नदी र मान्छे


जब मान्छे नदीमा पस्छ, नदी सहरमा बग्छ ।
नदीको धर्म बग्नु ।
तर के मान्छेको स्वभाव नै हो त अवरोधी हुनु?
किन बारम्बार बाँध बाँध्छ मान्छे?
किन बारम्बार बार लाउँछ मान्छे??
नदी पहाड, कन्दरा र ढुङ्गाका कापबाट पनि
सुनाखरी फुलाउँदै बग्छ ।
तर मानिस !
नदी, सुनाखरी र पहाडकै
विनाशमा उद्दत छ ।
उसलाई आरोहणको असीमित प्यास छ ।
उसलाई प्राप्तिको अनन्त भोक छ ।
उसलाई जीतको युगौँदेखिको उन्माद छ ।
यसैले त शक्ति–सम्पन्न त भएर पनि
बारम्बार प्रकृति जित्ने होडमा
आफ्नै अहङ्कारको दास बन्न पुग्छ मान्छे ।
यसैले त प्रकृतिको संरक्षणमा आफ्नो संरक्षण नबुझेरै
दोहनतर्फ उन्मुख भएपछि
प्रकृति बौलाउँछे ।
अनि
अनि त बस्त्राहि त्राहि त्राहि
त्रिजटाको त्राटक देखाउँदै
त्रिनेत्र खोलेर त्रासद अन्तमा
ताण्डव नाँच नाँच्छे प्रकृति
नवीन सृष्टिका निम्ति उद्यत बन्दै ।
अनि ….
…अनि
निरीह निष्णात, निःशब्द भई मान्छेले
प्रकृतिप्रति समर्पण गर्नै पर्छ घुँडा टेकेर
आफ्नै अहङ्कारलाई विसर्जन गर्दै
सृजनाका निम्ति हातेमालो गर्दै गर्दै
प्रकृतिलाई आत्मसात् गर्नै पर्छ
…. गर्नै पर्छ ।।

( बेलतोला)

यो पनि

निःशब्द

तपाईको प्रतिक्रिया

पत्रपत्रिका