नगरकोटबाट बन्दीपुर जाँदै थियौँ हामी । नगरकोटको होटल भ्यूप्वइन्टमा बिदा माग्दा रिसेप्सनिष्टले मलाई मोवाईलको मेसेज देखाए । राज र फिफिबीच भएको संवाद थियो मेसेज बक्समा । मेसेजमा लेखिएको थियो- ‘राज ! डन्ट रेकेमेन्ड दिस होटल यनी मोर । भ्यूज सिन फ्रम द होटल आर असम बट द वेटर्स आर याब्सोल्युट्ली नट हस्पिटेबल ।’ मेरो ग्रुप उनीहरूसँग खुसी थिएनन् भन्ने कुरामा म विश्वस्त थिएँ । किनकि अघिल्ला साँझ तातो पानी माग्दा ती वेटरहरुले वेवास्ता गरेका थिए । म आफैँले पनि तीन पटक अनुरोध गरेको थिएँ, एक गिलास तातो पानीको लागि । होटलजस्तो ठाउँमा पानी माग्दा पर्यटकलाई यस्तो खालको ब्यवहार गरिनु सत्कार व्यवसायको परिभाषा, मूल्य र मान्यताभित्र नपर्ने कुरा हो । यसर्थ उनीहरू बेखुसी हुनु अस्वभाविक थिएन । मैले यही कुराको जानकारी गराएँ रिसेप्सनिष्टललाई । वेटरको तर्फबाट क्षमायाचना गरे उनले । गल्ती गर्ने एउटा माफी माग्ने अर्को । होटल पुरानो भएपनि तर कामदार अदक्ष भएपछि यस्तै हो । कम्तिमा सदाचार देखाउन हिच्किचाएनन् उनले । सत्कृति थियो त्यो उनको । यस्तो हुनु पनि पर्छ । नत्र त होटलको रेपुटेशनमा दाग लाग्छ ।
देशमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्र्याउन सरकारले बेलाबखत आकर्षक कार्यक्रमहरु गर्दै आइरहेको छ । सन् २०२० लाई पर्यटन वर्षका रुपमा विभिन्न कार्यक्रमका साथ मनाउँदैछ, बीस लाख पर्यटक भित्र्र्याउने ध्येयका साथ । तर पर्यटकलाई सेवा प्रदान गर्ने होटलहरूको कर्मचारी र व्यवस्थापनमा सुधार हुनैपर्छ । व्यवस्थापन यस्तै कमजोर हुने हो भने आसन्न ‘नेपाल पर्यटन भ्रमण वर्ष २०२०’ सफल होला र ? प्रश्न मडारियो मभित्र ।
वर्मेलीसँगको पहिलो टुर थियो मेरो गाइड जीवनमा । हामी स्वयम्भू, बौद्ध, पशुपति र भक्तपुरको अवलोकन भ्रमण गर्दै नगरकोट पुगेका थियौँ । ‘होप वी वन्ट ह्याव विटर एक्सपिरियन्स ईन् बन्दीपुर एन्ड पोखरा ।’ नगरकोट छाड्नेबित्तिकै टोली नेता फिफिले भनिन् । ‘डेफिनेट्ली नट ।’ मैले आश्वस्त पारेँ ।
० ० ०
चल्यो गाडी बन्दिपुरतर्फ । ‘क्यान वी चेन्ज आवर डलर ?’ सोधनी गरिन् फिफिले । ‘यस ।’ भक्तपुर गेट छेवैको विदेशी मुद्रा सटही काउन्टर देखाएँ मैले । वर्मेलीहरू काउन्टरतिर लागे । काउन्टर बन्द थियो । उनीहरु अलमलमा परे । त्यहीबेला एकजना स्थानीय उनीहरूको पछि लाग्यो र भन्यो- ‘यू क्यान चेन्ज योर मनी विथ मी ।’ विदेशी मुद्रा विनिमय गर्नका लागि इजाजत प्राप्त ब्यक्ति थिएन ऊ । तैपनि ऊ ढिपी गर्दै थियो । उसले विदेशीसँग गरेको त्यो ब्यवहार मलाई मन परेन । मैले भने– ‘लेट्स चेन्ज ईन पोखरा ।’ त्यसपछि ऊ भुत्भुताउन थाल्यो । बैङ्क दरभन्दा कम दिएर नाफा गर्ने अभिष्ट पुरा भएन उसको । यसरी पनि कालोबजारी हुन्छ, नेपालमा विदेशी मुद्रा । र, त राष्ट्र बैंक पुग्नुपर्ने विदशी मुद्राहरू सिधै कालोबजारी गर्नेहरूका हातमा पुग्छ । त्यसपछि सिधै हङकङ, बैंकक कताकता पुग्छ कता । अचम्मै छ नेपालमा ! हरेक पाइलापाइलामा ठगिनुपर्छ विदेशीले । होटल बुकिङ गरेको छैन भने विमानस्थलमा पाईला टेक्नेबित्तिकै दलालहरूमार्फत् बेचिन पुग्छन् । होटलबाट कमिसन पाउने लालचमा ट्याक्सी चालकहरूले ‘फ्री ट्रान्सपोर्ट’ भनेर महङ्गो होटल छिराउँछन् । आफूले चाहेका होटलहरूमा पनि जान पाएका हुँदैनन् कतिपय विदेशीहरू । ‘त्यो होटल त बन्द भैसक्यो …….’ ‘त्यो होटलको साहु त मरिसक्यो…….’ आदी इत्यादी भन्न पनि पछि पर्दैनन् र आफूले कमिसन पाउने होटलमा हुल्छन् । कहिले अन्त होला यस्तो चलन नेपालमा । कुराहरू खेलाउँदै थिए मनमा ।
पाहुनाहरु पनि शौचालयबाट आइसकेपछि हामी कोटेश्वरतिर अघि बढ्यौं । जाडो भयो यता कतै चियाखाने ठाउँमा गाडी रोक्न मिल्दैन भनेर ओहमरले सोधी । त्यसो भए चिया खाने, किनमेल गर्ने र सम्भव भए पैसा पनि साट्न मिल्ने ठाउँमा गाडी रोकौं, नारनलाई भने । यता त्यस्तो ठाउँ कहाँ होला र उनले लेघ्रो ताने । सबै कुरो पाउने ठाउँ भाटभटेनी नै हुन सक्छ । त्यतै जाउँ भनेर उनले गाडी भाटभटेनीतिरै लगेर रोके । सबैजना ओर्ले । पहिला मैले भक्तपुरमा उनीहरुसँग गरेको वाचा अनुसार वीनलाई उसले मागे जति पैसा दिएँ । कोटेश्वरमा चिया पिएपछि निरन्तरता पायो हाम्रो यात्राले । कलङ्कीबाट नागढुंगापछिको ओरालोसम्म कसरी पुगियो पत्तै भएन । मोवाईल हातमा भएपछि बाहिरी संसारको त्यत्ति ख्याल नहुँदो रहेछ । मैले पाहुनालाई भने– ‘अब हामी काठमाडौं उपत्यकाबाट बाहिरिदैछौं ।’ मैले राजमार्गको अवस्था जानकारी गराएँ उनीहरूलाई ।
० ० ०
कोकले, पुष्पकोकिल, मारुनी र रानीचरी लगायतका पन्छीहरु सँगसँगै लहडीइरहेँ निकैबेर । घामको रापले बिस्तारै गाउँ बस्ती र हिमाली पाखापखेराहरु बादलरुपी च्यादरको घुम्टोभित्रबाट बिस्तारै आफ्नो मुहार देखाउदै थिए । त्यसबेला बन्दिपरले पनि आफ्नो शालीन एवं नशालु यौवन देखाउँदै गरेझैँ लाग्दथ्यो ।
हावामा तुन्द्रुङ्ग झुण्डिरहेका केवलकारहरू देखिए कुरिनटार पुगेपछि । यात्रु बोकेर तलमाथि गर्दै थिए ती । ‘जाने त मनकामना मन्दिर ?’ सोधनी गरेँ मैले वर्मेलीहरूसित । जाने इच्छा प्रकट गरे उनीहरूले । आएकै त घुम्न । मौका आउँछ पर्खंदैन । भोलि भनेको के हो ? के हो ? आएको मौकामा जानुपर्छ भन्ने भनाइ थियो फिफिको । केवलकार चढियो । एकजना क्यामरा लिएको केटो आएर फटाफट तीन/चार सट फोटो हान्यो र एउटा कागजको टुक्रा दियो, पछि फर्किदा यो देखाउनुस र मन पर्यो भने फोटो लिएर जानु होला भन्यो । वीनले भन्दै थियो यिनीहरुले कहाँ फोटोहरु सित्तैमा दिन्थे र ! हामी चढेको कारले पनि आफ्नो गति बढायो । फोटो खिच्नलाई मोवाईलले नै काम चलाएँ । हतार भएकाले क्यामरा गाडीमै छुटेको थियो । कुनै बेलाको दक्षिण एसियाकै पहिलो र लामो मनकामना केवलकारको कारण गोरखाकी मनकामनाको महिमा ह्वात्तै चुलिएको थियो र छ पनि । देशविदेशबाट मनकामना दर्शन गरी आशिर्वाद लिन घुइँचो लाग्ने गरेको छ, विशेषगरी छिमेकी देश भारतबाट । यसले गर्दा धार्मिक पर्यटनमा निकै सहयोग मिलेको छ । हामी केबलकारबाट झरेर मन्दिरतिर लाग्दै गर्दा बाटोमा होटल तथा भट्टीका मान्छेहरु दर्शनार्थीहरुलाई पूजाको सामग्री लानुस्, मिलाएर दिन्छौं । ताजाताजा नास्ता खाना सस्तोमा खानुस् । मनकामनाको ताजा सुन्तला मिलाएर लानुस् । कतिले पूजा सकेर आउनुस है, आदी इत्यादी भनेर कोही अनुरोध गर्थे त कोहीले कर । यो देख्दा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै याद आएथ्यो मलाई । मन्दिर पुगियो । पाहुनालाई पहिला मन्दिरभित्र पठाएर उनीहरुको मनकामनाको दर्शन गरी आशिर्वाद लिने धोको पुरा गराइदिनु थियो । पहिला आफूदर्शन गर्ने ईच्छा हुँदाहुदै पनि उनीहरुलाई दर्शन गर्न पठाएँ र म चाहिं उनीहरुको सर-सामान कुरेर बसेँ ।
ओहमर दर्शन गरेर फर्किएपछि उसलाई सामान जिम्मा लगाएर म पनि आध्यात्मिक भावका साथ देवीको दर्शन गर्न मन्दिर छिरेँ । म ढोकाबाट भित्र छिर्दा त्यहाँका पूजारीलाई निकै चटारो थियो, दर्शनार्थीको सर्दाम लिन र पूजाको प्रसाद र आशिर्वाद दिन । दैनिक हजारौँको भीड लाग्ने गर्छ त्यहाँ । कस्तो खटाई हो पूजारीहरुको ! थकाई पनि नलागेको । सोचेँ- त्यो उनीहरुको धर्मप्रतिको आस्था, पेशामा विश्वास अनि काममा एकाग्रता र सेवाभावले उनीहरुमा उत्साह र मनोबल जगाउने देवीको अशिर्वाद पनि साथमा भयो । फेरी कुरो पैसाको पनि । पैसादेखि महादेवको त तीन नेत्र भन्छन, झन् उनीहरु त पूजारी न परे । थिटथिट र म देवीको दर्शन गर्ने बेला सँगै परियो । अलौकिक शक्तिको आशिर्वाद लिएर दुःखबाट मुक्ति पाउन हिन्दु वा बुद्धिष्ट मात्र नभएर अन्य धर्मालम्बीहरु पनि लालयीत हुन्छन् । धार्मिक मठ मन्दिर, चैत्य र गुम्बाहरुको दर्शन गरी विभिन्न खाले दुखबाट मुक्ति पाउने मान्छेहरुको विश्वासले यस्ता ठाउँमा जान प्रेरणा मिलेको हुन्छ । हाम्रा पाहुनाहरुको पनि त्यस्तै विश्वास थियो ।
हाम्रो पनि प्रसाद लिने पालो आयो । शीलारुपी देवीको दर्शन, ढोग र मनकामनाको प्रसाद ग्रहण गरी बाहिर आयौं । सबैजना मिलेर सामुहिक र त्यसपछि आ-आफ्नो इच्छाले फोटो खिच्यौं । समय कम भएकोले छिटै फर्किनु थियो । मनकामनाको सुन्तला किनेर खाँदै फर्किने बाटोतिर लाग्यौँ । फर्किनेको ताँती निकै लामो थियो । त्यसलाई छिचोलेर केबलकार चढ्नेसम्म पुग्न करिब दुई घण्टाजति लाग्थ्यो । त्यो भीड सबैजसो भारतीयहरुको थियो । नेपाली र अन्य चाहिँ चामलमा बियाँ जत्तिकै मात्र देख्न सकिन्थ्यो । ताजा सुन्तलाको स्वादमा रमाउदै भीड छिचोलेर केबलकार चढ्नेसम्म आइपुग्न भने त्यति गाह्रो भएन । सुन्तला पनि यति रसिलो कि- त्यत्तिको स्वादले सबै दुःख भुलाइदिने । त्यसै मनमा आनन्द आउने ।
ईनामोतोको एउटा पंक्ति याद आयो एक कप चिया पिउनु स्वर्गीय आनन्द लिनु, त्यस्तै भयो मलाई पनि सुन्तलाको स्वादमा स्वर्गीय आनन्द । केबलकारमा केही तल आएपछि केबलकार अचानक टक्क अडियो पाहुनाहरु केही अकमक्क परेर, डराए जस्तो भए, पाओर अफ भयो मैले भनें । केहीछिन पछि कार सुचारु भयो, ओर्लिने ठाउँ पनि आयो । सबै ओर्लियौं । म हत्त न पत्त चढ्दा एउटा केटाले फोटो खिचेर दिएको चिट लिएर फोटो लिनु भनेको ठाउँतिर दौडिएँ । वीनले भन्दै थियो फोटो सित्तैमा दिदैनन् नगएपनि हुन्छ । यसो हेरेँ हतारमा खिचेको फोटो त्यति राम्रो पनि लागेन म फर्किएँ । मनकामना दर्शन कार्य सम्पन्न भए पश्चात हामी बन्दिपुरतिर लाग्यौं ।
हामीले काठमाडौं छाड्ने बेलादेखि नै सुदिपले बारम्बार सोधखोज गदै गरेको थियो । मैले पनि हाम्रो अवस्थाको बारे अवगत गराउदै थिएँ । दिन घर्किएर अँध्यारो भइसकेको थियो, उसले पुःन फोन गरेर कहाँ आइपुग्नु भयो भनेर सोध्यो ? हामी त्यो बेला सत्र सय फाँटमा पुगेका थियौँ । त्यो कुरो उनलाई जानकारी गराएँ र बेलुकाको सात बजे पाहुनाको लागि खाना नेपाली थाली बनाउन लगाएँ ।
करिब साढे छ बजे डुम्रेबाट बन्दिपुरको उकालो लाग्यौँ । पहुनाहरुलाई पनि त्यस कुराको जानकारी गराईहालेँ- ‘हामी बन्दिपुरतिर उकालो लाग्दैछौं । बन्दिपुर पुगेर सुदिपलाई फोन गरेंँ । हामी आईपुग्यौँ भनेँ ।’ उनले पनि सहयोगी पठाए । टुँडिखेल पुग्दा सहयोगीहरु ठेलागाडासँगै उभिएका थिए । त्यहाँ ठेलागाडाबाट पाहुनाको सामान होटलमा लाने व्यवस्था गरिएको रहेछ । मैले पाहुनाहरुलाई भने गाडीबाट झरेर हामी सबैजना होटलसम्म हिड्नुपर्छ । जीप त्यहाँसम्म जाँदैन, उनीहरुले पनि स्वीकारोक्ती जनाए । हामी होटेलमा पुग्नासाथ स्वागतसहित होटेल व्यवस्थापकले होटलबाट उपलब्ध गराउने सेवा र सुविधाका साथै बन्दिपुरको समग्र बस्तुस्थितिका बारेमा केही प्रकाश पारे । पाहुनाहरुले कोठा पाईसकेपछि हामीलाई पनि टुँडिखेलको पूर्वपट्टीको पल्लो डिलमा रहेको घरको भुईंतलाको १०१ नम्बर कोठा मिल्यो ।
० ० ०
बेलुकाको खाना साँझ सात बजेका लागि बाटोबाटै फोन मार्फत भनिसकेको थियो । पाहुनाहरु डाइनिङमा आएर खानाका लागि कुरिरहेका थिए तर आठ बजिसक्दा पनि पाहुनालाई खान दिने सुरसार नै थिएन । स्टाफहरु के गर्दै थिए बुझ्न गाह्रो, कोही अरु पाहुनाहरुसँग बकबक गर्दै गफिदै थिए । पाहुनालाई त उचित समयमा उचित सेवा सत्कार दिए पो उनीहरु पनि खुशी हुन्छन । अबेर गरी खाना आयो । मलाई र पाहुनालाई डाइनिङमै र नारनलाई स्टाफ मेसमा पठाए तर नारनले चाहिं डाइनिङमै बसेर खान पाए हुन्थ्यो भन्ने सोच्दै थिए । कुनै कुनै ठाउँमा परिस्थिति अनुसार गाईड र ड्राईभरलाई एकै ठाउँ, एकै समय, एकै किसिमले सेवा दिन्छन् तर कुनै ठाउँमा नितान्त बिपरित यो संसार मै यस्तै चलन छ । पदयात्रा क्षेत्रका होटल वा गेष्ट हाउसहरुमा पनि पाहुनालाई पहिला र गाइड र भरियाहरुलाई पछि सेवा वा खाना दिने चलन छ । तर बिदेशी पाहुनाहरुलाई यो चलन मन पर्दैन किनकि उनीहरुलाई यहाँको संस्कार र संस्कृतिको बारे त्यति ज्ञान हुदैन । त्यसैले पहिलो दिनमै उनीहरुलाई यस बिषयमा जानकारी दिनुपर्छ, मैले चाहिं यसको बिषयमा पहिले नै भनिसकेको थिएँ । त्यसैले पहुनाहरुले त्यत्ति मतलव पनि गरेनन् ।
होटलका केही स्टाफहरु अरु पाहुनासँग उनीहरुकै गाइड र ड्राइभरको कुरा काटेर बसिरहेका थिए । मलाई उनीहरुको त्यो तरिका मनपरेको थिएन । त्योभन्दा बढी सुन्न पनि मन लागेन र तत्काल उनीहरुलाई हस्तक्षेप गरेर भनेँ- ‘तपाईहरु यहाँ आउने पाहुनाहरुसँग उनीहरुकै गाइड र ड्राइभरको नराम्रो कुरा नगर्नुस् ।’ होटल स्टाफले गाइड र ड्राइभरको सम्बन्धमा फाटो ल्याउने नियत देखिन्थ्यो । तर पनि उनीहरुको बकबक चलिनैरह्यो। त्यहाँको कर्मचारी र कामदारलाई कस्तो खालको हस्पिटालिटीको पाठ सिकाइएको होला । अचम्भित भएँ म । घुम्न आएका बिदेशी पाहुनालाई शान्त वातावरण बनाउन पहल गर्नुको साटो होहल्ला गर्ने । हुन त त्यहाँ मात्र नभएर यो देशको पर्यटन क्षेत्रकै समस्या हो । सात बजेका लागि भनेको खाना साढे आठ बज्यो । खाना खाईसकेपछि पाहुनालाई भोलिको कार्यक्रमको जानकारी दिएर सुत्ने तरखरमा लागियो ।
भोलिपल्ट बिहान उठ्दा मौसम सोचे जस्तो सफा थिएन । तर पनि वनपाखामा पन्छीहरुको चीरविर बोल र सुन्दर आवाजले वातावरणलाई संगीतमय बनाएको थियो । त्यसले आनन्दित बनायो मलाई । आफू त परियो चराप्रेमी मान्छे । लागेँ त्यतैतिर तिनीहरूकै आवाज पछ्याउदै । कोकले, पुष्पकोकिल, मारुनी र रानीचरी लगायतका पन्छीहरु सँगसँगै लहडीइरहेँ निकैबेर । घामको रापले बिस्तारै गाउँ बस्ती र हिमाली पाखापखेराहरु बादलरुपी च्यादरको घुम्टोभित्रबाट बिस्तारै आफ्नो मुहार देखाउदै थिए । त्यसबेला बन्दिपुरले पनि आफ्नो शालीन एवं नशालु यौवन देखाउँदै गरेझैँ लाग्दथ्यो ।
सात बज्दा बिहानको खाजाको लागि होटलको रेष्टुरेन्टमा पाहुनाहरु आइसकेका थिए । त्यो दिन क्रिसमस भएकोले उनीहरु मोवाइलबाट प्रत्यक्ष शुभकामना दिदैँ थिए । म पनि उनीहरुसँगै सामेल भएँ र शुभकामना आदानप्रदान गरेँ । केही समय उनीहरुको होलीडे चित्र खिच्न सहयोग गरियो त्यही बेला खाजा तयार भएको जानकारी आयो । बन्दिपुरको त्यो नशालु रुपलाई अनुभूत गर्न हामी सबैजना लालयीत थियौँ । हामी सबैले बन्दिपुरको सेरोफेरो अवलोकन सकेपछिको सिरानमा बन्दै गरेको गुम्बाको केही छिनको बसाई बिशेष रह्यो । गुम्बाले समग्र बन्दिपुरको शोभा बढाउन निकै भूमिका निर्वाह गरेको छ । त्यस गुम्बाको निर्माण सम्पन्नपश्चात आन्तरिक एवम् वाह्य पर्यटनको अभिबृद्वि गराउनमा त्यसको ठूलो भूमिका तथा योगदान पक्कै रहनेछ । गणेश गुरुङ आफ्नो सैनिक जीवन पश्चात त्यस गुम्बाको निर्माणमा पूरै समर्पित भएर लाग्नु भएको छ । उनले सौहार्दताकासाथ हामीलाई स्वागत सम्मान गरे । यदि सहयोग गर्ने दाता पाएमा गुम्बाको निर्माण कार्य छिटो र सहज हुने कुराको अपेक्षा थियो उनीमा । हामी पनि उनको त्यो शुभ कार्यको सफलताको कामनासहित त्यहाँबाट बिदा भयौँ ।
मध्ययुगिन मगर र नेवारी कला संस्कृति, छत्तीस वर्णका श्रृङ्गारिक जनजीवन र विविध प्राकृतिक आकर्षणले गर्दा बन्दिपुरले आफ्नो एउटा छुट्टै पहिचान पाएकोे छ । त्यसैले पर्यटकहरु नेपाल आएको बखत एक पटक त्यो ठाउँमा नपुगे आफ्नो यात्रा अपुरो भएको महसुस गर्दछन् ।
आजको यात्रा पोखरातर्फ । बन्दिपुरको अवलोकन सकेर हामीहरु हुइँकियौँ पोखरातिर । बाटोमा देखा पर्यो बाख्रा फार्म । धेरै अघि ट्रिनिटी कलेज अमेरिकाका प्रोफेसर र विद्यार्थीको टोली त्यहाँ पुग्दा बन्दिपुर ट्रोल नै बनेको थियो । म त्यही सम्झेर हाँस्दै थिएँ मनमनै । दमौलीको मादीपुल कटेर अलि अगाडि गएपछि खाना खाएर फेरी पोखरातिर लाग्यौँ । करिव दिउँसोको तीन बजे पोखरा पुगियो । होटल लेक प्याराडाईजमा पाहुनाहरुलाई राखियो तर मेरो लागि त्यहाँ बास दिएन । यतिका बर्षसम्म पर्यटन क्षेत्रमा काम गरेर पर्यटकहरुसँग पोखरा जाँदा कहिल्यै पर्यटकहरु राखेको होटेल छोडेर अर्को ठाउँमा बास खोज्न परेको थिएन । तर त्यसैपाली अन्त बास खोज्न पर्ने भयो । मनमा कताकता नरमाईलो महसुस पनि । अब कता खोज्ने मैले बास ? झट्ट तिलक दाईलाई सम्झिएँ उहाँ धेरै लामो समयदेखि पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आउनभएको छ । उहाँलाई फोन गरे तत्कालीन अवस्थाको बारेमा बताएपछि तिलक दाईको होटल स्नोलियोपार्डमा बास पनि सुनिश्चित भयो । पाहुनाका लागि त्यो दिन अतिरिक्त दिन थियो । त्यही कुरो उनीहरुलाई बताएर चार बजे भेट्ने समय निश्चित गरी हामी होटल स्नोलियोपार्डतिर हिड्यौं । तर मेरो मन चाहिं खुसी थिएन । केहीबेर थकाई मारेर पाहुना भेट्न उनीहरु बसेको होटेलमा गएँ । तर उनीहरु भेट्ने भनेको समयमा बाहिर निस्किएनन्, एक घण्टापछि मात्र कोठाबाट निस्किए ।
अतिरिक्त समय तालको वरिपरी घुम्ने र समयले साथ दिएमा डुंगा पनि चढ्ने भए । त्यही अनुरुप डुल्न निस्कियौं । उनीहरु पैसा साट्न पनि समय लगाए । अझ एक जोडी त मुख खाली राख्नै नहुने हरहमेसा खाइरहनुपर्ने खालको थियो । थिटले पैसा साटिसकेपछि मैले उनीहरुलाई बाटो खर्चको लागि दिएको सापटी पनि फिर्ता दिए । तालतिर गयौँ । म अगाडि थिएँ । बाराही मन्दिरतिर जाने किनारा हुँदै त्यतै लागियो । म, अहमर र थिटथिट पुरानो माइकस रेस्टुरेण्ट नजिकै पर्खि बस्यौं तर फिफि र उनको श्रीमान वीन निकै समय बित्दा पनि आइपुगेनन् । अहमरलाई फोन गरेर उनीहरु कहाँ छन बुझ्न लगाएँ । उनीहरु साथीहरु नै छोडेर बाटोमा केही खाँदै थिए । उनीहरू हामी आएको ठीक विपरित बाटो लागेछन् । उनीहरुलाई फर्किएर चोकमा आएर बस्न भने र म उनीहरु भएतिर गएँ । भेट भयो । सोधेँ- ‘कसरी तिमीहरु छलियौ ?’ उनीहरुले भने- ‘बाटोमा केही खानेकुरा देखियो । देख्ने बित्तिकै चाखिहाल्ने ईच्छा लाग्यो । हामी त्यही किनेर खान लाग्यौँ । खाइसक्दा तिमीहरु हिँडिसकेछौ । हामीलाई यता जाने कि उता जाने दोधार भयो । तालको किनार देखियो । अनि त्यतैतिर लाग्यौँ ।
‘अहमरले सोधे– ‘ह्वाट डू वी डू नाऊ ?’ पोखरामा उनीहरूको त्यो अतिरिक्त दिन थियो । त्यो समयमा डुङ्गा चढ्न सक्ने कुरा मैले पहिल्यै नै भनेको थिएँ तर उसले त्यसमा चासो देखाएका थिएनन् । चार बजिसकेको थियो । डुङ्गा काउन्टरमा गएर आधा घण्टाकोे लागि भाउ सोधियो तर समय थोरै भएकोले हाम्रो चाहनाअनुसार कुरा पनि नमिलेपछि डुङ्गा चढिएन । अर्को दिन विश्वशान्ति स्तुप, भोटेक्याम्प र डेभिडफल जाने, फेवातालमा बोटीङ्ग गर्ने र सराङकोटबाट सूर्यास्त हेर्ने कार्यक्रम तालको किनारामै बसेर तय गरियो । थिटथिट हिँड्ने इच्छा गरेकाले उ र म हिँडेर र अरु जीपमा पगोडा जाने कुरो भयो । त्यसपछि भोलीपल्ट विहान छ बजे भेट्ने गरी छुट्टियौं ।
० ० ०
थिटथिट र म बिहान छ बजे भेट भएर फेवातालको डुङ्गाको बाटो हुँदै तालपारिबाट पीस पगोडातिर उकालो लाग्यौं । सिधै उकालो नचढी नागबेली पारेर बनाएको सडकै सडक हिँड्यौँ । हामीलाई उकालो छिचोल्न त्यत्ति कठिन भएन । थिटथिट र म शान्ति स्तुप पुग्दा बादलले ढाकिएका हिमालहरु बिस्तारै शीर देखाउन थाले । पगोडा आफैंमा सुन्दर त्यसमाथि हिमाल खुल्दा र सूनौलो घामको किरण पोखिँदा त पगोडा र त्यसको सेरोफेरो त्यसै झकिझकाउ देखियो । थिटथिटले केही फोटो खिचेपछि पगोडा परिक्रमा गरेर त्यसको ऊर्जाशील सौन्दर्यभित्र बगैँचाको एउटा कुर्सीमा बस्यौँ । अरु तीनजना पनि गाडीको बाटो भएर आइपुगे । तर उनीहरु आइपुग्दा हिमालहरूले आफ्ना सुन्दर रूप भने बादलले आफ्नो घुम्टोभित्र लुकाइसकेका थिए । उनीहरूले पगोडा र त्यसको सेरोफेरोको सुन्दरतासँग आफ्नो सुन्दरताको तुलना गर्न लागे । त्यहाँको सुन्दरताको अवलोकनपश्चात सबैजना भोटेक्याम्प, गुप्तेश्वर महादेव गुफा र पातले छाँगो आदि ठाउँहरुको अवलोकन गर्न त्यतैतिर ओरालो झरियो । टिबेटन शरणार्थी शिविर हो- भोटेक्याम्प । नेपाल आउने कतिपय पर्यटकले आफन्तका लागि उपहार किन्न जाने बजारको रुपमा चिनिन्छ यो । त्यो ठाउँमा पुग्दा आफ्नो मातृभूमि छोडेर आएकाहरुको यस्तो शिविरभित्रको जीवनचर्या देख्दा भावनात्मक रुपमा धेरै पेचिला ज्वारभाटा चल्ने गर्छन् । त्यहाँबाट निस्केर हामीहरु पातले छाँगो र गुप्तेश्वरतिर लाग्यौँ । मैले सोचेको थिएँ- ‘त्यहाँ पुग्न दश मिनेट लाग्ला ।’ तर नारायणले दुई मिनेटमै पुर्याए ।
झाँजर परेको त्यहाँको रमणीय भूबनोटमा फेवातालबाट झरेको पानीले एउटा मनमोहक छाँगोको रुप लिएको छ । जुन डेभिडफल र पातले छाँगोको नामले परिचित छ । जहाँ पोखरा जाने अधिकांश पर्यटकहरु पुगेकै हुन्छन् । आन्तरिक पर्यटकका लागि त्यो फेवातालपछिको गन्तव्य बनेको छ । त्यहाँको अवलोकन सकेर हामी लेकसाइड बैदामको एउटा नेपाली किचनमा खाना खायौँ । पाहुनाहरुले निकै मन पराए । यो भन्दा पहिले पनि उनीहरुले स्थानीय ठाउँहरुमै बढी रमाउने गर्थे । बाराही होटल छेउमा एउटा सानो कपडा पसल जुन मेरो माहिला भान्जा रुम अधिकारीले चलाएका छन् । त्यहीँ पाहुनाहरुले नितान्त नेपाली पारामा केही किनमेल गरे । त्यसपछि हामी तालतिर डुङ्गा चढ्न गयौँ । किनकि पोखराका सबै कार्यक्रमहरु त्यही दिन सिध्याउनु थियो । अझै सराङकोट लगायतका ठाउँहरुको कार्यक्रम बाँकी नै थियो ।
सबैजना तालको छालसँगै डुङ्गामा रमाउँदै गर्दा आकाश र हिमालले केही समय अगाडि ओडिराखेको बादलको बर्को कतै थन्क्याएर उच्चतम र गहन सुन्दरतालाई छताछुल्ल पारेर हाँस्दै गरेको देखियो । त्यो तिलस्मी मनोहरतालाई नजिकैबाट चुम्न र छुम्न सबै लालयीत भयौं । हामीसँग बोल्न नसक्ने तर लेखेर आफ्नो कुरा बताउने अति माया लाग्दो बोटे भाइ थियो । उसलाई ढिलो नगरी डुंगा फर्काउन लगाएर सारङकोटतिर हानियौँ । नारायणले गाडी सराङकोटको झण्डै टुप्पोमै पुर्याए । उनी सधैं जसो सम्भव भएसम्म गाह्रो नभई सहज हुनुपर्छ भन्ने सहयोगी सोचका थिए । त्यहाँबाट भ्यूटावर लगभग पाँच सात मिनेट हिंडेर पुग्दा त्यो यात्राकै अन्तिम गन्तव्य सारङकोटमा सुनौला घामका किरण, रमणीय पाखापखेरा र उत्तरतिर ठाँटले उभिएका सुनौला हिमालहरुले निकै भव्य स्वागत गरिरहेका थिए ।
एहमर, फिफि, वीन र थिटथिट त्यहाँ पुग्दा सबैले एकै स्वरमा भने- ‘वाह ! हामी त स्वर्गको कुनै एउटा टुक्रामा पुगे झैँ भयो ।’
नतमस्तक भएर हेरेको हेर्यै भए उनीहरु । अरु पनि थुप्रै पर्यटकहरु हराईरहेका थिए, त्यो भव्य मनोरम छटामा रमाउदै । र, क्यामरामा कैद गर्दै थिए, सुन्दर एवं स्वर्गरुपी दृश्यलाई । हाम्रा पाहुनाहरुले पनि मनग्य फोटोहरु खिचे र खिचाए विभिन्न पोजहरूमा । पोखरा फर्कनुअघि उनीहरूले भने- ‘यो ठाउँको यात्रा हाम्रो जीवनभरीको एक अविस्मरणीय क्षण हुनेछ ।’