संस्कृत भाषा : भ्रम र यथार्थ- २

7 Shares
काठमाडाैं

‘संस्कृत भाषा सबै भाषाको जननी (आमा) हो’ भन्ने कथनले एकातिर भाषा अध्येयताहरूलाई पेट मिचिमिचि हसाउँछ भने अर्कोतिर हाम्रा चिन्तन-मन्थन र ज्ञानविज्ञानको वैज्ञानिक परम्परामाथि पनि प्रहार गर्दछ। यो कयन भ्रमात्मक मात्र होइन, षड्यन्त्रमूलक पनि छ ।

संस्कृत भाषाको सम्वन्धमा यस्ता अभिव्यक्तिहरू शाही सत्ताकालमा धेरै हुनेगर्दथे । त्यतिबेला एक भाषी नीतिको बोलाबाला थियो । ‘एक भाषा एक भेष (संस्कृति)’ को नीति थियो । सत्ता र सरकारमा संस्कृत भाषाका पृष्ठपोषकहरू थिए । तर प्रजातन्त्रको पुनःस्थापनापछि विशेषगरी २०४९ मा भएको अनिवार्य संस्कृत विरोधी आन्दोलनको कारणले यस्ता ‘मनका लड्डुहरू’ प्रायः ठप्प भइसकेको थियो । त्यत्तिबेला भाषाशास्त्री प्रा. कमलप्रकाश मल्ल, डा. हर्क गुरुङ, गोपाल शिवकोटी ‘चिन्तन’ जस्ता लब्ध प्रतिष्ठित विद्वानहरूले समेत संस्कृत भाषाबारे आआफ्ना गहनतम् विचार पस्केर सर्वसाधारणलाई दिक्षित गराएका थिए । त्रिविमा केन्द्रीय भाषा विज्ञान विभागको स्थापना (२०५३) र यसबाट उत्पादित जनशक्तिबाट पनि यस्ता भ्रमहरू कम भइसकेको अवस्थामा हालै पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह (कक्षा १-३) मा संस्कृत भाषाको पठनपाठनको सन्दर्भ उठाएर पुनः व्युँताइ दिएको छ । अहिले पुनः विभिन्न प्रकारका रङ्गीचङगी विचारहरू सतहमा आइरहेका छन् ।

म एक जना भाषाविज्ञानका इमान्दार विद्यार्थीको नाताले संस्कृत भाषाबारे फैलाएका यस्ता अवैज्ञानिक भ्रमहरू चिर्ने प्रयास गर्दैछु ।

भाषाविज्ञानका दृष्टिमा सबै भाषा समान हुन्छन । सबै भाषा संरक्षण, संवद्र्वन र विकासका हकदार हुन्छन् । सबै भाषामा आधारभूत संरचना (ध्वनि, वर्ण, शब्द, वाक्य, अर्थ आदि) धेरथोर हुन्छन् । वक्ता सङ्ख्याको हिसाबले भाषा सानो वा ठुलो हुन सक्छ, भाषाको लेखन परम्परा भएको वा नभएको र साहित्य सिर्जनाको ठेली कम बेसी हुनसक्छ । तर भाषा भाषा नै हो । नेपाली नेपाली नै हो धनी गरीव जे भए पनि भने जस्तै ।

प्रत्येक भाषाको आ–आफ्नो मूल हुन्छ । एउटै मूल भएका भाषाहरू एकै परिवारका मानिन्छन् । भाषाहरूमा पाइने भाषिक समानता जस्तै (१) ध्वनिको समानता (२) रूप–संरचना (शब्द) को समानता (३) वाक्य–संरचनाको समानता र (४) अर्थको समानताको आधारमा भाषाहरूको परिवार निर्धारण हुन्छ । यिनै समानताको आधारमा भाषाको परिवारको पहिचान हुन्छ । भाषाको अध्ययन गरिरहेको संस्था इथ्नोलग (१६ औं संस्करण) ले विश्वमा करिब सात हजार भाषा देखाएका छन् र ती भाषाहरूलाई १४७ परिवारमा वर्गीकरण गरेका छन् । यसको अर्थ विश्वमा १४७ भाषा परिवार रहेछ भन्ने हुन्छ । नेपालकै कुरा गर्ने हो भने पनि यहाँ मूलतः चिनी (तिब्बती, भारोपोली, ड्रविड र एस्ट्रो–एसियाटिक परिवारका एक सय ३० भन्दा धेरै भाषाहरू बोलिन्छन् ।

अझ थप प्रष्ट पारौं । संस्कृत भाषा भारोपेली परिवारको प्राचीन भाषा हुनाले सो परिवारका भाषाहरूको जननी होला तर चिनी–भोट परिवारको पनि जननी हो भन्नु चाही जगत् हँसाउनु मात्र हो। आफ्नो वौद्धिक मात्र होइन प्राज्ञिक टाट पल्टेको प्रदर्शन गर्नु मात्र हो । विश्वका अन्य कुरा त परै जाओस् तामाङ भाषामा रहेको ‘कु’ वा ‘ङा’ वा ‘म्हाङ’ शब्दको उच्चारणमा पाइने चार प्रकारका तानलाई (उच्चारणमा हुने उतारचढावलाई भाषावैज्ञानिकहरू तान वा टोन भन्दछन) भारोपेली भाषीहरूले न उच्चारण गर्न सक्छन् न कुनै लिपिमा लेख्न नै । एउटा तामाङ अनपढ बुढी बज्यैले बोलेकी ‘म्हाङसे म्हाङरि म्हाङ म्राङ्जि’ (बाँदरले सपनामा भूत देख्यो) वाक्यमा ‘म्हाङ’ को उच्चारण पछ्याउन संस्कृतका दिग्गजहरूलाई चुनौती हुनेछ । नासाको वैज्ञानिक कक्षा पुगेको भनिएको भाषाको गति रुझेको मुसाको जस्तो बेहाल हुनसक्छ । किनभने संस्कृत लगायतका भारोपेली भाषाहरू तानरहित भाषा हुन् (पंजाबी भाषाबाहेक) । तान जस्तै थुप्रै ध्वनिहरू किराती भाषाहरूमा पाइन्छन् । अफ्रिकी वा अस्ट्रोनेसियन परिवारका भाषाहरूको ध्वनि पद्धतिको त कुरा गर्नै परेन ।

यहाँ हामीले के पनि बुझ्नुपर्दछ भने प्रत्येक भाषाको आआफ्नै परिवेश र फैलावट हुन्छ । भाषाको आफ्नो परिवार जुन भएपनि स्थानिक समिपताले गर्दा भाषाहरूमा लेनदेन हुनसक्छ र एक अर्काका शब्दहरू (कहिलेकाही वाक्यको तहमा पनि) साटासाट हुनसक्छ । भाषा पनि मानिस जस्तै जीवित वस्तु हो । प्रभावित हुनु वा असर पर्नु अनौठो हुँदैन । र यसैकारणले कसैकसैमा ती एउटै भाषा हुन् भन्ने भ्रम सिर्जना हुनसक्छ तर शब्दको सापटी वा उच्चारण समानता कै आधारमा कुनै भाषालाई अर्को परिवारको भाषाको जननी भनिहाल्न मिल्दैन, वैज्ञानिकता हुँदैन ।

अब प्रश्न उठन सक्छ किन यस्तो भ्रम फैलाइन्छ ?

एउटा मातृभाषीलाई कज्याउने राजनीति हो र स्रोधसाधनमा रजाई गरिरहनु पनि हो । अर्को, मातृभाषी बालबालिकाको आफ्नो मातृभाषामा पढन पाउने संवैधानिक अधिकारलाई खोस्नु पनि हो ।

नेपाल जस्तो बहुभाषिक, संघीय तथा लोकतान्त्रिक मुलुकमा सवै भाषाभाषीबीच सद्भाव विकास गरेर समृद्धिको बाटोमा अग्रसर हुने बेलामा ‘जननी’ भनेर हाउगुजी तयार गर्नु समयोचित मान्न सकिन्न । संस्कृत भाषालाई देवत्वकरण गरेर भाषाविज्ञानलाई चुनौती दिनु पनि उचित हुँदैन । सबै जना समान भाषिक अधिकारको लागि अग्रसर हुनुपर्दछ । यसरी ‘ठाउँ न ठहर बुढाको रहर’ भने जस्तै जताततै आफ्नो प्राज्ञिक टाट पल्टाइ प्रदर्शन गर्नु देश र समुदायको लागि अशोभनीय काम हो भनेर सम्वन्धित सबैले हेक्का राख्नु पर्दछ । धन्यवाद !

तपाईको प्रतिक्रिया

पत्रपत्रिका