित मदिरा सेवन गर्ने मित्रहरु डिल्लीबजारको गल्लीमा ओठ मुख सुकाएर हिँडेको देख्छु । विचरा ! वामदेव सत्ताकै वरिपरि रहेर तर मार्ने वानी भएको मान्छेलाई बाहिर बस्नु पर्दा पानीविनाको माछाजस्तो छटपटी हुने नै भो र त्यसमाथि उमेरले नेटो काट्दैछ । अहिलेसम्मको नेपालको राजनीतिक इतिहासको संश्लेषण गर्दा के भन्न सकिन्छ भने वामदेव गौतम भनेको कुनै व्यक्ति र नीजित्व होइन । यो त एउटा पात्र,चरित्र,प्रवृत्ति, संस्कार, मनोवृति र चिन्तन हो ।

जुनसुकै खेल खेलेर सत्ताको भ¥याङ चढ्न चाहने । जङ्ग बहादुर राणाले आफनै मामाको कोतपर्व गरेर नेपालको श्री ३ भएको देशमा वामदेव प्रवृत्तिले प्रश्रय पाउनु, ओलीले दलविभाजन गरेर आफनो किल्ला मजबुत बनाउन खोज्नु र ओलीलाई यहि उपयुक्त मौका ठानी ठेगान लाउने दाउपेच गर्नु कुनै नौलो कुरा त भएन । तर कहिलेसम्म राष्ट्र र तीन करोड नेपालीको भविष्य र सपनाको चिहानमाथि व्यक्तिगत तुष्टि र महत्वाकांक्षाको महल ठड्याउने खेल चलिरहने ? कतिञ्जेल नीजि स्वार्थको लागि राष्ट्रको स्वार्थलाई तिलाञ्जली दिइरहने ? हाम्रा नेताहरुको चेतना कहिले फुर्ने र देश कहिले बनाउने हो ? महामारीलाई दशैं बनाउने प्रवृत्तिको अन्त्य गरियोस् । घरमा थुनिएका नागरिकका आक्रोशले विस्फोटक रुप धारण गर्ने वाला छ, त्यति त हेक्का राखौ ।

तपाईको प्रतिक्रिया