सञ्चारमाध्यमहरूमा प्रयोग भएकै थिएन- क्वारेन्टाइन, आइसोलेशन, कन्ट्याक्ट ट्रेस, लकडाउन, सोसल डिस्टेन्सजस्ता शब्द । साँच्चै भन्ने हो भने नेपाली जनजिब्रोले टिपेकै थिएन भन्दा पनि हुन्छ यी अभोग शब्दहरू । कोरोनाबारे अनेकन् अनिश्चितता, अन्योल र अफवाह त छँदै थिए, राजधानी पनि धेरथोर गर्माएको थियो हल्लाहरूले । कानै टट्टाउने गरी लगातार चिच्याउँदै थिए शिक्षामन्त्री गिरिराजमणि पोखरेल– ‘हेल्थ डेस्क राखेरै किन नहोस् सम्पन्न गरिन्छ एसईई ।’ उनको कुरा सुन्दा लाग्थ्यो-मन्त्रीजी आफ्नो जिम्मवारीप्रति कटिबद्ध छन् ।
२०७६ चैत्र ५ गतेसम्म सामान्य जनजीवनमा आनको तान बदलाव आउने कल्पना गरेका थिएनन् कसैले । भोलिपल्टै आरम्भ हुँदै थियो- विद्यार्थीहरूको ‘फलामे ढोका’ भनिने एसईई परीक्षा । अनयासै (५ गते अपराह्न) परीक्षा स्थगन भएको खबर सुनियो । दुई तिहाइको सरकारको दूरदर्शीता राम्रैसित उदाङ्गियो, परीक्षा स्थगनको घोषणाले ।
परीक्षामा हुने नै भएपनि आफ्नो उल्लेख्य भूमिका नभएकै कारण हल्लैहल्लाको शहर छाडेर एकैरात किन नहोस् टाढिने निष्कर्षमा पुगेको थिएँ म ।
नियात्राकार राजेन्द्रमान डंगोलले पहिले नै यात्राको गन्तव्य जुराइसकेका रहेछन्– हेलम्बुको तार्केघ्याङ । ट्रेकिङ व्यवसायी भएकोले उनको कर्मक्षेत्र पनि हो– हेलम्बु । एकातिर हेलम्बुसित गाँसेको सम्बन्ध नविकरण गर्ने र अर्कोतिर नयाँ सहयात्रीसँग रमाइलो विचरण गर्न पनि सकिने । हेलम्बुको चिरपरिचित मनहरूमा मायाको जलप लगाउन चाहन्थे सायद उनी । ‘पशुपतिको जात्रा सिद्राको ब्यापार’ गर्दै थिए उनी ।
मैले विरलै सुनेको नाम थियो- हेलम्बु । लाग्यो- पाहुनाको निहुँ, आफूलाई पनि घिउ । विनाकुनै थप तर्क नगरी स्विकारेँ उनको घुमफिर प्रस्ताव ।
० ० ०
चारजनाको टोली हाम्रो । काठमाडौँबाट प्रस्थान गरेको आधा घण्टामै पुगिसकेका थियौँ सुन्दरीजलको बराहचोक । सही सूचनाको अभावमा तिनचोटी त बराहचोककै फेरो मारिरह्यौँ । बाटोले हामीलाई चिनेको हो कि हामीले बाटो चिनेको हो । मुलखर्क पुगेपछि थाहा भयो, हामीले समातेको बाटो सही रहेछ । अहिले सम्झदा पनि हाँसो लाग्छ । ‘एकछिन आराम दिउँ न त बाइकलाई !’ चालक राजेन्द्रमानले रोकिए । बहानामा चिया पिउने । विश्राम पनि हुने, चियापान पनि हुने । एक पन्थ दो काज !
घना जङ्गलभित्र उकेरा लगाएको कच्ची सडकमार्गमा गुडिरहेका थियौँ हामी । १,३५० देखि २,७३२ मिटर उचाइमा अवस्थित राजधानी नजिकको एउटैमात्र निकुञ्ज– शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज । २०५८ सालमा स्थापित १४४ वर्ग किलोमिटरमा विस्तारित शिवपुरी राष्ट्रिय निकुञ्ज २०६५ सालमा १५ किलोमिटर क्षेत्रफल ओगटेको नागार्जुन क्षेत्र पनि गाभिएपछि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा रूपान्तरित भएको थियो । उतिस, चिलाउने, काफल, खर्सु, मुसुरेकटुस र रानीसल्लाले निरन्तर चियाइरहे हामीलाई । सलक्क परेका सल्लाका वृक्षहरूले सलाम गरिरहेझैं भान हुन्यो । किञ्चित झुकेर स्वागत गरथे हाम्रो आगमनलाई, मेललगायतका फक्रदा श्वेत सुमनहरूले ।
एकनासले गुडेका भटभटेमा उकालिँदै जाँदा पुड्का देखिँदैछन्, क्षितिज छोएका अग्लाअग्ला गिरि, थुम र टाकुरा । अल्पिँदैछ कोरोनाले काफरे बनेको कान्तिपुर खाल्डो । जीवनको सुरम्य घुम्तीमा पुगेका छौँ हामी, घमाइलो घुमफिरको दर्मियानमा । क्षितिज चुम्दैछ घाम र सुनौला बन्दैछन् सौर्यरश्मि । कहालीलाग्दो कोलाहलबाट टाढिँदैछौं हामी चार थान उन्मुक्त यायावर । न नपुगी नहुने गन्तव्य, न पुग्नैपर्ने भूगोल । उठ् जोगी फड्कार छाला, जता जाला भातै खाला भनेझैँ ! अस्पष्ट कुहूकुहू सुनिन्छ नेपथ्यतिर यदाकदा । एकाध भटभटे र चार पाङ्ग्रे गुडिरहेको उच्चाटिलो आवाज र तिनले उत्पन्न गरेको कुहिरीमण्डलको धुवाँको रजाइँ छ धुलेमार्गमा ।
त्यसो त यात्राको पृथक वैविध्य छ– पंक्षीप्रेमी जयनाथ हुन् वा रङ्गकर्मी पुरु या उम्दा नियात्राकार राजेन्द्रमान । पृथक सामर्थ्य छन् सबैका, त्यो पनि प्रचुर मात्रामा ।
राजेन्द्रमानले चोरीऔँलो तेर्स्याएर भने– ‘उः त्यो झुले, यही बाटो गरी पुगिन्छ नगरकोट । भोली मेसो मिलेछ भने हामी जाने ।’ पर्यटन व्यवसायमा दशकौं खर्चेका उनले पाइला नराखेका भूगोल कमै छन् ।
‘चिमाल पो रहेछ त ?’ अर्धमुदित सेता सुमन इङ्गित गर्दै सोधेँ मैले । ‘यो चिमाल नै चाहिँ होइन, ठ्याक्कै चिमालजस्तै भने हो । चिमालको वन नै हेरौँला, धैर्य त गर्नुस् !’ राजेन्द्रमानको सटीक जवाफ । मेरो उत्सुकताले धैर्यताको बाँध नै टुटिसकेको छनक दिन्थ्यो उनलाई सायद । किञ्चित लज्जाबोध भएथ्यो मलाई तत्क्षण ।
चन्द्रागिरीको चुचुरो ताकेर घिस्रिरहेको घाम एक निमेष टक्क अडिएको आभास भयो झुले झर्ने देउरालीको त्यो दोबाटोमा । उनीसँग गफिँदागफिँदै ओझेलिसकेछ उपत्यका । गोचर भयो चिसापानी ।
काँधमा हिउँको भारी बोकेर चिसापानी अवलोकन गरिरहेका लाङ्टाङ र दोर्जेलाक्पाले पनि देख्यो हामीलाई । सिन्धुपाल्चोक र नुवाकोटको साझा चौतारी हो– चिसापानी । महाभूकम्पको पाँचौं वर्षमा पनि रतिभर तंग्रन नसकेको राजधानीको पूर्वोत्तर माथ । आलै छन्, त्यहाँ पिलिएका चोटहरू । खाटा बस्न र खतमात्र देखिन त दर्जनौं शरद कुर्नुपर्ने आँकलन गरियो । कङ्काल भग्न अवशेषहरु यत्रतत्र छिरोलिएका छन्, दर्दनाक अवस्थामा मानौँ भर्खरै तहसनहस बनेका हुन् यी संरचनाहरु ।
दुई चार थान तस्वीर लिएर बाटो तताउने जमर्को गर्दैगर्दा एक वृद्धा होटलवाल्नी हामीलाई त्यतै बास बसाउन यथेष्ट प्रयत्न गर्छिन् । हठात् याद आउँछन् निकट अतितमा भुक्तभोगी मित्रहरूको शिकायत मेरो दिलदिमागमा । फिरङ्गीहरूको राइँदाँंइ चल्ने र आन्तरिक पाहुनालाई फुटेको आँखाले हेर्न नरूचाउने स्थानीय व्यवसायीहरूको ढोनेसो पनि कोरोनाले लट्ठीले पिटिक्कै भाँचेछ । लाग्यो, दर्दैदर्दको उरूङमा दारुण यात्रा गर्न विवश छन्। अचेल यहाँका व्यवसायीहरू । दृश्यले भरङ्गियो मन तत्क्षण ।
न सवारीको अधिक चाप, न कल्पेझैं ज्यास्ती छारो । बेहिसाब धर्सैधर्सा धराको छातीमा । अनगिन्ती दोबाटा र चौरस्ताले नौला फिरन्तेलाई फिक्रीमात्र, भलै वासन्ती
भलै वासन्ती कान्तिको आभा फिँजाइरहेका किन नहुन् निकुञ्जभरि सौरभित सुमनहरू । अचानक याद आउँछ बालवयमा गाइएको लोरी–
‘काफलगेडी कुटुक्क,
निदाइजाऊ लुटुक्क…..’
हेर्छु वरपर, सलक्क परेका सल्लाका वृक्षहरू । लाग्छ, सलाम गरिरहेका छन्, यसो झुकेर यिनले हामीजस्तै यायावरलाई । जयनाथको भटभटे हँकाइ हेर्दा झ्वाट्ट स्मृतिचित्रमा आउँछ गायक उदित नारायणको गीत–
‘उकालीमा पछिपछि
ओरालीमा अघिअघि
यो केटा के भा’को…..’
बेगिन्ती उबडखाबड, पच्याङ छिचोल्दै र ठाउँठाउँमा बाटो बिराउँदै पुगियो, १,७४६ मिटर उचाईमा अवस्थित पाटीभञ्ज्याङ । निकै नै अर्ना्लिएकाले योजना बन्छ अर्नीको । चाउचाउ उमाल्न अनुरोध गरिन्छ स्थानीय भट्टी पसल्नीलाई ।
सन्नाटा चिर्ने मेलोस्वरूप पुरु माग्छन् उनको परिचय । मन्द मुस्कान छर्दै परिचय दिन्छिन् साहुनी- ‘उमा श्रेष्ठ ।’ ‘लवाइ र लवज त्यस्तो लाग्दैन त ।’ आशङ्का व्यक्त पुरुले । ‘माइती थपलिया हो नि त ।’ खुलेरै भन्छिन् उनी । बल्ल सन्तुष्ट भयौं हामी उनको लवज र लवाइको तादात्म्यले ।
कुरैकुरामा बुत्तिइसकेछ तीन पोका चाउचाउ चारजना फिरन्तेद्वारा । अर्नीपश्चात् हामीले सोध्यौँ साहुनीलाई बाटो । उनले भनिन्– ‘बायाँ जाने सडक कुटुमसाङ जान्छ र लाग्छ एक डेढ घण्टा ।’ दुई तीन किलोमिटर उबडखाबड चट्टानीमार्ग उक्लेपछि एक स्थानीयले भन्छन् ‘डेढ दुई घण्टा लाग्छ ।’ भरोसालाग्दो सूचना पाउन सकिएन ।
० ० ०
त्यही दिन तार्केघ्याङ जाने भन्ने योजना तुहिएपछि भटभटे बत्तियो ओरालोतिर फेरि उही पाटीभञ्ज्याङकै ढाड टेकेर । त्यसो त उकालिन अस्वीकार गर्दै थियो भटभटेले पनि । ओरालिँदै गर्दा नजरमा आए प्रकृतिको सप्तरङ्गी संरचना । ओसिलो आवहबा, मलिला चौंडिला सुर्काहरूमा मल्किएको गहुँ र आलु । छरपष्ट बस्ती, ऐक्यबद्ध चेत । होचिएका घर, अग्लिएका श्रमजीवी कद ।
धर्कैधर्का धुले सडकका । भटभटेले उडाएकै धुलोसित लुकामारी खेल्ने सौभाग्य पायौँ हामीले । आँकलन गर्न हम्मे थिएन स्थानीय तहको नेता र ठेकेदारहरूको कार्यशैली । आम्मै ! धुले सडक जत्तिको ध्यानुगाई कहाँ पाउनु उनीहरूले ! यो वर्ष डोजर चलायो । अर्को वर्ष पैरो सफा गर्यो । अझ अर्को वर्ष कुलेसा निर्माण भन्यो । झन् अर्को वर्ष मर्मत र ग्राभलिङ । फेरि अर्को निर्वाचनमा आफूले थालनी गरेका योजना थला नपरून् भनेर टिकटमा दलाली र नोटका बिटाले उपल्लो स्तरका नेताको थुतुनो चड्काएपछि प्रत्याशी पक्का । यसो दारुपानी र सितनलाई हप्ता दिन जति चलाइदिएपछि विजयमाला पनि पक्काजस्तै ! आखिर देखिएकै कुरा त हो यो ! यस्तैयस्तै कुराहरू रिँगारपाटो लागिरहेको थियो मेरो मथिंलमा ।
सडकको दायाँ र बायाँ मल्किएको रबीबाली देखेपछि हठात् खप्परमा हान्यो– ‘पसिना शक्ति हो, महाधन हो । कल्पनाले मात्र हुन्न गर्नैपर्छ परिश्रम’ भन्ने स्पेन्सरको कथनले । पहाडहरू मेरै भाइहरूझैं लाग्छ भन्ने महाकवि देवकोटालाई त नसम्झने कुरै भएन । भान भयो– प्रकृतिको पुस्तक ग्यालिलियोले भनेझैँ गणितीय भाषामा लेखिएको हुँदोरहेछ । हिसाब भन्नासाथ भयको पिसाब आउनेले त्यो भाषा के गरी बुझ्नू ! चक्करायो दिमाग एक क्षण ।
पिप्ले पुग्नुअगावै मुल्किएको मेलम्ची खानेपानी आयोजनाको एक द्वार । मेलम्ची खानेपानी आयोजना काकाकुल राजधानीको घाँटी भिजाउने लामो अवधिसम्म देखेको तर ऐंठनमा रूपान्तरित हुँदै गरेको साझा सपना । इटालेली ठेकेदार कम्पनी सीएमसी दी रेभेनाले छरपष्ट पारेको सपना । जब अम्बाथान, ग्यालथुम र सिन्धुको कुल १४ किमि सुरूङको बाँकी कामलाई मझधारमा बेवारिसे पारेर सुइँकुच्चा ठोक्यो सीएमसी तब त्यो सिनोसरि काम सम्हाल्ने कसम खायो सिनो हाइड्रोले । एक स्थानीयले निर्माणस्थलमै जानकारी गराए– ‘दुई महिनामा सकिन्छ सुरुङमार्गको बाँकी अंश ।’ जवाफले भरमार आशावादी बनायो हामीलाई । दुई चार थान तस्वीर लिएर बाटो तताउने जमर्को गर्यौं ।
निमेषभरमै पुगिएछ पिप्ले, धुलोमा बाँकटे हान्दै । राजेन्द्रमान र जयनाथको तिर्खाएको भटभटेलाई पेट्रोलको पिलाउनु थियोे । कुरीकुरी लाग्ने किसिमको थियो, बोत्तलमा भरेर राखिएको मूल्य । बाध्यता भएपछि किन्नै पर्दोरहेछ । एकाएक अलप हुन्छन् उपभोग्य बस्तुहरू नाकाबन्दी वा बन्दाबन्दीको सुइँको पाउँदा । त्यसपछि त व्यापारीहरूको एकाधिकार सुरु भइगो । यसबारे ओठ सिलाएर बस्छ सम्बन्धित निकाय । तैँ चुप मै चुप यत्रतत्र । देशै चलाउने सारथि त यस्तो वितण्डाबाट दूर हुन सकेनन् भने सेतो बजार कालाम्मे बन्नु त के अनर्थ भयो र ?
परिभ्रमणको ऊर्जालाई चितामा पुर्याउँथ्यो चिन्ताले । ‘मनमा शोक, जिउमा रोग’ त सर्वथा अनुचित कुरा हो । ओरालो लाग्नुपर्ने नै थियो, लागिरहेका थियौँ । बातचितमा बितेको समय थाहै भएन । नजिकै आयो जगमग्ग क्षेत्र । अड्कल काटे राजेन्द्रमानले– त्यही हुनुपर्छ मेलम्ची । अँध्यारोको साम्राज्यले जिप्ट्याएछ उनलाई । बाहुनेपाटी पो रहेछ ! फिस्स हाँस्दै बोलें म ।
‘साढे चार किलोमिटर मात्रै हो यहाँबाट ।’ सडक छेउ उभिएका एक स्थानीयले देब्रेतर्फ देखाएर भने । आभार प्रकट गरेँ मैले । नभन्दै सही सावित भए उनी हाम्रो नजरमा ।
‘बाइरोडको बाटोमा धूलो उडाउँदै …….’ भन्ने गीत स्मृति चित्रमा सजाउँदा सजाउँदै देखिए मेलम्ची लेखिएका रङ्गीबिरङ्गी बोर्डहरू ।
नजरमा झ्याप्पै पर्यो होटल पाँचपोखरी । पौराणिक कालमा विश्वामित्र ऋृषिको तपोवन हो पाँचपोखरी । भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड गरी पाँच वटा कुण्डहरूको सामूहिक पहिचान हो पाँचपोखरी । ४,६०६ मिटर उचाइमा अवस्थित पाँचपोखरीको परिक्रमा गरे पापमोचन हुने र चिताएको कुरा पुग्ने जनविश्वास पनि अद्यापि छँदैछ । यही गौर प्रभावका कारण मैले उही होटलमा बस्न प्रस्ताव राखेँ । विमति जनाएनन् कसैले ।
पसियो गेटबाट र हेरियो रात छिचोल्ने बसाइँ । स्वभाविक मोलतोल भयो कोठाको । साहुनीको मुन्टोको हाउभाउ देख्दा हाम्रो प्रस्ताव स्वीकारेझैँ लागेको थियो । त्यो त उनको ग्राहक नउम्काउने काइदा पो रहेछ ! बिहान बिल तिर्दा पो थाहा पाइयो कोठाको भाउ । ब्यापार गर्न चाहिँ जानेका ! मानेँ मैले ।
गर्मीले हरक आइसकेको माछाको पनि सात सय रुपैयाँ ? झण्डै सात्तो गएन हाम्रो । उनै पशुपति शर्मालाई सम्झिनुको विकल्प थिएन हामीसँग लुटिएको अनुभूति शमन गर्न ।
० ० ०
बसपार्क छेउको होटल । बास्न थालिसकेका थिए बसहरू बिहानदेखि नै । त्यो कर्कश ध्वनिले प्रदूषित बनाइरहेको थियो मेलम्ची बजारलाई । थप बसाइँ लम्बिनु भनेको ज्यानलाई थप थिलथिलो बन्नु थियो । यही निचोडका साथ सुरू भयो दोस्रो दिनको यात्रा ।
विचरणको प्रारम्भमै भेटिए गिरी थरका एक स्थानीय । पाल्चोक भगवतीको दर्शन छुटाउन नहुने भनी सुझाए उनले । उनको सल्लाह शिरोपर गर्यौँ हामीले । मेलम्ची र इन्द्रावतीको दोभानमा निर्मित पुल तरी उकालिइयौँ हामी । युद्धस्तरमा निर्माण हुँदै गरेको सडक उकालिँदै गर्दा गोचर भए मनमोहक दृश्यहरू यत्रतत्र । हरिया रबी बालीका तरेली, पातला बस्ती, आकर्षक आबहवा । लोभ्यायो मन यी वैशिष्ट्यले ।
हरियाली पाखा पखेराहरूको दृश्य आस्वादन गर्दागर्दै दुवाचौर पो पुगिएछ । अर्का दुई थान सहयात्रीको प्रतीक्षा गर्न र समाजको सूचना सङ्कलन पनि गर्न विश्राम उत्कृष्ट अवसर भएथ्यो त्यो बेला । आशाको सञ्चार गरे हामीलाई फलफूल, बालीनाली र पशुपालनमा रमाएका स्थानीयले । उनीहरूका खुसीको तरङ्गमा तरङ्गिएथ्यौँ हामी पनि ।
आन्तरिक तथा बाह्य पर्यटकको बासबाट मनग्य आम्दानी गर्न सक्ने सम्भाव्यता बोकेको छ दुवाचौरले । मनमा लागिरहेको थियो– पर्यटकीय गन्तव्य बनेपछि यहाँका होटल पनि मेलम्ची बजारकै होटल पाँचपोखरीजस्तै हुने त हो नि !
दुई भटभटेमा आरूढ चार फिरन्ते अघि बढ्यौँ दुवाचौरबाट पाल्चोक भेट्न । पहिलो पटक सुनेको पाल्चोक भगवतीबारे जान्ने हुटहुटीका साथ देवल परिसर पुगेका हामीले भेटिहाल्यौं कर्णबहादुर खड्कालाई ।
बढारिराखेको खरेटो फुत्त फ्याँकेर बेलीविस्तार लगाउन थाले उनले- ‘जङ्गल बिराउने क्रममा पोथ्रापोथ्री छिमल्दै गर्दा एउटा रुखको जराबाट दूध र त्यहीँनिरको अर्कोबाट ह्वालह्वाल रगत निस्कन थालेपछि स्तब्ध भए जिजुहरू । लख काटे यो त ईश्वरीय शक्तिको करामत हो । उतिबेलै वरपरका बासिन्दा मूलतः तामाङ, बाहुन, क्षेत्री, गिरी, पुरी आदि एकट्ठा भए । बृहत् छलफल र बहसपश्चात् तामाङले राँगो काट्ने, खड्काले बाँकी पशुपक्षी मार हान्ने, गिरीले पूजाआजा गर्ने भन्ने तय भएछ । त्यतिमात्र होइन, खड्काले नौ दिनसम्म एकै ठाउँमा लम्पसार उत्तानो परी सुतेर छातीमा जमरा उमार्ने जिम्मेवारी लिए । बडादशैंको नवमीको दिनमा विशाल मेला लाग्न पनि सुरू भयो ।’
उनले अगाडि थपे- ‘गुठी पूर्णिमाको दिन प्रत्येक गुठियारलाई कटुवाल कराएरै निम्ता गर्ने र भतेर खुवाउने प्रचलन छ यहाँ ।’
खुसी लाग्यो रितिपरम्पराको निरन्तरता सुन्न पाउँदा । उनले अनेक कालखण्डमा मन्दिरमा भएको हालीमुहाली र ब्रह्मलुटका किस्सा सुनाउन भ्याए । उनले शक्तिपीठको पीडा बकिरहँदा भने निर्लज्ज मनोमानी, नातावाद र कृपावादले खोक्र्याएको देशको सग्लो मानचित्र मेरोसामु खडा भइरहेको थियो ।
० ० ०
पाल्चोक भगवतीको देवलमा आइपुग्दा जिल्लाको नामकरणबारे चासो नदिनु न्यायोचित लागेन । कुरा के रहेछ भने यो जिल्लाको भू–भागभित्र आठवटा थुम (चौतारा, तौथली, नवलपुर, पाल्चोक, फुल्पिङ्कोट, लिस्ती, सिन्धु र सिपा) मध्ये सिन्धु र पाल्चोक थुमको संयुक्त नामबाट सिन्धुपाल्चोक रहन गयो भन्ने भारी मत तथा सिन्धुखोला र पाल्चोक भगवतीको नामबाट जिल्लाको नामकरण भयो भन्ने झिनो मत भेटियो । किन्तु दुवै खाले मत उत्तिकै दमदार लागे ।
विपुल प्राकृतिक सुन्दरता, सैलुङ र खर्कहरूको मितेरी, लाङ्टाङ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आधारभूमि साथै गौरीशङ्कर संरक्षण क्षेत्रको तृणभूमि । दोर्जेलाक्पा, लाङ्पोघ्याङ, ग्याल्जेन र लेडिज पीकजस्ता विख्यात हिमशैलहरू । सिन्धु, मेलम्ची, बलेफी, इन्द्रावती, भोटेकोशी, सुनकोशीजस्ता अविरल नदीहरूको सिञ्चन । यस्तै यस्तै विविधताले भरिपूर्ण जिल्ला ।
०००
उदरमा दौडिरहेका मुसालाई नजिकैको चमेनागृहको प्रसाद अर्पण गरि हानियौँ सेर्माथाङलाई गन्तव्य बनाएर । बाटो भन्न कुरीकुरी लाग्ने बाटोमा चिप्लिरहेछौं भटभटेको कान निमोठ्दै । माहिर छन्, राजेन्द्रमान यस्तो कुरामा जति सिद्धहस्त छन् नियात्रा लेखनीमा । ककनीको सरहदभित्र सर्वनाश पारिएको छ वनबुट्यान । न प्रशासन उपस्थित छ त्यहाँ न स्थानीय तह नै । दरबार बनाउने धुनमा अलमस्त त छैनन् गाउँका लोकल सिंहहरू ? अचानक आशङ्का उब्ज्यो मनको अन्तरकुन्तरमा । बेहिसाब छन् यसखाले परिघटना ।
निकै सतर्कतापूर्वक परिचय गराए राजेन्द्रमानले ककनी भञ्ज्याङ । स-सानो हरित शिखरको माथ । सानै किन नहोस् संगति मिलेको बस्ती । नजिकै लुङ्ता र लुङ्दरहरूको उन्मुक्त नृत्य र बेलगाम फरफराहट । सगरको सेक मुन्तिरको मनोहर टाकुरो । ककनी जहाँसुकै किन नहुन् यस्तै सुन्दरताका विम्ब हुँदारहेछन् भन्ने सटीक दृष्टान्त । प्रकृतिका कोटिकोटि भाषा हुनाले सम्वाद गर्न सकस हुँदै गर्दा नेपथ्यतिर सुनिन्थ्यो पन्छीहरूको कुहूकुहू र काफल पाक्यो…..! अर्थात् प्रकृतिको दुर्लभ भाषा ।
उता सगरको काखमा लुकामारी गरिरहेछन् बादलका केही लाप्साहरू । कहिले धरामा ओझेल पार्छन् त कहिले निराकार रूप धारण गर्छन् । अनि विलुप्त हुन्छन् क्षणभरमै । यात्राको लय र प्रकृतिको तान मिलाउने लेठो पनि गरेका छैनौं । ‘सुस्तरी अघि बढ्नू तर नसुस्ताउनू जथाभावी’ झन्कृत भइरहेछ पाको पुस्ताको अर्ती । यही बान्की पक्रँदै गर्दा डाँडाको टाकुरामा टुसुक्क बसेको प्रतिमा गोचर भयो । हतपत राजेन्द्रजीले भनिहाले– ‘पद्मसम्भवको प्रतिमा हो यो ।’ उनले गरेको पद्मसम्भवबारेको जनश्रुती भने पक्रन सकेन मेरो बोधो खप्परले ।
अलिक पर जंगलको मुन्तिर गजधुम्म थियो भूकम्पले छाती दारेको मन्त्रमुग्ध पार्ने साङाग छ्योलिड गुम्बा । रंगहरूको बेजोड तालमेल । कलाको अनुपम नमुना । रङ्गीबिरङ्गी लुङ्ता र लुङ्दरहरूको स्वच्छन्द फरफराहट । न कुनै छेकोभाँजो न कुनै संकोच । एक स्थानीयका अनुसार उद्घाटन गरिएको दुई साताभित्रै अर्ध–खण्डहरमा रूपान्तरित भयो त्यो फिरन्तेसमेत मोहित पार्ने अमूल्य धार्मिक सम्पदा ।
कुरैकुरामा समय चिप्लेको पत्तै भएन । ‘आलस्य जीवित व्यक्तिका निम्ति मृत्युसमान हो’ भन्ने टेलरको भनाइ याद आयो अकस्मात । जर्याकजुरुक उठेर हिँड्यो चार थान यायावरको टोली । गन्तव्य थियो सेर्माथाङ । ‘छेर्मान्थाङ’ अर्थात् स्थानीय भाषामा ‘काँडाघारी’ । शीत ओडेको चक्रेटो, सौर्यरश्मि पोतिएको सेर्माथाङको शिर । मोहनीमन्त्र भएकी बहुरानीझैं । उही बादलमा वज्र, उही बादलमा बिजुली भनेझैँ अभावको भूगोल उही, आकर्षक सम्पदाको खानी पनि उही ।
सेर्माथाङ पुग्नासाथ हाम्रा नजर सबैभन्दा पहिले निर्माणाधीन विशालकाय पर्खालमा पर्यो । स्थानीय फुर्बा लामाले यो हिमालयन सम्पदा मार्गलाई नेपाली ग्रेटवालको संज्ञा दिए । त्यसपछि फनफनी घुम्यो मस्तिष्कमा ग्रेटवालको सपाट संरचना । चू राज्यका राजा चङले निर्माण सुरू गरेको ग्रेटवालका अनेकानेक किस्सा छन् । पचासौं लाख कर्मवीरहरूको रगत पसिना बगेको ग्रेटवाल लियाउनिङ प्रान्तको यालु नदीको किनारबाट सुरू भई गान्सु प्रान्तको जियाउग्वानमा टुङ्गिएको छ । भत्केको भाग कटाउँदा यसको कुल लम्बाइ ६,३५० किलोमिटर रहेको छ । नेपाली ग्रेटवालको किस्सा भने किञ्चित भिन्न छ । जम्माजम्मी ६० किलोमिटर लामो निर्माणाधीन विशालकाय पर्खाल बुद्ध पार्कबाट अघि बढी पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमीसिदाङ, पेम्थाङ, ढुम्चु, आमायाङ्ग्री, ज्योमोथाङ, सेर्माथाङ, नागीडाँडालाई समेटेर घोप्टेघ्याङमा टुङ्गिनेछ ।
यो पदमार्ग पर्खालको न्यूनतम उचाइ २,४०० मि. रहनेछ भने ५,००० मि. भन्दा बढी हुनेछ अधिकतम उचाइ । नुवाकोट र रसुवा जिल्लालाई समेत समेटेको पर्खाल स्लेट ढुङ्गा प्रयोग गरी बनाइएको रहेछ । हरेक खण्डमा दसवटा खुड्किला हुने पदमार्गमा पर्यटक बिसौनी र रातको समयमा सौर्य ऊर्जाको उज्यालो हुनेछ । एक किसिमको कथाझैं लाग्ने महत्वाकांक्षी यो योजना गाउँपालिकाको अग्रसरतामा शुभारम्भ भएको हो ।
मखलेल भयौं हामी पर्खालबारे सुसूचित हुन पाउँदा । चढ्न जतिसुकै सकसपूर्ण किन नहोस् चुली हेर्न मोहनीय हुन्छ भन्ने भान पनि भयो ।
० ० ०
यतिबेला हामी हेलम्बु क्षेत्रको मुटुमा छौं । स्थानीय भाषामा ‘हे’ भनेको आलु र ‘लम्बु’ भनेको मुला । आलु, मुलाको ओइरालो हुने भएकोले नै यो भूगोललाई हेलम्बु भनिएको हुनुपर्छ भन्ने जनश्रुति छ । ह्योल्मोहरुको सघन बस्ती छ यहाँ । ‘ह्योल’ ले हिमालले घेरिएको स्थान र ‘मो’ ले आमायाङ्ग्री अथवा देवीद्वारा रेखदेख गरिएको भन्ने बुझिन्छ । तसर्थ यो बौद्धमार्गीहरुको विशिष्ट तीर्थस्थल हो भन्नेमा कुनै दुबिधा छैन ।
तिम्बुबाट प्रवेश गरी तार्केघ्याङ र मेलम्चीघ्याङको सिङ्गै सेरोफेरो हो हेलम्बु । ह्योल्मो संस्कार र संस्कृतिको विश्वविद्यालय हो हेलम्बु । ‘बाँचे एकै डाँडामा, मरे एकै खोलामा’ झैं छ यहाँको आदिमकालदेखिको परम्परा ।
एकादेशको कथा बनेको हेलम्बुको स्याउ त्यहाँ पुगेपछि ‘कुमालेका गाउँमा हाँडीको दुख’ सरि महसुस भयो । हेलम्बुको आँत रसाएर निस्केको जलले घाँटी भिजाउने आशा पालेर बसेका हामी ओरालियौँ सेर्माथाङबाट ।
ओरालिँदा भिरालो जमिनमा फाट्टफुट्ट घरहरू देखिए । कुनै त एकीकृत बस्ती निर्माण परियोजना अन्तर्गत बनेका गाउँ । एकालाप गरिरह्यो मनले– भीरको घर, खोलाको रूख, रणको सिपाही ! यस्तै सोचमा लीन हुँदाहुँदै आइसकेछ तिम्बु ।
थकाइले थिलथिलो भइसकेको थियो पूरै काया काठमाडौँ आइपुग्दा ।