लकडाउनका पलहरू

धादिङ

केही समय मलाई मेरै गाउँमा रोक्यो लकडाउनले । जिन्दगीले फेरि मलाई उही जिन्दगीको अनुभूत गरायो । मैले माटोको सुवास लिएर फर्कें मेरै थातथलोको । धन्य छ लकडाउन !

० ० ०

निरन्तर व्यवसायकै तनमयतामा थिएँ म । वसन्त ऋतुभरि खासै फुर्सद हुँदैन पर्यटन व्यवसायीहरूलाई । मैले अवकाशमा बिताइन, पर्यटन व्यवसायमा संलग्न भएयताका दिनहरूलाई । यो सिजन पनि कार्य सञ्चालनमै थिएँ म, वितगतका वर्षहरूमा जस्तै ! दुई दशकदेखिको नित्य कर्म थियो मेरो । २०१९ को अन्त्यतिर चीनका वुहान सहरमा हठात् साम्राज्य जमाएको थियो, कोरोना भाइरस अर्थात् कोभिड- १९ ले । २०२० को मार्चमा आइपुग्दा कोभिड- १९ माथि चीनले विजय हासिल गरिसकेको भएपनि यसले अमेरिकालगायत एसियाका देशहरू र युरोपभर तिब्र गतिमा साम्राज्य विस्तार गर्दै थियो । विश्वभर फैँलदो संक्रमणले वसन्त ऋतुमा नेपाल आउन लागेका सबै विदेशी पर्यटकहरूले भ्रमण रद्द गरिसकेका थिए । ओरालो लाग्दै थियो विदेशीहरूको आगमन । पर्यटक नै नआउने छेलो हराएको लोहारझैँ भएका थिए सारा व्यवसायीहरू । आफू पनि परियो त्यसैमध्येको एक।

रमाइलो अनुभव हुन्छ– हलोको अनौ समाउँदा । जीवनको आधार हो– हलो । कृषि क्रान्तिको सूचक हो– हलो । समृद्धिको वाहक हो– हलो ।

कोभिड- १९ बाट संक्रमित भेटिइसकेको थिएन नेपालमा । तैपनि त्रसित थियौँ हामी । सरकारले ‘नेपाल भ्रमण २०२०’ को कार्यक्रमलाई पहिले नै रद्द गरिसकेको थियो । मान्छेहरूले कम्तिमा पनि चार महिनालाई पुग्ने खाद्य सामग्रीहरूको जोहो गरिरकेको थिए । मास्क र ह्यान्ड स्यानिटाइजरजस्ता सामग्रीहरूको कृतिम अभाव सिर्जना भइसकेको थियो । आकासिइसकेको थियो, सबै चिजहरूको मूल्य । वास्तवमा चैत १ गतेदेखि नै एकखालको अघोषित ‘होम क्वारेन्टाइन’ मा बसेजस्तो महसुस भइसकेको थियो । कोभिड-१९ सित लड्ने उपाय यही थियो । संक्रमित देखापर्न थाले यसको विकल्प थिएन । यो स्थिति आइहाले कसरी दिन बिताउने होला भन्ने प्रश्न मात्र उठिरहन्थ्यो मनमा । मेरो मथिङ्गल नै हल्लिरहेको थियो यही प्रश्नले ।

यसैबीच हजुर-आमाको महाप्रस्थानको १३ औँ पुण्यतिथिका दिन (चैत्र ९ गते) जन्मथलो धादिङ पुगेको थिएँ । सरकारले लकडाउन गर्छ भन्ने सोचेकै थिइनँ । दुई-चार दिनमै काठमाडौं फर्कने योजना थियो । तर एक्कासी घोषणा भएको लकडाउनले लम्बिन पुग्यो गाउँको बसाइ । लकडाउनको अन्त्य होला र फर्कौंला भन्दा भन्दै उतै बित्यो महिना दिन । सुरुका दुई-चार दिन असहज भएन । गाउँमै जन्मेको, हुर्केको र गाउँले परिवेशमा रमाउने मान्छे भएकोले मेरा लागि रमाइलै भयो । तर यो कुरा लागू भएन मेरो १२ वर्षीय छोरो सफलका लागि । काठमाडौँमा जन्मेका ऊ चौथो पटक मात्र गाउँ पुगेको थियो । बिनाइन्टरनेट उसले यति लामो समय बिताएको यो नै पहिलो पटक थियो ! सफलले अति नै असहज महसुस गरेको थियो सुरुका दिनहरूमा ।

घरमा बाख्राका पाठाहरू थिए । ऊ पाठाहरुसँगै खेल्न थाल्यो । उफ्रन थाल्यो । बाख्राका पाठाहरूसँगै रमाउन थाल्यो । इन्टरनेट बिर्सिसकेको थियो सायद उसले । गाउँघरका बच्चाहरु गोठालो जाने हुनाले गोठालो जानै मन पराउँथ्यो । गोठालोमै अभ्यस्त भइसकेका थियो ऊ । गोठालोमा थुप्रै साथीहरु बनाइसकेको थियो । कहिलेकाहीँ त ऊ बीउँझनेबित्तिकै गोठालो जाउँ भन्थ्यो । उसलाई देख्दा लाग्थ्यो- ‘समय र परिवेशसित सम्झौता गर्न सफल भएको छ मेरो छोरो सफल ।’

० ० ०

पुरानै लयमा छिल्लिरहेकी थिइन् कालीछाँगा । किनारा वरिपरि बुच्का र झाडी हल्लाएर मात्तिइरहेकी थिइन् । जागिरहेकी थिइन्, आफैँ जलपरी भएर । जलावर्तका नवीन चित्रहरूमा निरन्तर फिँजाउँदै थिइन् तरङ्ग । कालीछाँगाको मादकतामा महकिरहेथे जलेवाहरू । मैले हेरेँ र हेरिरहेँ काली र जलेवाहरूका चर्तिकला । एकातिर कालीले छरेको संगीत अर्कोतिर चराहरूको कलरव । क्या आनन्द ! मैले यौवनावस्था पार गरिसक्दा पनि उस्तै छ बैँस कालीको, पहिलेकै जस्तो ।

तेईस वर्षको अन्तरालपछि पहिलो पटक एक महिना बिताएको थिएँ म आफैँले पनि । मेरो अफिस, मैले दिनहुँ भेट्ने साथीभाइहरूसँग टाढिएको थिएँ म । मजस्तै परिबन्धमा परेका थिए, मेरा साथीहरू पनि । कैयौँ नेपालीहरू पृथक थिएनन् यो  परिबन्धबाट । एकातिर आफ्नो पेशा र व्यवसाय धराशायी भएकोमा सुर्ता र अर्कोतिर आफू जन्मेको घरका भित्ता, चोटा र कोठासित लुटपुटिन पाउँदाको खुसी । सुर्ता र खुसीको दोसाँधमा थिएँ म । हठात् घर छेउको पीपलचौरको खेललाई सम्झेँ मैले । म, उनी, उनीहरू र हामी सबैसबैले खेल्ने ठाउँ । कति रमाइला थिए ती दिनहरू ! स्मृतिहरूमा घेरिँदै गएँ म- वालवयमा गोठालो गएको, घाँस-दाउरा गरेको, वनपाखा चहारेको, बारीमा काम गरेको, खेतमा आली लगाएको, बाउसे गरेको, रोपाईंमा हिलो खेलेको । सम्झनाको गहिरो तलाउमा तैरन पुगेँ म ।

गाउँमा मकै छर्ने बेला भएको थियो । बाबाको हातले हलोको अनौ समातेपछि जमजमाउँन थालेँ म । त्यसो त बाबाले काम गरिरहेको हेरिबस्ने कुरा पनि भएन ! मैले मकैका गेडाहरूलाई खसालेँ बाबाले जोत्नु भएको सियोमा । टुसा लाग्यो कि लागेन भनेर मकै छरेपछि बाबा प्रत्येक दिन बारीमा गएर रोपेको मकैलाई कोट्याएर हेर्ने गरेको अझैँ याद छ मलाई । दुईपाते सुइरो लागिसकेको हुन्थ्यो सात-दस दिनमै । बिस्तारै हुर्कन्थे मकैका बेर्नाहरू । बाबा कोदालो बोकेरे जानुहुन्थ्यो मकै गोड्न । हेर्दाहेर्दै मकैका हरिया बोटहरू लहलहाउँथे बारीका पाटामा । मकैका गेडाहरू खसाल्दै गर्दा विगतमा पुगेर उबेला बाबाले देख्ने रंगीन सपनाहरू देखेथेँ मैले । मेरो मनले भन्दै थियो- ‘बाबाले कोर्नु भएको हलोको यही सियोमा जोडिएको छ मेरो जीवनको रेखा ।’ मैले डल्ला फोरेँ । बारी डोलाएँ । एउटा लामो कालखण्डपछि आफ्नै पसिनाले सिन्चेँ बारीलाई । दस-आठ सियो आफैँले पनि जोतिटोपलेँ । रमाइलो अनुभव हुन्छ- हलोको अनौ समाउँदा । जीवनको आधार हो- हलो । कृषि क्रान्तिको सूचक हो- हलो । समृद्धिको वाहक हो- हलो । थकाइको महसुस हुँदोरहेनछ बाली लगाउँदा । ढाड दुख्ने समस्याको पनि परवाह नगरी हलो र कोदालो समाएँ मैले । मानो खर्चेर मुरी उब्जाउने बेलाको सदुपयोग थियो त्यो । हलोलाई थाती राखेर रोजगारीका लागि विदेसिएका वल्लोपल्लो गाउँका दाजुभाइहरू पनि फर्केका छन् रे भन्ने सुनिन्थ्यो । आफन्त र ती दाजुभाईहरुसँग सामाजिक दुरी कायम गरेर भेटघाट पनि गरियो । दुःखसुख पनि साटासाट गरियो । भय उत्पन्न हुन्थ्यो मनभित्र- कतै उनीहरू संक्रमित भएका त छैनन् ?

दिन काट्ने सिलसिलामा एक दिन घरबाट अलि तल पर्ने कालीछाँगा हेर्न पनि गइयो । छोरोलाई भुलाउने एउटा मेलो पनि थियो त्यो । पुरानै लयमा छिल्लिरहेकी थिइन् कालीछाँगा । किनारा वरिपरि बुच्का र झाडी हल्लाएर मात्तिइरहेकी थिइन् । जागिरहेकी थिइन्, आफैँ जलपरी भएर । जलावर्तका नवीन चित्रहरूमा निरन्तर फिँजाउँदै थिइन् तरङ्ग । कालीछाँगाको मादकतामा महकिरहेथे जलेवाहरू । मैले हेरेँ र हेरिरहेँ काली र जलेवाहरूका चर्तिकला । एकातिर कालीले छरेको संगीत अर्कोतिर चराहरूको कलरव । क्या आनन्द ! मैले यौवनावस्था पार गरिसक्दा पनि उस्तै छ बैँस कालीको, पहिलेकै जस्तो । मान्छेजस्तो बुढो हुँदोरहेनछ प्रकृति । कालीछाँगालाई छोएँ मैले । पसिना पखालेँ कालीछाँगाकै पानीले । चिसो कालीछाँगा हुत्तिएर गइ, मसित दोहोरो बात नगरी । त्यहाँ पुग्दा यस्तो मसहसु हुन्थ्यो- ‘ती भीरपाखा, वनस्पति र सुनाखरीहरूले मलाई लामो समयसम्म कहाँ गइस् भनेर प्रश्न गरिरहेका छन् ।’

लकडाउनको अवस्थामा घरमै बस्न आग्रह गर्थेँ म बाबालालाई । उहाँ भन्नुहुन्थ्यो- ‘जन्मेदेखि लकडाउनमै त छु । आफ्नो खेतबारीको काम र बस्तुभाउको स्याहारसुसार बाहेक मेरो अर्को काम छैन ।’ न त भीडभाडमा जानुछ, न त अर्काको चियोचर्चो नै गर्नुछ । आफ्नो काममात्र गर्नेलाई लकडाउनले छुँदोरहेनछ । खेतीपाती र वस्तुभाउ बाहेकको चिन्ता छैन बाबालाई ।

० ० ०

दिनहरु बिते । सामाजिक संजालमा रमाउने बानी म आफैँलाई पनि महिना दिनसम्म बिनानेट रमाउन सक्छु भन्ने लागेको थिएन । स्थानीय उत्पादनहरु पनि मज्जैले खाइयो । काठमाडौँको धूलो, धूवाँ र गाडीहरूको कर्कश आवाज लगभग बिर्सिसकेको थिएँ मैले । क्लेद अनुभूत भइरह्यो जन्मभूमिको माटोसित स्पर्श गर्न पाउँदा । आफूलाई किसान भएर बाँच्नुको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय ।

बत्तीस दिनको गाउँ बसाइपछि छोराको स्कुलले अनलाइन क्लास सुरु गर्यो भन्ने खबर गरेपछि काठमाडौँ फक्र्याैं। फर्कन सहज त कहाँ थियो र ! जसोतसो आइयो । ठूलै युद्ध जितेको महसुस भएको थियो काठमाडौँ छिर्दा । कहिल्यै नसुनेको लकडाउन पनि सुनियो । जीवनमै कहिल्यै महसुस नगरेको लकडाउन महसुस गरियो । जारी छ लकडाउन नेपालमा । सकिएको छैन कोभिड-१९ सितको लडाइँ । बिलकुल फरक छ गाउँ र सहरको लकडाउनमा । यहाँ जीवन छ तर कठीन जीवन । कोठाभित्रै कुँजिएको जीवन छ । बाहिरी जीवन छैन । लकडाउनको नजिकको साथी बनेको छ- इन्टरनेट । गाउँमा मैले रोपेको मकै उम्रिसकेको छ । गोड्ने र छाँट्ने बेला भइसकेको छ मकैका बेर्नाहरू । गाउँमै भइरहेको भए सायद म मकै गोडिरहेको हुन्थेँ होला । तर यतिबेला म समाचार सुन्ने, पुस्तकहरु पढ्ने र साथीहरूसितको संलापमा ब्यस्त छु । यही नै भइरहेको छ लकडाउनको उपादेयता । आगामी दिनहरू कसरी बित्ला त्यो त भविष्यकै गर्भमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका