संस्कृत, अंग्रेजी र मातृभाषाको शिक्षामा प्रयोगजन्य परिदृश्यहरू


शब्द ब्रम्हा संस्कृत उक्तिको नेपालीकृत अर्थ कुनैपनि शब्दले विचार वा भावको सम्प्रेषणको सामर्थ्य राख्छ भन्ने हुन्छ । अझ शब्दमा त्यस्तो शक्ति हुन्छ जसबाट मानिसको मनमस्तिष्क मात्र नभई हृदयको अन्तरकुन्तरमा उत्पन्न मनोभाव वा संवेदना व्यक्त गर्न सक्दछ । त्यही शब्द वाक्य हुँदै सङ्कथनमा रूपान्तरित भई भाषाको स्वरूप ग्रहण गर्छ र समस्त मानवीय विचार र भाव आपसमा सम्प्रेषणको साधन वा माध्यम बन्छ । यसो भनूँ भाषा व्यक्ति, समाज र राष्ट्र मात्र जोड्ने युक्ति नभई विश्व जोड्ने सशक्त माध्यम हो । जसविना वर्तमान विनिर्मित सीमाविहीन संसारलाई सानो सूचनाग्राममा बदल्ने अन्य कुनै शक्ति र सामर्थ्य हुँदैनथ्यो । अझ के दावा गर्न सकिन्छ भने भाषा विनाको यो धर्ती पशुवत संसार भन्दा फरक हुने कल्पना गर्न सकिन्न । यस अर्थमा भाषा पहिचान, संस्कार, संस्कृति मात्र नभई मनुष्यको यस दुनियाँमा पदार्पण हुँदाको प्रथम बिम्ब नै त्यही रोदन वाणी हो वा भाषा हो । तसर्थ भाषा जीवन हो, सञ्चार हो, शिक्षा हो र यस लोकमा मानवीकृत समस्त कर्मका लागि सञ्चारका आधार हुन् ।

जीवनमा पहिलोपटक सिकेको भाषा मातृभाषा वा पहिलो भाषामा दर्ज हुन्छ। त्यसपछि सिकिने भाषाहरू क्रमशः दोस्रो वा विदेशी भाषा भनिन्छन् । तर कतिपयले पुर्खा वा आफ्नो जातिको भाषालाई मातृभाषा ठान्ने गरेका पनि छन् । व्यक्तिले घरपरिवार, समाज र विद्यालय हुँदै राष्ट्र र अन्तरार्ष्ट्रिय परिवेशमा वशीभूत हुँदै एक भन्दा बढी भाषाहरू सिक्दै जान्छन् । व्यक्ति शिक्षाको सन्दर्भमा परिवारको भाषा मातृभाषा रहे पनि विद्यालय शिक्षाको भाषा भने सबैका लागि मातृभाषा प्राप्य हुँदैन ।उसले दोस्रो भाषा वा विदेशी भाषामा शिक्षा आर्जन गर्नुपर्ने कुरा उसका लागि रहर नभई बाध्यता बन्छ । जुन उसको समग्र व्यक्तित्व विकासका आधार मानिएको शिक्षाको सफलता र असफलताको कारक बन्न पुग्छ । किनकि शैक्षिक संस्थाको शिक्षणसिकाइ माध्यम भनेको भाषा नै हो । उक्त भाषा सिकारूका लागि सिकाइको मात्र नभई उसको समस्त जिन्दगीको विकासको जग हाल्ने काममा अवरोध बन्न पुग्छ ।

शिक्षामा भाषिक माध्यमको कारण शिक्षणसिकाइमा सिर्जित समस्या निराकरणका लागि शिक्षाविद्, भाषाविद्, समाजशास्त्री, मनोवेत्ताहरूबाट मानव सभ्यताको इतिहासको लामो यात्रामा अनेकन सिद्धान्त, विधि, पद्धति, उपायहरू खोजी अनुसन्धान मात्र गरिएनन्, परीक्षण, प्रयोग र अभ्यास समेत गरिँदै आएका छन् । पूर्वीय दर्शनको ब्रम्हवाणीजस्ता भाषिक दृष्टिकोणदेखि पश्चिमा ग्रीसेली दर्शन हुँदै आधुनिक उत्तरआधुनिक वा बहुसत्यको अवधारणासम्मको यात्रा क्रममा आइपुगेको छ, ज्याक डेरिडाको विनिर्माणवादी भाषिक मान्यतादेखि नोम चम्स्कीसम्म ।

यहाँसम्म आइपुग्दा एकल सोच, चिन्तन वा महाख्यानहरू बदलिएका छन् अर्थात् फुकुयामाकाअनुसार एकल इतिहासको अन्त्य भएको छ । र त एकलको ठाउँमा बहुल सत्य, बहुल अस्तित्व र बहुलतालाई आत्मीकरण गरेको छ ।त्यसकै परिणति हो एकभाषी शिक्षाको ठाउँमा बहुभाषी शिक्षाको वैज्ञानिक र वैश्विक धारणा र शिक्षाको विश्वव्यापी प्रयोगगत अभ्यासहरू । फलस्वरूप भाषाको शिक्षामा माध्यम र विषयको रूपमा प्रयोग गरिने उपागमहरू आविष्कृत भई विश्वदेखि नेपालको शिक्षालयमा प्रयोग र अभ्यास भए ।

परिदृश्यहरू १ सामुदायिक विद्यालयको माध्यमको अङ्ग्रेजी माध्यमीकरणः काभ्रे जिल्लाको तेमाल गाउँपालिकास्थित एउटा माविको कक्षा १ मा अङ्ग्रेजी माध्यम लागू गरेअनुसार कक्षाको पाठ्यपुस्तक पठनपाठनको प्रयोग गरिएको पाइयो । कक्षा अवलोकनको क्रममा शिक्षकलाई समेत अङ्ग्रेजी बोलाइमा कठिन भएको महसुस हुन्थ्यो भने सहभागी विद्यार्थीले यस र नो बाहेक अन्य वाक्य बोल्न सकेको पाइएन । त्यसैगरी लमजुङको एक माविमा कक्षा १ मा अङ्ग्रेजी माध्यम भएकोले अङ्ग्रेजीमै पठनपाठन गर्ने प्रयास गरिएको भए पनि विद्यार्थीले अङ्ग्रेजीमा संवाद गर्न सकेको पाइएन ।पाँचथर जिल्लाको एक माविमा पनि कक्षा १ मा अङ्ग्रेजी माध्यममा पठनपाठन गरेको पाइयो जहाँ शिक्षकको अङ्ग्रेजी भाषामा राम्रो दखल देखिएपनि विद्यार्थीको लागि सहज थिएन जसको कारण उनीहरू अवाक थिए ।

परिदृश्य १ः साक्ष्यको आधारमा मातृभाषा माध्यम भाष्यमा सीमित मातृभाषी विद्यार्थीसम्म सङ्घीय गणतन्त्र आउँदासम्म पुग्न नसकेको पाइयो । अझ कतिपय गाउँपालिकाहरूमा गुणस्तरीय शिक्षाको नाममा अङ्ग्रेजी भाषालाई कक्षा १ देखि अनिवार्य गर्ने नीति समेत गाउँपालिकाले लिँदै गएको पाइयो ।जुन मातृभाषामा पढ्न पाउने विश्वव्यापी मानव अधिकारका साथै नेपालको संविधानदेखि शिक्षा ऐनसम्मको बर्खिलापमा रहेको छ ।

परिदृश्य २ : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका सबै विद्यालयहरूमा अङ्ग्रेजी भाषा विषय ऐच्छिक विषयका रूपमा पठनपाठन गरिएको पाइयो । दाङ जिल्लाको राप्ती गाउँपालिकाका केही विद्यालयमा थारू मातृभाषा विषयको पठनपाठन गर्ने गरेको पाइए पनि अन्य विद्यालयमा अङग्रेजी विषयलाई ऐच्छिक विषयका रूपमा पठनपाठन गरिएको पाइएको छ । त्यसैगरी नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकाका केही विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन गरिरहेको पाइयो । तर सामुदायिक विद्यालयहरू संस्कृत भाषा विषयको पठनपाठन भएको पाइएन । तर संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालयहरू जस्तो ओखलढुङ्गामा संस्कृत प्रावि र दोलखाको एउटा माविमा हुने गरेको स्तम्भकारको जानकारीमा छ ।

परिदृश्य २ कोअनुसार मातृभाषा विषयलाई पठनपाठन गर्नको लागि पाठ्यक्रमगत व्यवस्था वि. सं. २०५५ सालदेखि भएको हो । करीब २५ वर्षको अवधिमा २५ जति मातृभाषामा पाठ्यपुस्तक तयार भएको देखिन्छ ।तर यसको कार्यान्वयन पक्ष भने सन्तोषजनक रहेको पाइएन । तर यी मातृभाषा विषयको पठनपाठन गर्नुको सट्टामा अङ्ग्रेजी भाषा विषयलाई अभिभावक र समयको माग भन्दै शिक्षक र समुदायले अन्योलमै लागू गर्दै आएको हाम्रो शिक्षामा भाषागत प्रयोग अभ्यासको साक्ष्य हो ।

समष्टिमा राष्ट्रको भाषा नीति, भाषा ऐन र भाषासम्बन्धी व्यावहारिक दृष्टिकोणको अभावमा हाम्रा विद्यालयहरू मात्र कुहिराको काग बनेका छैनन् कि माथिल्लो तहसम्म अन्योल, अलमल मात्र होइन अकर्मण्य जस्तो देखिएका छन् । विद्यालय शिक्षाको कक्षा १ मा कुन माध्यम भाषा र कुन ऐच्छिक विषयको प्रयोग बाल रूचि, स्तर, क्षमता, आवश्यकतानुसार वैज्ञानिक, वस्तुगत, व्यावहारिक र न्यायसङ्गत हुन्छ भन्ने कुरामा बोल्नुपर्नेले बोलेको देखिँदैन वा सम्बद्ध कोही जवाफदेही छैनन् । तर यो ठीक र यो बेठीक भन्दै विनाआधार बोल्दै लागू गर्दै जाने आत्मकेन्द्रीत वा हचुवापनले राम्रै काम गरेको छ । प्रा.डा. नोबलकिशोर राईकाअनुसार भाषाको सन्दर्भमा त अनभिज्ञ कोही छैनन् किनकि जोकोही पनि विज्ञका रूपमा यसका बहस पैरवी गर्न लागिपर्छन् । तर विना अध्ययन, अनुसन्धान, तथ्य र सत्यको परख विना नै यसको प्रयोग, परीक्षण र अभ्यास हुँदै आउनु हाम्रो नियति हो ९भाषा आयोगको सल्लाहको बैठकमा व्यक्त विचार० ।त्यसैगरी शिक्षामा भाषाको लागि योजना, नीति र कार्यक्रम पनि क्षणिक प्रयोग, परियोजनागत परीक्षणजस्तो मात्र देखिएको छ ।फलतः भाषामा लगानी नीति पनि न्यायिक, सन्तुलित र वस्तुगत हुन सकेको छैन । वैरागी काइँलाकाअनुसार केही भाषा र विषयका विद्यालयदेखि क्याम्पस र विश्वविद्यालयसम्म स्थापित छन् भने केही धेरै भाषाहरूमा लेख्य पद्धतिको विकास समेत हुन सकेको छैन ।अझ भाषिक मानक, आधुनिकीरण र स्तरीकरणको नाममा मातृभाषिक विद्यार्थीको हुर्मत लिइरहेका छन् । यसको नाममा नेपालीइतर मातृभाषीको जिब्रो अप्रेसन र अङ्ग्रेजी मातृभाषीइतर नेपाली भाषीको जिब्रो अप्रेसन गरी शुध्दीकरण गर्नुपर्ने हो र ? भन्ने प्रश्न गहन, गम्भीर र यक्ष छ (भाषा आयोग दिवसमा व्यक्त विचार) ।

विश्वकै सन्दर्भमा स्थापित सिद्धान्त, मान्यता र व्यावहारिकता हो पूर्व प्रावि वा बालकक्षा र कक्षा १ मा मातृभाषामा आधारित बहुभाषिक शिक्षाको प्रयोग । यसमा विद्यार्थीले शिक्षणको औपचारिक माध्यम भाषा नबुझ्ने हुनाले उसको मातृभाषामा सहजीकरण गर्दछ जस्तो उसको मातृभाषा मैथिली छ तर विद्यालयको शिक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी छ भने मैथिली भाषाको प्रयोगका साथै नेपाली वा अङ्ग्रेजी भाषाको प्रयोग गरेर पठनपाठन गर्न सकिन्छ । तर भाषा विषय पठनपाठन भनेको यो शिक्षाको माध्यम नभई भाषाको सीप र सामर्थ्यको सिकाइ हो, यो भाषिक बोध र अभिव्यक्ति सिकाइसँग सम्बद्ध रहन्छ । तसर्थ यसलाई विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा विशिष्टीकरण गरेर नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत,नेपाल भाषा जस्ता विषयको पठनपाठन भइरहेको छ । नेपालकै सन्दर्भमा विगतमा अङ्ग्रेजी विषय र संस्कृत विषय माथिल्ला कक्षा ४ बाट सुरू गरिएको थियो जुन वस्तुगत अध्ययन र अनुसन्धानमा आधारित थियो । डा. लवदेव अवस्थीकाअनुसार कक्षा १ देखि नै धेरै भाषाहरू जस्तो अङ्ग्रेजी भाषा वा संस्कृत वा मातृभाषा लगाउनु बाल संज्ञान र भाषा शिक्षाको दृष्टि उचित हुँदैन (विद्यावारिधि शोध, २००४, को शोधसार) । यसको लागि शिक्षामा भाषिक माध्यम र विषय पठनपाठनको क्रम निर्धारण भइआएको छ जसअनुसार बालकक्षादेखि कक्षा ३ सम्म मातृभाषामा आधारित बहुभाषिक शिक्षण पद्धति अवलम्बन गर्न सकिन्छ । त्यसपछि मातृभाषालाई विषयको रूपमा पठनपाठन गरी निरन्तरता दिनुपर्दछ।जस्तो जनकपुरको अघिकांश मैथिली भाषी विद्यार्थी रहेको विद्यालयमा कम्तीमा पनि कक्षा ३ सम्म मैथिली भाषामा आधारित बहुभाषिक शिक्षा र कक्षा ४ पछि मैथिली भाषा विषयको पठनपाठन गर्नु उचित हुन्छ । तर ती बालबालिकाका लागि मैथिली विषय कक्षा १ मा लगाउनु समेत भाषा सिकाइको सिद्धान्तअनुसार उपयुक्त देखिँदैन । त्यसैगरी कक्षा १ को नेपाली मातृभाषी र नेपालीइतर मातृभाषी विद्यार्थीका लागि पनि अङ्ग्रेजी माध्यम र विषय उचित हुँदैन । मैथिली मातृभाषी विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम नबनेको भनी संस्कृत भाषा विषय पठनपाठन गर्नु वा नेपालमा जुनजुन स्थानीय तहमा स्थानीय विषय वा मातृभाषा विषयको पाठ्यपुस्तक बनेको छैन त्यहाँत्यहाँ अन्य मातृभाषामा तयार भएका मातृभाषालाई ऐच्छिक विषय (लिम्बू, तामाङ, मगर वा अन्य) वा ऐच्छिक संस्कृत भाषा विषय पढाउन सकिन्छ भनेमा त्यो शिक्षामा भाषिक प्रयोगको अल्पज्ञता मात्र ठहरिँदैन, यो कदम झकच्चा वैद्यको मात्रा, यमपुरीको यात्राञ जस्तो हुन्छ ।

निष्कर्षमा बालबालिका नै भविष्यका कर्णाधार मात्र होइनन्, हाम्रा सपना, आशा, भरोसा र सिङ्गो भविष्य हुन् । उनको नैसर्गिक भाषिक, सांस्कृतिक र शैक्षिक अधिकारप्रति उत्तरदायी हुनुको विकल्प राज्य, सरकार, शासन, प्रशासन कोही कसैलाई पनि छैन । तसर्थ जुनसुकै तह र तप्काबाट गरिएका शैक्षिक नीति, योजना, कार्यक्रम र कार्यहरू अबोध बालबालिकाको हितविपरीत भएमा त्यो कर्म बाल अपराध मात्र होइन, बालबालिकाका लागि अभिशाप हो, कानुनी राज्यको बर्खिलाप हो अनि हाम्रो आफ्नै भविष्यमाथिको कुठाराघात पनि हो । शिक्षामा भाषाको प्रयोग बाल आवश्यकताबाट निर्णीत हुनुपर्छ नकि सङ्घीय तह वा प्रदेश तहबाट । यो स्थानीय सरकारले बालबालिकाको रूचि, इच्छा र आवश्यकतामा आधारित भई अभिभावक समेतको सहमितमा सम्बद्ध अध्ययनअनुसन्धानमा आधारित भई विज्ञको सल्लाहअनुसार अघि बढेमा मात्र यसले सही दिशा पक्रेर शिक्षामा समता, समानता र गुणस्तरीयताको गन्तव्य भेटाउन सकिन्छ ।

(डा. लोप्चन भाषा आयोगका उपसचिव एवं पूर्व जिशिअ हुन् )

तपाईको प्रतिक्रिया

पत्रपत्रिका