ढुकुर पोखरीदेखि पाँचपोखरीसम्म


बि.सं. २०६४ साल अशोज महिनाको १७ गते बिहान पुरानो बसपार्कको चौतारा जाने बसमा सुरु गरेको पाँच पोखरीको यात्रामा पाँच जना पर्यटकसहित हामी १५ जना सिंहदरबार, माईतीघर, बानेश्वर, कोटेश्वर सल्लाघारी हुँदै नालिञ्चोक पुग्दासम्ममा सीटमा बस्ने भन्दा उभिने यात्रुहरु धेरै भइसकेका थिए । सरुभक्तको पागल वस्तीदेखि थोमस हार्डीको ‘फार फ्रम् दि म्याडिङ क्राउड’ सम्मलाई याद दिलाउने भीडबाट उछिट्टिएर केहि उचाईको नागबेली परेको साँगाको रमणीय उकालोमा भरखरै बाख्री निलेर घिस्रीरहेको अजिंगर झै हामी चढेको बस बेचयनको आवाज निकालेर गुड्न थाले ।

साँगाभञ्ज्याङको चेक पोष्टमा गाडी रोकेर नेपाल खाल्डोलाई विदाईका हात हल्लाउदै लमतन्न धानका बाला बिछ्याएर हाम्रो स्वागत गरिरहेका जस्तो देखिने भैंसेपाटीका शान्त वातावरणलाई चिर्दै काभ्रेको औद्योगिक शहर बनेपाको त्रिभुवन चोकको चौबाटोमा गएर बस अडियो । त्यहाँबाट दक्षिण पूर्वमा पनौती, नमोबुद्ध र खोपासी, पश्चिममा राजधानी, उत्तरमा धनेश्वरी मन्दिर जाने बाटो र उत्तर पूर्वमा हाम्रो गन्तव्यको बाटो धुलिखेल थियो । एकै क्षणको बस गुडाईपछि हामी धुलिखेल पुग्यौं । पहिलो पटक त्यहाँ पुगेका मानिस धुलिखेलको जादुमय चरी आँखे दृष्य देखेर लट्ठिने गर्छ । दक्षिणमा पहेंलपुर धानको फाँट, आलीमा भटमास, मस्यम र मास लरक्क झुली रहेका, आ–आफ्नो रोजाईको आकार र रंगमा बनाएका पक्का सुन्दर घरहरु, कसैको स्वागतमा मुस्कुराई रहेका सुन्दरीका दन्त लहर जस्तै हिम रेखा, झपक्क परेको स्थानीय बन जंगल, आफ्नो रितिरिवाज र संस्कृतिभित्र रमाई रहेका त्यहाँका (नेवार जाती) सन्तुष्ट मुहारका बासिन्दा, खेतको कान्ला र बारीका डिलमा सयपत्री र गोदावरीको कोपिलाहरु दशै र तिहारको आगमनमा हतारिएका झैं देखिन्थे । त्यहाँका दृश्यहरुलाई दूरवीन र क्यामरामा बन्द गर्न आतुर मेरो पर्यटक साथीहरु दंङ्ग परेर यताउती दौडिदै रमाईरहेका थिए ।

यतिकैमा हाम्रो बसको हर्न बज्न थाल्यो र वव्रmकार अरनिको राजपथ हुँदै हामी तीनपिप्ले, समाज कल्याण र तामाघाट, लामीडाँडा सैनिक शिविर हुँदै दोलालघाट पुगेर खाना खानको लागि बस रोकियो । उत्तर पश्चिमबाट पूर्वतिर दुम्जा, झाँगाझोली रातामाटातर्फ बगिरहेको इन्द्रावती नदी पुलको बीचमा उभिएर नियालें, नदीको पानी लगातार एकतर्फ बगिरहेको थियो । किन कहिल्यै नफर्किने गरि बग्छ नदी ? आखिर मानिसको जीवन पनि त्यही पानी जस्तै त हो । त्यही नदीको पानीमा उठेको क्षणिक फोका जस्तो । आज छ भोली छैन । जन्मिनु पहिलेको कुरा हामीलाई थाहा छैन । मरेपछि के हुन्छ त्यो पनि थाहा छैन । आजको क्षण, भोली फेरी कहिल्यै फर्केर आउदैन । शून्यबाट आएको शुन्यमै अन्त हुन्छ ।

आफुलाई सम्हाल्दै पुलपारीको होटेलमा ताजा माछा भात खाएपछि इजिप्टका पिरामिड जस्तो देखिने साँगा चोकको कोदोबारी र झुसे तीलका पाटाहरुको बीच बाटो हुँदै करिब चार बजे चौतारा पुग्यौं । त्यतिबेला चौतारा बजार दशैंमय भइसकेका थिए । सदरमुकामलाई छाडेर स्याउलेमा हामी पहिलो रातको बास बस्यौं । मानव बस्ती भित्रभन्दा बाहिर जंगलमा शिविर बस्नु कोलाहल र सररफाईको दृष्टिले राम्रो ठान्थ्यौं । दिनभरिको बसको यात्राले हामी लखतरान भएका थियौं । आ–आफ्नो पालभित्र सुतेका हामी भोली पल्टको सुर्य किरणको आगमनपछि मात्र बिउझियांै । दोस्रो दिनको हाम्रो शिविरको गन्तव्य ढुकुर पोखरीमा थियो । स्याउलेमा बिहानको नास्ता गरेपछि हिडेका हामी साँढे नौ बजेपछि जंगलको यात्रा शुरु भयो । एकनाशे उकालो, आफ्नो अगाडीको वस्तु बाहेक केही नदेख्ने बाग्लो अँध्यारो जंगल । केही क्षणसम्म हा.. हु.. आवाजका साथ अघि बढ्दैथ्यौं । नाक छुने उकालोको केही घण्टा हिडाईपछि हामी मध्येका केही साथी बोली समेत फुटाउन नसक्ने भए । तर पनि हामी जानु नै थियो । गन्तव्यसम्म पुग्नु नै थियो । अघि बढिरह्यौं । हामी मध्येका भान्सा टोली अगाडी गइसकेका थिए । करीब १२ बजेतिर हामी ओख्रेनीको पुरानो चौरीको खर्कमा पुग्यौं ।

खर्क नजिकै सानो खोल्सीमा सिलसिल बग्ने पानीमा जंगली गोगन पातको तिरतिरे धारा बनाएर त्यही पानी थापेर खानाको बन्दोबस्त गर्दैरहेछ । एकातिर पर्यटकहरुलाई पश्चिमी शैलीका खाना बन्दै थिए त अर्कोतिर नेपाली साथीहरु चौताराबाट लगेको मट्टितेल स्टोभमा बालेर दालभात पकाउदै थिए । खाना खाएपछि उक्त स्थानलाई सरसफाई गरि पूर्वावस्थामा राख्दै हामी साढे एक बजे यात्रालाई पुनः जारी राख्यौं । जाडो ठाउँ, धेरै भोग लाग्थ्यो । हामीले धेरै खाएछौं । त्यसपछिको उकालो भने हामीलाई निकै चुनौतीपूर्ण नै भयो । उकालो र घनघोर लेकको जंगलको अँध्यारो बाटो जाँदा जाँदै गडाङगुडुङ र चिसो हावाको साथ मुसलधारे पानी परेपछि बन्दोबस्तका सामान बोक्ने साथीहरुलाई निकै कठिन भयो । पानीबाट बच्न ओडेको पोलिथिन हावाले उडाएर हैरानै पारे ।

त्यो दिन ढुकुर पोखरीसम्म नपुग्ने पक्का भइसकेको थियो । अझसम्म शिविर बसाउन योग्य समतल जमिन पाउन सकेको थिएन । पानी अझ जोडले दर्किरहेको थियो । पर्यटक साथीहरु थाकेर ढल्ला जस्तै भइसकेका थिए । भारी बोक्ने साथीहरु र पर्यटक साथीहरुको चिन्ताले मलाई निकै पिरोल्न थाले । शेर्पा साथीहरु (पदयात्रामा सुरक्षाको जिम्मेवारी सम्हाल्ने व्यक्तिलाई शेर्पा भनिन्छ) शिविर बसाउन योग्य जमिन खोज्न अगाडी गइसकेका थिए । झमक्क साँझ पर्दै थियो । सिँतसिँत आवाज निकाल्दै साँझको किरा निंगालो घारीतिर कराउदै थिए । पानी रोक्ने केही लक्षणसम्म थिएन । कामीडाँडा (ठाउँको नाम) मा पुगेपछि बल्ल अलि समतल परेको जमिन देख्यौं । अब हामीले एक रातको लागि त्यही शिविर खडा गर्नुथ्यो । तर त्यो त भरखरै उठाएको चौरी खर्क पो रहेछ । त्यहाँ गोवर र गहुँतको हिलाम्य थियो । काँधमा टेकेर आँखासम्म म्वाई खान भ्याउने भदौको हल गोरु जस्तै राते, सिंदुरे, थोप्ले, टाटेपाङग्रे लामो न लामो लेखाली खरी जुका लपक्कै झुलीरहेका थिए । त्यतिन्जेलसम्म कतिले हामीलाई नाप्न शुरु गरिसकेका थिए । हामीले त्यस रात जुकै जुकाले ढाकेको हिलाम्य चौरी खर्कको थलामा सुत्नुको विकल्प थिएन । हामीले केहीको पनि पर्वाह गरेनौ ।

जुकाले खुट्टा देखि टाउकोसम्म टोक्दै थिए । अविरल मुसलधारे पानी कायमै थियो । पोलिथिनको ओत हावाले उडाएर कता पुर्याए कता ? सबैभन्दा पहिले भान्सा पाल खडा गरेर मैनटोल बालेपछि सबैलाई त्यसैभित्र बस्दै जुका केलाउन लगाएँ । अनि सबैको सुत्ने पाल खडा गर्नुथ्यो । त्यही हिलोमाथि सबैलाई आ–आफ्नो पालको ब्यवस्था त गरिदियौं तर त्यस्तो अवस्थामा सुत्ने पो कसरी ? पालभित्र पनि जुका लपक्कै लागीसकेको थियो । त्यहाँ आतिएर पनि काम हुने वाला थिएन, गर्न सक्ने उपाय पनि केही थिएन । टर्च बालेर हेर्दा आँखाले देखेसम्मको जुकालाई नुन लाएर हटाएँ । सबैलाई पाल–पालमा नुनको ब्यवस्था गरिदिएँ । त्यतिन्जेलसम्ममा भान्साको पालमा साथीहरुले स्टोभ बालेर तातो बनाईसकेका थिए । धमिलो पानीलाई कपडाले छानेर ज्यान धान्नको लागि जसोतसो खाना खाएपछि कठ्याङ्ग्रीने पालभित्र बन्द रहेर जुका केलाउदै रात वितायौं । करिब रातको तीन बजेदेखि पानी रोकियो । बिहान हुँदासम्ममा वरिपरिका स–साना खोल्साहरु अब के के न गर्ला झैं गरि भयानक आवाज निकाल्दै बगेको सुनिन्थ्यो । कोही निदाउन सकेको थिएन । सबैको कपडा र शरीर हेर्दा बधशालाको कसाही जस्तो देखिन्थे । बितेको रातको कष्टलाई सम्झेर आङ सिरिङ्ग गर्दै ङिच्च हाँस्ने बाहेक अरु उपाय थिएन । आकाश छ्याङ्ग खुलेको थियो । अब नयाँ घामको झुल्कासँगै हामीमा नयाँ आशा पलाए । भान्सा पालभित्र तयार भएको तातो खानपीन पछि सात बजे फेरी हाम्रो यात्रा जारी नै रह्यो ।

कामीडाँडाबाट तीन घण्टा हिंडेपछि उकालो सकियो । पश्चिमतर्फ मोडेर तेर्सो डाँडैडाँडा हिंडेपछि बल्ल ढुकुर पोखरी पुग्यौं । पानी बिना नाम मात्रको ढुकुर पोखरी रहेछ । करीब एक बजेदेखि अचानक बाग्लो न बाग्लो कुहिरो सहित फेरी सिमसिमे पानी पर्न थाले । हामी लगातार हिंड्दै एक जंगलको भेँडी खर्कमा पुग्यौं । हाम्रो त्यस दिनको खाना र बास पनि त्यही बस्ने निर्णय भयो । उक्त स्थान हिम क्षेत्रभित्र परेको हुनाले अघिल्लो रातमा झैं जुकाको सास्ती भने व्यहोर्नु परेन । हामी हरेक दिन थप उचाईमा गइरहेका थियौं । त्यसैले हाम्रो यात्रामा चिसो दिन प्रतिदिन बढ्दै थियो । त्यस जंगलको रात, खाने सुत्ने र आगो ताप्दै बितायौं । भोलीपल्ट असोज २८ गतेको यात्रा अझ कठिन थियो । निर्जन जंगलको बाटो, कहिले उकालो, कहिले ओरालो, कहिले बाटो नै पत्ता लाउन नसक्ने घंगारो घारी पन्छाउदै हिड्नुपर्ने थियो । रिसाएको साँढेको जख्खर जस्तो सिरिङ्ग आकाशै छेँड्ला झैं गरि आकाशिएको गोब्रे सल्ला, खोट्टे सल्ला, देवदारु, चाँप, धुपी र सेतो गुराँसका रुखहरु र जमिनमा निंगालो घारी अनियन्त्रित तरीकाले लठारी रहेका थिए ।

दिनभरिको यात्रामा पानी पाउँदैनथ्यो । त्यसैले हामीले बिहानको ब्रेकफास्ट अलि धेरै बनाएर आ–आफ्नो झोलामा बोक्न लगाएका थियौं । जंगल कटेपछि हावा नलाग्ने एउटा ढुंगाको ओडार खोजेर तयारी लञ्च खाँदै थियौं । अफ्शोच ! त्यो बँदेल हिड्ने मुल गौँडा पो रहेछ । करीव सात आठ ओटा याऽऽमनका दाह भएका र स–सानो दुई वटा बच्चा सहित हामी भएको ठाउँमा झुक्केर अचानक बथानै झोसिन आई पुगे । सबैजना आतिएर एकै चोटी चिच्याउँदा बँदेलका बथान पनि तर्सेर तितरवितर भए । आत्तिएर उठ्दा धेरै जनाको खाना पोखियो । धन्य, भाग्यवस बँदेलको आक्रमणबाट हामी बच्यौं । बाघभन्दा बँदेलको आक्रमण बढी खतरनाक हुन्छ भन्ने हामी सबैलाई थाहा थियो । त्यसैले हामी सबै तस्र्यों । लेकमा छाडा छोडेको गोरु र बँदेलको स्वभाव एकै हुन्छ भनेको सुनेको थिएँ । मेरो र मेरो पर्यटकहरुको त्यहाँ जानुको उदेश्य फरक थियो । कहिलेकाहीं मलाई लाग्थ्यो कि कोलम्बसलाई महादीपहरु पत्ता लगाउन पनि त्यति कठिन भएन होला जति हामीले भोगीरहेका थियौं । त्यतिखेर नै मेरो सोचाई बदलिन्छ, कोलम्बस हैन, चाल्र्स डार्विनको शिद्धान्तमा बाँधिएको बाँच्नकै लागि संघर्षरत जीराफ र उंटको घाँटीसँग मिल्दोजुल्दो ठान्थें मेरो आफ्नो दैनिकी ।

लञ्च (खाना) गरे लगतै हामी एउटा उकालो र एउटा ओरालो लागेपछि धुपीको दाउरा बालेको धुवाँ बास्न आयो । त्यसपछि हामीमा केही आशा पलायो । हामी कतै मानव बस्ती नजिक पुग्दैछौं भन्ने भान भयो र मनमनै एक किसिमको खुशी पलाएर आयो । आफ्नै घरमा पुग्न लागेको महसुस् भयो । ओरालोको अन्तमा एउटा भञ्ज्याङ रहेछ । पाँचपोखरीको प्रवेश शिविर त्यस ठाउँलाई नरसिङ पाटी भनिन्थ्यो । जहाँ दुई वटा (खर्क) गोठहरुमा दुई घरका परिवार नै रहेछ । भेँडा, च्याङग्रा, चौंरी, दही, दुध, पिठो, चामल, सागसब्जी, साखीने कुखुराको बथान, जाडोमा आगो ताप्नलाई मगमग बास्ना आउने धुपीको दाउरा आदी पर्याप्त मात्रामा लगेर राखेको रहेछ । यति हुनु नै त्यस ठाउँको एक सामाजिक परिवारको लागि सम्पन्नता थियो । त्यही खुशी र आनन्दीको जीवन थियो । ती चित्रे छाप्रोमा केही चीजको अभाव देखिएन । हामी त्यहाँ पुग्न साथ पाल टांग्ने ठाउँ, भान्सा र पानीको लागि सबै व्यवस्था ती दुवै छाप्रोका गोठालो ज्योज्यो (दाई) हरुले गरि दिए । साँझको खानापछि पर्यटकहरुलाई भोलीपल्टको यात्राको भौगोलिक स्थिति, तापव्रmम, वन्यजन्तु, वनस्पति र त्यस ठाउँदेखि तल्लो भेगमा बसोबास गर्ने मानिसहरुको रहनसहन, लवाईखवाई, जाती, भाषा, धर्म संस्कृती र रितिरिवाज सम्बन्धी छोटो जानकारी गरेपछि म पनि आगो छेउको एउटा काठको फल्याकमा सुत्न गएँ । पदयात्रामा जाँदा हरेक साँझ हरेक नयाँ ठाउँमा पुगेपछि त्यस ठाउँको बासिन्दा, धर्म संस्कृति, चालचलन, भौगोलिक, वन्यजन्तु, वनस्पतीको बारेमा जानकारी दिनु पद प्रदर्शकको दैनिक कार्य तालिका भित्रको कार्यमा पर्दछ ।

भोलीपल्ट बिहानैदेखिको मौसम अति राम्रो थियो । हामी पाँचपोखरीको गन्तव्यको लागि तयारी भयौं । अतिरिक्त बन्दोवस्तका सामानहरु नरसिङ पाटीमै छोडेर दुई दिनको लागि आवश्यक खाजा चामल मात्र लिएर हामी उकालो लाग्यौं । जति माथी उचाईमा जान्थ्यौं त्यति नै कठाङग्रिने हावासँग हामीले पैठाजोरी खेल्नु पर्दथ्यो । भिरालो बाटो, ठुलोठुलो ढुंगाको काप र बाटै पहिल्याउन नसकिने गग्य्रान हुँदै हामी दिउँसोको एक बजे पाँचपोखरीमा पुग्यौं । पाँचपोखरीमा पुग्दा पुनः चिसो स्याँठसँगै दर्केको पानीले हामीलाई निक्कै अप्ठ्यारोमा पारे । हाम्रो गन्तव्य पनि त्यहिसम्म मात्र भएकोले हामीले जसरी पनि त्यही बस्नु थियो । छ महिना पानी र छ महिना हिउँको रुपमा रहने ती पाँचपोखरी छेउको घाँसे मैदानमा हामीले एक रातको लागि शिविर खडा गर्यौं । त्यहाँ पाँच वटा पोखरीहरु रहेछन् । कल्पना गरेर बनाएका चित्रका दृष्य जस्तै ती अति रमाईलो र सुन्दर थिए । कहिले पानी पर्ने त कहिले हिउँ, त्यहाँको तापक्रमको अनुसार परिवर्तन भइरहन्थ्यो । सबै पालका वरिपरि कुलेसा काट्ने व्यवस्था गरे । भुलवश वा जानाजानी एक साथीले नेपाली भान्साको रासनको भारी नरसिङ पाटीमै छोडेर त्यहाँ भण्डार गर्न राखेको अतिरिक्त भारी लिएर आएछ । त्यस रात हामी तीन तीन मुठी चिउरा र फिक्का चियामा रात टार्नु पर्यो । हामीलाई पत्तो थिएन, त्यसदिन महाष्टमीको रात रहेछ । ‘घरमा भए मासु भात खाएर आनन्दले सुत्न पाउथ्यो आज यहाँ चिसोमा भोकै बस्नुपर्यो’ भन्ने एउटा साथीको भनाईले मेरो मन निकै खिन्न भए । सुत्नै नसक्ने गरि चिसो हावा चलेकोले पालभित्र स्टोभ र मैनटोल बालेर रातभरि गाउने र ख्याल ठट्ठा गर्दै त्यस रातलाई पनि बिहानको सूर्योदयसँगै विदा दियौं ।

रातभरि चाँदीले नुहाएका बुद्धको मुर्तीजस्तै देखिने पाँचपोखरी वरिपरिका जुगल हिमालका चुचुराहरु सूर्य किरणको स्पर्स पाएपछि एकाएक विवाहको मण्डपमा सजिएकी दुलही झै रातो, पहेँलो हुँदै अनि नाङ्गो आँखाले हेर्नै नसक्ने गरि टल्कियो । विहानको दृष्र्यावलोकन गर्न पाँचपोखरीदेखि पूर्वको डाँडामा गयौं । त्यतिबेला हामीले अघिल्लो रातको चिसोलाई भूलेर हिउँमा खाल्डो खनेर साथीहरुलाई खसाएर जिस्कँदाको रमाईलो क्षण र भिरालो हिउमा उँधोमुन्टो भएर चिप्लेटी खेल्न पाउँदा एक क्षणलाई हामीले आफैलाई भुलेका थियौं । पर्यटकहरु चारैतिरका दृष्यहरु आ–आफ्नो क्यामरामा पोको पारेर रमाए । प्रकृतिसँगको लुकामारीपछि नरसिङ पाटीमा आएर दिउँसोको खाना पश्चात जंगलैजंगलको ओरालो झर्यौं । लेकको जंगल, कहिले एकै क्षणमा आकाश छ्याङ्ग खुल्थे त कहिले चल्लालाई छोप्न खोजेको वाजको वेगमा आएका बाग्लो बादल अनि चिसो बतासका साथ पानी दर्किन्थे । हरेक किसिमको मौसमलाई सामान्य रुपले लिने हाम्रो बानी परिसकेको थियो । अँध्यारो रात, मुसलधारे पानी, कान छाम्दा थाहा नपाउने सिरेटो, चिप्लेर पलपलमा पछारिने ओरालोमा यात्राको पहिलो रातमै रगतको नाता जोडीसकेका जुकाहरुसंग पुनः साईनो लगाउँदै त्यस दिन पनि जंगलमै बास बस्न बाध्य भयौं ।

अशोज ३१ गते जंगल क्याम्पबाट तल बोथाङको मा.वि. प्राङगाणमा बस्न पुग्यौं । हाम्रो यात्राको अन्तिम क्याम्प भएकोले हामीले त्यस दिन यात्रा भरिका अनुभव र खुशी एक अर्कामा बाड्यौं । विजयादशमीको दिन भएकोले निधारभरी टीका र माथभरी जमरा सिउरेर केटाकेटी र यूवायुवतीहरु पीङमा झुली रहेका थिए । बाटोमा रंगीचंङ्गी कपडा पहिरेर अबेरसम्म कोसेलीका साथ पाहुना हिंडेका मानिसहरुको ताँती देखिन्थे । बोथाङका स्थानीयबासीहरुले पनि हाम्रो आगमनलाई निकै रहुसिएर स्वागत गर्दै नाचगानमा सहभागी भएर हाम्रो साथ दिए । भोलीपल्ट कार्तिक १ गते बोथाङ गाउँलाई विदाइका साथ आत्मीयताको हात हल्लाउदै गाउँकै गाउँको बाटो हुँदै मेलम्ची बजारतर्फ हानियौं । त्यो दिन हामी काठमाडौं पुग्नु थियो । बाटो छेउछाउका घरको झ्याल–झ्यालबाट धन्केका रेडियोमा दशैं सम्बन्धी गीतहरु एक पछि अर्को बज्दै थिए ।


यो दशैंमा म आईन भने
निष्ठुरीलाई रोईरन नभने ।

…झट्टै फर्कि आउ दाजु घर…
बुढी आमा रोई रन्छ धर्धर……।

शिवपुरीको झर्ना छेउ घर हाम्रो छाप्रो,
बाबु आमा रुँदै होलान हेर्दै हाम्रो बाटो
किन साथी आज मलाई, रुवाउँ रुवाउँ लाग्छ …….।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका