स्वाधीनताको सुसेली


उरालेर नसानसामा गौरवको छाल
आउँदैछौं यतिखेर
ताकेर कालीको शिर
भर्नलाई स्वाभिमानको सिन्दूर ।

बन्दाबन्दीको कोरोना साम्राज्यमा
पलप्रतिपल कैद भएकै बेला
बिनासुइँको कसैलाई
जब चोइट्यायौ हाम्रो अस्तित्व
जब टुक्र्यायौ हाम्रो अस्मिता
जब धुज्यायौ हाम्रो मानचित्र
जब गुडायौ अभिमानको कारगेड
तब नै उम्लेको हो गोर्खाली रगत
भलभल भलभल
र, लम्केका हुन् अथक पाइला
कालीको सक्कली शिरतर्फ ।

गाडेर इतिहास, अन्यायको गर्तमा
फाँडेर भूगोल, सत्ता मिलाइदिने शर्तमा
नचुल्याऊनू पहाड
पाखण्डी प्रथाको
होस गर्नू, मोदी महोदय
स्वाभिमानको सङ्गिन समरमा छु
म यतिखेर !

गएछन् जमाना, महोदय
भित्ता फोर्ने वल्लो घरको
दिल तोड्ने पल्लो घरको
नसा च्यात्ने स्वाधीनताको
नक्सा च्यात्ने अस्तित्वको
बध गर्ने भातृत्वको ।

पार गरेर अनेकन् तारेभीर
छिचोलेर अनकन्टार गल्छेंडा
लेख्नलाई देशको गाथा
देख्नलाई आर्जेको भूःखण्ड
आएका हौं हामी
अन्वेषण गर्न मुटुका भल्भहरू
फिर्ता लिन धुलोका कणहरू
रफु भर्न उध्रेको मानचित्र
उदाङ्गो पार्न चण्डाल चेहरा ।

खेले होलान् भाँडाकुटी कुनै दिन
वारिपारिकै शासकले
बिछ्याएर नक्साको चकटी
र, डुबे होलान् चुर्लुम्म
स्वार्थको गन्धे आहालमा
बेसरम, बेरोकटोक ।

यसर्थ,
हात लिएर आएका छौं, हतियार होइन
हाँसो लिएर आएका छौं, हँसिया होइन
नहुनू किञ्चित विचलित
लिनुछ लालपुर्जा लिम्पियाधुराको
नहुनू किञ्चित उत्तेजित
पिउनुछ पानी काली किनारको ।
आएका छौँ हामी युद्धपोत लिएर
जोश र जाँगरको
तोपगोला लिएर
सग्लो स्वाभिमानको
दावा गर्न पुर्ख्यौली भूमि ।

तपाईको प्रतिक्रिया