साउन १ गतेबाट लागु हुने गरी रसुवा जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनको भाडा घटाउने भएको छ ।
शनिवार बस व्यवसायी र विद्यार्थी सङगठनबीच बसेको बैठकबाट भाडा छुटसहित तीन वँुदे सहमति भएको हो । जिल्लाको अन्य क्षेत्रमा ५ प्रतिशत भाडा घटाई काठमाडौंदेखि कालिकास्थानसम्म १५ प्रतिशत भाडा घटाउने सहमति भएको हो । पासाङल्हामु यातायात, केरूङ यातायात र टिमुरे यातायात सञ्चालक र जिल्लास्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघविच यो निर्णय भएका हुन् ।
रसुवा रूटमा चल्ने सवारीसाधनको भाडा समायोजन गरी १५ दिनभित्र सार्वजनिक गरिनेछ । वैधानिक भाडादर कायम हुनुपर्ने, पुरानो सवारीसाधन सञ्चालनमा रोक, टाईम कार्ड लागू हुनुपर्ने लगायतका माग राखि विद्यार्थी संगठन आन्दोलित थिए ।
सहमति अनुसार विद्यार्थी, अपाङ्गता र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ । सवारीको भाडा घटाउने र नेपाल सरकारले विभिन्न समयमा जारी गर्ने वैधानिक भाडा दरलाई कार्यान्वयन गर्ने भएको छ ।
यो निर्णय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको रोहवरमा छलफलबाट सहमति भएको हो ।