तीन कृति चर्चा


लोकेन्द्र पौडेल ‘डहरे’ !

लोकेन्द्र पौडेल (२०४२, सिन्धुली जिनाखु-६) नवोदित तर उत्कृष्ट मुक्तककार हुन् । सेनाको जागिर छाडेर काब्यको सिपाही बनेका डहरेका बन्दुकका गोलीभन्दा अक्षरका बोलीले मानसिक पथ्य उद्घाटन गरेका छन् । समाज परिवर्तनको उच्चतम सोंच राखेर साहित्यको माध्यमले आफ्नो दूनो सोझ्याउने चुत्थो मानवलाई बज्रमुष्ठि प्रहार गरेका छन् । यिनै सामाजिक विकृति-विसङ्गति र राजनीतिक विषयमाथि चिन्तन गरेर उनका निम्न कृतिहरु प्रकाशित भएका छन् ।

१. दिलको दैलो (मुक्तक सङ्ग्रह- २०६८) २. डहरेको डायरी (मुक्तक सङ्ग्रह–२०७२) ३. सन्की सिपाही (मुक्तक सङ्ग्रह -२०७६) ।

१. दिलको दैलो

पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेद्वारा २०६८ मा प्रकाशित डहरेको प्रथम मुक्तक सङ्ग्रह ‘दिलको दैलो’ मा ११८ वटा मुक्तक समाविष्ट पाइन्छ । ५९+१९ पृष्ठभित्र शिल्प सौन्दर्य र विषयचित्रणको सफल तादाम्य पाइन्छ । नेपाली राजनीतिको भद्वा तस्वीर र असङ्गत कर्मलाई निशाना बनाएर राष्ट्रबादी स्वर घन्काएका मुक्तकार डहरेले युगीन विसङ्गति र अस्तित्वको एषणा अनि प्रेम-प्रणयको समस्यालाई पनि उजागर पारेका छन् । रुबाई शैलीका मुक्तकको सौन्दर्य उठाउन उनको कुशल कालीगड प्रस्तुत भएको छ । राजनीतिक, ऐतिहासिक, पौराणिक दार्शनिक प्रणयपरक आदि बिम्ब र रुपक उपमा, विरोधाभास, अतिशयोक्ति दृष्टान्त आदि अलंकारिक कलात्मक आयोजना भएको यस कृतिमा पाइन्छ । पहिलो दोस्रो र चौथो समतुकान्त तथा तेस्रो विषमतुकान्त हुने रुबाईको संरचना शिल्पलाई डहरेले आकर्षक एवं मनोहरी ढंगले प्रस्तुत गरेका छन् ।

गहनभाव, सुत्रमय प्रस्तुति र खँदिलो अभिव्यक्तिको कारण उच्च गुणस्तरको यस कृतिले नेपाली साहित्यको उत्थानमा सफल मुक्तककारको लाममा उभ्याउने छ । (सन्दर्भ पुस्तकः पौडेल, लोकेन्द्र ‘डहरे’ (२०६८) दिलको दैलो बाँकेः पूर्णिमा साहित्य प्रतिष्ठान)

२. डहरेको डायरी

२०७२ सालमा नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंद्वारा प्रकाशित ‘डहरेको डायरी’ दोस्रो मुक्तक कृति हो । चतुष्पदि संरचना लेखिएका रुबाई शैलीका यस कृतिभित्र १२४ वटा मुक्तक समावेश छन् । ७२+१४ पृष्ठभित्र सेनाको ब्यस्त समय निकालेर राष्ट्रको गौरव गरिमालाई लालित्यपूर्ण शैलीमा प्रकट गरेका छन् । आम नेपाली पाठकको लागि यो कृति पठनीय र सङ्ग्रहनीय छ । कृतिभित्र ग्रामीण समाजका विसङ्गति र प्राकृतिक चित्रणमार्फत जीवनका गहन चिन्तन पाइन्छ । (स्रोतः पौडेल, लोकेन्द्र ‘डहरेको डायरी’)

३. सन्की सिपाही


वीरगति प्राप्त योद्वाहरुलाई समर्पण गरेको लोकेन्द्रको तेस्रो मुक्तक सङ्ग्रह ‘सन्की सिपाही’ २०७६ सालमा युवराज खड्काले प्रकाशित गरेका छन् । यसभित्र १०१ मुक्तककारका थुङ्गाहरु उनेको पाइन्छ । ७२+४ पृष्ठमा यिनका मुक्तकहरु हिउदे खोला झै सलल बगेका छन् । गागरमा सागर बोके झैं सुसंगठित सशक्त प्रखरभाव, चोटिलो र रसिलो मुक्तकहरुमा श्रृङ्गार र हास्यजनित रुपका पाइन्छन् ।

सामाजिक, राजनीतिक, विसङ्गतिले ओतप्रोत भएका यिनका मुक्तकहरु सामथ्र्यवान छन् । हत्या, हिंसा, बलात्कार, घुसखोरी, भ्रष्टचार, नातावाद, कृपावाद, दण्डहीनता, गिर्दाे मानवीयता र फोहोरी राजनीतिप्रति व्यङ्ग्य वाणले भरिएको यस मुक्तक सङ्ग्रहमा देशबासीको साझा पीडाबोध भएको छ । प्रतिभाशाली डहरेको उज्वल भविष्यको लागि म पनि अभ्यर्थना गर्दछु ।

(अध्यक्ष, दुधौली प्रज्ञा-प्रतिष्ठान, सिन्धुली)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका