कृषि व्यवसायमा सफल कैलालीका युवा

घोडाघोडी

सिँचाइ विभागको ओभरसियरमा करिब ६ वर्ष सेवा गरेका कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय टेकबहादुर मगर जागिर छाडेर कृषि पेसामा लागे । घरपरिवारको माया र आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले उनले बुद्ध एग्रो फार्म खोलेर कृषि पेशा रोजेका मगर कृषि कर्ममा आफू सन्तुष्ट रहेको बताउँछन् ।

जागिरभन्दा पनि आफ्नै गाउँघरमा केही गरौँ भन्ने सोचले आफूले कृषि पेसा रोजेको मगरको भनाइ छ । ‘जागिरे जीवनभन्दा पनि व्यावसायिक जीवनले सफलता दिलाउँछ भन्ने ठानेर आफ्नै घरपरिवारसँगै आफ्नै ठाउँमा काम गर्न शुरु गरेँ, अहिले आफ्नो कामबाट सन्तुष्ट छु’, मगरको भनाइ छ ।

उनी दुई वर्षअघिदेखि करिब रु ३५ लाख लगानी गरेर कृषि पेसामा संलग्न भएको हो । उनको लगानी बढेर अहिले ७० लाख रुपैयाँ पुगेको छ र आम्दानी पनि बढ्दै छ । शुरुमा डेढ बिघा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएका मगरले पाँच महिनापछि लहरे वा अन्य खेतीका लागि थप चार बिघा खेत बढाएको छ ।

आफूले लगाएको बाली उत्पादन भएर बजारमा बिक्री गर्ने समयमा अहिले भने देशमा लकडाउन भएका कारण समस्या भएको मगरको भनाइ छ । ‘उत्पादित तरकारी जति बजारमा जान्थ्यो त्यति नगएकाले अहिले चिन्ता बढेको छ’, मगरले भने । अहिले करेला, लौका, घिरौँला, भेडे खुर्सानी, काँक्रो, गोलभँेडालगायतका तरकारी छन् उनको बारीमा । यी सबै तरकारी बढी प्रयोग गर्ने होटल लकडाउनले बन्द भएकाले समस्या भएको मगरको भनाइ छ । मगरले सञ्चालन गरेको बुद्ध एग्रो फार्मले सातजनालाई रोजगारीसमेत दिएको छ । ती कर्मचारीले मासिक आठदेखि १० हजार रुपैयाँसम्म तलब पाउँछन् ।

पढेलेखेको मान्छेले जागिर नै खानुपर्छ भन्ने मान्यतालाई त्यागेर युवा कृषिमा भविष्य खोजिरहेका अर्थशास्त्रमा स्नातकोत्तर गरेका कैलालीको घोडाघोडी नगरपालिका–१ पिपलडाँडाका ३३ वर्षीय युवा रमेश बस्नेतले बङ्गुरपालनबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

बङ्गुरपालनमा लागेका बस्नेत नेपाली भूमिमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच लिएर अघि बढेको बताउँछन् । जागिर खाए आफूलाई मात्र हुने तर आफैँले कुनै व्यवसाय गरे धेरैले रोजगारी पनि पाउने सोच भएका बस्नेत आफ्नो देशमा काम गर्न नमान्ने तर परदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने युवा पुस्ताका लागि प्रेरणाका पात्रसमेत बनेको छ ।

‘मैले घरका मान्छेको चाहना विपरीत घरमा पालिएको भैँसी बेचेर काम शुरु गर्दा परिवारका सबैजना सदस्य रुष्ट पनि भए तर अहिले घरपरिवारका पाँचजनालाई राम्रो काम मिलेको छ, घरका सबैजना सन्तुष्ट छन’, बस्नेतले भने । आफ्नो पेसामा इमान्दार भएर मेहनत गरियो भने सफलता पाइँदोरहेछ भन्ने अनुभव सुनाउँछन् बस्नेत ।

बङ्गुरपालनबाट वार्षिक १३ लाख रुपैयाँभन्दा बढीको आम्दानी हुन्छ, त्योभन्दा बढी आत्मसन्तुष्टि आफूसँग केही सिक्नआउने युवाबाट मिलेको बस्नेत बताउँछन् । विदेश गएरमात्र राम्रो आम्दानी हुन्छ भन्ने छैन । स्वदेशमै बसेर कुनै पेसालाई निरन्तरता दिने हो भने विदेशभन्दा स्वदेशमै कमाइ गर्न सकिन्छ र कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने सन्देश बस्नेतले दिएको छ ।

घोडाघोडी नगरपालिका–८ का बलबहादुर सोनाहा गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका अर्का युवा हुन् । विगत आठ वर्षदेखि सोनाहाले पनि व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएको छ । शुरुमाा सातवटा बङ्गुरबाट व्यवसाय थाल्नुभएका उनीसँग हाल १२० वटा छन् । ‘गाउँमै केही गरौँ, कृषि पेशाबाटै आम्दानी गर्न सकिन्छ भन्ने सोच बनाएर यो व्यवसाय सञ्चालन गरेको हुँ’, उनले भने, ‘अहिले सोचेअनुरुपको आम्दानी हुन थालेको छ ।’

उनले केही समयमै बङ्गुर थप्ने तयारी गरिएको छ । सोनाहाले व्यावसायिकरूपमा बङ्गुरपालन गरेर छोटो समयमै आर्थिक अवस्था सुधारेको उहाँका छिमेकी वसन्त चौधरीले बताए । ‘शुरुमा घर खर्च हामीबाट ऋण लिएर चलाउँथे’, उनले भने, ‘अहिले हामीले ऋण माग्नुपर्ने अवस्था छ ।’

अल्पसङ्ख्यक जातीय समूहका सोनाहा जातिको कैलाली जिल्लाभर सात परिवारको मात्रै बसोबास छ । बङ्गुरपालन व्यवसाय शुरु गर्नुअघि उनको आर्थिक अवस्था निकै दयनीय थियो । ‘दैनिक छाक टार्न समस्या हुन्थ्यो’, सोनाहाले भने । उनलाई परिवारको खर्च धान्न गाउँघरकै साहुबाट ऋण लिनुपर्ने अवस्था थियो । ऋण पाउन पनि मुस्किल थियो । साहुले पत्याउँदैनथे । यस व्यवसायमा लागेपछि सोनाहाको आर्थिक अवस्था फेरिएको छ । रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको मुलुकमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्न सकिने उनको धारणा छ । ठूलो लगानी गरेर बिदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे पर्याप्त आम्दानी गर्न सकिन्छ । थोरै जमिनमा बढी उत्पादन कसरी गर्न सकिन्छ भन्ने सोचेर, यस व्यवसायमा लागेको सोनाहाले बताए । उनीसँग मेसान, पाख्रेबास, डिउरोक र ल्यान्ड्रेस जातका बङ्गुर छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–३ का स्थानीय खडक बोगटी र रवि आचार्यले स्थानीय सरस्वती आधारभूत विद्यालयको सात बिघा जमिन भाडामा लिएर माछापालन गरिरहेको छ । उनीहरुले यसका लागि ५७ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । उनीहरूले त्यस जमिनमा १२ वटा पोखरी निर्माण गर्नुभएको छ र त्यसैमा माछापालन छ ।

अङ्ग्रेजी र स्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन सकेका उहाँहरुले जागिर खोज्नेतिर नलागी यो पेसा रोजेको हो । ‘कृषिमा नै काम गरौँ भन्ने भयो र अन्य व्यवसायभन्दा माछापालनमा फाइदा पनि बढी हुने र यहाँ भएको उत्पादन खपत गर्न पनि धेरै समस्या नहुने भएकाले यो माछापालन व्यवसाय रोजेका हौँ’, बोगटीको भनाइ छ । कृषि पेशाबाट राम्रै आम्दानी हुने तथा आफ्नै समाजमा केही गर्न पनि पाइने भएका कारण यो व्यवसायमा आकर्षित भएको अर्का सञ्चालक आचार्यको भनाइ छ । स्थानीय विद्यालयको जमिन वार्षिक रु दुई लाख ५० हजारमा १५ वर्षका लागि भाडामा लिएका उनीहरूले कार्प जातका सात किसिमका माछा पालेको छ ।

व्यवसायमा शुरुवाती चरणमा समस्या भए पनि भविष्य राम्रो हुन्छ भन्ने विश्वासका साथ कर्म गरिरहेको बोगटीले बताए । कृषि कर्ममा लागेका युवालाई राज्यले आकर्षित गर्न तथा हौसला बढाउन विभिन्न किसिमका अनुदान तथा सहयोग कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बोगटीको भनाइ छ । स्थानीय सरकारले केही सहयोग गरेको भए पनि त्यो पर्याप्त नभएको बोगटी बताउँछन् ।

त्यसैगरी पशुपालनमा रमाएकी युवती कैलालीको घोडाघोडी नगरपालिका १० की पुष्पा रिजालसँग अहिले पाँचवटा भैँसी र चार गाई छन् । गाउँघरका युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन् तर रिजालले भने गाईभैँसी पालेर मनग्य आम्दानी गरेकी छिन् । छोटो समयमा धेरै कमाऊँ भनेर बिदेसिने युवालाई स्वदेशमै केही गर्न सल्लाह दिन्छिन, रिजाल ।

‘दैनिक ५० लिटरसम्म दूध उत्पादन गरेर बजारमा बिक्री गर्ने गरेको छु’, रिजालले भनिन् । उत्पादित दूध बिक्री गरेर मासिक ३० देखि ४० हजारसम्म बचत गर्छिन् रिजाल । यति आम्दानी गरेर घरमै बस्न पाउँदा उनी खुशी छिन् । ‘मलाई यसैमा सन्तुष्टि मिलेको छ’, उनी भन्छिन् । उत्पादित बस्तु बिक्रीका लागि बजारीकरणको समस्या नपरेको उनको भनाइ छ । गाईभैँसीपालनतर्फ कुनै सङ्घसंस्थाको सहयोग नपाएको र व्यक्तिगत लगानीमै व्यवसाय शुरु गरेको रिजालले बताइन् । राज्यले अनुदान तथा सहयोग गरे अझै धेरै राम्रो गरेर बेरोजगार युवालाई रोजगारी दिनसक्ने रिजाल बताउँछिन् ।

‘अहिले मेरो रोजगारीका लागि एक्लै व्यवसाय गरेकी छु तर राज्यबाट केही सहयोग तथा अनुदान पाए यसलाई व्यावसायिकरुपमा ठूलो मात्रामा गर्न सकिन्छ र यही व्यवसाय बढाएर बेरोजगार युवालाई पनि रोजगारी दिन सकिन्छ’, रिजाल भन्छिन् ।

यसरी पछिल्लो समय कैलालीका युवा कृषि कर्ममा भविष्य खोजिरहेका छन् । उनीहरु आफ्ना काममा सफलता पनि हासिल गरिरहेका छन् । यस्ता सनातिना कृषि व्यवसायलाई सरकारले पनि सक्दो सहयोग गरिदिएमा यसबाट अरु धेरै युवालाई प्रोत्साहन मिल्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया