धेरैको मनमा अहिले एउटै प्रश्न छ, अब फेरि भारी मनसुनी वर्षा अब होला कि नहोला ? जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांग भन्छन्, ‘तत्काल त्यति ठूलो र लगातार वर्षाको संकेत छैन तर मनसुन सक्रिय छ ।’
प्रधानांगका अनुसार मनसुनको न्यूनचापीय रेखा (मनसुन ट्रफ) तराईको भूभागमै छ । गत साता उक्त रेखा भारतबाट नेपालतिर सरेको थियो । न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ ।
‘गत साता न्यूनचापीय रेखासँगै न्यूनचापीय प्रणाली (लो प्रेसर) विकसित भएपछि देशैभरि लगातार भारी वर्षा भएको थियो,’ प्रधानांगले भने, ‘अहिले लो प्रेसर नेपालको भूभागबाट विलिन भइसकेकाले त्यति ठूलो प्रभाव पर्ने देखिँदैन ।’ न्यूनचापीय रेखा मात्र रहेकाले लगातार वर्षाको संकेत नरहेको उनले बताए ।
न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै भारतको बिहार, उत्तरप्रदेश हुँदै नेपालको मध्यभागसम्म लो प्रेसरसमेत विकसित भएपछि झन्डै तीन दिन लगातार वर्षा भएको थियो । तीन दिनमा मुलुकका धेरै स्थानमा एक महिनामा पर्ने औसत वर्षाभन्दा बढी पानी परेको छ ।
एकै पटक धेरै वर्षा भएकाले असरसमेत निम्तिएको छ । लो प्रेसर बंगालको खाडीमै बन्छ र पश्चिम सर्दै आउँछ । प्रधानांगका अनुसार न्यूनचापीय रेखा जहाँ हुन्छ, त्यसैलाई पछ्याउँदै लो प्रेसर आउँछ ।
के हो न्यूनचापीय रेखा ?
न्यूनचापीय रेखाले पानी पार्ने प्रणाली विकास गर्छ । ठूलो क्षेत्रफल बनाएर फैलिने यो रेखा भारतको उत्तराखण्ड हुँदै भुटानसम्मै फैलिएको हुन्छ । यो रेखा सतहमा प्रभाव जमाएर फैलिएको हुन्छ । ‘मनसुनका बेला यो रेखा तलमाथि (उत्तर र दक्षिण) सरिरहन्छ,’ प्रधानांगले आइतबार कान्तिपुरसित भने, ‘ठ्याक्कै यति दिनमा सर्छ भनेर भन्न नसकिए पनि औसतमा एक सातामा तलमाथि गरिरहन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।