हार्दिक श्रद्धान्जली माम !

यकिना अगाध लेखक एवं कवि
14 Shares
काठमाडाैं

म फेसबुकमा कविता अपलोड गर्नबाहेक अरु खास समय बिताउँदिन । म्यासेन्जेर च्याट र भिडियो कलप्रति वास्ता राख्दिनँ । सायदै आवश्यक कुरा रहेछ भने फोनमा भइहाल्छ नि भन्ने लाग्छ तर यिनै पुरातन सोचका कारण माम बितेको लामो समयसम्म म बेखबर हुनुपर्यो ।

कविता अपलोड गरिएन भने म फेसबुक पनि चलाउँदिन । त्यो दुखद् समय त्यही घडीमा परेछ । झण्डै दुई महिनाजसो पछि मैले फेसबुक खोले । कान्छा मामा स्वयम्बरसिंह लामाले आफ्नो स्टाटसमा लेख्नुभएको रहेछ– ‘हाम्रा स्व.पूज्यनीय माताको ४९ दिनको पुण्य तिथिको पूजा आउँदो फागुन महिनाको १७ गते पर्न गएकोले सम्पूर्ण दाजुभाइ, इष्टमित्र एवं आफन्तजनहरुलाई प्रसाद ग्रहणको निम्ति हार्दिक आमन्त्रण गर्दछौं ।’

सम्धी साजन लामाले म्यासेन्जरमा खबर छाड्नुभएको रहेछ– ‘माम बित्नुभयो । आज पुस २५ गते बिहानको २ बजे ।’

तर समय धेरै बितिसकेको थियो । मसँग समयले पछुतोबाहेक केही छाडेको थिएन । समयको ख्याल नहुनेलाई समयले कुरिराख्ने कुरो पनि भएन । ऊ आफ्नो रफ्तारमा दौडिई त हाल्यो । यसपछि त मसँग आफैसँग रहेको बयली मात्र झुलिरह्यो ।

ढुङ्गाजस्तै सारो हुन्छ । न यो हातलाई घाँस काट्दा काँडाले घोच्ला कि भन्ने चिन्ताले छोप्नको लागि पन्जा चाहिन्छ, न त ठेला उठ्छ कि भन्ने पीर नै हुन्छ ।

त्यतिबेला म जन्मेको गाउँमा स्कूल थिएन । मामाघरमा भने आधाघन्टा बढी हिँडेपछि पुगिने स्कुल थियो । स्कुल जाने भएका कारण म बाल्यकालदेखि किशोरावस्थासम्म मामा घरमै बसें । मेरो हेरचाह, स्याहारसुसार सबै मावली हजुरआमाबाट भयो । म मावली हजुरआमाको काखमै खेलेर बढें, हुर्के र पढें । स्कुले क्लासको दौतरीहरुको तुलनामा म दुब्लो, पातलो, होचो र उमेरले सानो थियो । त्यतिबेला स्कुलमा पुर्याउने र ल्याउने गोठालो हुँदैनथ्यो । स्कुल जानु भनेको अलिक उमेरदार हुनुपर्दथ्यो । कान्छा मामा पनि स्कुल जाने भएकोले त्यतिबेलाको स्कुल जाने उमेर नभए पनि मैले भने स्कुल जान पाएको थियो ।

स्कुलको पहिलो, दोस्रो र केही दिन कान्छा मामाको पछि लागेर नै बित्यो । मामा त्यतिबेला दुई क्लासमा हुनुहुन्थ्यो । मामाको फेर नछाडेपछि म पनि दुई क्लासकै विद्यार्थी बनें । मलाई सरहरुले सम्झाएर भन्नुहुन्थ्यो, ‘नानी तिम्रो क्लास त उ त्यो हो । हेर त तिम्रा साथीहरु कति राम्रा छन्, तिमीजस्तै । हेर, हेर तिमीलाई नै हेरेर बोलाइरहेका छन् । यो त ठूलोहरुको क्लास तिमीलाई सुहाउँदैन ।’ सरहरुले यति माया गरेर भनेको कुरा मैले भने उहाँहरुको मुख मात्र चलेको देखे र कुनै जनावरको अमूक आवाज जस्तो मात्र सुनें । ‘ह्याउँ ह्याउँ ह्युँ ह्युँ …।’ यस्तो तरिका देखेर मलाई मज्जाले हाँसो उठ्यो र म खित्का छाडेर हाँसे । म हाँसेको देखेर मलाई सम्झाउने सरहरु पनि आवाज निकालेर हाँस्नुभयो र भन्नुभयो, ‘स्याबास ! कस्तो ज्ञानी नानी । बल्ल कुरो बुझ्यौ । भोलीदेखि उ त्यो तिम्रो क्लासमा बस्ने है त ।’ यस्तो भन्दै घन्टीपिच्छेका सरहरु आफ्नो ड्युटी सकाएर फर्कनुहुन्थ्यो ।

पछि पो बुझें । जब छुट्टी भएर घर फर्कने बेला मामाले सोध्नु भयो, ‘किन अघि सरहरुको अगाडि हिहिहि गरेर हासिस् ए मोरो’ भनेर सोध्नुभयो । ‘सर भन्ने मान्छेहरु त जोकर पो हुँदोरहेछ’ मैले भनें ‘उनीहरुले मुख मात्र चलाएर ‘ह्याउ ह्याउ ह्यु ह्यु’ गरेर मलाई जिस्क्याए, म हाँसे ।’

‘धत् लाटो ! नेपाली सेपाली बुझ्नु छैन तँलाई काम नपाएर सरहरुले ‘ह्याउँ ह्याउँ र ह्युँ ह्युँ’ गरेर जिस्क्याउँछ नि कहींको ?’ मामाले सरहरुले भन्नुभएको कुराको अर्थ लाउँदै भन्नुभो, ‘उहाँहरुले त तिमीलाई यसो पो भन्नुभको त ।’

स्कूल गएको हप्तादिन जस्तोमा पो बल्ल मैले बुझें आफूले बोल्ने तामाङ भाषाजस्तै अरु भाषा पनि हुँदोरहेछ भनेर । त्यतिका दिनसम्म मैले बुझिरहेको थिएँ कि स्कुल भनेको मान्छेले नबुझ्ने गरी जनावरले जस्तै ‘ह्याउ ह्याउ ह्यु ह्यु’ आवाज मात्र निकाल्नु हो । आफूलाई लाटो सम्झेर म लाजले भुतुक्क भएँ । म त्यतिखेर चार वर्ष लाग्दै थियो क्यार !

भोलीपल्टदेखि म मामाको फेर समाउन छाडेर आफ्नै क्लासमा बसें । सरहरुले हिजो मलाई ‘स्याबास ! कस्तो ज्ञानी नानी । बल्ल कुरो बुझ्यौ ।’ भन्नुभएको छ भनेर मामाले सम्झाउनु भएपछि डरभन्दा नि लाजले म यसो गर्न बाध्य थिएँ ।

सानो क्लासमा कपी कलमको चलन थिएन । स्कूलमा ब्ल्याकबोर्ड पनि हुन्थेन । कालोपाटी हुन्थ्यो । म कालोपाटी बोक्न सक्दिनँथें । कालोपाटी बोकेर आउन नसक्ने मसँगैका केही साथीहरुलाई भुईमा माटो मिलाएर चोर औंलोलाई कलम बनाएर लेख्न सिकाउनुहुन्थ्यो, राना सरले । उहाँको सिकाई अनौठो खालको थियो । सिक्न नसक्नेहरुलाई कुटपिट र गाली नगरी उहाँले आफ्नै तरिकाले त्रास पैदा गराईदिनुहुन्थ्यो । मलाई पनि धेरैपटक मेरो चोर औलोमा समाएर ‘क’ लेख्न सिकाउनु भयो । आज, भोली, पर्सी… अहँ धेरै दिन जानिन । एकदिन राना सरले मलाई मायालुपारामा बोलाएर काखैमा राखेर भन्नुभो, ‘नानी ल यसरी क लेख त ।’ उहाँले त्यो धूलो माटोमा लेख्दै मेट्दै, लेख्दै मेट्दै मेरो चोरऔँलोलाई कलम बनाएर धेरै पटक सिकाउनुभयो । कसो गरे नि मैले ‘क’को आकृति बनाउन सकिन । उहाँले बिस्तारै मेरो औँलोलाई दबाउदै जानु भो र सोध्नुभो, ‘अब चाहिँ आउँछ कि ?’ अहँ यो पटक पनि लेख्न आएन । उहाँले मेरो औँलो जोरसँग माटोमा घोटेर क लेखेर सिकाई दिनु भो । स्कुलको प्राङ्गण जहाँ हामीलाई क, ख सिकाउने थलो थियो, त्यो बलौटे माटोले भरिएको थियो । त्यसरी दबाएर रगट्दा मेरो औँलोबाट रगत चुहिन थाल्यो । राना सरले देख्या नदेख्या गर्दै भन्नुभो, ‘पक्कै अब चाहिँ तिम्रो औँलोमा सरस्वतीको बास भयो ।’ यति भनेर उहाँ उठेर जानु भो । म त्रसित भएर रगत चुहाउँदै ‘क’ लेख्ने अभ्यास गरिरहें ।

भोलीपल्ट म स्कूल जान मानिन । मामाले फकाउनु भयो, धम्क्याउनु भयो । कान निमोठ नामोठ पार्नुभयो । बरु मर्ला स्कूल जान मानिन । त्यति नै बेला हजुरआमा घाँसबाट आईपुग्नुभयो र सोध्नुभयो, किन स्कूल जान नमानेको तिमीले ?’ मैले भने, ‘मलाई क लेख्न आउँदैन । त्यो राना सरले मेरो औँलो रगटेर घाउ नै बनाई दिनुभयो । आज त पक्कै मेरो औँलो बाँकी नै रहने छैन ।’

‘अंग्रेजी सिक्छस् होला भनेको त गाई खाने भाषा पो बोल्छस्, तँलाई…’, अंग्रेजी सरको कन्सेरी नतात्ने कुरै आएन । हुन पनि उनको स्थानबाट हेर्दा स्वभाविक हो ।

कुरो सुनेर मामले मेरो औँलो हेर्नुभयो र हाँस्दै भन्नुभो, ‘ओहो ! हो त घाउ नै भएछ । नराम्रो होईन नि यो राम्रो, औधी राम्रो ।’
अघि हाँस्दै बोल्नुभएको मामले आँखामा आँसु पार्दै भन्नुभो, ‘हिँड्दा ठेस खाएको मान्छेले मात्र राम्ररी हिँड्न सिक्दछ नानी । आजदेखि तिमीलाई खरखरी क लेख्न आउनेछ । एकचोटी स्कूल गएर त हेर । आज पनि लेख्न आएन भने कहिल्यै स्कूल जानु पर्दैन ।’ मलाई क लेख्न आउने छ भन्ने कुराले होईन कहिल्यै स्कूल जानु नपर्ने कुराले खुशी तुल्यायो र म फुर्केर स्कूल पुगें । स्कूल पुगेपछि फेरि क लेख्ने अभ्यास सुरु भयो । सरले औँलोमा दखल पुर्याउँलान भन्ने त्रासले कसरी आज एकदिनको लागि भए पनि क लेख्न सकिन्छ भनेर निकै घोरेर सोचविचार गरें र निमेषमै क लेख्न सिकें । त्यो दिन राना सरको स्यावासी पाएँ र स्कूल नआउने कुरा नै भुलिगएँ । आफूले लेखेर साथीहरुलाई देखाउनको लागि कतिखेर स्कूल पुगुला भन्ने आतुरीले कुतकुत्याई रह्यो ।

एकदेखि पाँचसम्मको गुणन सजिलै पार गरियो । छदेखि दशसम्मको गुणन पटक पटक बिगारियो । गणितको सरले चेतावनी दिनुभएको पनि निकै भएको थियो । कण्ठस्थ जस्तो लाग्ने फेरि भन्नेबेला काँही न काँही गल्ती भईहाल्ने । आजित भएका सरले अन्तमा पचास पटक उठबसको सजाय तोक्नुभयो । पचास पटक कान समाएर उठबस गर्नुपर्दा शारीरिक रुपमा खुत्रुक्क गल्ने त भईगयो पाठ गर्न जान्ने साथीहरुको मुस्कानको प्रहार झन नमिठो खालको हुन्थ्यो । क सिक्दाको बेलाको हात घोटाई खाएदेखि अरु सजाय भोग्न नपरेको मेरो लागि यो उठबस मृत्युदण्ड दिएझैं भयो । फेरि भोलिपल्टदेखि म स्कूल नआउने भयो । मामाले फकाउनु भो, धम्क्याउनु भो र कान निमोठ नामोठ पार्नुभयो । बरु मर्ला अहँ स्कूलतिर पाईला सारे पो !

माम सदाझैं यही समयमा घाँसको भारी लिएर आईपुग्नु भो । धेरै समयपछि स्कूल जान नमानेको देखेर सोध्नुभयो, ‘फेरि के भयो तिमीलाई ?’ मैले भने, ‘दुनोटको पाठ भन्नुपर्दा म अंकमा अलमलिन्छु । सरले कान समाएर उठबस लाउँछन् । पाठ भन्न सक्ने साथीहरु मतिर खिसिको अनुहार फ्याल्छन् ।’

‘कान समाएर उठबस गर्न लाउनु पनि सजाय हो त ? होईन नि !’ मामले हास्दै भन्नुभयो, ‘हाम्रो दिमागको पार्टपूर्जाहरु ठिक ढंगले चल्दैन । कान समाएर उठबस गर्दा नमिलेको नसाहरु मिल्छ र बुद्धि ठिक ठाउँमा फर्कन्छ । आफूले पढेको कुरा सम्झन सक्ने गरी दिमागलाई तेजिलो पार्छ ।’

यति भनिसकेपछि मामले सोध्नुभयो, ‘के सरले तिमीलाई पिट्नु पनि भयो ?’

‘अहँ, पिट्नु भएन । अरु साथीहरुलाई मात्र पिट्नुभयो । जसले धेरै बिगारेको थियो ।’ मैले भने ।

‘त्यही त, त्यही त ।’ मामले भन्नुभयो, ‘तिम्रो दिमाग ठिक पार्न मात्र सरले उठबस गराउनुभएको हो । आजदेखि तिमी त्यस्तो अप्ठेरोमा पर्ने छैनौं ।’

मामको कुरा पत्याई नपत्याई म स्कूल गएँ । उठबसले साँच्चिकै तेजिलो भएको हो वा सरको सजायको त्रास र साथीहरुको गिज्याईको डरले हो, त्यस दिनदेनि मलाई नअलमलि दुनोट फुर्यो ।

कक्षा पाँचमा पुगेपछि अंग्रेजी पढाई सुरु हुन्थ्यो । नेपालीमा भर्खरै डिक बसेको मलाई फेरि अर्को महाभारत थपियो । एबिसि अक्षर चिन, वाक्य घोक र मिनिङ कन्ठस्थ पार कत्रो विपत्ति ! होचो होचो कदको जुकाले औधी सताएर गणेश देवताको झैं पुल्टुक्क निस्किएको भुँडे पेट । शुद्ध नेपाली बोल्न नजानेर साथीहरुको खिसिट्युरी खानु पर्ने अभागी ज्यान त छँदै थियो, कहाँको अंग्रेजी थपिदिए झनै । मिनिङको शुद्धो उच्चारण गर्न नजानेर जोकर बन्नुसम्म त ठिकै थियो, असारको परीक्षाको केही हप्ताअघि साफ कुटाई खाएँ । अंग्रेजी पढाउने सरले त्यसदिन ५० वटा मिनिङको गृहकार्य दिएको थियो । सबै कन्ठस्थ पारियो तर क्लासमा जब भन्ने पालो आयो केही मिनिङको अर्थ तलमाथि पर्न गई त हाल्यो । बस् ! त्यतिबेलाको अंग्रेजी सरलाई के चाहियो र ? बनमाराको चारहात जति लामो सिर्कना एकबित्ताको नबनेसम्म दुई हातमा बजारि रह्यो । त्यो दिन ज्वरो फुटेर म मुस्किलले घर पुगेको थिएँ । सायद हेडसरले सिटामोल नख्वाएको भए म स्कूलमै ढल्थें हुँला ।

मभन्दा धेरै मिनिङ बिगार्ने साथीहरुले कम कुटाई खाए । उनीहरु चुईक्क नगरी हात थाप्ने गथ्र्यो । ‘सरी सर, सरी सर’ मात्र भन्थे । म अलि कहालिएछु । हातमा सिर्कना बज्रदैपिच्छे जोडले कराउँथें । त्यसमाथि पीडाको धुनमा ‘सरी सर’ भनेर अंग्रेजी भाषामा माफ माग्नुपर्नेमा आफ्नै भाषामा अनुनय विनय गरेछु । ‘अंग्रेजी सिक्छस् होला भनेको त गाई खाने भाषा पो बोल्छस्, तँलाई…’, अंग्रेजी सरको कन्सिरी नतात्ने कुरै आएन । हुन पनि उनको स्थानबाट हेर्दा स्वभाविक हो । अंग्रेजी भाषामा विद्यार्थी कमजोर भयो भने विद्यालय व्यवस्थापनको सबै अपजसको टोकुवा खेप्नुपर्छ उनले ।

अब चाहि मैले स्कूल छाड्ने अन्तिम निधो नै गरें । मलाई कता कता आफ्नो भाई (कान्छा काकाको जेठा छोरा)को सम्झना आयो । बुबा आमाले स्कुल पठाउँदा उ रुँदै भन्ने गथ्र्यो, ‘मेरो बुबा ! मेरी आमा ! ठूलो भएर मैले तपाईहरुलाई राम्ररी पाल्न सकून् र मैले खुशीसाथ जिन्दगी बिताउन् भन्ने न तपाईहरुको विचार हो । यसो हो भने म बाँच्न चाहन्छु । स्कूल गयो भने म बाँच्न सक्दिनँ । म मर्छु ।’

‘बिन्ति मेरो बाबाआमा !’ उ रुँदै भन्ने गथ्र्यो, ‘म हलो बनाउन सिक्छु । खेत जोत्न सिक्छु । घाँस काट्न सिक्छु । राम्ररी खेती गर्न सिक्छु । तपाईहरुलाई दुखजेलो लागेको यो काम मलाई कति सजिलो लाग्छ । तपाईहरुलाई सजिलो लागेको पढाई लेखाईको काम मेरो लागि भूतजस्तै डरलाग्दो छ ।’ यो कारुणिक बिन्तिपछि उनले साँच्चिकै कहिल्यै स्कूल जानु परेन र खेतीपातितर्फ लाग्यो ।

यो सबै दृष्य देखेको मैले उनैको सिको गरें । हजुरआमासँग बिन्ति बिसाएँ, ‘हो, हजुरआमा ! म अब स्कूल जान्न । बरु म तपाईको दास बनेर बस्छु ।’

हजुरआमा रुनुभयो । मलाई लाग्यो, सरले मलाई कुटेको कुरो सुनेर हजुरआमाको चित्त दुख्यो होला ! मेरो दुबै हत्केलालाई आफ्नो हत्केलामा लिएर हजुरआमाले मायालुपूर्वक सुमसुम्याएर ओल्टाई पल्टाई हेर्नुभयो । मनमनै म खुशी थिए किनकि सोच्दै थिएँ, हजुरआमाले भन्नुहुने छिन् कि अब कसाहीको जस्तो मन भएको सरको लाठी खान स्कूल जान पर्नेछैन । म पनि अबदेखि भाइजस्तै स्कूल जान नपर्ने गरी स्वतन्त्र हुनेछु ।

‘लौ मेरो हात हेर त !’ हजुरआमाले आफ्नो दुवै हत्केला फैलाएर भन्नुभयो । हेर्यौ ? के देख्यौ ?’

‘तपाईको हात पटपटी फुटेको छ ।’ मैले भने ।

‘हो ठिक भन्यौ । श्रम गर्नेहरुको हात खडेरीले सुकेको खेतको माटोजस्तै चिराचिरा मात्र हैन खस्रो पनि हुन्छ । ढुङ्गाजस्तै सारो हुन्छ । न यो हातलाई घाँस काट्दा काँढाले घोच्ला कि भन्ने चिन्ताले छोप्नको लागि पन्जा चाहिन्छ, न त ठेला उठ्छ कि भन्ने पीर नै हुन्छ ।’ मामले भन्नुभयो, ‘तिम्रो हात कति नरम छ, याद गरेका छौं ?’

‘नरम छ, नरम छ’, मैले भने, ‘माम ! मेरो हात त धेरै नरम छ । तपाईको जस्तो छैन ।’

‘हो तिम्रो हातलाई काम गर्न, श्रम गर्न अल्छि लाग्छ ।’ मामले भन्नुभयो, ‘सरले हिजो तिम्रो हत्केला चिराचिरा हुने गरि पिटेको सजायँ दिएको होईन नानी ! श्रम गर्न सिकाएको हो । तिमी स्कूलेहरुको खेतबारी भनेकै कपीकलम हो । त्यसमा तिमीले जति मिहेनत गरेर हात घोट्छौ, दिमाग लगाउँछौ, उति नै धेरै उन्नति हुन्छ । तिमीले आफ्नो कर्तव्यप्रति श्रम देखाउँदैन, पसिना बगाउँदैन भने जुनसुकै काम गरे पनि उँभो लाग्दैन ।’ यो घटनापछि मैले कहिल्यै स्कूलको विषयलाई लिएर मामसँग गुनासो पोखिन । मामले भन्नुभए जस्तै पढाईमा लगाव बढाएँ । लद्दु विद्यार्थीबाट मेधावी विद्यार्थी बनें । पाँच कक्षादेखि मास्तिर एसएलसीसम्म क्लासको पहिलो कि त दोस्रो विद्यार्थी बनिरहें ।

एसएलसी दिईसकेपछि म मावली छाडेर घरतिर जाने तरखरमा थियो । मामले भन्नुभयो, ‘बगेको खोलाजस्तै… तिमी कहिल्यै फर्किन्नौ होला ! अब त सम्झना मात्र हुने भो, यो मामको छातीभरी ।’

‘हैन माम ! म त्यस्तोविधि निस्ठुरी बन्दिनँ । म आईरहने छु मामकोमा ।’ मैले भने ।

‘हैन, हैन । अब तिमीले साँच्चिकै माया मार्नेछौ ।’ मामले मेरो कुरो पत्याउनुभएन ।

जिन्दगी सोचेजस्तो सरल रेखामा हिड्दो रहेनछ । आखिर छुट्टिने बेलाको मामको दावा सही निस्कियो । माम र मेरो कहिल्यै भेट भएन । नदीको दुईकिनारा जस्तो एकले अर्कोलाई देख्दादेख्दै, हेर्दाहेर्दै… ।

कान्छा मामाको फेसबुकवालको सूचना र सम्धी साजनको म्यासेन्जरमा खबर हेरेपछि मामको अनुहार सम्झनाको तरेलीमा झन नजिक, झन गाढा भएर आउन थाल्यो । र, सम्झिएँ– जिन्दगीमा स्कूल नटेकेकी मेरी हजुरआमासँग स्कूलप्रति बेआकर्षित बालमनोविज्ञान बोकेका बालकलाई आकर्षण दिने त्यो गजबको आईडियाहरु कहाँबाट आएको होला ? शिक्षकले दिने सजायबाट त्रसिद बालमनोविज्ञानलाई सजिलै समाधान गर्ने उपाय उहाँले कसरी कथ्न सकेको होला ? उहाँ नभएको भए सायद मैले पनि मेरै भाइले झैं स्कूलै टेक्न नपाउने दुर्दशा भोग्नु पो पथ्र्यो कि ! धन्न त्यो अद्भूत क्षमताकी माम पाएँ र त दुनियाँलाई हेर्न पाएँ । कहिल्यै तिरेर तिर्न नसक्ने यो गुणप्रति ऋणी हुँदै हार्दिक श्रद्धान्जली माम !

त्यसरी उहाँकै काखमा हुर्केर पनि मैले मामको जीवनको आखिरितिर भेट गर्न सकिनँ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका