तनावमा सिर्जना शुन्य छ : गीतकार भरत बमजन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
काठमाडाैं

४० को दशकको सुरुवातमा नै रेडियो नेपालको यात्रासँगै गीत सिर्जना पनि अघि बढाएका सञ्चारकर्मी तथा गीतकार भरत बमजन अझै पनि त्यही यात्रामा छन् । यतिखेर कोभिड- १९ का कारण केही फुर्सदमा रहेका उनी आराम गरेर नै दिन बिताइरहेका छन् । कतिपय सर्जकहरु यतिखेर सिर्जनामा व्यस्त रहेपनि बमजनले भने हाल कुनै पनि सिर्जना गरेका छैनन् । विश्वभर कोरोनाको त्रासले तनाव उत्पन्न गराइरहेको समयमा आफू पनि अछुतो नरहेको उनी स्वीकार्छन् । पत्रकारिताको दौडधुप, साथीभाई भेटघाट, साहित्यिक जमघट र नेपाली गीतसंगीतको प्रत्यक्ष अवलोकनबाट नै आफ्नो गीत सिर्जना अगाडि बढेकोले लेखनमा त्यस्तै आदत परेको उनी बताउछन् । उनी भन्छन्, ‘अहिले घरभित्रै थुनिएर बस्नु परेको छ । कसैसँग भेटघाट छैन । दिमागमा तनाव छ । जसले गर्दा सिर्जना शुन्य नै छ । मेरो लेखन पनि पत्रकारिता जस्तै भएछ । फुर्सद हुँदा केही फुर्दैन ।’

यतिखेर सबै सर्जकहरुमा केही न केही रुपमा तनाव रहेको उनको अनुमान छ । नेपाल मात्र नभएर विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको यस विषम परिस्थितिमा जो कोही पनि सजक र सतर्क हुनुपर्ने उनी सुझाव दिन्छन् ।

‘यो लामो समयक्रममा विश्वमा देखिने प्रकोप हो’ उनी भन्छन्, ‘सबैमा सचेतना र सजकता आजको आवश्यकता हो ।’ यतिबेला हुने सिर्जनामा पनि केही अंश प्रभाव पर्नसक्ने उनी बताउछन् । सिर्जना भन्ने पक्ष कति बेला र कसरी पूरा हुन्छ भन्ने कुनै समय यकिन नहुने बताउने बमजन जुन समयमा भएपनि सिर्जना सदाबहार हुनुपर्ने मान्यता राख्छन् । ‘सिर्जना क्षणिक होइन सधैंको लागि बाँच्नुपर्छ र सबै समयका लागि उत्तिकै महत्व राख्ने हुनुपर्छ । सिर्जना थोरै होस् तर सबैको मनलाई छुने हुनुपर्ने उनको बुझाई छ ।

‘पानी सिमसिमे’, ‘त्यो कालो कोटैले’, ‘बैगुनी रहेछौ मायालु’, ‘सुरमा सुर मिलाई’, ‘हिउँको पानी चिसो चिसो’, ‘मेला राम्रो बैशाखी पूर्णिमा’ लगायतका झण्डै छ दर्जनको हारहारीमा गीतहरु लेखेका बमजनले लोक, आधुनिक पप जस्ता सबैजसो शैलीका गीतहरु रचना गरेका छन् । राजेशपायल राईको स्वरमा रहेको ‘बैगुनी रहेछौ मायालु’, अन्जु पन्तको स्वरमा रहेको ‘सुरमा सुर मिलाई’ गीतले उनलाई अझै गीतकारका रुपमा माथि उठाएको छ ।

एउटा गीतकार प्रेमी, आमा, देशभक्ति योद्धा, बाबु जस्ता सबैजसो भूमिकामा रहनुपर्ने

एउटा गीतकार प्रेमी, आमा, देशभक्ति योद्धा, बाबु जस्ता सबैजसो भूमिकामा रहनुपर्ने उनी बताउछन् । यसले रचनाकारको धर्म पूरा हुने उनको भनाई छ । सांगीतिक क्षेत्रमा रचनाकार पछाडि नै रहने परिपाटी चल्दै आएपनि यसलाई उनी स्वभाविक प्रक्रियाका रुपमा लिन्छन् । ‘सिर्जना प्रकृति र आमाबाबु जस्तै हो’ उनी अझै थप्छन, ‘प्रकृति पछि नै रहेर सबै सुख-दुःख सहेर बस्छ । हो हामी रचनाकार पनि त्यसरी नै अगाडि बढ्ने हो ।’ सिर्जनाको मुल्य र भावलाई सर्जकले जीवन्त राखेर अगाडि बढेमात्र नेपाली संगीतसँगै यहाँको कला, संस्कृति, मौलिकता पनि जीवित रहने उनको सोचाई छ ।

अहिले देखिने पुस्तामा गीतसंगीतको मोह भन्दा पनि देखासिकी र नक्कल गर्ने प्रवृत्तिप्रति उनको गुनासो छ । ३० देखि ४० को दशकलाई आधुनिक संगीतको स्वर्ण युग मान्ने बमजन त्यसपछि मौलिकता विलिन हुँदै गएको मान्छन् । उनी भन्छन् ‘अबका पुस्ताले नेपाली मौलिक संस्कृति र मौलिकतालाई बुझेर हाम्रो संगीतलाई अन्तर्र्रािष्ट्रयकरण गर्नुपर्ने एकदमै टड्कारो आवश्यकता देखिएको छ ।’ पहिले प्रविधिको अभावमा पनि सिर्जना भएका कालजयी गीतसंगीतको स्मरण गर्दै अहिले सर्जकमा नै अल्छिपना आएको स्वीकार्छन् । प्रविधिले गर्दा सर्जकहरु आफ्नो मेहनत भन्दा पनि यसैमा निर्भर रहन थालेको उनी बताउछन् ।

सिर्जनालाई अमर मान्ने बमजन रेडियोको यात्रा विश्रामपछि पनि रचनालाई अगाडि बढाउने सुनाउछन् । भन्छन्, ‘म रेडियो यात्रापछि गीतकारका रुपमा निरन्तरता दिन्छु ।’ सिर्जनाबाट नै नेपाली गीतसंगीतलाई केही माथि उठाउने उनको प्रण छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया